logo
२०८१ मंसिर १३ बिहीवार



उच्च जोखिमको घण्टी (सम्पादकीय)

विचार/दृष्टिकोण |





चीनबाट फैलिएको कोभिड – १९ (कोरोना भाइरस) को विस्तार एसियाली मुलुकतिर फैलिंदो छ । नेपाललगायत एसियाली मुलुकको स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार, चिकित्सकीय विधि÷प्रविधि, पूर्वतयारीको तत्परता तथा क्षमता र रोकथामका लागि गरिएको प्रयासको अवस्था हेर्दा यस क्षेत्रमा कोभिड–१९ फैलिएमा निकै भयावह हुने सम्भावना देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमा कोरोनाको उच्च जोखिम रहेको जानकारी दिएपछि यसबारेमा सम्बद्ध देशले विशेष होसियारी तथा पूर्वतयारी गर्नुपर्ने देखिएको छ । चीनको वुहानमा गत ८ डिसेम्बरमा पुष्टि भएको कोरोना छोटै समयमा विश्वका ५० मुलुकमा फैलिइसकेको छ  । पछिल्लो तथ्यांकअनुसार कोभिड–१९ बाट ८३ हजारभन्दा बढी सङ्क्रमित भएकामध्ये दुईहजार ८५९ को मृत्यु भइसकेको छ । चीनको तुलनामा इरान, इटाली, दक्षिण कोरियामा दु्रत गतिमा सङ्क्रमण फैलिएकाले नेपालले पनि समयैमा पूर्वतयारी गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारसम्ममा सात देशले रिपोर्ट पेस गरेकोमा चीनमा भन्दा ब्राजिल, जर्जिया, ग्रिस, उत्तर म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा द्रुत गतिमा सङ्क्रमण फैलिएको छ । कोरोना भाइरसका कारण एक महिनाअघि नै सङ्कटकाल घोषणा गरिसकेको डब्लुएचओले यसको नियन्त्राणमा विश्वको साझा प्रयासलाई जोड दिँदै आएको छ ।
नेपालले यससम्बन्धी केही गरकोे तयारी गरेको छ तर जानकारका अनुसार त्यस्तो तयारी अपर्याप्त मात्र छैन, अन्तर निकाय समन्वयको अभाव देखिएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै सय शैय्याको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुलाई पूर्ण तयारी अवस्थामा राख्ने निर्णय गरिसकेको छ । डब्लुएचओले सबै देशले स्थानीय मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नुपर्ने आवश्यकतालाई प्राथमिकता दिएकाले नेपालले पनि यस्तै पक्षमा विशेष ध्यान दिनु वाञ्छनीय हुनेछ । यसका साथ स्वास्थ्य परीक्षण, व्यक्ति आफैंले गर्नुपर्ने होसियारीप्रति जिम्मेवार बनाउनेजस्ता विधिमा पनि तत्कालै गृहकार्य गर्नुपर्ने देखिएको छ । यदि सङ्क्रमण फैलिए गुणस्तरीय मास्क आवश्यक पर्छ भने अहिले नै यसको उत्पादन तथा उपयोगमा किन तयारी नथाल्ने ? अथवा प्रचारप्रसार नगर्ने ? यसमा सरकार, ब्यवसायी र नागरिक सबै पक्षको होसियारी उत्तिकै जिम्मेबार हुने भएकाले आआफ्ना जिम्मेबारी निर्वाहमा कोही पनि चुक्नु हुँदैन ।
चीनबाट फर्काइएका नेपालीको स्वास्थ्य परीक्षण र आन्तरिक व्यवस्थापन प्रभावकारी देखिएको छ । नेपालको प्रयास पछिल्ला दिनमा कोरोना सङ्क्रमण लक्षित कार्यविधि निर्माण, छलफल तथा पर्ख र हेरको अवस्थामा केन्द्रित छ । स्वास्थ्य सेवा विभागका अनुसार एसियाली मुलुकमा कोरोनाको प्रकोप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण थप सुदृढ बनाइएको छ । चीन – हङ्कङ, जापान, कोरिया, थाइल्याण्ड लगायतका देशबाट आउने दैनिक सात सय सम्भावित यात्रुको स्क्रिनिङ गर्ने गरिएको छ । यसैगरी त्यस्ता यात्रुको थर्मल स्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट ज्वरो परीक्षण लगायतको होसियारी अपनाइएको छ । साथसाथै कोरोना नियन्त्रणका लागि एकीकृत कार्यविधि बनाउने भनिएको छ तर पछिल्ला हप्ता दिनहुँ भएका यस्ता छलफल निष्कर्षमा पुग्न नसक्नुमा अन्तर निकाय समन्वयको अभाव देखिन्छ । कोरोनाको सङ्क्रमण देखिए ५० प्रतिशत शैय्या खपत नभएका अस्पताल खाली गराउने व्यवस्थासहितको कार्यविधि निर्माणको प्रयास भइरहे पनि निष्कर्ष आएको छैन । परराष्ट्र, गृह प्रशासन, सुरक्षा निकायलगायत राज्यका सम्बन्धित निकाय परिचालन गर्न सक्ने गरी बनाइने कार्यविधिलाई तत्काल पारित गरी थप अगाडि बढ्नु पर्ने देखिएको छ । यसका लागि कानुनी, आर्थिक, प्राविधि र जनशक्तिका बारेमा ध्यान केन्द्रित गर्दै औषधिलगायत अत्यावश्यकीय वस्तुको भण्डारण तथा वितरणको उचित व्यवस्था पनि प्राथमिकतामा पर्नु जरुरी हुन्छ । कोरोना सङ्क्रमण देखिए तत्काल सीमा नाका, विद्यालय, मुख्य शहरमा हुने आवतजावत बन्द गर्नुपर्ने अवस्था हुने र त्यसले सिर्जना गर्ने अन्य विशेष परिस्थितिको सामनाका लागि तयारी गर्नु पनि त्यतिकै आवश्यक छ । नेपालमा अधिक औषधि आपूर्ति गर्ने भारतजस्ता मुलुकमा कोरोनाको सङ्क्रमण फैलिए त्यसको सामना गर्ने तयारी पनि उत्तिकै आवशयक छ । नेपालमा कोरोना भाइरसबाट हाल कोही पनि सङ्क्रमित पाइएको छैन तर डब्लूएचओले उच्च जोखिमको घण्टी बजाइसकेकोले अति उच्च सतर्कता र तयारी अपनाउनु पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?