logo
२०८१ मंसिर १३ बिहीवार



चिकित्सा विज्ञान ‘फेशन’ कि समर्पण ?

विचार/दृष्टिकोण |




जे.के. विश्वकर्मा


कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल छिमेकी मुलुक चीनको वुहान सहरबाट करिब तीन हप्ता पहिले उद्धार गरेर नेपाल लगिएका सबै नेपाली, उद्धार कार्यमा संलग्न चालक दलका सदस्य र स्वास्थ्यकर्मीहरू कसैमा पनि कोरोना सङ्क्रमण नभएको पुष्टि भइसकेको छ । उहाँहरू सबैप्रति अहिले पनि वुहान सहरमै बसिरहेका हामी सबै नेपाली खुशी प्रकट गरिरहेका छौँ ।
‘चिकित्सा विज्ञान फेशन कि समर्पण’ को बारेमा चर्चा गर्नुपूर्व कोरोना रोकथाममा चीनले गरेको एकल र अभूतपूर्व प्रयासको थोरै चर्चा गर्नैपर्ने हुन्छ । गत जनवरी महिनाको तेस्रो हप्ता अर्थात् चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा वुहान सहरमा कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गर्दा अमेरिकाले आफ्ना केही नागरिकलाई उद्धार गरेर लग्यो । त्यसपछि अन्य देशले पनि आफ्ना नागरिकको उद्धारमा चासो देखाए । यसरी केही देशले एकपछि अर्को गरेर आफ्ना नागरिकको उद्धार गरेको खबरले वुहान सहरमा अध्ययन गरिरहेका विभिन्न देशका अन्य विद्यार्थीमा स्वाभाविक रूपमा मनोवैज्ञानिक त्रास सिर्जना ग¥यो र वुहानमा रहेका नेपाली विद्यार्थीमा पनि त्यसको प्रभाव प¥यो । स्थानीय, क्षेत्रीय वा विश्वव्यापी स्तरमै महामारीको रूप लिन सक्ने यसप्रकारको रोगको विरुद्धमा विश्व एक भएर प्रतिरोधात्मक उपाय अपनाउनुको कुनै विकल्प छैन ।
तथापि पश्चिमा देशहरूले वाद र दर्शनमा आधारित भएर प्रचारबाजी गरे, चीनको राजनीतिक व्यवस्थासँग जोडेर व्यवस्थापकीय क्षमतामा प्रश्न उठाए, हातेमालोको ठाउँमा कुप्रचार गरे । त्यसैगरी बाहिर ल्याइएको विवरण ‘कुकिङ डाटा’ मा आधारित भन्दै सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अधिक हुनसक्ने प्रचारप्रसार गरेर आम मानिसमा भ्रम र त्रास सिर्जना गर्ने काम गरियो । एक प्रकारले चीनले आफ्नो सम्पूर्ण शक्ति कोरोनाविरुद्धको अभियानमा परिचालन गरिरहेको बेलामा यहाँको कम्युनिस्ट सत्तामाथि प्रहार गर्ने काम गरियो, विशेषगरी पश्चिमा जगत्बाट । प्राकृतिक प्रकोप र रोगले कुनै पनि वाद, दर्शन, धनी वा गरिब छुट्याउँदैन । यस्तो बेलामा मानवीय संवेदनाको पनि ठूलो महìव हुन्छ । त्यो कुरा पश्चिमाहरूबाट प्राप्त हुन सकेन ।
कोरोनाको सङ्क्रमण सकेसम्म अन्यत्र नफैलियोस् भनेर हुपेई प्रान्तलाई नै बाह्य सम्पर्कबाट पूर्णरूपमा विच्छेद गरेर यहाँको प्रशासनले अभूतपूर्व रूपमा रोकथामका उपाय अवलम्बन ग¥यो । सबैभन्दा धेरै प्रभावित सहर वुहान हो र यहाँका करिब एक करोड दशलाख मानिस बसोवास गर्दछन् । घरभित्रै सीमित गरिएका सबै नागरिकलाई खाद्यान्नलगायतका वस्तुको अभाव हुन दिइएको छैन । नागरिकको सुरक्षा र स्वास्थ्यका लागि प्रविधिको उच्चतम प्रयोग गरिएको छ । हजारौँ सङ्क्रमित बिरामीको उपचारमा जसरी जनशक्ति परिचालन गरियो यो अनुकरणीय र प्रशंसायोग्य छ । फलस्वरूप आज चीन कोरोन विरुद्धको अभियानमा लगभग सफलताउन्मुख छ भने अमेरिकालगायत अन्य देशमा यसको प्रकोप तीव्रगतिमा फैलिरहेको छ । केही पश्चिमा देशबाहेक अन्य देशले चीनले जसरी कोरोनाविरुद्ध साधन र स्रोत परिचालन गर्ने क्षमता राख्दैनन् । त्यसकारण विश्वव्यापी रूपमै फैलिरहेको कोरोनाको सङ्क्रमण नियन्त्रण गर्ने कार्य अझै चुनौतीपूर्ण हुने सम्भावना छ ।
