सुशीला मानन्धर
कोपिलालाई कुटेर, चुटेर फूल बन्ने होइन, यसलाई राम्रो मलजल, उचित गोडमेल गर्न सकेमा मात्र सुन्दर फूल बनी मीठो सुवास छर्न सक्दछ ।
आजको बालक भोलिको सुन्दर फूलको परिकल्पना हो । जसले बगैंचाको आकर्षण बढाउँदै वातावरणलाई नै आनन्दित तुल्याइदिन्छ । जसरी फूलहरुको विभिन्न रुप, रंग, सुवासबाट एउटा सुन्दर बगैंचाले पूर्णता पाउँछ, त्यसरी नै बालकका आ–आफ्नै प्रकृति, विशेषता, गुणबाट भोलिको समाजले पूर्णता पाउँदछ ।
भनिन्छ, बालक आमाबाबाका सुन्दर सपनाको आधार, गुरु वर्गका गर्वका पात्र, समाजको पृष्ठभूमि र एउटा सिङ्गो राष्ट्रकै निर्माता हो । यति धेरै जिम्मेवारी बहन गर्नु पर्ने बालकलाई कत्ति पनि सहानुभूति नदर्शाउने पनि छौं हामी ।
बालकप्रतिको धारणा हामीले उनीहरूलाई गरिने स्याहार, ब्यबहारले निर्धारण गर्दछ । बालकलाई वस्तुको रूपमा हेरिनुको अर्थ उनीहरुको अवमूल्यन गर्नु हो । नानीहरुले गरेका कामहरुलाई गलत अर्थ लगाउनु, उनीहरुका सकारात्मक गुणहरुको बेवास्ता गर्नु, गाली गर्नु जस्ता व्यवहारबाट नानीहरुलाई दुःखी बनाउनु हो । जसले बालकको दिमागको विकासमा तनाब सम्बन्धी कर्टिसोल हर्मोनको उत्पादन हुन्छ र यसले दीर्घकालीन नकारात्मक परिवर्तनहरु जस्तै बालक रिसाइरहने, चिडचिड स्वभावको हुने, भनेको नमान्नेजस्ता प्रवृत्ति देखापर्छन् । यो नकारात्मक स्वभाव वयस्क हुँदासम्म पनि रहन सक्ने तथ्य एक स्नायु विज्ञान, मनोविज्ञान विकासमा गरिएको नयाँ अनुसन्धानले पुष्टि गरेको छ ।
त्यस्तै बालकलाई आमाबाबा, शिक्षकबाट वस्तुसरह नकारात्मक नामाकरण, व्याख्या, व्यवहार गरिन्छ भने बालक हिंसा शिकार बन्दछ । जस्तै कुनै बालकमा पढाइमा कठिनाइ भए तापनि अन्य कृयाकलापमा अगुवापन छ भने त्यस बालकलाई अभिभावक, शिक्षकबाट मूर्ख, लद्दु जस्ता नामाकरण गरिँदा बालक डिस्लेक्सिया रोगबाट ग्रसित हुन पुग्छ । बालक आफूले म बेकारको रहेछु, म लायकको रहिनछु भन्ने नकारात्मक भावनालाई स्विकार गर्दै जान्छ । फलस्वरुप अन्य क्षेत्रमा भएका क्षमता, आत्मविश्वास पनि गुमाउँदै जान्छ । त्यसैले बालकलाई वस्तुको रुपमा बुझ्नु अर्थात नकारात्मक नाम दिनु, व्यवहार गरिनु भनेको उनीहरुलाई मानसिक रुपमा अपाङ्ग पार्नु हो । त्यसैले आफ्ना नानीहरुलाई बाटो देखाउने क्रममा अभिभावक, गुरुहरुले आफ्ना जुत्तामा उभ्याएर अगाडि बढाउने होइन जसले हात छोड्ने बितिक्कै लड्न नपरोस् ।
