logo
२०८१ मंसिर १३ बिहीवार



छाउगोठभित्र मानसिक त्रास

विचार/दृष्टिकोण |




बिनीता भट्टराई


किशोरी तथा महिलाहरु महिनावारीको समयमा छाउगोठमा बस्दा गुम्सिएर जंगली जनावरको आक्रमण तथा सर्पले टोकेर मृत्यु भएको समाचारले हरेक वर्ष नीति निर्माण तहमा बसेका व्यक्तिलाई वेला वेलामा तताउँछ । यस्ता समाचार बनाउने अग्रणी जिल्लामा अछामपछि दैलेख र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्ला पर्दछन् । राम्रोसँग उभिन नमिल्ने, गोडा पसारेर सुत्न नमिल्ने, झ्याल नभएका होचा र साना छाउगोठहरु स्थान विशेष घर नजिकै र घरभन्दा केही टाढा बनाउने प्रचलन देखिन्छ । महिनावारी भएको समयमा न्यानो कपडा प्रयोग गर्न नपाउँदा विशेष गरी जाडो याममा छाउगोठभित्रै आगो बाल्दा निसास्सिएर महिला तथा किशोरीको मृत्युको घटना हुन्छन् । छाउगोठ भत्काउने अभियानमा पनि राज्यका निकाय प्रायः हरेक वर्ष जाडो याममा जाग्ने गरेको देखिन्छ ।
यस वर्षको जाडोमा पनि अछाम जिल्लाको साँफेबगर वगरकी २१ वर्षीय पार्वती रावतको छाउगोठमै मृत्यु भयो । महिला अधिकारकर्मीले आवाज उठाए, संसद्को महिला तथा सामाजिक समितिमा छलफलको विषय बन्यो । छाउगोठमा बस्ने किशोरीलाई र अभिभावकलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयलाई अनि सो सम्बन्धमा चेतनामूलक अभियान संचालन गर्न महिला मन्त्रालयलाई समितिका सभापतिबाट तत्काल निर्देशन भयो । निर्देशनको भोलिपल्टदेखि कति छाउगोठ भत्काउने भन्ने सुदूर पश्चिम र कर्णाली प्रदेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच प्रतिस्पर्धा नै भयो भन्दा फरक नपर्ला । गृह मन्त्रालय पनि भत्काइएका छाउगोठको संख्या गनेर दङ्ग । देशभर हजारौ छाउगोठ भत्किएको समचारले राष्ट्रिय अखवारका अग्रपृष्ठमा ठाउँ पाए ।
छाउगोठ भत्काउने अभियानमा हरेक वर्ष यस क्षेत्रमा काम गर्ने संघ संस्था स्थानीय जनप्रतिनिधि प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ । यस वर्ष छाउगोठ भत्किएको संख्या अनुमान गर्दा अर्को वर्षदेखि छाउगोठ सम्बन्धी कुनै समाचार नै प्रकाशित नहोलान् ! महिला तथा किशोरीहरु छाउगोठ नभएपछि महिनावारीको समयमा घरभित्रै बस्नेछन् । छाउगोठमा बस्नेक्रममा अकालमा मृत्यु वरण गर्नु पर्ने छैन । यसै सन्दर्भमा सुर्खेत र हुम्ला जिल्लाको अनुभवमा यो लेख तयार गरिएको छ ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका जहाँ अधिकाश मानिसहरु अछाम जिल्लाबाट बसाइ सराइ गरेर आएका छन् जहाँको धर्म संस्कार अछामसँग मिल्ने नै भयो । गत वर्ष चौकुने गाउँपालिकाको भ्रमण गर्ने अवसर प्राप्त भयो । सोही क्रममा जीवनमा पहिलोपटक छाउगोठ हेर्ने अवसर पनि मिल्यो । घर नजिकै सानो लिस्नो भएको हिस्सी परेको छाप्रो बनाउनमा व्यस्त थिए घरका परिवार । कुखुराको खोर भनौ भने लिस्नो चढेर माथि पुग्नु पर्ने । खसी बोका राख्ने प्रयोजनका लागि हो कि भने पनि खसी बोका उक्लन नसक्ने । घरका मालिक छाना छाउन व्यस्त अनि परिवारका सदस्य उनलाई सघाउदै थिए । बडो उत्सुकताको साथ सोधिएको थियो – के कामको लागि बनाउदै हो यति सानो घर । अलि डरको भावमा उत्तर आयो “छिमेकमा धामी छन् । छाउ भएको समयमा परिवारलाई घरभित्र बस्न मिल्दैन । भएका सन्तान समेत अपाङ्ग छन् । आफू कामको लागि इन्डिया जाने समय भइसकेको छ । छाउगोठ तयार भएपछि जाने हो । परिवार विमार भए ओखती उपचार गर्ने, लत्ता कपडा किन्ने अलिकति भए पनि रुपिया जुगाड गर्नै प¥यो ।“
