logo
२०८१ मंसिर १२ बुधवार



कोरोना वुहानमा, असर विश्वभर

विचार/दृष्टिकोण |




कृष्णभक्त दुवाल / शेरजङ्गबहादुर चन्द

चीनको वुहानमा एक करोड ५० लाख जनसङ्ख्यामध्ये ४० लाख जनसङ्ख्या नयाँं वर्षको अवसरमा बाहिरिए । हुवे प्रान्तको वुहानमा ‘इपिसेन्टर’ रही गतवर्षको डिसेम्बर मध्यतिर फैलिएको कोरोना भाइरस (कोभिड १९) ले संसारलाई नै त्रसित पारेको छ । एकातिर चीनले कोरोना भाइरसलाई काबुमा ल्याउन हरसम्भव प्रयास गरिरहेको छ भने अर्कोतर्फ आर्थिक वृद्धिदरलाई कसरी कायम राख्न सकिन्छ भन्ने प्रश्नमा चिनियाँं सरकार चिन्तित देखिन्छ । किनकि विश्वलाई अब थाहा भइसक्यो कि चीनले राष्ट्रिय सुरक्षाअन्तर्गत पर्ने मानव सुरक्षालाई पनि बढी ध्यान दिन थालेको छ । उसले यस्ता देखापर्ने समस्याका लागि लड्न सक्छ कि सक्दैन भन्ने प्रश्न नै भएन, बरु यस्तो समस्या चीनसँग कति दिन टिक्न सक्छ भन्ने प्रश्न हो । तर, त्योभन्दा पनि ठूलो प्रश्न उसले आफ्नो अर्थतन्त्रलाई कसरी जोगाउँछ र आर्थिक वृद्धिदरलाई कसरी ६ प्रतिशतभन्दा कम आउन दिँदैन, यही विश्व जगत्को चासो छ । विगत १८ वर्षसम्म ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्दै आएको चीनका लागि यो आफैँमा ठूलो चुनौती र लडाइँ पनि हो ।
सन् २००३ मा चीनले सार्स रोगको सामना गर्दा केही समयका लागि दुई प्रतिशतभन्दा बढी आफ्नो आर्थिक वृद्धिदरमा कमी आएको थियो । यद्यपि, त्यतिखेर सार्स २७ देशहरूमा देखापरेको थियो । जुन बेला सार्सले चीनको अर्थतन्त्रमा लात्तो बजारेको थियो, त्यतिबेला चीनले संसारको अर्थतन्त्रको आठ प्रतिशत भाग ओगट्ने गरेको थियो । तर, आज त्यो स्थितिमा चीन छैन । चीनले विश्व अर्थतन्त्रको १९ प्रतिशतभन्दा बढी भार ओगटेको छ र त्योभन्दा पनि आज विश्व अर्थतन्त्रमा अमेरिकापछिको ठूलो अर्थतन्त्र भएको देश भइसकेको छ । आज यो देशले आफ्नो आर्थिक वृद्धिदर कायम राख्न नसक्दा आफूमात्र होइन, पूरै विश्व नै खल्बलिन्छ । यो संसारभरिका अर्थशास्त्रीहरूले राम्ररी बुझेका छन् । वुहानमा सङ्क्रमण भइरहेको बेला बेइजिङमा चिनियाँ अर्थशास्त्रीहरूलाई चिन्ता हुनु नौलो कुरा थिएन । त्यही भएर कसरी आफ्नो आर्थिक वृद्धिदर कायम राख्न सकिन्छ भनी आपसमा तर्कवितर्क सुरु गरिसकेका थिए ।

