नवराज पोखरेल
सन् २००७ देखि २०१६ सम्मको ४.१ प्रतिशत आर्थिक वृद्धिको औसतलाई पछि पार्दै सन् २०१९ को ७.१ प्रतिशत आर्थिक वृद्धिको औसत हेर्दा नेपाली अर्थतन्त्रले गति लिएको आभाष गर्न सकिन्छ । सेवाको क्षेत्रमा ५७ प्रतिशत वृद्धि र २४ प्रतिशत चाहिं कृषिले योगदान गरेको यो वृद्धिको ठूलो आड र भरोसा विप्रेषण हो । सँगसँगै खुद्रा रुपमा पर्यटक र तिनीहरुको वृद्धिले पनि अर्थतन्त्रलाई वलियो बनाउँदै छ । २०२० को भ्रमण वर्षले के कसरी योगदान गर्छ त्यसको आंकलन गर्ने अवधि आउँदैछ । कृषिमा आधुनिकीकरण गर्न नसकिएको र ठूलो जनसंख्या कृषिबाट टाढा जाँदै गरेको पनि सुदृढ अर्थतन्त्रलाई चुनौती छ । तथापि नियमित रुपमा व्यहोर्दै आएको लोडसेडिङ्ग, (सिंचाई) पानीको समस्या ट्राफिक जाम जस्ता साना तर अर्थतन्त्रको सुदृढीकरणको लागि महत्वपूर्ण कुराहरुको जटिलता खुल्दै गएको छ ।
अर्कोतर्फ आधुनिक विकासको सर्वोपरि प्राथमिकता पूर्वाधारहरु छन् । ठूला पूर्वाधार नै नेपाली विकासको छाता आवश्यकता (अम्व्रेला रिक्वाइरमेण्ट) हो । सडक निर्माण, लोकमार्गहरु, विमानस्थल, विद्युतीकरण, संचार (टेलिफोन), खानेपानी, ढल सरसफाईजन्य पूर्वाधार सबैको एउटै लक्ष्य आर्थिक विकास हो ।स्वास्थ्य, शिक्षा, साँस्कृतिक ‘स्टाण्डर्ड’ तथा प्रत्यक्ष तथा परोक्ष रुपमा सामाजिक पक्षलाई स्तरोन्नती गर्न सहयोग गर्ने पूर्वाधारहरु सामाजिक पूर्वाधारहरु हुन् । यो बाहेक आर्थिक रुपमा फरक–फरक करको दायरालाई बढाएर नेपाली अर्थतन्त्रलाई सवल र दिगो बनाउने कोशिसमा राज्य लागेको देखिन्छ । यस्ता आर्थिक सूचक र सूचकांकहरुले जे जसरी राज्यलाई वलियो बनाउँदै लगेको देखाए पनि एक महत्वपूर्ण र अविस्मरणीय पक्ष चाहिं के हो भने ठूला आर्थिक पूर्वाधारहरु र दोस्रो पक्ष उद्योगधन्दाको विकास आवधिक योजनाको प्राथमिक लक्ष्यमा परेका छन् । यी दुवै पक्षहरुले सोचेअनुसार, लक्ष्य लिएअनुसार र दीर्घकालीन लगानी अनुसारको प्रतिफल दिन सकेका छैनन् ।
वृहत् आर्थिक पूर्वाधार विना देशको दिगो विकास सम्भव छैन । ठूला पूर्वाधारको अभावमा राज्यको ठुलो हिस्सा विकासको प्रतिफलबाट टाढा रहेको हुन्छ । ग्रामीण परिवेशले पूर्वाधारको अभ्यास गर्न सक्दैन फलस्वरुप विकासले प्रतिफल दिन सक्दैन । अर्को पक्ष देशको आयात र निर्यातमा हुनुपर्ने सामञ्जस्य हो । प्राकृतिक रुपमा भरिपूर्ण भएको देशमा तमाम औद्योगिक कच्चापदार्थहरु छन् । ४४ प्रतिशत रुखले ढाकेको क्षेत्र भएको देशमा काष्ठजन्य प्रोडक्टहरु विदेशबाट आयात गर्नुपर्ने बाध्यतालाई मात्र केलाउने हो भने पनि वास्तविकता प्रकट हुन्छ । सामाजिक पक्ष र राजनीतिक रुपमा विश्व परिवेशमा पुगिसकेको देशमा अबको समय पूर्वाधार निर्माणको दशक प्रस्ताव गरौं ।