सुर्खेतमा पनि छाउपडी प्रथा प्रचलनमा छ भनेको खासै सुनेको थिइनं । पक्कै पनि छाउगोठ भत्काउने अभियान चौकुनेमा पनि भयो होला भन्ने अनुमानमा अर्को प्रश्न तेर्सियो छाउ गोठका मालिकसँग । तपाइँको घरमा पहिला छाउगोठ थिएन र ? छिमेकका महिलाहरु जम्मा भइसकेका थिए । यस विषयमा अन्य महिलासँग थप बुभ्ने मौका मिल्यो । धामीकी श्रीमती पनि छलफलमा सामेल हुनु भयो । उनीहरुको सामुहिक उत्तर थियो – छाउगोठ भत्काएपछि महिलाहरु अझ असुरक्षित भए । छाउगोठ पहिले महिला र केही नेताहरु आएर भत्काएको जानकारी दिए । तर धामीको घर नजिक भएको हुँदा छाउ भएको बेलामा चार दिनसम्म घरभित्र पस्नै नमिल्ने जिकिर थियो सबैको । काठमाडौ नेपालगंज जाँदा छाउ भए के गर्ने त भन्ने प्रश्नमा भने उत्तर थियो – गाउँ बाहिर जाँदा हामी छाउ भए पनि एउटै कोठामा पकाउने खाने सुत्ने गर्छौ । तर यहाँ गाउँमा त्यसो गर्न मिल्दैन । छलफलले उत्सुकता अझ बढायो ।
‘उसो भए म पनि छाउ भएको छु, तपाइँको घरभित्र पसौं त के हुने रहेछ हेरौ !’
यो प्रश्न धामीकी श्रीमतीलाई सोधिएको थियो । उनले सहजरुपमा उत्तर दिइन् – तपाइँ पस्नुस्, हामी केही भन्दैनौ तर हामी छाउ भएको बेलामा कुनै हालतमा पस्दैनौ । गत वर्ष छाउगोठ भत्काइदिए तर हामी घरभित्र पसेनौ बरु बाटोतिरै सुत्यौं । कम्तीमा छाउगोठमा सुत्न पाए त चिसो हँुदैन, बाहिरी मान्छेको डर हँुदैन ।
छाउगोठको फोटो खिच्नेक्रममा उनीहरुको सामुहिक आवाज थियो – “फोटो खिचेर फेसबुकमा हाल्ने होला अनि फेरि गोठ भत्काउन आउने होला तर गोठ भत्काएर हामीलाई कुनै फरक पर्दैन । हामी छाउ भएको समयमा छाउगोठ नभए घर बाहिरै सुत्छौं । अहिलेसम्म हाम्रो गाउँमा छाउगोठमा बसेर कसैको मृत्यु भएको छैन । काल आएको दिनदशा लागेको दिन घरैभित्र बसे पनि मरिन्छ ।“
छाउ भएको समय छाउगोठमा बसे कानुनी कारबाही हुने विषयमा समेत महिलाहरु जानकार थिए । जुन सामाजिक संस्कार र व्यवहारले आफ्नै स्वास्थ्य र शारीरिक अवस्थामा गम्भीर असर गर्छ, कानुनी कारवाही भोग्नु पर्छ भन्ने थाहा पाउँदा पाउँदै पनि मनको डर यति शक्तिशाली देखिन्थ्यो कि कानुनी कारवाही देवताले दिने सजायभन्दा कयौ गुणा नगन्य छन् ।
हुम्ला जिल्ला छाउप्रथाको सन्दर्भमा सुर्खेतको चौकुने गाउँपालिका भन्दा फरक रहेछ । घरको बनोट समेत फरक किसिमको – सबैभन्दा तल्लो तलामा गाई गोरु बाँध्ने थलो, पहिलो तलामा मान्छे बस्ने खाने सुत्ने काम हुने, दोस्रो तला भण्डार प्रयोजनको लागि । परिवारको संख्या थपिंदै जाँदा घरका कोठा बाँडिदै जाने । एउटै कोठामा खाने, सुत्ने, पाहुना राख्ने । बिगतमा सरसफाइमा खासै ध्यान नदिने तथा महिनावारीको समयमा कट्टु तथा सेनिटरी प्याडको प्रयोग समेत नहुँदा नै होला महिनावारीको समयमा महिलालाई भान्सामा प्रवेश नदिने, घरभन्दा अलग राख्ने प्रचलनको विकास भएको । यो विषय अझ अनुसन्धानकै विषय बनोस् ।
लामा समुदायको उल्लेख्य बसोबास भएको यस जिल्लामा उनीहरुका घरका महिला कहिले महिनावारी हुन्छन् घरका परिवार कसैले पत्तो पाउदैनन् । सायद लामा समुदायको प्रभाव परेको हुन सक्छ ठकुरी क्षेत्री समुदायमा समेत महिनावारीको समयमा महिलालाई छुटै गोठ बनाएर राखेको प्रायः पाइएन । छाउ भएका महिला घरभित्रै बस्ने प्रचलन भए पनि भान्साभित्र प्रवेश नहुने, पानी छुन नमिल्ने रहेछ । छाउ गोठमा नबसे पनि महिलाका समस्या कम भने देखिएन ।
