सन्तोष गौतम
भूमण्डलीकरणको युग वास्तवमा रिसोर्स सर्कुलेसन (स्रोत सञ्चार ) र ब्रेन सर्कुलेसन (प्रतिभा सञ्चार ) को युग हो । यो युगमा कुनै पनि राष्ट्रका प्राकृतिक र मानवीय स्रोत साधनहरु केवल त्यसै राष्ट्रका सम्पदाको रुपमामात्र सिमित रहने स्थिति छैन । कच्चा पदार्थको रुपमा निर्यात गरिएका प्राकृतिक स्रोत तथा साधनहरु प्रशोधित औद्योगिक उत्पादनको रुपमा आयात हुने गर्छन् । नियमित र स्वतस्फुर्त रुपमा हुने मानवस्रोतको आवतजावत र बसाइसराइ नै ‘ब्रेन सर्कुलेसन’ हो । अर्थात कुनै राष्ट्रबाट बाहिरिएका अदक्ष, अदक्ष वा दक्ष जनशक्ति थप ज्ञान, क्षमता, दक्षता र सुझबुझका साथ राष्ट्रिय स्वार्थसँग जोडिनु ब्रेन सर्कुलेसनको एक उदाहरण हो र यसका बहुआयामिक र बहुक्षेत्रीय फाइदाहरु छन् । यो एक युगिन वास्तविकता पनि हो । त्यसैले वर्तमान समयमा सिमित भूगोलभित्र रहेको जनसङ्ख्यालाई मात्र सम्बोधन गर्ने र राज्यका नीति, योजना र कार्यक्रममा सीमा बाहिरको राष्ट्रलाई कुनै पनि सरकारले नजरअन्दाज गर्न मिल्दैन । सम्भावना र समस्या दुवै सवालमा भूगोल बाहिरको राष्ट्रलाई भूगोलभित्रको जत्तिकै महत्व दिएर मात्र राष्ट्र निर्माणको प्रक्रियालाई अझ प्रभावकारी बनाउन सकिन्छ ।
कुनै राष्ट्रले चाहेर पनि आफ्ना नागरिकहरुलाई आफ्नै भूगोलभित्र मात्र सिमित गरेर राख्न सक्ने स्थिति छैन । अन्तरदेशीय आवागमन र बसाइसराई नियमित प्रक्रिया भइसकेका छन् । सूचना र सञ्चारको चरम विकासले विश्व परिवेशमा आफ्नो अस्तित्व र सम्भाव्यताको राम्रो आँकलन गर्न सक्ने अवस्थामा मानिस पुगेका छन् । सम्भावनाका ढोका अनेक दिशाबाट खुल्न सक्ने वर्तमान युगमा आफ्ना आकांक्षालाई निमोठेर सपनाको बलि चढाउन र आफूलाई कुनै पनि भूगोलको बन्धक बनाउन मान्छे चाहँदैन । राज्यका सीमाभित्र वा बाहिर रहेर हरेक सचेत व्यक्ति विश्वव्यापी सम्भावनाहरुको खोजीमा निरन्तर तल्लिन रहन्छ । अनि कुनै देशका नागरिकको पहिचानसँग त्यो देशको राष्ट्रिय पहिचान पनि गाँसिएकाले नागरिक सम्भावनाको गगनमा विचरण गर्ने कुरा त्यो देशको राष्ट्रिय स्वार्थको दृष्टिले पनि स्वागतयोग्य हो ।
यसर्थ राज्यको भौगोलिक सीमा बाहिरको राष्ट्रमा पनि सरकारको उपस्थिति सशक्त हुनु आवश्यक छ । राज्यका नीति, योजना र कार्यक्रमहरुमा गैर आवासीय नागरिकका सरोकारका विषयहरु सम्बोधन गर्न सरकारले तत्परता देखाउनु पर्दछ । तबमात्र ब्रेन सर्कुलेसन प्रभावकारी भई त्यसबाट देशले लाभ लिन सक्छ, होइन भने भौगालिक रुपमा टाढा रहेका प्रतिभाहरु भावनात्मक रुपमा पनि टाढा हुन पुग्छन् । हृदयमा रहेको राष्ट्रप्रेमको बीउ अंकुराउने, हुर्कने र फल दिने काम तबमात्र सम्भव छ जब सरकारले उनीहरुलाई उपयुक्त मलजल र संरक्षण प्रदान गर्दछ । मान्छेमा स्वाभाविक रुपमै बिभिन्न हिसाबले टाढा रहेका आत्मीयजन, भूगोल र परिवेशसँग जोडिने आकांक्षा हुने गर्दछ । त्यो भावनाको उचित कदर गर्ने कुरामा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन ।
