श्रीरामसिंह बस्नेत
कुनै पनि भाषाको विकास र विस्तारमा बोलिचालीका अतिरिक्त त्यस भाषाका माध्यमबाट गरिने आमसञ्चारको निर्णायक भूमिका रहन्छ । नेपाली भाषाको विकास, विस्तार र समृद्धिमा एक शताब्दीभन्दा लामो समयदेखि गोरखापत्रले पु¥याइरहेको योगदान र करिव पौने शताब्दीदेखि रेडियो नेपालले अनवरत निर्वाह गरिरहेको भूमिका यसका ज्वलन्त उदाहरण हुन् । नेपालमा मात्र होइन, विश्वका जुनसुकै देशमा पनि राजनीतिक परिवर्तनसँगसँगै आमसञ्चार र पत्रकारिता क्षेत्रमा नयाँ प्रवृत्तिहरुले प्रवेश गरेको पाइन्छ । नेपालमा पनि २००७ सालभन्दा अघिको र पछिको पत्रकारिताबीच तुलनै गर्न सकिंदैनथ्यो भने २०४६ सालभन्दा अघि र त्यसपछिको पत्रकारिताबीच पनि धेरै ठूलो अन्तर रहेको टड्कारै देखिन्छ । नेपाली भाषाको समृद्धिमा आज विगतको जस्तै आमसञ्चार र पत्रकारिता क्षेत्रलाई स्यावासी दिन सकिने स्थिति छैन ।
नेपाली भाषाका प्रमुख प्रयोगकर्ता आजका आमसञ्चार माध्यमहरुले नेपाली भाषालाई नयाँ नयाँ शब्द र शैली दिनसक्नु पर्नेमा भईरहेकै शब्दहरु बिगार्ने र शैलीमा विचलन ल्याउने जस्ता गलत काम गरिरहेका स्पष्ट देखिन्छ । केही उदाहरण लिई हेरौं – आमसञ्चारमा निकै प्रचलनमा रहेको एक शब्द हो ‘चेकजाँच’ । चेक शब्द अङ्ग्रेजी हो, जसको अर्थ जाँच गर्नु नै हुन्छ । नेपाली शब्द जाँचको अगाडि सोही अर्थ दिने अँग्रेजी शब्द जोड्नुको औचित्य के होला ? खाशगरी प्रहरी, प्रशासन, भन्सार आदिसँग सम्बन्धित समाचार सामग्रीहरुमा व्यापक रुपमा ‘चेकजाँच’ शब्द प्रयोग भईरहेको पढदा, सुन्दा उदेक लाग्छ । त्यसैगरी हास्यास्पद रुपमा प्रयोग भइरहेको अर्को शब्द हो – ‘दररेट’ । दरले नै पूरा अर्थ दिइसकेपछि त्यसमा अङग्रेजीको उही अर्थ दिने रेट शब्द गाँस्नुको कारण कसले बताउन सक्ला ? सामान्यतया एउटै भाषाका दुई शब्दबीच सन्धि हुनु स्वभाविक हो । तर नेपाली र अङग्रेजी शब्दकाबीच सन्धि गराइदिने उपबुज्रुक्याईं भने नेपाली भाषामा निकै भईरहेको छ, जसलाई आमसञ्चार माध्यमहरुले सच्याएर प्रयोग गर्नुपर्नेमा त्यस्तै प्रवृत्तिको पछिपछि दौडिरहेका छन् । यस्तै – उपमेयर । नगरपालिकाको सन्दर्भमा उपमेयर भन्नु अर्को हास्यास्पद प्रचलन हो । कि उपप्रमुख भन्नुपर्छ कि ‘डेपुटी मेयर’ भन्नु पर्छ । समाचार, भाषण आदिमा व्यापक प्रयोग भईरहेको अर्को शब्दमा पनि निकै अन्यौल रहेको पाइन्छ । त्यो हो – रोजगारी र रोजगार । रोजगारी भनेको काम हो, रोजगार भनेको कामदार हो । ‘वैदेशिक रोजगारमा गएको’ भन्नु अशुद्ध हुन्छ ।