सदरमुकाम सिमकोटकी स्थायी बासिन्दा सीताले (परिवर्तित नाम) छाउ भएको समयको लागि घरमा एक कोठा छुट्याएकी छिन् । उनका श्रीमान् चौबीसै घण्टा रक्सीको नसामा । छाउ भएको समयमा उनको घरमा खाना पाक्दैन । त्यतिमात्र हैन, पानी खान समेत छिमेकी गुहार्नु पर्छ उनलाई । उनको गुनासो छ – जाँड खाने श्रीमानका कारण चार दिनसम्म आफू भोकै बस्दा त फरक पर्दैन, साना छोराछोरीको बिचल्ली हुन्छ । तपाईका बालबच्चा भोकै बस्दा, तपाइँलाई छाउ हुँदा खाना पकाउँदाभन्दा बढी भोको बच्चाको आत्माले बढी श्राप लाग्छ भन्दा उनको जवाफ बडो सरल छ – ‘आफ्ना बालबच्चा भोको राख्ने रहर त कसलाई हुन्छ र तर समाजको डर अनि बाबु बाजेदेखि चलेको चलन सहजरुपमा तोड्न कसरी सक्नु ?’
हुम्लाकै सर्केघाट गाउँपालिकामा छुइप्रथा विरुद्ध कार्यक्रम संचालन गर्दा समाजका भद्रभलादमीको प्रश्न उठेको थियो । महिलाहरुलाई अन्डरवेयर अर्थात कट्टु लगाउनु पर्छ भन्ने जानकारी नै छैन । सामान्य अवस्थामा समेत महिलाको प्रजनन स्वास्थ्यलाई सुरक्षित राख्न अन्डरवेयरको महत्व कम्ता रहन्न भने छुई भएको समयमा सेनेटरी प्याड प्रयोगको लागि त अनिवार्य जस्तै हो । तर विडम्वना हाम्रा ग्रामीण महिलाहरुले स्मार्ट फोनमा भिडियो कल गर्न, फेसबुक चलाउन कसैले नसिकाई जानिसके तर अन्डरवेयर लगाउनु पर्छ भनेर सरकारले कार्यक्रम नै संचालन गर्नु पर्ने माग पनि उठे । यस्तै हो भने भोलि सरकारले महिलालाई सित्तैमा अन्डरवेयर बाँड्ने कार्यक्रम तथा बजेटको व्यवस्था नहोला भन्न सकिएन ।
रजश्वला सृष्टि संचालनको लागि प्रकृतिले महिलाहरुको लागि मात्र दिएको प्राकृतिक वरदान हो । मानिसको शरीरबाट लगातार चार दिन पाँच दिन रगत बग्दा कति शारीरिक कमजोरी, थकान हुन्छ त्यो महिलाले मात्र थाहा पाउने भए । यस्तो समयमा थप आराम र पौष्टिक तत्वको आवश्यकता पर्नु स्वभाविक नै हो । तर रजश्वला भएको समयमा महिला तथा किशोरीको ज्यानै जोखिममा राखेर छाउगोठमा राख्ने घर बाहिरका बढी शारीरिक श्रम पर्ने कार्यमा लगाउने, दूध दही जस्ता पौष्टिक पदार्थ खान नदिनु महिला तथा किशोरीमाथि थप अन्याय नै हो । यस्ता सामाजिक कुसंस्कारको अन्त्य हुनै पर्छ । गर्नैपर्छ तर कसले गर्ने कसरी गर्ने ? मुलुकी अपराध संहिताले रजश्वला भएकै आधारमा कसैमाथि भेदभाव गर्न नहुने, गरेमा कानुनी कारवाही भोग्नु पर्ने उल्लेख गरेको छ । तर कानुन निर्माता र कार्यान्वयन गर्ने निकायका पदाधिकारी नै छाउगोठ भत्काउने सरकारको कार्यक्रमप्रति आक्रोश व्यक्त गर्न व्यस्त देखिन्छन् भने कानुन कार्यान्वयन कसरी होला ? छुई भएको समयमा छाउगोठमा बस्दा हुने शारीरिक तथा मानसिक समस्याका विषयमा महिला स्वयं समेत केही हदसम्म सचेत नै छन् । तर पनि छुई भएको बेलामा घरभित्रै बस्दा खेप्नुपर्ने सामाजिक लाञ्छना, मानसिक त्रास भत्काउने कुरा झनै चुनौतीपूर्ण छ ।
रजश्वला भएको समयमा खाना पकाउने अथवा पानी छुन नदिने हाम्रा पुर्खाहरुले किन यस्तो संस्कारको विकास गरे ? उक्त कुराको अध्ययन विश्लेषणसहित ठोस कार्यक्रमकासाथ छाउपडी प्रथा अन्त्यका लागि छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिन सके सरकारको कामको प्रभावकारिता अझ बढ्ने देखिन्छ ।


(लेखक हुम्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?