logo
२०८१ मंसिर १३ बिहीवार



कृत्रिम बौद्धिकता वरदान कि अभिशाप

विचार/दृष्टिकोण |




शरदचन्द्र पौडेल


एटिएम अर्थात् अटोमेटेड टेलर मेसिन कर्मचारी विना स्वचालित रुपमा रकम दिने बैङ्कको यन्त्र हो । यसबाट रकम निकाल्न तपाईले मेसिनले मागेबमोजिम चरणवद्ध प्रक्रिया पूरा गर्नुपर्दछ । यो यन्त्रले कार्ड छिराउने ठाउँमा झिपझिप बत्ती बलेर म तयार छु भन्छ । तपाईले कार्ड छिराएपछि एकछिन कार्ड ठीक छ कि छैन जाँच गर्छ र ठीक छ भने तपाईको गोप्य पीन नम्बर माग गर्दछ । पीन नम्बरबाट तपाईलाई पहिचान गरेपछि कति रकम चाहिन्छ भनेर सोध्छ र भनेअनुरुप रकम बाहिर निकाल्छ । फेसबुकले तपाईको जन्मदिन सम्झाउँदै तपार्इँको स्मरणलाई पुनर्ताजा गराइदिन्छ । एक असल मित्रले भन्दा बढी तपाईको बारेमा चासो राखेजस्तै गर्छ । गुगल सर्च (खोजी) इञ्जिनमा तपाईले कुनै कुरा खोज्न टाइप गर्दा त्यसपछिका सम्भावित शब्द वा वाक्यांश देखाएर गुगलले तपाईको खोजीलाई सहज बनाइदिन्छ । तपाईको दिमागलाई कम सोच्न पर्ने बनाइदिन्छ । तपाईले अमेजनमार्फत एकपटक ‘अनलाइन सपिङ्ग’ गरेपछि ऊ तपाईको पछाडि लाग्छ । तपाईलाई यो पनि चाहिन्छ होला भन्दै समान देखाउन थाल्छ, किन्ने काममा सहयोग गर्दछ । पसलको असल विक्रेताले एक ग्राहकसँग गरेजस्तै गर्छ । तपाईलाई लाग्छ, अमेजनले मलाई एकदम धेरै ख्याल गर्छ ।
एटिमले पैसा दिने कार्यमा बैङ्कका कर्मचारीको कुनै संलग्नता हँुदैन । फेसबुकका संस्थापक मार्क जुकरवर्ग वा उहाँका कर्मचारीले तपाईको जन्मदिन थाहा भएर तपाईलाई भावुक बनाउने गरी सन्देश पठाएका होइनन् । त्यसैगरी गुगलको कुनै कर्मचारीले तपाईले हान्दै गरेको शब्द पढ्दै अरु शव्द वा वाक्यांश प्रस्ताव गरेको पनि होइन । अमेजनका कर्मचारीले तपाईले सामान किनिसकेपछि फेरि यो मान्छेको रुचि यस्तो रहेछ भनी अरु सामान प्रस्ताव गरेका पनि होइनन् । यी सबै काम यन्त्रले स्वचालित रुपमा पहिले नै मिलाएर राखिएको कार्यक्रमअनुसार तपाईको सूचनाको आधारमा कार्य गरेको मात्र हो । यस्ता यन्त्रले मानवीय बुद्धि होइन कि कृत्रिम बौद्धिकता प्रयोग गरेका हुन्छन् । यद्यपि, यन्त्रलाई यस कार्यमा सक्षम बनाउने काम भने मानिसले नै गरेको हुन्छ ।
धेरै अगाडिदेखि मानिसका विभिन्न अंगले गर्ने कामको लागि यन्त्र बनाउने काम भइरहेको थियो । बनोट र सञ्चालनमा असाध्यै जटिल भएकोले मानव दिमागले जस्तै काम गर्ने मेसिन बनाउन भने सकिएको थिएन । पछिल्लो समय वैज्ञानिक मानव दिमागले कसरी काम गर्दछ ? भन्ने रहस्य खोल्न तल्लिन छन् । कृत्रिम बौद्धिकता यही खोजको पछिल्लो उपक्रम हो ।
