भागवत खनाल
बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले त्यहाँको निजामती सेवा कुनै पनि कुरालाई व्यवस्थापन गर्ने मामिलामा उत्कृष्ट रहेको तर परिवर्तन व्यवस्थापन गर्ने मामिलामा यसको प्रयास अपर्याप्त रहने गरेको कुरा उल्लेख गर्नुभएको छ । कर्मचारीतन्त्रको औपचारिकता र ढिलासुस्तीबाट हैरान अमेरिकी नौसैनिक अधिकारी हाइमेन रिकभरले भन्नुभएको थियो, ‘यदि तिमी पाप गर्ने विचारमा छौ भने बरु भगवानको विरुद्धमा पाप गर तर कर्मचारीतन्त्रको विरुद्धमा होइन । भगवानले तिमीलाई माफ गर्लान्, किन्तु कर्मचारीतन्त्रले माफ गर्ने छैनन् ।’
भारतकी दिवंगत प्रधानमन्त्री इन्दिरा गान्धीले भन्नुभएको थियो, ‘ब्युरोक्रेसी’ ले समस्याको तत्कालीन समाधान गर्ने उपाय मात्र सुझाउन सक्छ, यसबाट समस्याको दीर्घकालीन समाधानका लागि समुचित सल्लाह पाउन गाह्रो छ । चर्चित अमेरिकी हाँस्य कलाकार इभान इसरले कर्मचारीतन्त्रलाई ठूलो जनशक्तिले धेरै समय खर्च गरेर थोरै उपलव्धि हासिल गर्ने संस्थाको रुपमा औंल्याउनु भएको थियो ।
माथि उल्लेख गरिएका कथनहरुले चार कुराको संकेत गर्छ । प्रथमतः निजामती सेवा दक्ष, व्यावसायिक र वर्तमानको व्यवस्थापनमा निपुण रहे तापनि परिवर्तन विरोधी हुन्छ । दोस्रो, यो अत्यन्त औपचारिक, जुम्सो र विलम्बी स्वभावको हुन्छ । तेस्रो, यो तत्काल उत्पन्न समस्यासँग जुध्ने उपाय निकाल्न त समर्थ हुन्छ तर दीर्घकालीन समस्या समाधान र नीति निर्माणको लागि भरपर्दो हुँदैन । चौथो, निजामती सेवामा स–साना काम फत्ते गर्नका लागि पनि ठूलो जनशक्ति चाहिन्छ, तैपनि अपेक्षित समयमा काम पूरा हुँदैन ।
सरकारको अविर्भाव आफैँ भएको होइन । यसको कारण प्रभाव या परिणाम उत्पन्न गर्ने मूल तत्व राज्य हो । आधुनिक युगमा राज्य सञ्चालनका लागि स्थापना भएको सरकार (कार्यपालिका) का मूल रुपमा दुईवटा पुर्जा हुन्छन् । ती हुन्, राजनीतिक नेतृत्व र त्यसलाई सहयोग गर्ने कर्मचारीतन्त्र । लोकतान्त्रिक पद्धतिमा जनता नै राज्यका मालिक हुन्छन् । राज्यको सार्वभौमसत्ता जनतामा निहित हुन्छ । जनताले आफ्नो शासन आफै गर्न सम्भव नहुने हुँदा आफ्ना प्रतिनिधिको माध्यमबाट देशको शासन व्यवस्था सञ्चालन गर्दछन् ।
सरकारले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने, जनाताको जीवन र सम्पत्तिको रक्षा गर्ने, सामाजिक न्याय, सामाजिक सेवा र समाज कल्याण, आर्थिक उन्नति, मानव अधिकार र नागरिकका मौलिक हकको रक्षा, वैदेशिक सम्बन्ध, रोजगारीका अवसरको सृजना र उपभोग्य सामग्रीको सहज आपूर्ति जस्ता कार्य गर्नु पर्दछ । जनताले केही समयको लागि चुनेर पठाएका राजनीतिक व्यक्तिको समूहले यी कार्यहरु आफँै सम्पन्न गर्नु सम्भव हुँदैन । सरकारको काम नीति र कानून निर्माण गर्ने, ती नीति र कानून कार्यन्वयन गर्नको लागि बलियो र स्थायी संयन्त्र खडा गर्ने र त्यस्ता संस्थाले गरेका कार्यहरुलाई प्रोत्साहन, सहजीकरण निरीक्षण गर्ने हो । राजनीतिक नेतृत्वले आफूले निर्माण गरेको कानुन र नीति कार्यान्वयनका लागि स्थापना गरेका संस्थामध्ये निजामती सेवा देशको आधारस्तम्भको रुपमा रहेको हुन्छ । आधारभूत रुपमा निजामती सेवाको कार्य राजनीतिक नेतृत्वले निर्माण गरेको कानून र नीतिको कार्यान्वयन, सञ्चालन र नियमन हो ।