सार्वजनिक पहिचान भएका कुनै व्यक्तिको निधन भएकोबारे समाचारमा अक्सर भन्ने वा लेख्ने गरिन्छ – ‘उहाँको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरियो ।’ प्रश्न उठछ – उहाँको यसअघि पनि पटक पटक दाहसँस्कार अर्थात् जलाउने कार्य भएको थियो र आज अन्तिमपटक भएको ? कि त दाहसंस्कार मात्र भन्नु पर्छ, कि अन्तिम संस्कार मात्र भन्नु पर्छ । ‘अन्तिम दाहसंस्कार’ भन्नु सरासर मुर्खता हो । त्यस्तै आजकल ‘मृत आत्माको चिर शान्तिको कामना’ भन्ने गरिएको पनि पाइन्छ । हाम्रो हिन्दु मात्र होइन, बौद्ध, इस्लाम, इसाई सबै धर्ममा आत्मा कहिल्यै पनि मर्दैन भन्ने मान्यता रहिआएको छ । त्यस मान्यतालाई चुनौती दिंदै आमसञ्चारका पण्डितहरुले शरीरसँगै आत्मा पनि मर्छ भन्ने अर्थ लाग्ने दर्शन स्थापित गर्न खोजेको हो भने त्यसबारे विषद व्याख्या आउनु जरुरी छ, नत्र हचुवाका भरमा आत्मा समेत म¥यो भन्ने अर्थ लाग्ने शब्द प्रयोग गर्न पाइदैन । यसमा ‘दिवंगत् आत्मा’ भन्नु सबैभन्दा उचित हो । प्रत्येक दिनका अखबारहरुमा मानिसको मृत्यु सम्बन्धी श्रद्धाञ्जलि विज्ञापन प्रकाशित हुने गरेका छन् । तर एउटै पत्रिकाको एउटै पृष्ठमा उही दिन छापिएको विज्ञापनमा पनि कुनैमा ‘श्रद्धाञ्जली’ अनि कुनैमा ‘श्रद्धाञ्जलि’ भनेर छापिने गरेका छन् । शुद्ध त ‘श्रद्धाञ्जलि’ हो । तर पत्रपत्रिकाले विज्ञापन सामग्रीमा भाषागत शुद्धतातर्फ ध्यान नदिंदा धेरै शब्दहरुको अशुद्ध र विकृत रुप नै प्रचलनमा आईरहेका छन् ।
अर्थको अनर्थ नलाग्ने गरी शब्दहरुलाई प्रयोगमा ल्याउने सत्कार्य जसले गरे पनि हुन्छ, यो भाषाविद् वा ठूला संस्थाको मात्र ठेकेदारी होइन । यस पङ्तिकारले प्रचलनमा रहेको ‘मरणोपरान्त’ शब्दको सट्टा ‘जीवनोपरान्त’ शब्द प्रयोग गर्ने गरेको छ, जसप्रति अहिलेसम्म कतैबाट आपत्ति जनाइएको छैन । त्यस्तै ‘लोडसेडिङ’ लाई ‘विद्युतभार कटौती’, ‘होमस्टे’ लाई ‘घरबास’ ।
व्यक्तिलाई सम्बोधन गर्ने शब्दको प्रयोगमा हाम्रा आमसञ्चार माध्यमहरुले अपनाइरहेका शैलीप्रति आमजनमानसदेखि राज्यको माथिल्लो पङ्तिबाट समेत असन्तुष्टि व्यक्त भइरहेको छ । केही आमसञ्चार माध्यमहरुले सबैलाई ‘तिमीकरण’ गर्ने गरेकोमा असन्तुष्टि देखिएको हो । लोकतन्त्रपछि सबैजना समान भए, कोही ठूलो, कोही सानो छैन भन्ने धारणा राखेर ती आमसञ्चार माध्यमहरुले तिमीकरण चलाएका हुन् । तर वास्तवमा सबैजना समान छन् भन्ने कुरा भ्रम मात्र हो, यथार्थ होइन । अङ्ग्रेजी भाषाको ‘यु’ सबैलाई सहजै प्रयोग हुँदै आएको सिको गर्दै नेपालीमा पनि ‘तिमी’बाट सबैलाई समेट्न खोज्दा हाम्रो नेपाली भाषाको मौलिकता मात्र होइन, हाम्रो सामाजिक–साँस्कृतिक मान्यता अनुकूल पनि हुन सक्दैन ।
सबैभन्दा हास्यास्पद र उदेकलाग्दो त त्यतिखेर सुनिन्छ, जतिखेर कुनै रेडियो प्रशारणका पत्रकारले अन्तरवार्ता लिंदा ‘तपाई’ भनेर सम्बोधन गर्छ र लगत्तै अन्तरवार्ताको बिट मार्दा ‘उनी’ भन्छ । यसरी एकैक्षणभित्र दोहोरो मापदण्ड प्रयोग हुँदा सुन्नेहरुलाई अप्ठ्यारो महसुस हुन्छ । यसैगरी केही आमसञ्चार माध्यमहरुले सबैलाई ‘तपाई’ प्रयोग गर्ने गरेको पनि पाइन्छ । यसोगर्दा अभियुक्त मात्र होइन, अपराधी ठहर भइसकेका