चीन सरकारले कोरोनाको प्रकोप फैलिएपछि वुहानमा अध्ययनरत सम्पूर्ण विदेशी विद्यार्थीको सुरक्षा व्यवस्थापनमा अपनाएको संवेदनशीलताको जतिसुकै मुक्तकण्ठले प्रशंसा गरे पनि अधुरै रहन्छ । यहाँ सयौँ देशका हजारौँ विदेशी विद्यार्थी अध्ययनरत छन् । केही देशले केही विद्यार्थीलाई उद्धार गरेर लगे पनि अझै वुहानमा हजारौँ विदेशी विद्यार्थी छन् । विद्यार्थीहरूको सुरक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै उनीहरूलार्ई कोठामै सीमित गरेर यो सङ्कटको बेलामा महिनौँसम्म निःशुल्क खानपानको व्यवस्था गर्नु सामान्य कुरा होइन । आफ्ना हजारौँ नागरिक सङ्क्रमित भइरहँदा, थुप्रै नागरिक मरिरहँदा विदेशी नागरिकको सुरक्षामा भने चीनले विशेष सावधानी अपनाएको थियो र छ ।
यहाँ जोड्न खोजिएको कुरा के हो भने कुनै रोगको सङ्क्रमण फैलिइरहँदा त्यहाँस्थित कुनै पनि देशका नागरिकले आफ्नो देशमा जान चाहनु र राज्यले उद्धार गरेर लैजानु स्वाभाविकै हो । तथापि त्यसरी लैजानैपर्ने अवस्थाचाहिँ कुनै पनि देशको सन्दर्भमा थिएन । कारण हो यो जीवाणुको प्रकृति । अर्थात् कोरोना सङ्क्रमणको माध्यम, यसले प्रभाव पार्ने उमेरसमूह, यसबाट सङ्क्रमितको मृत्युदरलगायतका कुरा, जुन यहाँ उल्लेख गरिरहन आवश्यक छैन । सम्पूर्ण नागरिकलाई कोठामै सीमित गरिसकेपछि कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा नपुगेका व्यक्तिमा थप सङ्क्रमण हुने सम्भावना थिएन र छैन । चिनियाँ प्रशासनले अपनाइएको यो विधिकै कारण कोरोनाको उद्गमस्थल वुहान सहरमा सङ्क्रमितको सङ्ख्या ४९ हजार छ सयको हाराहारीमा सीमित भएको छ । यो सङ्ख्या भनेको यस सहरको कुल जनसङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो ।
अब लागौँ प्रस्तुत शीर्षकसँग सम्बन्धित विषयवस्तुको विवेचनातर्फ । चीनमा फैलिएको कोभिड–१९ को प्रकोप, त्यसलाई लिएर नेपालमा प्रवाहित गरिएका समाचार, वुहानमा अध्ययनरत आफ्ना नागरिकको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयास र त्यसमा विशेष गरी चिकित्सा विज्ञानका विद्यार्थीले खेलेको भूमिका र व्यक्त व्यवहारलाई सूक्ष्म ढङ्गले नियाल्ने हो भने हरेक व्यक्तिको मानसपटलमा केही गम्भीर जिज्ञासा उत्पन्न हुन्छन् कि, चिकित्साविज्ञानको अध्ययन ‘फेशन’ हो कि समर्पण ? यो स्वेच्छिक रुचिको अध्ययन र पेशा गर्ने क्षेत्र हो वा अभिभावकको एकल इच्छामा केवल सामाजिक प्रतिष्ठाका लागि छनोट गरिने क्षेत्र हो ? चिकित्साविज्ञान अध्ययन गर्रे र चिकित्सक (डाक्टर) बन्ने चाहना केवल ‘फेशन’ वा सामाजिक प्रतिष्ठाको विषय हो तर समर्पण होइन भने राज्य र आम नागरिकले त्यसप्रकारको जनशक्तिबाट के अपेक्षा गर्ने ?
