logo
२०८१ मंसिर १३ बिहीवार



वन्यसम्पदा उपयोगमा विविधता (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाको व्यावसायिक विविधिकरणमा विभिन्न सम्भावना देखिएका छन् । प्राकृतिक सौन्दर्य, हिमाल, पर्वतमाला, जैविक विविधता र वन्यजन्तुको व्यावसायिक उपयोगमा विविधिकरण गर्न सकिए यसलाई आम्दानीमुखी क्षेत्र बनाउन सकिने छ । नेपालका यिनै सम्पदा हेर्न आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दो छ । नेपालमा पाइने विभिन्न प्रजातिका वनस्पति तथा वन्यजन्तु पर्यटन प्रवद्र्धनका प्रभावकारी माध्यम भएकाले नेपालले वनस्पति र वन्यजन्तुमार्फत् सम्पन्नता प्राप्त गर्न सक्नेछ । यी क्षेत्रको विस्तार तथा विकास गरी पर्यटकको प्रवेशलाई सहज बनाउन सक्दा नेपालले यस्ता सम्पदाको उपयोगबाट विदेशी मुद्रा आम्दानी गर्न सक्छ । स्थानीय रोजगारी र आर्थिक गतिविधि वृद्धि गर्न सक्छ जसले समृद्धिमा सहयोग गर्नेछन् । यस क्षेत्रका केही विज्ञ चाहिं संरक्षित क्षेत्रमा पर्यटकको आवागमन कम गर्नुपर्ने धारणा राख्छन् । उनीहरूका अनुसार मानवीय चहलपहलले वन्यजन्तुको एकाग्रता भङ्ग गर्छ र उनीहरूले वासस्थान परित्याग गर्छन् । तर, वन्यजन्तुलाई असर नगरी संरक्षित क्षेत्र पर्यटनका लागि उपयोग गर्नै नसकिने भने होइन ।
नेपालमा कानुनतः वन्यजन्तु तथा वनस्पति संरक्षण गर्न थालिएको करिव चारदशक भएको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमनलाई व्यवस्थित तुल्याउने पहल पनि गरिएका छन् । अब यस्तो पहललाई थप घनिभूत बनाउनु पर्ने देखिएको हो । सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल बनाउन कुनै एक क्षेत्रमा मात्र ध्यान दिएर नपुग्ने भएकाले संरक्षित क्षेत्र, वन्यजन्तु तथा अन्य प्राकृतिक साँस्कृति सम्पदालाई पनि आम्दानीयोग्य बनाउनु आवश्यक छ । यी सम्पदालाई पर्यटन विकास र आर्थिक समृद्धिसँग एकाकार गरी अघि बढ्न वन तथा वातावरण मन्त्रालय र अन्य सम्बद्ध निकायबीच समन्वयात्मक सहकार्यको वातावरण तयार हुँदैछ । नेपालमा उपलब्ध ११८ किसिमका पारिस्थितिकीय प्रणालीमध्ये ८० किसिमका प्रणाली संरक्षित क्षेत्रमा पाइन्छ । नेपालको कुल भूभागको २९.३९ प्रतिशत भूभाग संरक्षित क्षेत्रमा पर्छ । विश्वमै दुर्लभ एकसिङे गैँडा ६४५ वटा छन् भने दुर्लभ पाटेबाघ २३५ वटा छन् । त्यसैगरी हिउँचितुवा, ध्वाँसेचितुवा, अर्ना, गौरीगाईसहितका स्तनधारी पाइन्छन् । सुन्दर डाँफे र मयुरजस्ता ८८८ प्रजातिका चरा, पुतलीका धेरै प्रजातिको बसोबास नेपालका वनजङ्गलमा छ । त्यस्तै कछुवा, घडियाल गोही, अजङ्गका हात्ती र थुप्रै संरक्षित वन्यजन्तुको बासस्थान नेपालमा छ । विश्वको सर्वोच्च शिखर, तिलिचो, रारा तालजस्ता सम्पदालाई मुलुकको आर्थिक विकासमा जोड्न सकिन्छ भन्ने उदाहरण त फेवाताल नै छ । आखिर मुलुकले यी सम्पदाको संरक्षणमा किन लगानी गर्ने त ? उत्तर स्पष्ट छ, अपेक्षित प्रतिफल प्राप्त गर्न । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी गरिंदैन र लगानी गरियो भने त्यो अर्थशास्त्रको परिभाषाअनुसार विकास पहल पनि मानिंदैन । तर प्रतिफल भन्नाले आर्थिक लाभसँगमात्र जोड्नु हुँदैन ।
नेपाल सरकारले यी क्षेत्रलाई उत्पादनमुखी क्षेत्र बनाउँदै आएको छ । वन्यजन्तु कूटनीतिमार्फत सरकारले नेपालको पर्यापर्यटनको क्षेत्रलाई आर्थिक कूटनीतिसँग जोडेर आर्थिक वृद्धि गर्ने थप तयारी गरिरहेको छ । यी क्षेत्रको समयानुकुल विकास विस्तारबाट अत्यधिक पर्यटक भित्र्याउँदै विदेशी मुद्रा आर्जन गर्ने दिगो रणनीति बनाइनु आवश्यक छ । वन्यजन्तु विभागले राष्ट्रिय संरक्षण नीति र वन विकास गर्न योजनालाई पर्यापर्यटनसँग जोड्न जैविक विविधता रणनीति, सरकारका आवधिक योजना र नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धि अनुरूप बनाइने योजनाले नेपालको वन्यजन्तु र वनस्पतिको उपयोगमा विविधता ल्याउने देखिन्छ । आर्थिक वर्ष २०७४÷७५ मा छ लाख ९९ हजार ५५२ पर्यटक संरक्षित क्षेत्रमा प्रवेश गरेका देखिएकाले संरक्षण क्षेत्रमा आएका पर्यटकबाट भएको आम्दानी तथा अन्य गतिविधिमार्फत सङ्कलित राजश्व वृद्धिका लागि यी क्षेत्रमा थप लगानी र उपयोगमा विविधिकरण गर्नुपर्ने देखिन्छ । यसका लागि विगतदेखि प्रचलनमा रहेको संरक्षित क्षेत्रमा शिकार गर्न पाउने सुविधा बढाउन सकिने छ । नेपालमा शिकार गर्न पाइने संरक्षित क्षेत्र ढोरपाटन मात्र रहेकाले अन्य संरक्षित क्षेत्रमा पनि यस्तो सम्भावना छ भने त्यसबारेमा लचिलो हुन सकिन्छ । पर्यापर्यटनले स्थानीय क्षेत्रमा आर्थिक गतिविधि वृद्धि गर्ने भएकाले यसलाई विकासको पूर्वाधारका रुपमा प्रोत्साहन गर्नु आवश्यक छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?