नारायणप्रसाद पौडेल
कथा, कथा हो । ब्रत कथा होस् वा सामाजिक, पारिवारिक, धार्मिक होस् वा साँस्कृतिक, ऐतिहासिक होस् वा पौराणिक । साहित्यको एउटा सशक्त विधा हो कथा । प्रमाणित इतिहास हैन, हुँदैन । शतप्रतिशत सत्य र वास्तविकता वा पुरै काल्पनिक, झुठ र असत्य भन्न पनि मिल्दैन । स्थान, पात्र, प्रवृत्ति र परिवेश मिल्नु संयोग मात्र हो । धर्मको अंग मानेर ब्रत बस्नु र वास्तविकता वा झुठ ठानेर विरोध गर्नु दुवै अतिका द्योतक हुन् । अध्ययन गर्नु, सिक्नु, तत्कालीन समयका बारेमा बुझ्नु, सम्भव भएमा परिमार्जन गर्नु र समयानुकूल बनाउनु जायज हुन्छ । सयौं वर्ष पहिलेका विषयलाई लिएर अहिले विवाद गर्नु जायज छैन । ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’का कारण जो जसले समर्थन र विरोध गर्छन्, तिनीहरु नै विवादमा पर्छन् । विवादित विषयमा यो वा त्यो पक्षमा लागेर तत्ववोधका लागि बौद्धिक बहस गर्नुलाई बुद्धिविलासका रुपमा लिन त सकिएला, एकले अर्कोलाई निषेध गर्न खोज्नुचाहिँ कदापि ठीक होइन । स्वस्थानी ब्रत कथा र ऋषि पञ्चमी पूजा विधि र ब्रतकथाजस्ता पौराणिक पुस्तक जलाउने र पाना च्यात्ने कुरा पचाउन सकेन समाजले । प्रतिक्रिया प्रस्तुत भए प्रशस्तै ।
वेद साह्रै प्राचीन साहित्यको स्रोत तथा अद्वितीय ज्ञान, विज्ञानको भण्डार हो । महाभारतलाई जुन रुपमा बुझे पनि हुन्छ । र, रामायण, श्रीमद्भागवत र गीतालाई पनि । १८ पुराण र उपनिषद्हरु जस्ता कालजयी कृति जुन बेला रचिए त्यो बेलामा अति क्रान्तिकारी कदम थिए, अहिलेका लागि उहिलेका कुरा भए पनि । श्रुति र स्मृति परम्पराबाट आएका हाम्रा प्राचीन अमूल्य साहित्य हुन् ती । लिपिवद्ध गर्नु युगान्तकारी कदम थियो । पूर्वीय परम्परा र ज्ञानका ती अजश्र स्रोत कसैलाई मनपर्नु र कसैलाई मन नपर्नु स्वाभाविकै हो । पौराणिक साहित्य, दर्शन, आरोग्यताका उपचार विधि, ब्रतकथा, पूजा पद्धति र कर्मकाण्ड सबैलाई मन पर्ने कुरा पनि हुँदैन । जसले मन पार्छन्, उनीहरुले अनुशरण गर्न कोशिश गर्छन् । जसलाई मन पर्दैन, उनीहरुले वास्तै नगरिदिए पुग्यो । विरोध गरेर च्यात्ने र जलाउने कुरा नगरेकै भए हुन्थ्यो । सामन्तवादी राज्य व्यवस्थालाई सघाउने दर्शन र साहित्य सखाप पार्ने नाममा महेन्द्र संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पुस्तकालयमा आगो नलगाएको भए पनि त हुन्थ्यो । मार्ने, काट्ने, च्यात्ने, जलाउने र यज्ञ यज्ञादि कार्यमा बाधा पार्ने कुरा पौराणिक कालमा पनि भएकै थिए । सुर र असुर छुट्टिन्थे त्यसैले । पहिलेका त्यस्ता क्रियाकलापका अवशेष विद्यमान रहेछन् अहिलेसम्म । कहिलेसम्म रहन्छन् भन्न सकिन्न । यति चाहिँ भन्न सकिन्छ – विरोधीहरु नहुने हो भने समर्थन र संरक्षणको प्रकृया हट्ने छ र गरिमा घट्ने छ । लोप हुन पनि सक्छ विस्तारै । त्यसैले चाहिन्छन् विरोधीहरु पनि । समय सापेक्ष बनाउनका लागि र सघाउनका लागि पनि ।
