logo
२०८१ मंसिर १२ बुधवार



योगदान र इतिहासको सम्मान (सम्पादकीय)

विचार/दृष्टिकोण |




‘रोम एकै दिनमा बनेको थिएन’ विश्व राजनीतिक वृत्तमा प्रचलित यो भनाइ केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दोहो¥याउनुभएको छ । साहित्य, राजनीति तथा इतिहासको सामान्य जानकारी राख्ने व्यक्तिलाई यो भनाइ नौलो लाग्दैन तर यो भनाइको तात्पर्य कालजयी भएकाले समय–समयमा धेरै राजनेताहरूले दोहो¥याउँछन् । दोहो¥याउँदै आएका छन् । इन्द्रदह पर्यटन उत्सवको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पुर्खाको वीरताको सम्मान, योगदान एवम् दूरदृष्टिको कदर गर्नुपर्ने बताउनुभयो । साथै उहाँले ऐतिहासिक गढी, किल्लाको संरक्षण गरी इतिहासको कदर गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीका यी भनाइलाई ‘रोम एकै दिनमा बनेको थिएन’ भन्ने उक्तिसँग सम्बद्ध गर्न सकिनेछ । चन्द्रागिरि नगरपालिका–१ स्थित इन्द्रदह नेपालको इतिहाससँग जोडिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा काठमाडौँ उपत्यकालाई विशाल नेपालमा समाहित गर्ने सिलसिलामा शक्तिपीठका रूपमा स्थापना गरिएको मनकामना मन्दिर र काजी कालु पाँडेको समाधिस्थल यसै क्षेत्रमा पर्दछन् । त्यसैले यी स्थान नेपाल निर्माण अभियानमा सम्बन्धित हुन पुगेका छन् ।
पृथ्वीनारायण शाह, कालु पाँडेमात्र होइन, हजारौँ नेपालीको योगदान र हजारौँ दिनको सत्प्रयासले नेपाल बनेको हो । त्यसैले नेपाल एक दिनमा बनेको होइन भन्ने इतिहास झल्काउन पनि प्रधानमनत्रीको भनाइ सान्दर्भिक हुन्छ । साथै उक्त भनाइको आसय एकै दिनमा, एकजनाले मात्र समृद्ध नेपाल बनाउन सक्दैन भन्ने पनि हो । त्यसैले जनताको सहभागिता र सम्मतिमा सरकारले समृद्ध नेपाल निर्माणको नेतृत्व गरिरहेको छ । यसमा अरू हजारौँको योगदान अपेक्षित हुन्छ । वीर पुर्खाको वीरता, योगदान, विद्वता र दूरदृष्टिबाट प्रेरणा लिन इतिहासको सम्मान गर्नुपर्छ । नेपाली किल्ला, गढी र थुम्काथुम्कामा राष्ट्रनिर्माणका अलिखित दस्तावेज पढ्न सकिन्छ । वीरताको गुञ्जन सुन्न सकिन्छ । ती दस्तावेज र गुञ्जनले दोहो¥याउनेछन्, ‘नेपाल एकै दिनमा बनेको होइन ।’ हाम्रो इतिहास, मौलिकता, संस्कृति नै समग्र नेपाल हो, जुन एकै दिन बनेका होइनन् । यिनको संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जानुपर्छ । अर्कोतिर यस्ता सम्पदाको अर्थशास्त्रलाई पर्यटन र आर्थिक प्राप्तिमा मात्र खुम्च्याउन हुँदैन । इन्द्रदह पुग्ने जोसुकैले कालु पाँडे र उहाँका पुस्ताले राष्ट्रनिर्माणमा दिनुभएको योगदानप्रति गौरव गर्नेगरी इतिहासको सम्मान पनि गरिनुपर्छ । मुलुकैभर रहेका यस्ता गढी, किल्ला, चौकीजस्ता सम्पदाको संरक्षण गरिँदा आर्थिक समृद्धिलाई मात्र टेवा दिने छैन इतिहास र योगदानको संरक्षण पनि गर्नेछ । नेपाली सेनाले ढिलै भए पनि गढी किल्लाहरूको संरक्षण कार्यक्रम अगाडि बढाएर राम्रो कार्य गरेको छ ।
रोम एकै दिन बनेको थिएन, त्यत्तिकै सत्य रोम एकै दिन जलेको थियो । इपू ७५३ मा स्थापना भएको विश्वास गरिने पाश्चात्य सभ्यताको जननी रोममा आगो लगाएर सम्राट निरोले रमिता हेरेका थिए । अन्नतः उनी आफैँ रोमसँगै जलेर खरानी भए । विश्व सभ्यताको पाश्चात्य
भङ्गालोको नेतृत्व गर्ने रोम जलेर सकियो । नेपाली हामी सबैले बुझ्नुपर्छ– असहिष्णुता विनाशको कारण हो । आज वर्षौंको कालखण्डमा बनेका नेपाली सभ्यता, संस्कृति, लोकविश्वास र परम्पराविरुद्ध असहिष्णुताको विष वहन गर्नेबेला होइन । सबका आस्था र संस्कृतिको सम्मान गर्दै नेपाली राष्ट्रियता प्रवद्र्धन गर्नुपर्ने बेला हो । प्रधानमन्त्री ओलीले भन्नुभएजस्तै समृद्ध नेपाल बनाउने बेला हो । पृथ्वीनारायण शाह, नेपाल निर्माणका सहश्र पुस्ता वा भानुभक्तका योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई राष्ट्र निर्माणका आगामी कार्यभारप्रति प्रेरित गर्न सकिन्छ । यस्तै विभिन्न धर्म, विश्वास, सम्पदाको निर्माणले नेपालीत्व विकास गर्न सकिनेछ । नेपालले धार्मिक निरपेक्षता अवलम्बन गर्नुको अर्थ कसैको धर्म र धार्मिक ग्रन्थप्रति अनास्था दर्शाउने छुट होइन । नेपालीका अथाह विश्वास र मान्यताले समग्र नेपाली संस्कृतिको निर्माण भएको साधारण सत्य सबैले बुझ्नुपर्छ । यो प्रतिशोध र वैमनश्यताको बेला होइन । देश बनाउने महायात्रा हो । एक नेपालीको योगदान वा एक दिनमा नेपाल बनेको थिएन भन्ने सत्य स्वीकार गर्न सकिएमा नेपालको मौलिकता, संस्कृति, इतिहास तथा गौरवको प्रवद्र्धन हुनेछ । यसमा समग्र नेपालको मानचित्र देखिनेछ । इतिहास र संस्कृतिको सम्मान गर्दा नै नयाँपुस्ता राष्ट्रप्रेमबाट अभिभूत हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?