चीनमा अध्ययन गर्न आउने अधिकांश विदेशी विद्यार्थी या त चिकित्साविज्ञान या इन्जिनियरिङ अध्ययन गर्न आउने नै हुन्छन् । सामाजिक विज्ञान अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या कमै हुन्छ । स्वदेश होस् वा विदेश, आफू बसेका ठाउँमा कुनै प्राकृतिक प्रकोप वा सरुवा रोगजन्य प्रकोप फैलिन्छ भने त्यस ठाउँका नागरिकसँग एकाकार हुँदै आफूमा भएको सीप र ज्ञानको आधारमा प्रभावितको उद्धार तथा सङ्क्रमितको उपचारमा स्वस्फूर्त रूपमा आफूलाई समर्पित गर्नु नै मानवीय धर्म हो र कर्तव्य पनि । यसैलाई भनिन्छ समर्पण । भौगोलिक रेखाङ्कन त एउटा प्राविधिक कुरा मात्रै हो । नेपाली भए पनि चिनियाँ भए पनि हामी मानव जाति हौँ । एउटालाई सङ्कट आइपर्दा अर्कोले त्यसमा एकाकार हुन सक्नुपर्दछ, छिमेकी र मानवता दुवैका हिसाबले ।
चीनको वुहानमा त्यसरी कोरोनाको प्रकोप फैलिरहँदा भविष्यको डाक्टर बन्ने सपना बोकेर वुहानमै चिकित्साविज्ञान पढिरहेका विदेशी विद्यार्थीले त स्वस्फूर्त रूपमा स्वयंसेवक बनेर यहाँका अस्पतालमा खटिनुपर्ने थियो । यसले एकातर्फ कोरोना सङ्क्रमितको उपचारमा ठूलो योगदान पुग्नेथियो भने अर्कोतर्फ विषयगत अनुभव पनि । कुनै पनि विषयका विद्यार्थीका लागि विषयगत अनुभवको महìव अधिक हुन्छ । चिकित्साविज्ञान अध्ययन गर्ने पाकिस्तानका केही विद्यार्थी स्वयंसेवक बनेर खटिरहेका छन् तर त्यही चिकित्साविज्ञान पढ्ने एक जना नेपाली विद्यार्थीमा पनि यो सङ्कटको घडीमा त्यस किसिमको साहस र कर्तव्यबोध देखिएन । यहाँ स्वाभाविक रूपमा प्रश्न उठ्छ कि महामारीमा परेर मर्न किन जाने ? सबै स्वास्थ्यकर्मी र चिकित्साविज्ञानका विद्यार्थीले यसप्रकारको प्रश्न गरेर कर्तव्यविमुख हुने हो भने चिकित्साविज्ञान किन पढ्ने ? केवल ‘फेशन’ वा सामाजिक प्रतिष्ठाका लागि ?