मानिसको दिमागले जस्तै सोच्न र उनीहरुको कार्यको नक्कल गर्नको लागि बनाइएको यन्त्रले मानिसको बौद्धिकताका जस्ताको तस्तै देखाउन सक्ने कार्यलाई कृत्रिम बौद्धिकता भनिन्छ । यसले मानिसको बुद्धिले जस्तै सिक्न र समस्या समाधान गर्न सक्ने गुण देखाउन सक्छ । कृत्रिम बौद्धिकता यन्त्रबाट पनि मानिसको बौद्धिकताको नक्कल गर्न सकिन्छ र यसबाट साधारणदेखि जटिल किसिमका काम सकिन्छ भन्ने सिद्धान्तमा आधारित छ । यो कम्युटर विज्ञानको एक विधा हो । हामीले रोबोटलाई यसप्रकारको यन्त्र भन्ठाने पनि मानवीय बौद्धिकताको सानो वा ठूलो परिमाणमा नक्कल गर्ने क्षमता राख्ने कम्युटर, ड्रोन लगायतका सबै कृत्रिम बौद्धिकताका साधन हुन् । यन्त्रलाई सिकाएर काम गर्न लगाइने भएकोले यसलाई यन्त्र सिकाई पनि भनिन्छ । यन्त्रले सिक्ने बाहेक सुन्ने र संवेग ग्रहण गर्ने काम पनि गर्दछ ।
मानिसको दिमागले वाह्य संवेगको दुई किसिमले प्रतिक्रिया दिन्छ ः तर्कपूर्ण र भावनात्मक । तर्कपूर्ण प्रतिक्रिया भविष्यवाणीयोग्य हुन्छ । अर्थात् तपाई हामी सबैको प्रतिक्रियामा एकरुपता हुन्छ । यही तर्कपूर्ण रुपमा कुनै कार्य गरेर निश्चित लक्ष्य हासिल गर्न सकिन्छ भन्ने मान्यतामा कृत्रिम बौद्धिकता आधारित छ । प्रकाशको गतिमा प्रवाहित हुने इलेक्ट्रोनको गतिविधिमा आधारित इन्टरनेटले कृत्रिम बौद्धिकताको विकास र विस्तारमा अभूतपूर्व योगदान गरेको छ । एक किसिमले भन्ने हो भने कृत्रिम बौद्धिकता इन्टरनेटको उत्पादन हो ।
ठूलो परिमाणको तथ्याङ्क र बौद्धिक ‘एलगोरिदम’ को प्रयोगबाट कृत्रिम बौद्धिकता हासिल गरिन्छ । एलगोरिदम भनेको समस्या समाधानको प्रक्रिया वा सूत्र हो । कम्युटरले काम गर्न कम्युटर कार्यक्रम चाहिन्छ । कार्यक्रम बनाउँदा तपाईले उसले के गर्नुपर्छ ? भन्ने कुरा चरणवद्ध रुपमा भन्नु पर्दछ । यसैलाई कम्प्युटर कार्यक्रम भनिन्छ । कम्युटरले खाली यो कार्यक्रम कार्यान्वयन गर्ने मात्र हो । समस्या समाधानको चरणवद्ध प्रक्रिया एलगोरिदम हो । कम्युटरका सबै कार्यक्रम यही एलगोरिदम प्रयोग गरेर बनाइएको हुन्छ ।
कृत्रिम बौद्धिकताका फाइदा अनगिन्ती छन् । यसमा पूर्णतामा ठीक ढंगले काम गर्न सक्ने क्षमता र गति मानिसको भन्दा एकदमै बढी हुन्छ । यसले मानिसले भन्दा कम गल्ती गर्दछ । यसले जस्तोसुकै प्रतिकूल वातावरणमा पनि काम गर्नसक्छ । मानिस घाइते हुने वा मर्न सक्ने सम्भावना भएका जस्तोसुकै खतरनाक काम गर्न पनि सक्छ । दोहोरिइरहने र श्रम गर्नु पर्ने पट्यारलाग्दो र भन्झटिलो काम पनि यसले गर्न सक्छ । यसले ठगी पनि छिट्टै पत्ता लगाउन सक्छ । ठूला परिमाणका अभिलेख राम्ररी मिलाउन र खोज्दा तुरुन्तै पाउन सक्दछ । मानिससँग अन्तरक्रिया गरेर मनोरञ्जन र अन्य काम गरिदिन सक्छन् । भावनामा नबहकी थोरै वा गल्ती विनाका तर्कपूर्ण निर्णय गर्न सक्छ । मानिसको मूल्यांकन वा जाँच गर्न सक्छ् । यसलाई सुत्न, थाकाई मार्न वा मनोरञ्जन गर्न पनि आवश्यक हुँदैन । यिनीहरु थाक्दा पनि थाक्दैनन् भने कहिल्यै पनि झन्झट मान्दैनन् ।