चिनियाँ अर्थतन्त्रमा कोरोना असर
साङ्घाई स्टक एक्सचेन्ज ८.२५ प्रतिशतले तल झर्नु साथै सन्जेन कम्पोजिट इन्डेक्स ८.४ प्रतिशले तल झर्नु कोरोना भाइरसको चिनियाँ अर्थतन्त्रलाई पहिलो झड्का हो । त्यस्तै चिनियाँ मुद्रा (युआन) अमेरिकी डलरको तुलनामा सात प्रतिशतसम्म कमजोर हुनु अर्को ठूलो झड्का हो । यो झड्काले पनि चीनलाई अलि कम दुखिरहेको छ होला तर ढाडमा त त्यतिबेला असर प¥यो जब पब्लिक बैङ्क अफ चाइना (पीओवीसी) ले सर्वसाधारणबाट १.२ ट्रिलियन चाइनिज मुद्रा जम्मा गर्ने कार्य केही समयका लागि लम्ब्यायो । बजार र बैङ्कमा पैसाको तरलता कम भयो भनेर लिन लागिएको रकम तरलता बढी भएका कारण केही समयपछि लिने भनी लम्ब्याउनुले देशको अर्थतन्त्रमा यति ठूलो असर प¥यो कि बैङ्कभरिको पैसा चलायमान भएन । पैसाको वित्तीय चक्र एकाएक उल्लेखनीय रूपमा प्रवाहहीन हुन थाल्यो । यसको पछि कति प्रान्तले २० दिनजति कुनै कम्पनी, कार्यालय, कलकारखाना नखोल्ने निर्णय पनि एउटा थियो । सन् २०२० जनवरीमा भएको अमेरिका र चीनको सम्झौता, जसमा चीनले अमेरिकाबाट दुई सय विलियन डलरबराबरको सामान किन्ने र दुई देशबीचको व्यापारिक युद्ध कम गर्ने कुरा पनि गाह्रो भइसकेको केही विज्ञहरूले विश्लेषण सुरु गरिसकेका छन् । दैनिक ८५ मिलियन आन्तरिक यात्रु (प्यासेन्जर) हिँड्ने ट्राफिक १८ मिलियनमा झरे । यद्यपि, हाल स्थितिमा ८० प्रतिशतसम्म सुधार भइसकेको देखिन्छ । चाइनाभरि आठ सय एप्पल मोबाइलका स्टोरहरू बन्द, ग्लोबल टीभी उत्पादनमा ५० प्रतिशतले कमी, हुन्डाई कम्पनी पार्टपुर्जाको अभावले केही दिन बन्द हुनु, वुहान प्रान्तमा रहेका १९ ठूला कम्पनीका एक लाखभन्दा बढी कामदार तीन हप्ता घर बस्नु, चार हजार दुई सय स्टार बक्स बन्ददेखि लेभाइज आदिका कारखानाहरू बन्दले चीनको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ ।
१८ वर्षभन्दा बढी समय लगातार यस देशले आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा कमी आउन दिएन तर अमेरिका तथा केही पश्चिमेली देशका अर्थशास्त्रीहरूले ५.६ प्रतिशतभन्दा कममा झर्छ भन्दै ठोकुवा गर्दै हिँडेका छन् । तर, यो चीनका लागि आफैँमा ठूलो चुनौती रहेको छ । अक्सफोर्डका अर्थशास्त्रीहरूले पहिलो चौमासिक चीनका लागि चार प्रतिशतमात्र आर्थिक वृद्धिदर हुनेछ भनी विश्लेषण गरेका छन् । जसका लागि चीनले केही गर्नुपर्ने चुनौती देखापरेको छ ।

विश्व अर्थतन्त्रमा कोरोना असर
चीनका अधिकांश सहरहरूको बाटामा अत्यावश्यक सामग्री बोक्ने सवारीसाधहरूबाहेक अरू नचल्नाले इन्धनको खपतमा १८ प्रतिशतको कमी आउनु तथा हवाई इन्धनको खपतमा २१ प्रतिशतको मागमा कमी हुनाले पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक) र रूसले आफ्ना खानीहरूमा कामदार घटाएर इन्धन उत्पादन घटाउने कि इन्धनको मूल्य कम गर्ने भनी बहस नै गरे । र, हालसम्म पनि गर्दै छन् । विश्वको १९ प्रतिशतभन्दा बढी अर्थतन्त्र बोकेको चीनमा यदि आफ्नो आर्थिक वृद्धिदर एक प्रतिशत कम हुन्छ भने यसको असर संसारमा ०.२ प्रतिशतले पर्दछ । यदि चीनले दुई ट्रिलियन अमेरिकी डलरबराबरको सामान कम उत्पादन गर्दछ भने यो भनेको हाम्रो छिमेकी देश भारतको जीडीपीको ७० प्रतिशतबराबर हो । यो मामिलामा विश्व जानकार नभएको होइन तर पनि विश्व अर्थतन्त्रमा कोरोना भाइरसले ठूलो असर गरेको छ भनी केही मुलुक पत्याइरहेका छैनन् ।
पर्यटन क्षेत्रको मात्र अध्ययन गर्ने हो भने चिनियाँ पर्यटकको कमीले संसारभर ठूलो असर गर्दछ । कोरोना भाइरसले गर्दा ५५ प्रतिशत चिनियाँ पर्यटकले विदेश नजाने निधो गरी टिकट रद्द गरिसकेका छन् । यसको झड्का विश्व पर्यटनको अर्थतन्त्रमा नै पर्ने देखिन्छ । पर्यटन व्यवसायले १८ प्रतिशत जीडीपी ओगटेको कम्बोडियामा चीनका पर्यटकले मात्र ६ प्रतिशत जति जीडीपीमा योगदान गर्दछन् । जुन अहिले विगत पाँच हप्तादेखि ठप्पै छ । यस्तै ११ प्रतिशतभन्दा बढी पर्यटन व्यवसायले जीडीपी धानेको थाइल्यान्ड र हङकङमा चीनका पर्यटकले मात्रै क्रमशः चार र सात प्रतिशतजति जीडीपीमा सहयोग गर्दछ । यस्तै मलेसिया, सिङ्गापुर, श्रीलङ्का, ताइवान, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया र दक्षिण कोरियामासमेत चीनका पर्यटकले सम्पूर्ण जीडीपीको एकदेखि दुई प्रतिशतसम्म प्रभाव पार्ने देखिन्छ । यी पूर्वीय दक्षिण एसियाका देशहरू पर्यटनका लागि प्रख्यात छन् र करिब चारदेखि छ प्रतिशत जीडीपी पर्यटनबाटै अर्थतन्त्र धान्दै आएका छन् । थाइल्यान्डले मात्रै यस वर्ष १५० मिलियन डलर पर्यटनमा कमी हुन्छ भनी अनुमान गरिसकेको छ ।
यस्तै, जीभीए (ग्रस भ्यालु एडेड) हेर्दा चीनले भियतनामको ६ प्रतिशत व्यापार, ताइवानको १७ प्रतिशत, मलेसियाको १० प्रतिशत, दक्षिण कोरियाको १० प्रतिशित, थाइल्यान्ड र सिङ्गापुरको १० प्रतिशतभन्दा बढी, चिलीको सात प्रतिशत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पेरु, दक्षिण अरेबिया आदि देशमा पाँच प्रतिशतसम्म व्यापार हिस्सा साझेदार गरिरहेको छ । विश्वभरिका करिब १३० देशमा सानो ठूलो असर परेकै छ तर हाल दुई दर्जनभन्दा बढी देशमा व्यापारको ठूलो असर परेको देखिन्छ । कोरोना भाइरसको असरले कच्चा तेलमा केही समयका लागि १५ प्रतिशतसम्म माग कम भएको विश्व जगत्ले बुझेकै छ । जुन सन् २००० पछिको ठूलो घटना हो ।