हिन्दू धर्म, संस्कृति र परम्परा साह्रै सहिष्णु छ । सलमान रुस्दी र तसलिमा नसरिन जस्तै लुक्न पर्दैन कसैले जति विरोध गरे पनि, जलाए पनि र च्याते पनि । त्यसैले प्रभावित पारेको छ पश्चिमी विद्वानहरुलाई पनि । ऋषि पञ्चमी ब्रतकथा र पूजा विधिका बारेमा शोधकार्य भए नभएको थाहा भएन । अमेरिकी नागरिक जेसिका वान्थाइन विरकेञ्होल्जले स्वस्थानी ब्रत कथामै विद्यावारिधि गर्नु भएको छ र भन्नुहुन्छ – सम्भवतः यो ब्रत पूजा चलाएको समयमा यस्तो खाले व्यवस्था जरुरी थियो कि !’ उहाँका अनुसार चार सय ४१ वर्ष अगाडिको पुस्तक अर्थात् ने.सं. ६९३ को स्वस्थानीको किताबमा ब्रतसम्बन्धी पूजा विधिहरु दुई दिन एक रातको मात्रै रहेछ । त्यसपछि ने.सं. ७२३ को स्वस्थानी पुस्तकमा भने एक महिनाको वर्णन गरेको पाएको छु ।’ समयानुसार उप–कथा थपिएको र बढाइएको रहेछ भन्ने प्रमाण हो यो । अहिले पनि सुधार्न नसकिने कुरा भएन । च्यात्ने कुरा गर्नु भन्दा त सुधार्न खोज्नु पो राम्रो हुन्थ्यो । स्वस्थानी ब्रत कथाका बारेमा आजसम्म कुनै नेपालीले शोध नगरे पनि अर्की अमेरिकी नागरिक लिण्डा इलिटिसले पनि विद्यवारिधि गरिसकेको कुरा सह–प्राध्यापक काशीनाथ तमोटले बताउनु भएको छ । (स्रोत ः पवनलाल श्रेष्ठको पोष्टबाट)
आफ्नोपन, सभ्यता, संस्कृतिको अवमूल्यन, अपमान र तिरस्कार, अनि अर्काको सम्मान, अनुशरण र स्वीकार गर्नुलाई क्रान्तिकारी भनिने चलन चलेको छ नेपालमा विगत केही दशकयतादेखि । आधुनिक बन्ने नाममा भाषा, संस्कृति, सँस्कार, रहन–सहन, खान–पान, चाल–चलनमा आएको विचलनले सीमा नाघ्दै छ । मदनोत्सव, कौमुदी महोत्सव, वसन्तोत्सव जस्ता पूर्वीय प्रणयोत्सव विर्सेर ‘भ्यालेन्टाइन डे’ मनाइन्छ त्यसैले । दशैं, तिहार, तीजको विरोध गरेर क्रिसमस डे र इद मनाउन थालिएको छ । धर्मनिरपेक्ष देश बनिसकेपछि त झन् धर्म परिवर्तनको लहर नै चलेको छ, चलाइएको छ । हिन्दू सभ्यता र सँस्कृतिका विरुद्ध जुन रफ्तारमा प्रहार भइरहेको छ, सोही रफ्तारमा अरु धर्मको प्रचार पनि गरिएको छ । भारतीय संविधान निर्माता बि.आर. अम्बेडकरले झै हिन्दू हुन नचाहे बुद्ध धर्म अंगाले हुन्थ्यो, मान्न सकिन्थ्यो । बुद्धलाई समेत विस्थापन गर्ने दुस्प्रयास गर्नेको कमी छैन । यस्तो देख्दा मन थाम्न सकिदैन ।
‘श्रेयान् स्वधर्मो विगुणः परधर्मात् स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।। ३÷३५ ।। श्रीमद्भगवद्गीता ।