विश्वका ब्रेन गेन (प्रतिभा प्राप्ति) का उल्लेखनीय उदाहरणहरु हेर्दा चीनमा केन्द्रीय सरकारका नीतिहरुले ब्रेन गेनमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । घरेलु वातावरणमा परिवर्तन, अरु देशमा जान आउनमा स्वतन्त्रता, राजनीतिक स्थिरता, सरकारको मानव स्रोत उपयोग नीति, देश फर्केपछिको उच्च सामाजिक हैसियत, पेशागत अवसरहरु र राष्ट्रियताको भावनाले प्रवासी चिनियाँलाई स्वदेश फर्काउनमा योगदान दिएको पाइन्छ । दक्षिण कोरियामा सरकारले संगठित प्रयास गरी उपयुक्त र सहज वातावरण निर्माण गर्ने अनि फिर्ता भएकाहरुको सम्मान र सशक्तिकरण गर्ने कार्यहरु अगाडि बढाएको पाइन्छ । मेक्सिकोले विज्ञान र अनुसन्धानको सहयोगको लागि राष्ट्रिय कार्यक्रमद्वारा घरेलु शैक्षिक बजारको अन्तर्राष्ट्रियकरण गर्ने नीति लियो । यसको उद्देश्य विदेशमा पढेका मेक्सिकी बैज्ञानिकहरुलाई फिर्ता ल्याउने थियो । जसको परिणामस्वरूप थुप्रै जना मेक्सिकी बैज्ञानिकहरु स्वदेश फर्केका थिए । दक्षिण अफ्रिकाले विदेशमा पढेका विद्यार्थीलाई फिर्ता ल्याउन ती देशहरुसँग विद्यार्थीले अध्ययन पूरा गरेपछि अनिवार्य रुपमा स्वदेश फिर्ता हुनुपर्ने सम्झौता गरेको थियो ।
देशको बहुआयामिक विकासका सबै सम्भावनाहरु खुला राख्दै अग्रगामी तर सचेत कूटनीतिको माध्यमद्वारा देशको रुपान्तरणमा अन्तर्राष्ट्रिय जगतको भूमिका प्रभावकारी र सकारात्मक बनाउने काममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा मन्त्रालय लागेको देखिन्छ । विषयबस्तुको सतही र मनोगत विश्लेषणले, कोरा कल्पना र लहडी अवधारणाले, आत्मकेन्द्रित प्रवृत्ति र अदूरदर्शी सोचले एक्काइसौं शताब्दीको कूटनीति सार्थक हुन सक्दैन । यसमा अटल राष्ट्रप्रेमको जति आवश्यक छ त्यति नै आवश्यक छ – विश्व शक्ति संरचनाबाट देशलाई फाइदा दिलाउने सशक्त योजना, दृढता, साहस र इच्छाशक्ति । यसै सन्दर्भमा राष्ट्रको कूटनीतिलाई सक्रिय बनाएर विश्व परिवेशमा नेपालको उपस्थितिलाई सशक्त र सार्थक बनाउने विवेकपूर्ण, अविचलित र जिम्मेवार प्रयासको उत्कृष्ट उदाहरण हो ब्रेन गेन सेन्टर । कर्मकाण्डी र प्रक्रियामुखी कार्यपद्धति, सस्तो लोकप्रियता उन्मुख र सन्देशमुखी राजनीतिबाट माथि उठेर परराष्ट्र मन्त्रालयले ‘सगरमाथा सम्वाद’ जस्तो विश्वव्यापी महत्वको कार्यक्रम र ब्रेन गेन सेन्टर अन्तर्गत विदेशिएका नेपाली विज्ञहरुलाई राष्ट्रसँग जोड्ने अत्यन्तै महत्वपूर्ण अभियान सञ्चालन गरेको छ । विश्वको सर्वोच्च शिखरको नामबाट जलवायु परिवर्तनको विश्वव्यापी सरोकारको विषयमा गरिने अन्तर्राष्ट्रिय अन्तरक्रिया र प्रस्तुतिहरुले सारा विश्वको ध्यान एकपटक नेपालतिर तान्नेछ, नेपाल सुनिनेछ, पढिनेछ, देखिने छ र चर्चामा रहने छ । अन्तर्राष्ट्रिय समुदायमाझ यसले राष्ट्रिय गरिमालाई उँचो बनाउने छ र जलवायु परिवर्तनजस्तो संवेदनशील विषयमा दूरगामी महत्वको सन्देश प्रवाह गर्नेछ ।
कर्मकाण्डी कूटनीतिको साँघुरो सोचबाट बाहिर आएर नेपालको विकासमा नेपालीहरुकै साथ खोज्ने प्रयास ब्रेन गेन सेन्टरमार्फत गर्न खोजिएको छ । यसले नेपाली नेपालीबीचको सामिप्य र सहकार्यद्वारा सम्मृद्धितर्फको सहयात्रालाई सहज बनाउने अपेक्षा छ । नेपाली प्रतिभाको पहिचान, प्रवद्र्धन, समन्वय, प्रोत्साहन र राष्ट्र निर्माणमा परिचालन गरी राष्ट्रको दिगो रुपान्तरणमा सार्थक योगदान दिने लक्ष्यका साथ सञ्चालित सेन्टरले हाल विश्वका कुना काप्चामा रहेका नेपालीसँग सम्पर्क गरी सेन्टरको वेबसाइटमा दर्ता गर्ने अभियानलाई तिब्रता दिइरहेको छ । यसबाहेक सेन्टरलाई संस्थागत गराउने प्रयास पनि भैरहेको छ । विश्वमा छरिएर रहेका नेपालीको समृद्धिसँग जोडिएकाको सम्मान गर्ने नीति सेन्टरले लिएको छ । प्रवासी नेपालीलाई प्रवासमै बसेर नेपाललाई विभिन्न प्रकारले सहयोग गर्न चाहने, बिदामा स्वदेश आउँदा विभिन्न हिसाबले स्वदेशको भलाइसँग जोडिन चाहने, केही समयको ‘मिसन’ लिएर नेपाल आउन चाहने वा सधैंको लागि नेपाल फर्कन चाहने जस्ता बिभिन्न वर्गमा विभाजन गरी उहाँहरुको विज्ञताको उपयोग गर्ने नीति सेन्टरले लिएको छ । यसको लागि बिभिन्न देशका ‘फोकल प्वाईन्ट’ मार्फत सम्पर्क र समन्वय गरिनेछ । हालसम्म आठ सयभन्दा बढी नेपाली बिज्ञहरुले आफ्नो विवरण सेन्टरको पोर्टलमा भरिसकेको र उत्साहजनक प्रतिक्रिया आइरहेकाले सेन्टर अत्यन्त उत्प्रेरित र उत्साहित भएको छ । विज्ञताको यो अनमोल भण्डारलाई बिभिन्न मन्त्रालय तथा निकायसँगको समन्वयमा राष्ट्रहितसँग जोड्ने काममा सेन्टर लागिरहेको छ । सेन्टरको फेसबुक पेजमार्फत आफ्ना उपलब्धिहरु र परियोजनाहरु सार्वजनिक गर्ने बिज्ञहरुको सङ्ख्या पनि उल्लेख्य छ । समृद्ध नेपालको सपना साकार पार्न नेपाली विज्ञले सेन्टरको वेबसाइटमा आफ्नो विवरण भरी राष्ट्रको दिगो रुपान्तरणको अभियानमा सरकारसँग हातेमालो गर्न जरुरी छ ।
(लेखक परराष्ट्र मन्त्रालयअन्तर्गत ब्रेन गेन सेन्टरका विज्ञ हुनुहुन्छ । )