नेपाली अर्थतन्त्रमा असर
२० वर्ष अगाडिसम्म एसियाको शक्ति भनेर चिनिन थालेको चीन अहिले विश्व शक्तिवान राष्ट्र हुनै लागेको छ । चीनको अर्थतन्त्र बिग्रियो भने नेपालको अर्थतन्त्रमा असर नपर्ने कुरै भएन । करिब १६ प्रतिशतजति चिनियाँ पर्यटकले ओगटेको नेपालको पर्यटन व्यवसाय कोरोना भाइरसको पहिलो आक्रमण हो । चिनियाँ पर्यटक यो वर्ष २० प्रतिशत पुग्ने अनुमान लगाइएको थियो । तर, भ्रमण वर्ष २०२० लाई कोरोना भाइरसले ठूलो झड्का दिने देखिएको छ । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ७.५ प्रतिशत जीडीपी ओगटेको नेपालको पर्यटन क्षेत्रमा करिब पाँचौँ भाग चिनियाँ पर्यटकको भएकाले नेपालको जीडीपीमा तीन महिनाका लागि दुई प्रतिशतसम्म घाटा हुनु स्वाभाविक हो । जसले गर्दा प्रत्यक्ष रूपमा १०० मिलियन डलरभन्दा बढी र अप्रत्यक्ष रूपमा २२० मिलियन डलरभन्दा बढी हिस्सा ओगट्ने पर्यटन व्यवसायमा कोरोना भाइरसले गर्दा ४० देखि ५० मिलियन डलर घाटा वा कमी बेहोर्नुपर्ने देखिन्छ ।
कोरोना भाइरसले नेपालको अर्थतन्त्रलाई जीभीए (ग्रस भ्यालु एडेड) मा यो वर्ष तीनदेखि चार प्रतिशतसम्म असर गर्ने देखिन्छ । चीनमै व्यापार व्यवसाय बन्द रहेका बेला नेपालले आयात वा केही मात्रामा भए पनि निर्यात गर्न सक्ने कुरा भइरहेको छैन । यो कहिलेसम्म भइरहने हो त्यो पनि अनिश्चित नै छ । जसले गर्दा नेपालमा यसको ठूलो असर परेको देखिन्छ । समयमै सम्बन्धित निकाय, संस्था, व्यक्तिले सरकारलाई उचित सुझाव नदिएको खण्डमा चीन वा भारतमा हुने यस्ता घटनाहरूले नेपालको अर्थतन्त्रलाई ठूलो झड्का दिन सक्छन् ।

(दुवाल वुहानमा पीएचीडीरत इन्जिनियर र चन्द अर्थशास्त्री हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?