मध्यवधि समिक्षासँगै वार्षिक आयव्ययको विवरणलाई सामान्य परिमार्जन गरी वास्तविकतामा आधारित बनाउने कोशिस गरिएको छ । हाम्रो आय र खर्चको अनुपातलाई तुलना गरेर अब नयाँ वर्षको बजेट निर्माण प्रक्रियाको शुरुवात हुँदैछ । खर्र्च गर्न सक्ने आधारहरुसहित विकास वजेटको मात्रामा परिमार्जन गरिएको छ । यो परिमार्जनले एकातर्फ हाम्रो हालको खर्च गर्ने क्षमताको मूल्याङ्कन गर्दछ भने अर्कोतर्फ नयाँ बजेट निर्माणको बाटोलाई देखाउने गर्दछ ।
विकास निर्माण दशक प्रस्ताव
विकास आयोजनमा सहयोको लागि विवाद आएको अमेरिकी सरकारको सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशनले दिन खोजेको सहयोगमा भएको विवाद, निजगढ विमानस्थल निर्माण पूर्व हुँदै गरेको विवाद राष्ट्रिय रुपमा विकास र निर्माणमा अनावश्यक तरङ्ग लिएर आएको छ । विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो । यसले सामान्य रुपमा गति लिन सक्यो भने आयोजना अवधिभित्र सम्पन्न गर्न सकिन्छ । यदि अनावश्यक विवादले गति लिन थाल्यो भने आयोजना समय सीमाभित्र सम्पन्न गर्न सकिन्न । विश्व वैंकको सहयोगमा निर्माण गर्न थालेको विद्युतीय प्रसारण लाईनमा थोरै मात्र प्रसारण लाइन टावर निर्माणको लागि भएको अवरोधले तमाम आयोजना निर्माण सम्पन्न हुन सकेन । मेलम्ची खानेपानी आयोजना समयमा निर्माण हुन नसक्नुका पछाडि अघिल्लो चरणमा तत् आयोजनाको सामाजिक तथा वातावरणीय समस्या मुल कारण थियो । कतिपय सडक आयोजनाहरु रुख कटान विद्युतीय पोलको डिस्टर्वेन्स लगायतका कारण अलपत्र छन् । काठमाडौंभित्रका सडक हरुमा घर र जग्गाको अवरोधका कारण अलपत्र छन् । सरकार र निर्माण व्यवसायीलाई गाली गर्ने माध्यम बनेका छन् । कतिपय आयोजनाहरु निर्माण व्यवसायीहरुको लापरवाहीले गर्दा अलपत्र परेका छन् । सामान्यतया ठूला पूर्वाधार विकासका व्यवहारिक समस्याहरु अत्याधिक छन् । प्राविधिक रुपमा ठीक भएका कतिपय आयोजनाहरु अरु वातावरणीय सामाजिक अर्थले गर्दा आयोजना ढिला भइरहेको हुन्छ । यी आयोजना निर्माण र संचालनमा नेपालले सिक्नुपर्ने विषय धेरै छन् । निर्माण चरण र डिजाइन चरणको तादात्म्यता नमिल्दा पर्न आएका समस्याहरु तमाम छन् । यो बाहेक प्रशासनको झण्झटतामा भित्र फसेर आयोजनाको कार्य र खर्चको प्रगति नहुँदा आयाोजना माथी नै प्रश्नचिन्ह लागेको अवस्था छन् । पूर्वाधार निर्माणको आधारमा पूर्वाधार निर्माणको प्राविधिक संस्कृति निर्माण छैन । व्यवसायिक संस्कृतिको अभावमा आयोजनामा सहभागी सरोकारवालाको कार्यप्रतिको उत्तरदायित्व देखीदैन ।
निर्माण दशकले के गर्छ ?
