logo
२०८१ मंसिर १३ बिहीवार



राष्ट्रियताका बहुआयामिक पक्ष

विचार/दृष्टिकोण |




 

प्रेमराज सिलवाल

बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको नेपालको राष्ट्रियता एवम् मुलुकको गौरवमय इतिहासलाई उच्च राख्दै मुलुकको विकास र समृद्धिलाई अघि बढाउन बदलिंदो भूराजनीतिक अवस्थाको विश्लेषणसहित अघि बढ्नुपर्ने अवस्था छ । नेपालको राष्ट्रियता र विकासका बहुआयामिक पक्ष एवम् दृष्टिकोणहरूलाई आवश्यक महत्व दिएर नेपालको हितको रक्षा गर्न सकिन्छ । राष्ट्रियता बलियो तथा सुदृढ बन्ने कुराले देशको समग्र पक्षलाई बलियो पार्न सक्दछ । भर्खरै लोकतान्त्रिक गणतान्त्रिक संविधानमार्फत प्रगतिशील संवैधानिक र राजनीतिक वातावरणबाट अघि बढ्दै आएको नेपालको राष्ट्रियता र नेपालीहरूमा एकताको भावना कमजोर भयो भने त्यसले समग्रतामा हित गर्न सक्दैन ।

राष्ट्रियता सम्बन्धी दृष्टिकोण
‘राष्ट्रियता भनेको व्यक्ति र राज्यबीचको आभारभूत कानुनी सम्बन्ध हो र यसलाई राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय कानुनमा अलग–अलग सन्दर्भ र दृष्टिकोणले व्याख्या गरिएको पाइन्छ (विकिपेडिया डटकम) ।’
अक्सफोर्ड ल डिस्नेरीका अनुसार ‘राष्ट्रियता भन्ने कुरा नागरिक र सम्बन्धित राष्ट्रको सम्बन्ध हो ।’
राष्ट्रियता शब्दले राष्ट्रियता र नागरिकता दुवै कुरालाई बुझाउँछ । अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यक्तिको सम्बन्धमा राष्ट्रियता शब्दको प्र्रयोग गरिन्छ भने राष्ट्रिय कानुन र प्राकृतिक व्यक्तिको सम्बन्धमा नागरिकता शब्दको प्रयोग गर्ने गरिन्छ । राष्ट्रियता वा नागरिकताले राष्ट्र र व्यक्तिबीचको सम्बन्ध निर्धारण गर्दछ । कानुनविद् हेन्स केल्सनका अनुसार राष्ट्रियता व्यक्तिको एक स्तर हो जो कानुनत ः कुनै राज्यको सदस्य हुन्छ र यसलाई त्यस राज्यको सदस्य भन्न सकिन्छ ।
राष्ट्रियता त्यस्तो राजनीतिक अवधारणा र मान्यता हो जहाँ एउटा निश्चित भूगोलमा रहेका नागरिक एकतावद्ध र मुलुकप्रति बलियो धारणा बनाएर बसेका हुन्छन् । एउटै मुलुक र राज्यका जनताहरू साझा धारणा, सामुहिकता, विचार र मान्यता, समानता र समान संस्कृति, समान प्रकारको इतिहास र भाषा आदिबाट जोडिएका हुन्छन् । तर विभिन्न भूगोलमा बाँडिएर पनि राष्ट्रियता र राष्ट्रिय भावना एउटै हुनसक्छ । जस्तो बेलायत, अमेरिका, चीन लगायतका मुलुकमा विविध सामाजिक, सांस्कृतिक तथा भूगोलका मानिसहरूको एउटै राष्ट्रियता, नागरिकता तथा राष्ट्रिय भावना देखिन्छ ।