व्यक्तिहरुलाई समेत अनावश्यक रुपमा सम्मानसूचक शब्द प्रयोग हुन जान्छ । जस्तै ‘अदालतले उहाँमाथिको बलात्कार अभियोग ठहर ग¥यो’, ‘उहाँ भ्रष्टाचार गरेको अपराधमा जेल पर्नु भयो’ आदि । त्यस्तै आमसञ्चार माध्यमले साना बालबालिकाहरुलाई ‘तपाई’ भन्दा ‘तिमी’ प्रयोग गरेकै सुहाउँदो, स्वभाविक र मीठो सुनिन्छ । मूल कुरा पात्र सुहाउँदो सम्बोधन गर्नु नै सबैभन्दा उचित हो । सम्बोधनको शब्दमा पनि राजनीतिक सङ्कीर्णता राख्नु उचित होइन । हाम्रो नेपाली भाषामा तँ, तिमी, तपाईं, हजुर चारै किसिमका सम्बोधनका शब्द उपलब्ध छन् । यो हाम्रो भाषाको सुन्दर विशेषता हो । यो विशेषतालाई मास्नु बुद्धिमानी हुँदैन ।
आमसञ्चारमा ‘तँ’ को प्रयोग गरिंदैन भने राजतन्त्र समाप्तीसँगै ‘हजुर’को प्रयोग अब आवश्यक परेन । तर व्यवहारमा भने ‘हजुर’ को प्रचलन बढ्दो छ । राजनीतिक परिवर्तनको रन्को चलिरहेको बेलामा ‘सामन्तहरुले प्रयोग गर्ने शब्द’ भनेर ‘हजुर’ लाई खिसी गरे पनि अहिलेका नवधनाढ्य र शक्तिमा पहुँच भएकाहरुकाबीच यो शब्द निकै इज्जतसाथ प्रयोग भइरहेको छ । त्यतिमात्र होइन, सिंहदरबारभित्र साना तहका कर्मचारीहरुले आफूभन्दा ठूला तहका हाकिमहरुलाई साथै सचिवहरुले समेत मन्त्रीहरुलाई ‘हजुर’ नै भन्ने गरेका छन्, ‘तपाई’ भन्ने आँट गर्दैनन् ।
राज्यको माथिल्लो तहमै भाषाको प्रयोगप्रति गम्भीरता नरहेको यथार्थ हालै सार्वजनिक भएको विधेयकको भाषाबाट पनि स्पष्ट हुन्छ । नेपालका सबैजसो टेलिभिजन प्रसारणमा पर्दामा देखाइने शब्द र ‘स्क्रोल’ समाचारमा व्यापक त्रुटि रहने गरेको हरेक दिन देखिन्छ । पत्रिकामा जस्तै टेलिभिजनका पर्दामा पनि शब्दको सही रुप प्रदर्शित हुनुपर्दछ । टेलिभिजनले दृष्यमात्र हाम्रो जिम्मेवारी हो, शब्द होइन भन्न पाउँदैन । हुन त सबै पेशा व्यवसायका मानिसहरुले आफ्नो मुख्य भाषा शुद्ध लेख्ने, शुद्ध बोल्ने गर्नु पर्दछ । यो नै आफ्नो सभ्य संस्कृतिको पहिचान हो । तर हामीकहाँ त शिक्षित व्यक्तिहरु नै नेपाली भाषाको शुद्ध प्रयोगप्रति संवेदनशील नहुनु दुःखद कुरा बनेको छ । त्यसमा पनि शिक्षक र पत्रकारले अशुद्ध लेख्नु, बोल्नु भनेको अक्षम्य अपराध हो । किनकि अरुलाई सिकाउनु पर्ने जिम्मेवारीमा रहेका शिक्षक वर्गले नै अशुद्ध भाषा प्रयोग गरे भने लाखौं विद्यार्थीले भाषाको शुद्ध प्रयोग गर्न सिक्ने छैनन् ।
भाषाको प्रयोगमा आमसञ्चारले अरुलाई बाटो देखाउन सक्नु पर्दछ । तर आमसञ्चार आफैंले बाटो बिरायो भने त्यो निकै ठूलो विडम्बना बन्न पुग्दछ । अहिले नेपाली भाषामाथि जानेर वा नजानेर, चाहेर वा नचाहेर विभिन्न कोणबाट अतिक्रमण हुने क्रम बढिरहेको छ । देशको सीमा अतिक्रमणजस्तै भाषा अतिक्रमण पनि चिन्ताको विषय हो । यस परिस्थितिमा आमसञ्चार माध्यमहरुले चनाखो भएर आफ्नो कर्तव्य निर्वाह गरिदिउन् भन्ने जनअपेक्षा रहनु स्वभाविकै हो ।