डा.कुन्दन अर्याल
आमसञ्चार माध्यम वा पप कल्चरका वाहकहरुका बारेमा बढी आलोचना हुने गरेको एउटा विषय महिलाको छवि निर्माणसँग सम्बन्धित छ । परम्परागत रुपमा फिल्म, टेलिभिजन र रेडियोले महिलाहरुको छवि चार पर्खालभित्र घर–संसारमा सीमित तुल्याउने गरेको समीक्षा हुँदै आएको हो । तर जसरी संसारभर यस विषयमा प्रसस्त लेखिएका छन् र स्थितिमा परिवर्तन हुँदै आएको छ त्यसैगरी नेपालमा पनि आजका आमसञ्चार माध्यम महिलाहरुलाई कुनै खास घरेलु भूमिकामा मात्र सीमित गर्नु हुँदैन, मिडिया ‘स्टेरियोटाइप’ बाट ग्रसित हुनु हुँदैन भन्ने कुरामा सचेत हुन थालेका छन ।
भोलि, आठ मार्चका दिन संसारभर एक सय १० औं महिला दिवस मनाइंदै छ । यस अवसरमा महिला र जेण्डर (लैंगिक) मैत्री आमसञ्चार माध्यमको अपेक्षाका विषयमा चर्चा गर्नु सान्दर्भिक हुन्छ । यतिखेर महिला र पुरुषबीच समानता कायम भएको संसार नै सशक्त संसार हुनेछ भन्ने विश्वासका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ । त्यसैले यस क्षणमा समाजको एक महत्वपूर्ण अवयव आमसञ्चार माध्यमको भूमिकाको चर्चा हुनु स्वभाविकै हो । यो दिनले जेण्डरमैत्री विश्वका लागि हरेक पेशा र व्यवसायका प्रत्येक व्यक्तिलाई म के योगदान गर्न सक्छु भन्ने सोच्न वाध्य पार्नु पर्दछ । कुनै पनि समाजलाई एउटा प्रणालीका रुपमा हेर्ने हो भने पत्रकारिता पनि त्यही समाजभित्रको एउटा उपप्रणाली हो । समाजका अनेक उपप्रणालीहरुबीच अन्तरसम्बन्ध कायम राख्ने आमसञ्चार वा पत्रकारिता–उपप्रणाली सम्पूर्ण प्रणालीबाट प्रभावित हुने गर्दछ । सम्पूर्ण प्रणालीको प्रभाव प्रत्येक उपप्रणालीमा पर्दछ र पत्रकारहरुको सोच, दृष्टिकोण र ठहर समाज सापेक्ष नै हुने गर्दछ । त्यसैले जसरी आमसञ्चार माध्यममा महिलाको प्रतिनिधित्वका सन्दर्भमा देखा पर्ने स्टेरियोटाइप आलोचनाको विषय भएका छन् । त्यसैगरी महिला र पुरुषबीचको समानताका लागि पत्रकारिताका क्षेत्रबाट उल्लेखनीय योगदान पनि हुन सक्दछ ।
अन्तर्राष्ट्रिय महिला दिवस, आठ मार्चको दिनले आमसञ्चार माध्यमलाई जेण्डर समानता युक्त संसारको निर्माणका लागि आफ्नो के भूमिका हुन सक्दछ भन्ने सोच्न वाध्य तुल्याउनु पर्दछ । यस दिनले छापा, रेडियो, टेलिभिजन वा अनलाइन मिडियामार्फत पत्रकारिता गर्ने प्रत्येक व्यक्तिलाई महिलाको छवि निर्माणमा पितृसत्तात्मक सोचको प्रभाव हाम्रो अन्र्तवस्तुमा परेको त छैन भनेर आफैंसँग सोध्न समेत प्ररित गर्नु पर्दछ ।
जुन समयमा, शताब्दीभन्दा अगाडि, अन्तर्राष्टिय नारी दिवस मनाउने प्रचलनको सुरुवात गरिएको थियो, त्यो समयमा समाजका सबैजसो क्षेत्रमा महिलाहरुको अवस्था पछाडि पारिएको थियो । स्वभाविक रुपमा त्यसबेला पत्रकारिताको निकै विकास भएका पश्चिमा संसारमा समेत महिलाहरुलाई हत्तपत्त पुरानो नहुने सफ्ट न्यूजहरुमा सीमित गरिन्थ्यो । उनीहरुलाई घर–संसार, खाना वा बगैंचाजस्ता विषयहरुमा लेख्न अह्राइन्थ्यो र उनीहरुले गर्ने पत्रकारितालाई पुरुष पत्रकारहरु दोस्रो दर्जाको पत्रकारिता ठान्दथे । हाम्रो देशमा त झन २००७ सालको परिवर्तनपछि मात्र पत्रकारितामा महिलाहरुको उपस्थिति फाट्टफुट्ट रुपमा देखिन थालेको हो । त्यसपछिको लामो समयसम्म नेपाली पत्रकारितामा जेण्डर संवेदनशीलता देखिंदैनथ्यो । सात सालपछि ०४६ सालसम्मको नेपाली पत्रकारिता मुलतः साना साप्ताहिकहरुले धानेका थिए । सरकारी नियन्त्रणमा रहेको गोरखापत्र वा सत्र सालपछि सुरु भएको यसको सहप्रकासन द राइजीङ नेपालका अतिरिक्त ठूला आकारका अन्य दैनिक ०४६ सालको राजनीतिक परिवर्तन अघि अस्तित्वमै थिएनन् । आजको जेण्डरमैत्री सोचका आधारमा त्यसबेलाको समयलाई नियाल्दा त्यो बेला नेपाली आमसञ्चार माध्यम र गीत, फिल्मजस्ता लोक संस्कृतिका वाहकमा पितृसत्तात्मक सोच अभिव्यक्त हुनुलाई त्यति अनौठो मानिंदैनथ्यो । त्यसबेलाका साहित्यमा पनि त्यस्तै सोच अभिव्यक्त भएको पाइन्छ । तर ०४६ सालको परिवर्तनपछि नेपाली समाजका विविध पक्षहरुमा विश्व परिवेश अनि आममानिसको हक–अधिकारको क्षेत्रमा आएको फराकिलोपनको प्रभाव पर्न थाल्यो । लामो समयसम्म लोक संस्कृतिको मूल वाहकका रुपमा स्थापित रेडियो नेपालका प्रतिस्पर्धी एफ. एम.हरुको उदय यही समयमा भयो । नयाँ शताब्दी सन् २००० को प्रारम्भसँगै निजी क्षेत्रमा पनि टेलिभिजन सञ्चालनका लागि अनुमति प्रदान गरियो । सरकारी संरक्षणमा रहँदै आएको नेपाल टेलिभिजनसँग प्रतिस्पर्धा गर्न अनेकौं च्यानलहरु अग्रसर भए । त्यसबेलासम्म नेपालमा गणतन्त्रको मागले लोकप्रियता हासिल गरिसकेको थियो । केही वर्षमै नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित मात्र भएन, सञ्चार, अभिव्यक्ति अनि समावेशी चरित्र र विविधताको आकांक्षालाई राज्यका हरेक निकायमा कदर गरिनु पर्ने चेतनाको व्यापक प्रसार भयो । त्यसबेलादेखि आमसञ्चार माध्यमहरुमा महिला–पुरुष समानता र जेण्डरमैत्री वातावरण र सन्देशको विषयमा अघिअघिको भन्दा निकै प्रभावकारी परिमाणमा विमर्श हुन थालेको हो ।
आज नेपाली पत्रकारितासँग जोडिएर महिला–पुरुषबीचको सारभूत समानताको विषयमा मूलतः दुईवटा विषयहरु उठ्न् गरेका छन् । पहिलो, कुनै पनि सञ्चार माध्यमका कुनै पनि अन्तर्वस्तु जेण्डरमैत्री अवधारणा अनुकूल छ कि छैन ? यस विषयमा प्रश्न गर्दै संसारभर नै आमसञ्चार माध्यमका अन्तर्वस्तुका विश्लेषण गर्ने गरिएका छन् । हिजोआज यस विषयमा पत्रकार वा सञ्चारकर्मीहरुले निकै सावधानी वा संवेदनशीलता अपनाउने गरेको पनि देखिन्छ । अब भान्सासम्बन्धी कुनै पनि विषय वा लुगाधुने सावुनको विज्ञापन गर्दा महिलालाई नै देखाइने प्रचलन तोडिन थालेको देखिन्छ । तर अब प्रश्न महिलामैत्री वा जेण्डरमैत्री सामग्रीको मात्र छैन । नारी–पुरुष समानताको विषय अब आमसञ्चार माध्यमले विविधतालाई अन्तर्वस्तुमा अभिव्यक्त गर्ने अभ्याससँग मात्र सम्बन्धित छैन । त्यसैले महिला–पुरुषबीचको औपचारिक मात्र होइन सारभूत समानताको विषयमा उठ्ने गरेको दोस्रो विषय भनेको आमसञ्चार माध्यमहरुमा महिलाहरुको भौतिक उपस्थिति वा प्रतिनिधित्वको माग पनि हो । जबसम्म महिलाहरु नै माध्यमका आधारभूत