प्रदीप नेपाल
दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री, केपी ओली सोमबार त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनु भयो । सबै कुरा मिलेको हुनाले उहाँको शल्यकृया सफल पनि भयो । अस्पताल प्रवेश गर्नु अघि प्रधानमन्त्रीले दिनु भएको सन्देश हेर्दा हामी फेरि पनि ओलीलाई सुशासन र समाजवादको मार्गदर्शकका रुपमा भेट्न पाउने छौं भन्ने पनि मेरो विश्वास हो ।
तर मैले भन्नु पर्ने कुरा चाहिं अर्कै छ ।
गएको हप्ता प्रधानमन्त्रीको जन्मदिनको नेपाली नक्सा भएको केक र आठराईको र्इंवामा भएको कार्यक्रमको अभुतपूर्व चर्चा भयो तर सोह्रै आना नकारात्मक । त्यसैले मलाई केही लेख्न मन लागेको हो ।
पहिलो त, आमाको छाती र केकको तुलना । यो तुलनाले आमाको मर्यादालाई कति घटाउँछ भन्ने सत्यवोध टिप्पणी लेख्ने साथी, उहाँका समर्थकरुलाई थाहा भएन होला । कहाँ आमाको अमृतमय छाती अनि कहाँको मृत्यु निम्त्याउने यमदूत, चिनी र मैदाको मिश्रण भएको ‘बर्थ डे केक’ । तपाईहरुलाई बुझ्न गाह्रो भयो भने म प्रष्ट पार्न चाहन्छु । सेतो चिनी सेतो विष हो । सेतो मैदा पनि त्यस्तै विष हो । पश्चिमबाट आयात गरिएको यो कुसभ्यताले वर्षैपिच्छे हाम्रो आँत खाइरहेको छ । आमाको दूधले तपाईंलाई जीवन दिएको छ । जीवनभर त्यसले तपाईंको रक्षा गरिरहने हुन्छ । तर केकको प्रत्येक टुक्राले तपाईंलाई सेकेन्ड सेकेण्डमा मारिरहन्छ । त्यसैले उदाहरण दिंदा पनि अलि सुहाउने दिने गरौं । यो मेरो अनुरोध हो ।
अर्को एउटा सत्य के हो भने प्रधानमन्त्री केपी ओली गम्भीर स्वास्थ्य अवस्थामा पनि काम राम्रै गरिरहनु भएको छ । पार्टीको महाधिवेशनमा उहाँलाई अध्यक्षमा जिताउनु पर्छ भन्ने टिममा म पनि थिएँ । त्यतिखेर पनि केपी ओलीले राम्ररी पार्टी चलाउनु हुन्छ अनि यति राम्ररी सरकार चलाउनु हुन्छ भनेर मैले सोचेको थिइनं । उहाँका लागि भोट माग्दा पनि मैले, उहाँले यसपालि हार्नुभयो भने दशौं महाधिवेशन भेट्न पनि पाउनु हुन्न, एकपल्ट उहाँलाई अध्यक्ष बनाएर शान्तिको मृत्यु मर्न दिउँ भनेकै हुँ । ६० र ४० को भिन्नता हुन्छ भनेर उहाँलाई जिताउन ज्यान फालेर लागेका थिए साथीहरु । साह्रै नहौसिनुहोस्, ५१ र ४९ मात्रै भए पनि जित्नु ठूलो कुरा हो भनेर सम्झाउँथे म उहाँहरुलाई । परिणाम सबैलाई थाहै छ – धन्नले जित्नुभयो केपी ओलीले ।
एक प्रकारले भन्ने हो भने त्यो राजनीतिको होइन, सद्भावनाको मतको जित थियो । अध्यक्षमा विजयी भएपछि उहाँले मलाई बिर्सनु भयो । म फेरि निर्गुट भएँ ।
अहिले पनि उहाँलाई स्वस्थ शरीरको शुभकामना दिइरहन्छु । किनभने आठराई पुगेर उहाँले त्यसको मुहार चम्काइदिनु भयो । सुकेको बस्तीमा अलिकति भए पनि पानी हालिदिनु भयो । माओवादी जनयुद्धको समयमा उठेको बैंक पुनस्र्थापना भयो । मदन भण्डारीको घर राष्ट्रिय राजमार्गसँग जोडिने भयो । एउटा नयाँ प्राविधिक शिक्षालयको खाँबो ठड्याउनु भयो । बुढाबुढी र केटाकेटीसँग रमाउनु भयो । रोगी मान्छे रमाइलो वातावरणमा पुग्यो भने एक हप्ता बढी बाँच्छ । त्यसैले उहाँ त्यहाँ रमाउनु भयो ।
कति साथीहरुलाई थाहा छ कुन्नि ! आठराई पूर्वको वामआन्दोलनको एउटा स्तम्भ हो । शहीद रामनाथ दाहालको जन्मथलो पनि त्यहीं हो । सूर्य कङ्दङ्वा पनि त्यहीं जन्मिनु भएको थियो । पछिल्लो समयमा यी नामहरु विस्मृतितिर जाँदै थिए । त्यसलाई उहाँले पुनःस्मरण गराउनु भयो । त्यत्रो तामझाम चाहिं नगरेको भए पनि हुन्थ्यो । तर केपीलाई उहिल्यैदेखि चिन्नु हुने उहाँका सहयोद्धा राधाकृष्ण मैनालीले यस्तो तामझाम नै केपी परिचय हो भन्दै एउटा सुन्दर वाक्य बोल्नुभएको छ – जेलमा हामी बिंडी तान्थ्यौं, केपीलाई चुरोट नै चाहिने !