विकास निर्माण डिजाइन तथा खरिद प्रक्रियाबाट शुरुवात हुन्छ । हाम्रा खरिद ऐन द्विभाषिक वा द्विअर्थी छन् । नियतवश गरिएका खराब आचरण तथा कार्य गर्दा हुनसक्ने त्रुटिलाई छुट्टाउन सक्ने वातावरण छैन । कर्मचारीतन्त्र विकास कर्मचारीले विकास प्रशासनको मर्म अनुसार चल्न सक्दैन । कानूनी रुपमा रहेका दुई अर्थीशब्दलाई केलाएर कार्य गर्नुभन्दा चुपचाप जागीर खानु नै श्रेयस्कर देख्ने मनोवृत्ति बढाउने ऐन कानून छन् । अनुसन्धान गर्ने निकायले पनि विकास सहयोगी नभईकन दोषारोपण गरेर प्रचारमुखी प्रक्रिया अवलम्वन गर्ने प्रक्रिया छ । यस्ता तमाम कुराहरुले समग्र विकास प्रशासनले गति लिन सकेको छैन ।
विकास निर्माणको दशकले यी तमाम प्रक्रियालाई सहजीकरण गरी विकासको आवश्यकतालाई पूर्ति गर्ने तर कानूनी रुपमा पनि व्यवहारिक प्रक्रिया अवलम्बन गराउने हुनुपर्छ । शक्तिशाली विकास निर्माण सम्बन्धी सरकारी निकायको गठन गरी आउन सक्ने तमाम समस्यालाई छोटो बाटो सहजीकरण गर्न सक्नुपर्छ । एक दशकमा ठूला पूर्वाधारको नियम कानूनी प्रक्रियालाई सहजीकरण गरी छोटो बाटो (फास्ट ट्रयाक) बाट ती कार्यलाई अगाडि बढाउने विशेष व्यवस्था हुनुपर्छ । जिम्मेवारी वा प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा रहने सो निकायले निर्माण क्रममा आएका समस्यालाई पूर्णत हटाउन, घटाउन सक्ने अख्तियारी पाउनुपर्छ । अख्तियारी सँगसँगै जिम्मेवारी बोधसहित कतिपय अवस्थामा राष्ट्र विकास र निर्माणको लागि निर्भम निर्णय गर्न सक्ने नयाँ विशेष कानुनी व्यवस्था भएको सरकारी निकायले प्राथमिक पूर्वाधार तोकी सोही अनुरुप कार्य गर्नुपर्दछ । विकास निर्माणको दशकले सानातिना कुरालाई कानूनी रुपमा परास्त गर्न सकोस् । राजनीतिक, सामाजिक, दबावलाई थेगेर निर्माणलाई टुङ्गोमा पु¥याओस् । समग्रमा समयावधिभित्र कार्य हुन नसक्ने तमाम अप्ठ्याराहरुलाई कानूनी रुपमा सहज बनाई पूर्वाधार निर्माणलाई समयमा सम्पन्न गर्ने गरी जिम्मेवारीपूर्वक तरिकाले अगाडि बढाउने र १० वर्षको लक्ष्यलाई सोही अवधिमा हासील गरी पूर्वाधार निर्माणको सर्वोपरि लक्ष्य हासिल गर्ने निकाय, कार्यक्रम, कानून र अभियान नै आजको आवश्यकता हो ।
नेपालमा अब ठूला पूर्वाधार निर्माणको हिसाबमा सबैभन्दा अनुकुल वातावरण बनेको छ । सामाजिक चेतना, विश्व परिबेश, देशभित्रको राजनीतिक स्थिरता लगायतका तमाम अवस्था ठूला पूर्वाधार निर्माणको लागि सहजता बोकेर उभिएको छ । यही समयमा देश बिकासको लागि सर्वोपरी रुपमा सानातिना समस्यामा नअल्झिकन एकोहोरो रुपमा विकास निर्माणको अभिभारा पूरा गर्ने लक्ष्यसहितको निर्माण दशक प्रस्ताव गरी कार्य गरौं र दश वर्षमा देशलाई विकसित देशको तहमा पु¥याउने अवसर बनाउँ ।
एमसीसीको हालसम्मको प्रगति विवरण कार्यपद्धती र लक्ष्यसहितको कार्यक्रमबाट देखाईएको व्यवस्था अनुरुप पाँच वर्षमा सम्पन्न हुने सँस्कृति सिकाउने र लिने अवस्था ल्याउनको लागि पनि एमसीसी आयोजना सिकाई हुन सक्छ । बैदेशिक सहयोग लिने र दिने तमाम बिबाद गर्नुभन्दा एमसीसीसँग विकास निर्माणको सभ्यता सिक्ने प्रयास गरौं । ठुला पूर्वाधारहरु निर्माणको प्रकृयालाई कसरी नेतृत्व गर्ने, समय सीमाभित्र कसरी प्राविधिक कार्य सम्पन्न गर्ने भन्ने विषयमा बिकसित देशसँग ज्ञान निर्यात गरौं । एउटा महत्वपूर्ण विषय चाहिं पाँच वर्ष समय अवधिमा सम्पन्न गर्ने सीमालाई कठोर रुपमा लागु गरेर विकास निर्माणको दशक सुरुवात गरौं ।
( लेखक पूर्वाधार र वातावरण सम्बन्धित काम गर्नुहुन्छ । )