(अरुको कर्म (परधर्म) अनुशरण गर्नुभन्दा त्रुटिपूर्ण तरिकाले भए पनि स्वधर्म गर्नु राम्रो हो । परधर्मभन्दा आफ्नै धर्ममा रहेर मर्नु उत्तम हुन्छ । परधर्म भयावह हुन्छ ।) नबुझेपछिको स्थिति भोग्न विवस हुनुको विकल्प रहेन । स्वाधीन हुने नाममा पराधीन भएका प्रमाण कति खोज्नु ? आर्थिक रुपमा परनिर्भर हुन पुग्दा वैदेशिक सहयोगका साथमा आएका अरु सभ्यता र संस्कृतिका विकृतिले हामीलाई यसरी गाँजे कि उठ्नै नसक्ने, सुध्रनै नसक्ने अवस्था पु¥याउन थाल्दैछन् । जो जसले परधर्म अँगाल्दै छन् र पसाल्दैछन् तिनैले भयावह स्थिति तयार पनि पार्दैछन् । चाहेर होस् वा नचाहेरै पनि हामीले मृत्योत्सव मनाउन परेको छ । मरेको अर्थ लाग्नेलाई जीवित मानेर आमालाई मम्मी र पिता÷बालाई डेड् भनेर सम्बोधन गरिदैंछ । बाबुआमालाई ज्युँदै मारेजस्तो भएन र यो ? विधर्मीका निकृष्ट शब्दलाई उत्कृष्ठ मानेर अनुशरण गर्नु र आफ्ना उत्कृष्ठ सम्बोधनलाई विस्थापित गर्नु सांस्कृतिक पतनको नमूना मान्नुपर्छ ।
‘स्वस्थानी ः स्वस्थान । आफ्नो स्थान अर्थात् आफ्नो देश भनेको हो । स्थानकी देवी+ स्वस्थानी देवी, सतीदेवी । पछि पार्वती । शिवसँग प्रभावित स्थान स्व स्थान । शिव भूमि नेपाल । यसैले स्वस्थानी नेपालसंग सम्बन्धित छ । कथा त्यो बेलाको हो । शिव पार्वती पनि त्यही बेलाका हुन् । कथा ज्यँुदै छ । संस्कारमा परिवर्तन भयो । कथा पढने मात्र हो, व्यवहार कथामा लेखेको जस्तो छैन । कथाः पद्मपुराण र स्कन्ध पुराणबाट बनेको हो । मूल संस्कृतको कथा छोटो छ । नेपाली भावानुवाद त्यो बेलाको सभ्यतामा आधारित छ ।
स्वस्थानी कथाको ब्रत वा पूजा नेपाल र नेपाली सभ्यताका सबै हिन्दूले – मान्छन् । भारतीय सभ्यताबाट प्रभावित वा भारतीय मूलका भनिने मान्छेका तुलनामा थोरैले मात्र मान्छन् । आज कथामा लेखिएजस्तो स्वस्थानीका कट्टर भक्तले पनि सबै कुरा पालन गर्दैनन् । सभ्यता फेरिएको छ । संस्कारमा परिमार्जन छ । कथाका कुन पानामा के लेखिएको छ त्यो पौराणिक इतिहास हो । आज जंगबहादुरको फोटाका जुँगा खौरेर इतिहास मेटिन्न । हामी आज सभ्य छौं, छैनौं यो मूल्याङ्कन हो । आज स्वस्थानीलाई मान्ने वा नमान्ने र मान्दा कसरी मान्ने प्रमुख कुरा हो । ‘न अक्षरको पुच्छर समातेर वैतरणी तरिन्छ न त डढालेर क्रान्ति ।’ बुटवलका चर्चित कथाकार गुरुदत्त ज्ञवालीको यो टिप्पणीमा थप्ने कुरा के मात्रै हो भने स्वस्थानीमा वर्णित दक्षप्रजापतिको यज्ञ र विनास, कामदेव भष्म प्रसङ्ग श्रीमद्भागवत महापुराणमा पनि छ ।
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ । )