logo
२०८१ मंसिर १३ बिहीवार



शेयर बजारको सन्देश ( सम्पादकीय )

विचार/दृष्टिकोण |




नेपालको शेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्बभन्दा बढीको कारोबार भएपछि यस क्षेत्रमा आशाका किरण देखिएको विश्लेषण गरिएको छ । अघिल्लो साताको अन्तिम दिन दुई अर्ब ७८ करोड ५० लाख रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री भएर त्यो दिनसम्मको नयाँ रेकर्ड कायम भएर बन्द भएको थियो । त्यसअघि पनि दुई अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएर पनि नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता शेयरको ३० हजार ४५६ पटक भएको खरिदबिक्रीले तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपियाँ बराबरको शेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८२ करोड रुपियाँले बढी हो । पछिल्ला दिनमा बैङ्कहरूले शेयर लगानीकर्ताका लागि गरेको ऋणको व्यवस्था, नियमनकारी निकायहरूको सकारात्मक कदमले लगानीकर्ताको मनोबल बढेकाले शेयर बजारमा सकारात्मक बढोत्तरी देखिएको हुनसक्ने विश्लेषण गरिएको छ । अर्कोतिर कोरोना भाइरस समस्याले चीनबाट सामान आयात गर्ने व्यापारीले सामान आयात गर्न नसकेपछि नेपाली शेयर बजारमा पैसा लगानी गर्न थालेकाले पनि यी हप्ता शेयर कारोबार बढेको अनुमान गरिएको छ । शेयर बजारमा आइतबार कारोबार रकमसँगै कारोबार सङ्ख्या र खरिदबिक्री भएको शेयरको सङ्ख्याको आधारमा पनि नयाँ रेकर्ड कायम भएको हो । आइतबारको कारोबार रकमसँगै शेयर बजार मापक नेप्से परिसूचक पनि दुई वर्षयताकै उच्च बिन्दु अर्थात् एक हजार पाँच सयभन्दा माथि लागेको छ । पहिलो दिन नेप्से परिसूचक ६९.५६ अङ्कले उकालो लागेर १५०४.१४ को बिन्दुमा पुगेर रोकिएको छ भने क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १७.०७ अङ्कले उकालो लागेर ३१७.५० को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा यस दिनको नेप्से ४.८५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ५.६८ प्रतिशतले उकालो लागेको पाइएको छ ।

शेयर बजारमा देखिएको उच्च मनोबललाई सकारात्मक भन्नुपर्छ तर कुनै विशेष परिस्थिति वा घटनाबिनै एकैचोटी आएको यस्तो परिवर्तन दिगो रहन समस्या हुनेगर्छ । आइतबारको वृद्धि अचानक घटना भएको भन्दै तर यसो हुनु आश्चर्य नभएको सम्बन्धित क्षेत्रका जानकारले बताएका छन् । ७० अङ्कले नेप्से बढ्नु र ३६० करोड रुपियाँको कारोबार समग्र शेयर बजारकै लागि ऐतिहासिक घटना भएकाले अबका दिनको उतारचढावपछि शेयर बजारले निश्चित गति लिने देखिन्छ । लामो समयदेखि शेयरबजारबाट निराश लगानीकर्तालाई यस्ता परिवर्तनले उत्साही बनाएको भए पनि यसको टिकाउ र नियमिततामा उनीहरू आश्वस्त हुन सकेका छैनन् । अन्य देशका अनुभवमा आर्थिक नीति, शेयर क्रयविक्रयका नियमनमा भएका परिवर्तन, युद्ध वा राजनीतिक तनावका कारण सुन र शेयरको मूल्यमा व्यापक घटबढ हुने भए पनि आइतबार यस्तो कुनै लक्षणबिनै शेयर बजारमा आएको उच्च परिवर्तनले ग्राहकलाई आश्चर्य बनाएको छ । नेपालमा कम्पनीहरूको आर्थिक कागजात, वित्तीय मूल्याङ्कन, शेयरको प्रत्याभूति विश्लेषण गरेर शेयर किनबेच गर्ने प्रवृत्ति स्थापित भइसकेको छैन । बजारको हल्ला र सम्पर्कको जानकारी तथा अनुमानका भरमा शेयरमा लगानी गर्नाले यसको वास्तविक बजारबारे स्वयं ग्राहकहरू अनभिज्ञ रहँदै आएका देखिन्छ । हचुवाका भरमा शेयर कारोबार गर्दा नोक्सानीमा परेका कतिपय व्यक्तिका दुःखद घटनाका समाचार पनि सार्वजनिक भएका छन् । त्यसैले शेयर–शिक्षामा सम्बन्धित पक्षबाट विशेष ध्यान दिनुपर्ने देखिन्छ । अर्कोतिर शेयर बजारमा संलग्नहरूले अनुमान र आरोप लगाएअनुसार कुनै एकव्यक्ति वा सरकारकै कारण शेयर बजार थलापर्ने अवस्थामा गएको हो भने यसमा सुधारको आवश्यकता छ । लगानीको प्रत्याभूति नदेखिएसम्म नयाँ ग्राहकलाई शेयर बजारमा प्रवेश गराउन सकिने अवस्था छैन । कम्पनीहरूका वास्तविक वित्तीय अवस्थालगायतको विश्लेषण गरेर यस क्षेत्रमा लगानी गर्ने र ग्राहकलाई विश्वस्त बनाउन सकिए शेयर बजारमा देखिएको शिथिलता हटेर जानेछ ।

 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?