विडम्बना नै भन्नुपर्दछ कि विदेशी विद्यार्थीलाई ज्वाइँसरह खानपान र सुरक्षाको प्रबन्ध गरेर चीन सरकार कोरोनाको विरुद्ध लडिरहँदा नेपाली मिडियामा कुहिएको गोलभेँडाको फोटो, पानी पनि खान पाइएको छैन भन्ने भिडियो, कोठाभित्र बस्न बाध्य पारियो भन्ने जस्ता गलत समाचार उपलब्ध गराउने काममा तिनै चिकित्साविज्ञान पढ्ने विद्यार्थी अग्रपङ्क्तिमा देखिए । उनीहरूको एउटै उद्देश्य थियो कि सरकारमा दबाब सिर्जना गर्नु । कथंकदाचित् भोलिका दिनमा नेपालमा यस्तै प्रकारको प्रकोप फैलियो भने यसप्रकारको जनशक्तिबाट राज्यले के अपेक्षा गर्ने ? नेपाल यस्तो देश हो जहाँ डेंगु फैलिँदा पनि बिदा लिएर घरमा बस्ने चिकित्सकको सङ्ख्या ठूलै छ । त्यसकारण आगामी दिनमा छात्रवृत्तिमा चिकित्साविज्ञान अध्ययनका लागि विदेश पठाउँदा सरकारले ‘हाम्रा’ होइन, चिकित्साविज्ञानको इज्जत राख्न सक्ने र समर्पित हुनसक्ने विद्यार्थीको छनोट गर्ने गरी मापदण्ड बनाउन आवश्यक छ । जसबाट आवश्यक परेको खण्डमा त्यसप्रकारको जनशक्ति स्वस्फूर्त रूपमा पारिचालित होस्, मानवीय सेवामा योगदान पु¥याउन सकून् । अभिभावकले पनि आफ्ना छोराछोरीलाई डाक्टर नै बनाउने सपना देख्नुभन्दा पनि उनीहरूको रुचि अनुसारको विषय पढाउनु हरेक दृष्टिकोणले उपयुक्त हुन्छ ।
नेपाली समाजको थोरै विश्लेषण गर्ने हो भने सम्पन्न परिवारका हरेक अभिभावकको चाहना हुन्छ कि आफ्ना सन्तान डाक्टर, पाइलट वा इन्जिनियर नै बनून् । चाहनामात्रै होइन, बाध्य पनि पारिन्छ । तथापि डाक्टर केका लागि बन्ने ? केवल ‘फेशन’, धन र प्रतिष्ठाका लागि ? यसै हो भने राज्यले यसप्रकारको जनशक्तिबाट के अपेक्षा गर्ने ? समर्पणका लागि हो भने समर्पण कतैबाट खरिद गर्ने वा कसैले दान दिने कुरा होइन । यो स्वयंले आफूमा विकास गर्ने कुरा हो । फ्लोरेन्स नाइटिङ्गेल समर्पणकै कारण ‘लेडी अफ द ल्याम्प’ (बत्ती लिएकी केटी) बन्न सफल भएकी हुन् । त्यसकारण चिकित्साविज्ञान कुनै ‘फेशन’ होइन, यो एक समर्पण हो । समर्पण अर्काको आदेश वा अभिभावकको चाहनाबाट होइन, कर्तव्यबोधबाट विकास हुन्छ ।
जसरी युद्धको बेलामा सैन्यशक्तिको ठूलो महìव र भूमिका हुन्छ, त्यसैगरी ‘इन्डेमिक’, ‘इपिडेमिक’ वा ‘पाण्डेमिक’ को प्रकोप फैलिएको बेलामा स्वास्थ्यकर्मी तथा चिकित्साविज्ञानका विद्यार्थीको भूमिका र महत्व हुन्छ । मर्ने रहर कसैलाई पनि हुँदैन, सुरक्षा र बाँच्न पाउनु सबैको जन्मसिद्ध अधिकार हो । तथापि युद्धको समयमा एकजना सैनिक र सरुवा रोगको प्रकोप फैलिएको समयमा एकजना स्वास्थ्यकर्मी तथा चिकित्साविज्ञान पढेको विद्यार्थीको भूमिका एकै हुन्छ । अर्थात् आफूलाई जोखिममा राखेर सर्वसाधारणको ज्यान बचाउने वा राष्ट्रलाई जोगाउने । युद्धको समयमा भाग्ने भगौडा सैनिक र सरुवा रोगको प्रकोपको समयमा उल्टै अफवाह फैलाएर सुरक्षित ठाउँको खोजीमा लाग्ने चिकित्साविज्ञानका विद्यार्थी भनेका एकै ड्याङका मुलाजस्तै हुन् । त्यसकारण सेनाको जागिर र चिकित्साविज्ञान विषयको अध्ययन कुनै ‘फेशन’ वा सामाजिक प्रतिष्ठाको विषय होइन, यो समर्पणको क्षेत्र हो । हरेक क्षेत्रमा समर्पित जनशक्तिको विकास र उपस्थितिबाट मात्रै राष्ट्र र राष्ट्रिय सुरक्षाको संवद्र्धन हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?