सरकार प्रशासनको माध्यमबाट व्यक्त हुन्छ । राज्य सञ्चालनमा सरकारका नीति, कानून र पद्धति कारण हुन भने कार्य प्रशासन हो । प्रशासनले कारणकै काम गरिरहेको हुन्छ तर त्यहाँ सरकार स्थूल रुपमा नभई सुक्ष्म रुपमा व्यक्त हुन्छ । नीति कार्यान्वयनको सिलसिलामा सरकार स्थूल रुपमा देखा पर्न थाल्यो भने दोहोरोपना र भ्रम पैदा हुन्छ । यस अवस्थामा बिग्रेका मामिलामा कसैले पनि जिम्मेवारी ग्रहण नगर्ने र बनेका मामिलामा श्रेयका लागि होडबाजी हुन थाल्दछ । राजनीतिले स्वयंलाई प्रशासनमा मिसाउँदा प्रशासनका सारा दोष समेत राजनीतिमाथि सवार हुन्छ । यस्तो स्थितिमा चतुर प्रशासकहरुले पानीभित्र रहेर पनि ओभानो र हिलोभित्र खेलेर पनि स्निग्ध र सफा हुने अवसर पाउँछन् । राज्य सञ्चालनको सिलसिलामा निजामती सेवाको जिम्मेवारी जुन जुन कार्यमा छ, उसलाई त्यस त्यस कार्यको सम्पूर्ण उत्तरदायित्व सुम्पने हो भने ऊ आफ्नो कर्तव्य पालनमा प्राणपणले जुट्न उत्साहित हुन पुग्दछ । यस अवस्थामा उसले आफ्ना कमजोरीको दोष राजनीतिक नेतृत्वको टाउकोमा राखेर उम्कन पाउँदैन । आफ्ना हरेक शुभ र अशुभ कार्यको लागि ऊ नै उत्तरदायी हुन्छ ।
जुनसुकै लोकतान्त्रिक मुलुकको राजनीतिक नेतृत्वलाई प्रशासनबाट जहिले पनि एउटा खतरा रहिरहेको हुन्छ, त्यो हो वास्तविक स्थितिको ‘ब्रिफिंग’ को अभाव या अधुरोपन । प्रशासनको ढीलासुस्ती, अचुस्त र बोधो निर्णय प्रक्रिया,अचकल्चो कार्यसम्पादन र न्यून नैतिक स्तरले सरकारको छविमा हानी पुग्दछ । निजामती सेवाको सदस्य बनेर सरकारी सेवामा प्रवेश गर्न पाउँदा एउटा युवाले जुन गौरवको अनुभूति गर्दछ, सेवाको सिलसिलामा समेत त्यही गौरव कायम राख्दै सम्मानित र प्रतिष्ठित हुने वातावरण कायम गर्नु राजनीतिक नेतृत्व र स्वयं निजामती सेवाको कर्तव्य हो । वास्तवमा यही नै निजामती सेवाको आधारशिला हो ।
निजामती सेवाले सम्पादन गरेका हरेक कार्यको खबर कुनै न कुनै माध्यमबाट जनतासम्म प्रवाह भइरहेको हुन्छ, लुकाउन खोजे पनि लुक्दैन । यसैगरी अहिलेको बखतमा कुनै पनि निजामती कर्मचारीले गरेका कार्यबारे सरोकारवाला नागरिक चनाखो र सजग भएकै हुन्छन् । त्यसैले आजको समयमा कर्मचारीको उत्तरदायित्व सरकारप्रति मात्र नभएर सेवाग्राही र सरोकारवालासम्म प्रसार भएको छ । आफूले सम्पादन गरेको कार्य सम्बन्धमा सरकार मात्र नभई जनातासम्म समेत सूचना प्रवाह हुनु गुमनाम पेशा रोजेर सरकारी सेवामा प्रवेश गरेका कर्मचारीका लागि ठूलो उपलव्धि र गौरवको कुरा हो । यो अवसरको सम्यक रुपमा सदुपयोग गर्न सकियो भने स्वयं कर्मचारी, सरकार, जनता र राष्ट्रकै लागि फलदायी हुनेछ ।
निजामती सेवा योग्यता परीक्षाको आधारमा छानिएका दक्ष, व्यावसायिक, निष्पक्ष, तटस्थ र अराजनीतिक चरित्रका व्यक्तिहरु रहेको संस्था हो । लोकतन्त्रमा निजामती सेवा स्थायी सरकारको रुपमा रहेको हुन्छ । सैद्धान्तिक रुपमा देशको कानून निर्माण गर्ने, बजेट पारित गर्ने, मुलुकको नीति निर्माण गर्ने र शासन संचालन गर्ने अभिभारा राजनीतिक नेतृत्वमा निहित हुन्छ । राज्य प्रणालीको मूल साँचो राजनीतिक नेतृत्वको हातमा रहेको हुन्छ तथापि व्यावहारिक र वस्तुगत रुपमा राज्य सञ्चालन र नीति कार्यान्वयनका पृथक पृथक साँचाहरु प्रशासनका हातमा हुन्छन् । देशको राष्ट्रिय ढुकुटी र सम्पत्तिको जिम्मा कर्मचारीलाई सुम्पिएको हुन्छ । राज्यको स्रोतसम्मको पहिलो पहुँचवाला निजामती सेवा नै हो ।
