logo
२०८१ मंसिर १३ बिहीवार



गाउँमा देखिनथालेको विकास

विचार/दृष्टिकोण |





गोविन्द शर्मा
यो साता प्रदेश ५ को बाँके बर्दिया हुँदै कर्णाली प्रदेशको सुर्खेत, सल्यान, जाजरकोट र पश्चिम रुकुम पुगियो । शहर बजारमा वर्तमान सरकारका बारेमा अनेकथरीका गुनासा सुनिन्छन् । सरकारले दुई वर्षको अवधिमा पनि केही काम गरेको छैन भन्नेहरु पनि छन् । तर शहर छोडेर गाउँ पुग्ने हो भनआम नागरिकमा विकासप्रतिको उत्साह र अपेक्षा देखिन्छ । ग्रामीण क्षेत्रका आम नागरिक सरकारले काम गरिरहेको बताउँछन् । सल्यानको साविक देवस्थल गाउँ विकास समितिको नाम्रा अहिले वंगाड–कुपिण्डे नगरपालिकाको वडा नम्बर १ मा पर्दछ ।

अहिले गाउँसम्मै मोटरबाटो पुग्न थालेपछि स्थानीय बासिन्दामा नयाँखालको उत्साह देखिन्छ । भेरी नदीको किनारमा रहेको यो गाउँमा अत्यावश्यक सामान खरिद र माध्यमिक शिक्षा अध्ययनका लागि चिन्हमा भेरी नदी पार गरेर सुर्खेतको सिम्ता पुग्नुपर्ने बाध्यता पनि अहिलेको सरकारले अन्त्य गरिदिन लागेको छ । नाम्राका स्थानीय युवा गोपीलाल शर्माका अनुसार सिम्तादेखि नाम्रा जोड्न झोलुङ्गे पुलको निर्माण कार्य सुरु भईसकेको छ । ‘केही वर्ष अघिसम्म गाउँमा यति छिट्टै सडक पुग्ला भन्ने सोचेकै थिएनौं’ शर्मा भन्नुहुन्छ, वर्तमान सरकार आएपछि ग्रामीण तहमा एकपछि अर्को विकासका कामको सुरुवात भएको छ ।
नाम्रामा भर्खरै विद्युत् पुगेको छ । खानेपानीको समस्या समेत समाधान हुनेक्रममा छ । नाम्रा त एउटा विकट गाउँको उदाहरण मात्रै हो । हाम्रो यात्राको क्रममा सल्यानका विकट वस्ती हुन् वा सुर्खेत र जाजरकोटका विकट वस्ती – सबैतिर सडक सञ्जालले छोएको छ । नागरिकमा अब गाउँघर छोडेर सुविधा सम्पन्न शहरमा बसाई सरी जानुपर्दैन भन्ने बिश्वास पनि पैदा भएको छ ।
रुकुम पश्चिम तत्कालीन माओवादी जनयुद्धको उद्गम थलो, अहिले अवस्था फेरिएको छ । रुकुमको चौरजहारी पुग्दा आम नागरिकहरु विगत बिर्सदै विकास निर्माणप्रति आशावादी देखिए । मध्यपहाडी राजमार्ग होस् वा चौरजहारी –सल्लिबजार सडक होस् या चौरजहारी–मुसिकोट सडक खण्ड नै किन नहोस्, आम नागरिकको यात्रालाई सहज पारिदिएको छ ।
वर्तमान सरकार गठन भएको दुईवर्षको अवधिलाई लिएर पहाडमा मात्र होइन, तराईमा पनि आम नागरिकमा उत्साह देखिन्छ । यस्तो उत्साह शहरबजारमा भन्दा पनि ग्रामीण ईलाकामा बढी पाइन्छ । हुलाकी सडकको बाँके खण्ड देशका अन्य जिल्लामा झै वर्षौंसम्म अधुरो रहेको अवस्थामा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल सरकारले आफै भए पनि निर्माण गर्ने निर्णय ग¥यो । पछिल्ला दुईवर्षको यसको कामको गति हेर्दा स्थानीय बासिन्दामा नयाँखालको उत्साह सञ्चार भएको छ । नेपाल सरकार आफैले निर्माणको जिम्मा लिएपछि तराई मधेसका जिल्लाको ‘लाईफलाईन’ को रुपमा मानिएको हुलाकी सडकको निर्माणले गति लिएको प्रत्यक्ष देख्न सकिन्छ ।
डुडुवा गाउँपालिका ५ कम्दीका सगिर खाँ गाउँसम्म कालोपत्रे सडकमा आवतजावत गर्न पाउँदा मात्रै पनि खुशी हुनुभएको छ । उहाँ भन्नुहुन्छ – पहिलेका सरकारले जनताको बारेमा किन सोचेनन् होला ? विकास गर्ने सोच भए काम त गर्न सकिंदो रहेछ भन्ने उदाहरण हुलाकी सडक नै भएको छ ।