म त भन्छु, कामना गरौं प्रधानमन्त्री लामो आयु बाँच्नु होस् र हरेक जन्मदिनमा यस्तै गरी रमाइलो गर्नु होस् । धेरै शहीद जन्माएको गरामनी स्कुलमा आगामी वर्ष शहीदको सपना पूरा गर्ने विद्यार्थी उत्पादन गर्ने शिक्षा प्रणालीको आरम्भ गराउनु होस् । प्रधानमन्त्री, अझ अर्को वर्षको जन्मदिन मनाउँदा आफ्नो जीवनको कालरात्रिको रुपमा रहेको काठमाडौंको केन्द्रीय जेलभित्रको गोलघरलाई भत्काउनु होस् । त्यहाँ नैतिक शिक्षा र साहित्यिक पुस्तकको पुस्तकालय स्थापना गर्नु होस् । थुनेर होइन, शिक्षादीक्षा दिएर नै जीवनप्रति सकारात्मक धारणा बनाउने मान्छे बनाउन सकिन्छ ।
प्रधानमन्त्री ओलीले सक्षम साथीहरुलाई आपूmबाट पर सार्ने काम प्रधानमन्त्री बनेको भोलिपल्टदेखि नै थाल्नु भएको हो र यो अहिले पनि जारी छ भन्ने गुनासो सुनिएकै छ । जन्मिएपछि मरिन्छ र बाँचुञ्जेल राम्रो काम मात्रै गर्नु पर्छ भन्ने ज्ञानलाई उहाँले बिर्सनु भएजस्तो छ । एकपल्ट २२ करोड खर्चिएर थाइल्याण्डबाट पुनर्जीवन लिएर आउनु भयो । अघिल्लो हप्ता मैले फेसबुकमा अब राज्यकोषबाट १७ करोड निकालेर राम्रो किड्नी हाल्न विदेशतिर जाँदै हुनुहुन्छ भन्ने पढेको थिएँ । यदि यसो हो भने त्यो चाहिं अलिक ठीक हुँदैन है भन्ने मेरो सल्लाह पनि दिएको थिएँ । तर त्यो फेसबुके समाचार गलत रहेछ । अब त्यो सन्दर्भमा केही लेखिरहनु परेन । राम्रै भयो ।
आइतबार, सङ्घीयताको सवलीकरणमा वुद्धिजीवीको भूमिका शीर्षकमा एउटा छलफल कार्यक्रममा सहभागी भएको थिएँ । एउटा प्रश्न कार्यक्रम हुनुभन्दा हप्ता दिन पहिले पहाड भएर मेरा उभियो । बुद्धिजीवी भनेको को हो ? सोध्नेले आफ्नो प्रश्नको परिभाषा दिनुभएको – त्यो बुद्धिजीवी भनेको तपाईंको पार्टीको हो कि नेपाली कांग्रेसको हो ? कि अरु साना पार्टीको हो !
मैले वुद्धिजीवीलाई यसरी वर्गिकरण गरेको थिइनं । गर्नु पनि हँुदैन । अध्ययन, अनुसन्धानको वृत्तिमा लाग्ने, निरन्तर अध्ययन गरिरहने सबै मानिस वुद्धिजीवी हुन् भन्ने मेरो बुझाई अहिले पनि छ र यो सधैं रहिरहनेछ । डा. वा पिएचडी लेख्ने बित्तिकै बुद्धिजीवी हुने अनि अंग्रेजी बोल्न नजान्ने वुद्धिजीवी नहुुने भन्ने कुरामा मेरो रौं बराबर विश्वास छैन । जुनसुकै पार्टीको सदस्य अथवा शुभचिन्तक भए पनि उसको जिउने मेलो बुद्धि बेच्ने नै हो । आस्था र पेशा फरक विषय हुन् । यद्यपि नेपाली शिक्षा प्रणालीले यस्तै थिति बनाएको छ । यो बिग्रिएको थिति सुधार्ने जिम्मा पनि वुद्धिजीवीको काँधमा ढाकर बनेर ठेसिएको छ ।
मुख्यवक्ता अथवा कार्यपत्र प्रस्तोता हुनुहुन्थ्यो, सङ्घीयता विज्ञ डम्बर चेम्जोङ्ग । उहाँले, मेरा लागि एउटा नयाँ ज्ञान पस्किदिनु भयो । गाउँ विकास समिति हुँदा जनताको पूर्ण निगरानीमा हुन्थे जनप्रतिनिधिहरु । पालिका बनाएपछि त्यसको भौगोलिक दायरा धेरै फराकिलो भयो । खास गरेर पहाडी क्षेत्रमा गाउँ पालिकाको केन्द्रमा पुग्न नै एक दिन लाग्छ । पहिले गाउँ विकास समितिको कार्यालय पुग्दा बढीमा दुई तीन घण्टा मात्र लाग्थ्यो ।
अरु कुराहरु, जस्तै घर छेउमै सिंहदरबार, सम्पूर्ण अधिकार जनतामा, भन्नेजस्ता महत्वपूर्ण जिम्मेवारी मुखले दिने हातले थुत्ने जस्ता कुरामा हामी दुवैका विचार उस्तै उस्तै थिए । तर सङ्घीयताले कामको केन्द्र टाढा पारेको हो भन्ने बुझेपछि कसरी उहाँको चिन्तालाई कसरी नामेट सकिएला भन्ने वौद्धिकको निष्कर्ष जान्न अहिले खोजिरहेको छु । के हामीले गाउँ पालिकाको सीमाना घटाउनु पर्छ ? यसबारेमा सबैको ध्यान जाओस् । सङ्घीयताले चाहेको जनतालाई सरल ढंगबाट सबै सुविधा दिने हो । कसरी यो काम गर्न सकिन्छ ? सबैले सोच्ने कुरा हो ।