संरचनादेखि नीति निर्माणको तहसम्म पुग्दैनन्, उनीहरुले आफ्ना कुरा राख्न वा आफूमाथि विभेद नहोस् भन्न पनि अरुको दयाको आश गर्नु पर्दछ । त्यसैले भनिएको हो, हिजोको दाँजोमा आज धेरै परिवर्तन भइसकेको छ भनेर मात्र पुग्दैन । नेपाली पत्रकारिता जगतमा महिलाहरुको उल्लेखनीय र अर्थपूर्ण उपस्थितिको अपेक्षा त्यही कारण गरिएको हो । यस सन्दर्भमा महिलाहरुलाई पत्रकारितामा प्रवेश गर्न वातावरणका लागि नीतिगत व्यवस्था गर्न र उनीहरुलाई आत्मसम्मानका साथ काम गर्ने जेण्डरमैत्री वातावरण बनाउनु पर्छ भन्ने माग गरिनु उचित र स्वभाविक हो ।
जुन परिवेशमा विश्व महिला दिवस मनाउन थालिएको थियो, त्यसबेला भन्दा महिलाहरुको सशक्तिकरणको दिशामा उल्लेखनीय कामहरु भएका छन् । आज अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनहरुले महिलाहरुमाथि गरिने भेदभाव र लैंगिक हिंसालाई निषेध मात्रै गरेको छैनन्, दण्डनीय अपराधको श्रेणीमा समेत राखेका छन् । आजका रेडियो टक शो, फिल्म र टिभि शोमा वा अनलाइनका प्रस्तुतिमा पनि आम रुपमा महिला र पुरुष समान हैसियतमा देखिने गरेका छन् । तर यो विषय त्यति सहज छैन, सतहको साधारण अवलोकनले मात्र विषयको गहिराइ थाहा हुँदैन । आजको विश्व–समाजमा कतिपय घटना र परिघटनाका आधारमा हेर्ने हो भने महिला र पुरुषबीचको समानता र असमानताको दुवैको अस्तित्व रहेको पाइन्छ । तर सतहमा हेर्दा समानताको मान्यता विस्तारित अवश्व भएको छ । औपचारिक समानता कायम भएका कारण सतहमा हेर्दा महिलाले यो काम गर्न हुने वा नहुने भन्ने पुरानो मान्यता अस्तित्वमा रहेको भने देखिंदैन । आजका आमसञ्चार माध्यमहरुमा यो यर्थाथ प्रष्टतः प्रतिविम्वित हुनु पर्दछ ।
महिलाहरुको भौतिक उपस्थिति विना सारभूत समानताका लागि आमसञ्चार माध्यमले अपेक्षाकृत योगदान गर्न सक्दैन । केही वर्ष अघि अन्तर्राष्ट्रिय पत्रकार महासंघले जनाए अनुसार नेपालका पत्रकारहरुको कुूल संख्याको २४ प्रतिशत महिला छन् । सञ्चारिका समूहले चार वर्ष अघि पत्रकार महिलाहरुबीच गरेको देशव्यापी सर्भेक्षणले तीमध्ये पनि ज्यादै कम मात्र सम्पादक वा प्रकाशकको तहमा रहेको प्रष्ट पारेको छ । उक्त सर्भेक्षणका अनुसार आमसञ्चार माध्यमका तर्क र निर्णयमा पुरुष र पितृसत्तात्मक सोचकै वर्चश्व रहने गरेको छ । एघार सयभन्दा बढी पत्रकार महिलाहरुबीच गरिएको सर्भेक्षणमा ६२ प्रतिशतले रेडियोमा काम गर्ने देखिएको छ । अर्थात त्यति ठूलो परिमाणमा पत्रकार महिला अरुले लेखिदिएको स्क्रीप्ट पढ्ने भूमिकामा सीमित छन् भन्ने निश्कर्ष निकाल्न सकिन्छ । आज पनि अवस्थामा त्यति ठूलो परिवर्तन आइसकेको मान्न सकिंदैन । त्यसैले मुद्दाको प्रतिनिधित्व मात्र होइन, भौतिक प्रतिनिधित्व वा समावेशीकरणको चेतको अपेक्षा जायज छ । अन्तर्वस्तु निर्माण प्रकृयामा जेण्डर सन्तुलनले आमसञ्चार माध्यमलाई जेण्डरमैत्री र सारभूत समानतायुक्त समाज निर्माणका लागि सहयोगी बनाउन सक्छ ।
(लेखक त्रिविको केन्द्रीय पत्रकारिता तथा आम सञ्चार विभागमा
आबद्ध हुनुहुन्छ ।)