बालकप्रतिको हाम्रो धारणा विभिन्न कारक तत्वहरुमा भर पर्दछ जुन ब्यक्तिगत, सांस्कृतिक, धार्मिक मूल्यमान्यताको आधारमा निर्माण हुन्छ । जस्तै व्यक्तिगत मान्यता अनुसार आफ्ना नानीहरुलाई आफ्नो सुन्दर सपनाको पृष्ठभूमि मान्दै यस्तै हुनुपर्छ, गर्नुपर्छ, मेरा सपनाहरु मेरा सन्तानले पूरा गर्नुपर्छ भन्ने धारणा राख्ने आमाबाबा हाम्रो समाजमा नभएका होइनन् । त्यस्तै सामाजिक मान्यता अनुसार हाम्रो समाजमा नबोली चुप लागेर बस्ने, आफूभन्दा ठूलाको अगाडि टाउको निहुराउने, आँखा झुकाउने बालकलाई आदर्श, अनुशासित मानिन्छ तर अमेरिकी समाजमा मौखिक सीपलाई अत्यन्त जोड दिइन्छ ।
बालकलाई बुझ्ने दृष्टिकोणबाट नै यिनको भबिष्य निर्धारण हुन्छ भन्ने सम्बन्धमा प्रख्यात मानव विकासका विशेषज्ञ स्किपर हग्सले ब्राजिलको एउटा गरीब बस्तीको व्याख्या गर्दछन् जहाँ शिशु मृत्युदर अत्यन्तै उच्च थियो त्यो समुदायमा बच्चा जन्मिंदा सुढेनीले सो बच्चा कमजोर छ ऊ चाँडै नै मर्नेछ भन्ने निष्कर्ष पुगिन् भने बच्चालाई स्वर्गदूत नाम दिइन्थ्यो । त्यसैकारण परिवार अनि बच्चाकी आमाबाट समेत बेवास्ता गरिन्थ्यो । फलस्वरुप सुढेनीको भविष्यवाणी पूरा हुन्थ्यो किनभने त्यो बच्चा साँच्चै नै कुपोषण, बेवास्ताको कारणले मर्दथ्यो । त्यसैले हामी बालकलाई जसरी बुझ्छौ सोही अनुरुप समाजमा उनीहरु प्रस्तुत हुने हो ।
बालकलाई व्यक्तिको रूपमा हेर्नुको अर्थ उनीहरुलाई हिँडाउनु अगावै एकफेर बालककै जुत्तामा आफूलाई उभ्याएर सोच्नु हो । अर्थात, बालक पनि सामाजिक प्राणी हो, उनीहरुमा पनि हामीमा जस्तै माया, पहिचान, सद्भाव, समावेशीको धारणा रहेका हुन्छन् । जसरी हामी बालकहरुबाट आफूलाई एउटा स्थान, सम्मान दिऊन् भन्ने चाहन्छौ त्यसरी नै बालकको पनि आफ्नै भावना, अभिप्राय, इच्छा, आवश्यकता रहेको हुन्छ । बालकका यिनै सबै कुरालाई समेट्दै , ग्रहण गर्दै उनीहरुको अगुवापनको कदर अर्थात राम्रा गुणहरुलाई केन्द्रित पार्दै सहानुभूति देखाउँदै अगाडि बढाउनु नै बालकलाई व्यक्तिको रुपमा हेर्नु हो । यसले बालकमा सुरक्षाको महसुस गरी आत्म विश्वास बढ्दै जान्छ । अनि, आफूप्रति स्वाभिमानको गर्वको महसुस गरी कामप्रति इच्छा शक्ति, लगाव, एकाग्रताको विकास गराई समाजमा एउटा सफल व्यक्तिको निर्माण हुन्छ ।
(लेखक अन्तर्राष्ट्रिय वाल विकास कार्यक्रममा कार्यरत हुनुहुन्छ । )