नागरिक कर्तव्य
नेपाल थुप्रै खालका विविधता भएको मुलुक हो । विविधतावीचको सार्थक, अर्थपूर्ण तथा प्रतिष्पर्धात्मक एकताले मुुलुक बलियो बन्दछ, देश समृद्ध बन्न सहयोगी भूमिका खेल्दछ । राष्ट्रियताप्रति मुलुकवासी र नागरिकहरूले गर्व र सम्मानको अनुभूति गर्न सकेको खण्डमा देशको सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक सबै क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्न जान्छ । राष्ट्रियता बलियो र सुदृढ हुनको लागि मुलुक अनुसार आ–आफ्ना इतिहास, क्रान्ति, राजनीतिक वातावरण, भौगोलिक आवश्यकता आदि पक्षहरूले भूमिका खेलेका हुन्छन् । राष्ट्रियतामा मुलुकमा रहेका सबै मानिस र नागरिकको साझा भावना, अपनत्व, गौरव, दायित्व, कर्तव्य, सहयोग र सहकार्य जस्ता पक्ष र दृष्टिकोणहरूको समग्र हित र पक्षमा सुधार हुनु पर्दछ । नेपालको राष्ट्रियता बलियो पार्न सक्ने विभिन्न पक्ष तथा दृष्टिकोणहरूको यहाँ चर्चा गरिएका छन् ।
एक, राष्ट्रियताको भावना जागृत तथा अभिवृद्धिको लागि प्रत्येक नागरिकको राज्यप्रतिको केही न केही दायित्व र जिम्मेवारी हुन्छ र रहन्छ । राष्ट्रको सार्वजनिक विषय, घटनाक्रम, इतिहास आदिको सन्दर्भमा नागरिक जागरूक र सचेत रहनु पर्दछ । सार्वजनिक सन्दर्भमा नागरिकले वास्ता नगर्ने र राज्यले पनि नागरिकलाई अपनत्व नदिने नीति र विचारले नेपालकोे राष्ट्रियता कमजोर बन्ने हुन्छ ।
दुई, नागरिकका दुःख–सुखहरूमा समुदाय तथा नागरिकहरूको आर्थिक, भौतिक, सामाजिक, साँस्कृतिक, सार्वजनिक तथा भावनात्मक सहयोग हुुनुपर्दछ ।
तीन, नागरिकहरूलाई आकस्मिक तथा प्राकृतिक विपत्ति वा संकटको अवस्थामा आउन सक्ने पीडाबाट राहत र पुनस्थापना गर्नको लागि नागरिक स्तरमा एकप्रकारको भौतिक, मानसिक तथा शारीरिक तयारीको स्थिति बन्न सक्नुपर्दछ ।
चार, नागरिक स्तरमा सिर्जनात्मक क्रियाकलाप, व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य, सामाजिक, स्वास्थ्य, खेलकुद, पोष्टिक आहार, दीर्घ जीवन आदिको लागि प्रत्येक नागरिक मुलुकका विनाबर्दीका सिपाहीजस्तै भएर सक्रिय बन्नुपर्छ ।
पाँच, राज्य प्रणालीमा आवश्यक गतिविधिहरूप्रति नागरिक स्वयं सचेत र जागरूक बन्नुपर्दछ । जस्तो, निर्वाचनमा भोट हाल्ने, सामाजिक जागरण, जनगणनाको लागि आउने टोलीलाई सहयोग गर्नु, रोग र महामारीको सम्बन्धमा आफू सचेत बन्दै जनचेतना बढाउनु, संविधान र कानुन सम्बन्धी चेतना फैलाउनु, अनेक प्रकारका गैरसामाजिक कार्यहरू रोक्ने प्रथम दायित्व नागरिकको हो ।
छ, नागरिक स्वास्थ्य, खानेपानी, वातावरण, सरसफाई, पोषणयुक्त खानेकुरा र जीवन जस्ता पक्ष मानिस बाँच्नको लागि चाहिने विषय हुन् ।
सात, मानवीयता, नैतिकता, मानवीय मूल्य बच्न सकेन भने केही बच्दैन । त्यसैले यस्ता पक्षमा नागरिक जिम्मेवार बन्दा मुलुकको राष्ट्रियता बलियो बन्न सहयोग पुग्दछ ।
आठ, विभिन्न खाले वैदेशिक हस्तक्षेप एवम् सीमा अतिक्रमण, वैदेशिक सम्बन्ध, वैदेशिक नीति र कूटनीति सम्बन्धमा नागरिकले चासो राख्नुपर्दछ ।
नौ, मुलुक र राष्ट्रप्रति निरपेक्ष बस्ने तरिका र चिन्तनले राष्ट्र र जनता बलियो हुँदैनन् । मुलुकको छवि विश्व स्तरमा फिंजाउन खेलकुद, ज्ञान र विज्ञान, सूचना, प्रविधि, समाजसेवा र मुलुकको इतिहास तथा गौरव राख्ने कार्यहरू, उद्योग र व्यापार जस्ता पक्षबाट नागरिकले देशको शिर माथि लैजाने कार्य गर्न सक्नुपर्दछ । जसले नेपाली भावना वृद्धि हुन गई राष्ट्रियता बलियो बन्न सहयोग मिल्दछ ।
दश, आफ्नो घर परिवारदेखि, समुदाय, समाज, शहर, बस्ती, गाउँ र ठाउँलाई स्वच्छ, सफा, हरियाली, वातावरणमैत्री र मानवमैत्री बनाउन सकियो भने त्यसले नेपालको उच्च छवि देश विदेशमा फैलन्छ र नेपालीको भावनात्मक एकता बलियो बन्दै जान्छ ।
एघार, नेपालका स्थानीय उत्पादन, स्थानीय स्रोत, श्रम, बजार आदिप्रति नकारात्मक धारणा फैलाउने र विदेशी वस्तु मात्र राम्रो हुन्छ भन्ने भावनाले नेपालीले धेरै कुरा गुमाउने स्थिति बन्दैछ । आफ्ना बारीमा फलेका प्राकृतिक वस्तु वा स्थानीय उत्पादन आदिलाई नराम्रो भावनाले हेर्ने र विदेशबाट आएका ‘कोकोकोला’, ‘ड्रिङ्स’, ‘लेज’ जस्ता वस्तुलाई खच्चडलाई बोकाएर भए पनि डाँडामा लगेर खाने आदतले हामीलाई कता लैजान्छ ?
बाह्र, प्रकृतिबाट प्राप्त भएका खानेपानी, विद्युत्, उर्जा लगायतका वस्तुहरूको प्रयोगमा होसियारी अपनाउनु पर्दछ । आफूले त्यस्ता वस्तु उपयोग नगरी फालिदिने तरिकाले अर्काले प्रयोग गर्न नपाउने अवस्था बन्न सक्नेतर्फ नागरिक सचेत बन्नुपर्दछ । यस्ता विषयहरूले प्रत्यक्ष र अप्रत्यक्ष ढंगले नेपाली भावना, नेपाली एकता र सारमा नेपाली राष्ट्रियताको अभिवृद्धि गर्ने कार्यमा भूमिका खेलिरहेका हुन्छन् ।