लोकतान्त्रिक मुलुकको प्रशासन तटस्थ र निष्पक्ष रहेर कार्यसम्पादन गर्न समर्थ हुन्छ र रहनु पर्दछ भन्ने सार्वभौम मान्यता छ । यहाँनेर एउटा प्रश्न उठ्न सक्छ, के निजामती सेवा यथार्थमा निष्पक्ष र तटस्थ हुन सक्छ ? वास्तवमा निरपेक्ष तटस्थता एउटा आदर्श कल्पना मात्र हो । प्रशासनिक निष्पक्षता निरपेक्ष नभई सापेक्ष विषय हो । निर्वाचनमा विजयी भएर आउने राजनीतिक दलका आफ्नै सिद्धान्त हुने हुँदा स्वाभाविक रुपमा राजनीतिक दलले आफ्नो दलको नीतिलाई सरकारको माध्यमबाट जनता सामु लैजाने गर्दछ । प्रशासनले राजनीतिक नेतृत्वलाई कुनै पनि नीति संविधान र कानून अनुकूल तरिकाले निर्माण गर्न सहजीकरण गर्दछ । निजामती सेवाको कर्तव्य कुनै नीति लागू गर्दा भविष्यमा के कस्तो प्रभाव पर्छ र त्यस्ता नीति कार्यरुपमा परिणत गर्दा देशको स्रोतको अवस्था कस्तो छ भन्ने सम्बन्धमा वस्तुगत र यथार्थ सुझाव दिनु हो । किन्तु सरकारले पारित गरेको नीति र कानूनलाई अक्षरशः कार्यान्वयन गर्नु प्रशासनको पुनित कर्तव्य हो । जनतालाई उपलव्ध गराउने सेवाप्रवाहमा भने प्रशासन पूर्ण रुपमा निष्पक्ष हुनु आवश्यक छ ।
मुलुकी प्रशासनको एउटा पद्धति (नर्म्स) हुन्छ । प्रधानमन्त्री पद्धतिको सरकारमा देशको शासन व्यवस्थाको बागडोर सामान्यतः प्रधानमन्त्रीको हातमा हुन्छ । शासन व्यवस्थाको सफलता या असफलतामा श्रेय र अवगाल पाउने पनि प्रधानमन्त्रीले नै हो । नेपालको संविधान अनुसार प्रधानमन्त्री र मन्त्रीहरु सामूहिक रुपमा संसद्प्रति उत्तरदायी हुन्छन् । मन्त्रीहरु आफ्नो मन्त्रालयको कामको सम्बन्धमा व्यक्तिगत रुपमा प्रधानमन्त्री र संसदप्रति उत्तरदायी हुन्छन । प्रचलित कानून, रीति र परम्परा अनुसार मन्त्रालयका सचिव सम्बन्धित विभागीय मन्त्रीप्रति उत्तरदायी हुन्छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रुपमा मन्त्रालयका सचिवहरुलाई मन्त्रीको कारण कार्यसम्पादनमा बाधा परेको भए सिधै आफूलाई भेटेर जाहेर गर्ने निर्देशन दिने गर्नुभएको छ । प्रधानमन्त्रीको यो निर्देशनले गर्दा सचिवहरुलाई काम गर्न गाह्रो भएको एवं प्रचलित र स्वीकृत ‘चेन अफ कमाण्ड’ मा असर पर्ने गरेको भनी भारतीय मिडियामा आलोचना भएको पाइन्छ । किन्तु प्रधानमन्त्रीको ‘स्पिरिट’ अनुसार काम गर्ने मन्त्री भएनन् या सचिव र मन्त्रीबीच अनुचित ‘नेक्सस’ कायम हुन गयो भने दुर्भाग्यपूर्ण परिणाम आउँछ ।
निजामती सेवा देशको शासन व्यवस्था सञ्चालनको धुरीखाँबो हो । असल निजामती सेवाको अभावमा असल सरकारको कल्पना गर्न सकिंंदैन । देशको स्थायी सरकारको रुपमा रहेको निजामती सेवा प्रतिभाशाली व्यक्तिहरु रहेको संस्था हो । हिंजोआज निजामती सेवामाथि अकर्मण्यता, ढिलासुस्ती, नकारात्मक सोच र तदर्थवादको आरोप लागिरहेको छ । कतिपय ‘फोरम’ हरुमा अब यो सेवाको माध्यमबाट समृद्धियात्रा सफल हुन नसक्ने प्रतिक्रियाहरु समेत आइरहेका छन । यी आरोपमा केही आक्रोश र अतिसयोक्ति पनि होलान् तर प्रचुर सत्यता पनि छ । निजामती सेवाको विकल्प भनेको झनै राम्रो निजामती सेवा हो । यसतर्फ सबैको ध्यान गयो भने निजामती सेवालाई समृद्धियात्राको सक्षम र सक्रिय सहयात्रीको रुपमा स्थापित गर्न सकिने छ ।