हुलाकी सडक निर्माणको जिम्मा पाएको भारतीय ठेकेदार गएपछि अझै कति वर्षसम्म काम सुरु नै हुँदैन भन्ने चिन्तामा भएका स्थानीय बासिन्दा अहिले घर अगाडिको सडक कालोपत्रे भएपछि उत्साही भएका छन् ।
नेपालगञ्जको पुष्पलालचोकबाट सुरु भएको हुलाकी सडक करिब ४४ किलोमिटर पूर्व भारतीय सीमाको कटकुइयासम्म पुग्ने हो । यसको दुईभाग कालोपत्रे भईसकेको छ भने बाँकी पनि छिट्टै कालोपत्रे हुनेक्रममा छ । हुलाकी सडक निर्माण भएसँगै भारतीय बाटो भएर नेपालगञ्ज पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । यसले नेपालगञ्जसँग निकटता पनि बढाएको छ । यसअघि जीर्ण सडकका कारण सवारी साधन भारतीय बाटो भएर नरैनापुर पुग्नुपर्ने बाध्यता थियो । यो सडक निर्माण भएपछि नेपालगञ्ज उप–महानगरपालिकासहित डुडुवा गाउँपालिका, राप्ती–सोनारी गाउँपालिकाका र नरैनापुर गाउँपालिकाका हजारौं बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।
बाँकेको खजुरा गाउँपालिका ४ ईगाउँ करिब पाँच दशकअघि बसेको वस्ती हो । यसगाउँमा ढिलो गरी विद्युतीकरण भयो । गाउँका सबैको चाहना छिटो सडक कालोपत्रे होस् भन्ने थियो । यसवर्ष यहाँका नागरिकको वर्षौदेखिको चाहना पूरा भएको छ । खजुरा एक नम्बरदेखि ईगाउँसम्म करिब तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । बाँकी सडक पनि यसैवर्ष कालोपत्रे हुने योजनामा छ । स्थानीय ७५ वर्षीय ईश्वरबहादुर बुढाक्षेत्रीलाई गाउँसम्म कालोपत्रे सडक पुगेपछि विकास नजिकबाटै देख्न पाएको अनुभूति भएको छ । उहाँ भन्नुहुन्छ, सरकारले गाउँमा पनि हेर्दोरहेछ भन्ने सबैलाई परेको छ । हिलाम्मे बाटो भएर हिंड्नुपर्ने अवस्थाको अन्त्य गरिदिएकोमा स्थानीय बासिन्दा अत्यन्त खुशी भएका छन् । ईगाउँमा सडक कालोपत्रेमात्रै भएको होइन, आधारभूत स्वास्थ्य केन्द्र गाउँमै संचालनमा आएको छ । खानेपानी आयोजनाको समेत काम सुरु भएको छ । केही वर्ष अघिसम्म पिछडिएको क्षेत्र मानिने ईगाउँको पछिल्लो एकवर्षमै कायापलट भएको भन्छन् स्थानीय बासिन्दाहरु ।
पछिल्ला दुईवर्षको अवधीमा नेपालगञ्जलाई हेर्ने हो भने पनि विकास भएको देख्न सकिन्छ । यहाँका बाहिरी सडक चारलेनको मात्रै भएको होइन, भित्री सडक समेत चिल्ला भएका छन् । बाहिरबाट आउने मानिसहरु यहाँको सडकको अवस्था हेरेर चित् पर्नेखालको पनि छ । तर केही व्यक्तिहरु अहिले पनि सरकारले केही गरेको छैन भन्दै विभिन्न माध्यमबाट सरकारको आलोचना गरिरहेका हुन्छन् । राजधानी वा ठुला शहरमा बसेर सरकारको आलोचना गर्नेहरुले कहिलेकाहीं गाउँघर घुमेर पनि वास्तविकता बुझेमा पक्कै पनि विकास भएको रहेछ भन्ने लाग्नेछ । सरकार र यसको नेतृत्वमा रहेकाहरुले आलोचनालाई सकारात्मक रुपमा लिंदै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन लाग्नुपर्ने देखिन्छ ।


(लेखक गोरखापत्रका बाँके समाचारदाता हुनुहुन्छ)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?