कृत्रिम बौद्धिकताका बेफाइदा पनि छन् । यो बनाउन, मर्मत र सञ्चालन गर्न खर्चिलो हुन्छ । मानिसको बौद्धिकताको नक्कल नैतिक विषय हो वा होइन भनी प्रश्न उठ्छ । यसमा भण्डारण गर्ने काम एकदमै महंगो हुन्छ । कतिपय काम मानिसले भन्दा राम्रो गर्ने भए पनि यो मानिस जत्तिकै हुन सक्छ भन्ने कुरा निर्विवाद भने छैन । यिनीहरु कार्यक्रम बाहेकको काम गर्न सक्दैनन् । यिनीहरु मानव जत्तिकै सिर्जनशील हुन सक्दैनन् । मानिसको सट्टा मेसिनको उपयोगले रोजगारीमा समस्या ल्याउँछ । यसमाथिको निर्भरताले मानिसको दिमागी क्षमता कम हुँदै जाने खतरा हुन्छ । खराब मानिसको हातमा प¥यो भने यसले ठूलो क्षति वा उत्पात मच्चाउन सक्दछ ।
सुन्दा फाइदा र बेफाइदाको विवरण सामान्य लागे पनि कृत्रिम बौद्धिकताको विकासले हामीले सोचेभन्दा फरक परिमाण ल्याउने आँकलन गरिएको छ । सन् २०२० को जनवरीमा स्विजरल्याण्डको डाभोसमा आर्थिक सम्मेलनमा इतिहासकार युवाल हरारीले कृत्रिम बौद्धिकता समेतको प्राविधिक विकासले यस अगाडिको औद्योगिक क्रान्तिलेभन्दा ठूलो उथलपुथल ल्याउने बताउनु भएको थियो । अथाह सूचनाको प्रशोधन क्षमता राख्ने र समस्या समाधान गर्न सक्ने यन्त्र मानिसभन्दा धेरै गुणा क्षमतावान हुन्छ । कृत्रिम बौद्धिकताको विकासले अहिलेको जनशक्ति बेकामे हुन जान्छ । औद्योगिक क्रान्ति हुँदा कृषि क्षेत्रका अदक्ष जनशक्तिलाई तालीम दिई उद्योग क्षेत्रमा स्थानान्तरण भएका थिए । तर, बौद्धिकताको विकासबाट बेरोजगार भएकालाई तालीम दिएर प्रयोग गर्न सकिंदैन । क्षमता नभएर बनेका निकम्मा बेरोजगार समस्या बन्न जान्छन् । यही कारण प्राविधिक कम्पनीका टाइकुनले भविष्यमा सरकारले सर्वव्यापी न्यूनतमा आयको योजना अगाडि सार्नुपर्ने बताउन थालेका छन् ।
नागरिकको व्यवहार प्रभावित गर्ने क्षमता सरकारसँग मात्र हुन्छ । अबका दिनमा प्राविधिक कम्पनीमा यो तागत बढ्दै जान्छ । यथार्थमा यी कम्पनी नै संसारका शासक बन्नेछन् । मानिसको सर्वोत्कृष्टता धैरै सूचना संश्लेषण गरेर नवप्रवर्तन गर्न सक्ने सिर्जनशीलता छ । यही आधारमा मानिसको समकक्षी यन्त्र हुन नसक्ने तर्क गरिन्छ । तर, मानव निर्मित कार्यक्रमबाट सञ्चालन हुने कृत्रिम बौद्धिकताले कुनै पनि समस्या समाधान गर्ने कार्यक्रम बनाउने सक्ने कार्यक्रमको विकास ग¥यो भने मानवीय बौद्धिकताको सर्वोपरिता सिद्धिन्छ ।
हरेक वैज्ञानिक विकासमा नैतिकताको बहस चले पनि अन्ततः विज्ञान नै विजयी हुँदै आएको छ । मुद्धा उठे पनि यो ढिलो चाँडो कृत्रिम बौद्धिकताले नै जित्छ । त्यसकारण कृत्रिम बौद्धिकताको विकास अहिलेको वास्तविकता हो । यसलाई रोक्ने होइन, सामना गर्ने रणनीति चाहिन्छ । यो चुनौती सामना गर्न हामीले डिजिटल ज्ञान बढाउनु पर्छ । टेबुलमा कम्युटर राखेर डिजिटल ज्ञान प्राप्त हुँदैन । डिजिटल ज्ञानको आधार गणित हो । गणित र विज्ञान शिक्षाको स्तर कमजोर भयो भने डिजिटल क्षमता कमजोर हुन्छ र हामी पछाडि पर्छौं । त्यसकारण समग्र शैक्षिकस्तर कमजोर रहेको सन्दर्भमा गणित र विज्ञान शिक्षासहित शिक्षाको गुणस्तर तत्काल सुधार्नु आजको आवश्यकता हो ।


(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?