निष्कर्ष
राष्ट्रियता कानुनी दृष्टिकोणमा सिमित विषयजस्तो देखिए पनि राजनीतिक, सामाजिक, साँस्कृतिक एवम् बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गर्दा व्यापक हित बोकेको अवधारणा र मान्यता हो । प्रत्येक मुलुकको आफ्नो खालको इतिहास, भूगोल, धर्म, मूल्य, मान्यता, समाज आदि हुन्छ । त्यस्ता विषय र पक्षहरूले मुलुकलाई एकतामा बाँध्ने गरेको पनि हुन्छ । कतिपयले नेपाललाई सानो, गरीब, पछौटे मुलुक हो भन्ने र सोच्ने गरेका छन् । सारमा यो कुरा तथ्यबाट विश्लेषण गर्दा सही र साँचो होइन । नेपाल भूगोल र जनसंख्याको दृष्टिकोणले ज्यादै सानो देश होइन । विश्वमा ११८ मुलुकहरू भूगोलमा साना छन् । ४६ वटा मुलुकहरू नेपालभन्दा पनि साना छन् । तर आफ्नो इतिहास, अखण्डता र सार्वभौमसत्ता, मौलिक संस्कृति, ज्ञान, व्यापार, दक्षता, राष्ट्रियता, राष्ट्रिय एकता आदिमा सम्पन्न र स्थापित छन् । भूगोलमा साना राष्ट्र भइकन पनि सिंगापुर, इजरायल, स्वीजरल्याण्ड, ब्रुनाई, द.कोरिया, थाइल्याण्ड, दुवई जस्ता मुलुकहरूले आफ्ना शासन व्यवस्था तथा राज्य संचालन सम्बन्धी बहुआयामिक दृष्टिकोणहरूलाई महत्व दिइएका कारण उनीहरूको राष्ट्रियता तथा विकासमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । इतिहासमा कसैको अधिनमा नरहेको स्वतन्त्र नेपालको राष्ट्रियताका विविध पक्ष र आयामहरूलाई एकताबद्ध बनाएर मात्र नेपाललाई समृद्ध बनाउँदै अघि बढ्न सकिन्छ ।
नेपालको राष्ट्रियताका बहुआयामिक पक्ष र दृष्टिकोणहरू रहेका छन् । यस्ता बहुआयामिक मूल्य, विचार, पक्ष, दृष्टिकोण, मान्यता, आवश्यकता र समग्र हितको रक्षा हुन सकेको खण्डमा नेपालको सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक एवम् समग्र विषयको हितको सुरक्षा र संरक्षण हुन गई राष्ट्रियताको माला बलियो, खँदिलो तथा सुदृढ बन्न सक्छ भन्ने प्रत्येक नेपालीले मनन गर्नै पर्ने देखिन्छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?