logo
२०८१ मंसिर १३ बिहीवार



भान्छा कहिले समावेशी ?

विचार/दृष्टिकोण |




मञ्जु भट्ट
विहान साढे नौ बजेदेखि बेलुकी चारबजेसम्म धेरैजसो समय उभिएरै विद्यार्थीका प्रश्नको उत्तर दिंदै थकित एकजना निजी स्कुलकी शिक्षिकालाई घर पुग्दा एक गिलास चिया पनि नखाई सुत्न पाए हुन्थ्यो जस्तो लाग्छ । विहान पकाएर सबैलाई खुवाइ, छोराछोरीलाई टिफिन (खाजा) सहित स्कुल पठाएर आफू पनि स्कुल जाने र फर्केपछि सबैलाई बेलुकीको खाना पकाएर खुवाएपछि भाँडा धुन थाल्छिन् । खाना खाएर पर कुर्सीमा आरामसाथ बसेका श्रीमानले कतिबेर लाग्छ अझै भनेर सोध्दा थकानले चुर भएकी उनलाई जवाफ फर्काउन मन लाग्दैन । विहान उठेदेखि सबै कामहरु उभिएरै गर्नुपर्ने हुँदा बेलुकी भाँडा सफा गर्ने समयमा खुट्टा गलेर फतक्क भएका हुन्छन् । यदि श्रीमान श्रीमती साँच्चै दुई ज्यान एक मुटु भएको भए, महिला पुरुष समान भएको भए, हाम्रो समाजमा पितृसत्ता हावी नभएको भए, दुवै जना जागिरे उनका श्रीमानले पनि भान्छामा सहयोग गर्न सक्थे ।
महिलाले जीवनभर आफ्नो घरको भाँडा केही नभनी खुशीसाथ धुन्छिन् भने आफ्ना आमाबुवाको अगाडि श्रीमानले श्रीमतीलाई कहिलेकाहीं भाँडा धुन मद्दत गर्दा उनीहरुको जातै जाने त होइन होला । विहानै सबेरै उठेदेखिन् राती अवेरसम्म श्रीमतीले एक्लै भान्छामा काम गरिरहँदा ओछ्यानमा बसेर मोवाइलमा मस्त भएका श्रीमानको मन कहिले पग्लेला ?
महिनावारी भएको चार दिन बाहेक उनका छोराछोरी, श्रीमान, सासुससुरा कसैले पनि खाना खान बाहेक भान्छामा चियाउनसम्म पनि नआउने रहेछन् । टाढा स्कुल पढाउन जानुपर्ने उनलाई विहान छिटै उठ्नुपर्ने भएकोले बेलुकिको खाना छिटै खान दिंदा दिनभर आराम गरेर बसेकाहरु मोवाइल, टिभिमा व्यस्त हँुदा छिटै खान नमान्ने समस्या रहेछ । विदाको दिनमा परिवारका सम्पूर्ण सदस्यको लुगा एक्लैले धुनुपर्दा दिउँसोको एक बज्ने हुँदा ‘वासिङ मेसिन’ किन्नुपरेको उनले सुनाइन् । सबैका लुगा एक्लै धुनुपरे पनि सुकाएको लुगा अरुले उठाउनु पर्दा घरकी बुहारीका लुगा अलग्याएर मात्र उठाइन्छ । अरुका भित्री लुगा पनि चुपचाप धोइदिने गृहिणीका आफ्नै धोइएका भित्री लुगा भने अरु कसैले छुँदैनन् पनि । श्रीमानका सम्पूर्ण लुगा धोइदिएर सुकाउनु न भन्दा पनि घर अगाडिको पसलबाट अरुले देखे भने लाज लाग्छ भन्ने श्रीमानको भनाइ सुन्दा एकचोटि फेरि हाम्रो समाजमा पितृसत्ताको दवदवा झल्किन्छ ।
यस्ता लुगा धुने, सुकाउने, भाँडा मस्काउने, पकाउने जस्ता कामहरु महिलाले मात्र गर्नुपर्छ भनेर कुन कानुनमा लेखिएको छ, कसैलाई जानकारी छैन । आफ्नो ज्ञान, सीप र क्षमता अनुसार श्रीमान श्रीमती दुइटै जागिरे भए पनि घरको धेरैजसो काम भने एक्लै श्रीमतीको थाप्लोमा परेको हुन्छ । स्वीडेनको प्रख्यात स्टकहोम युनिभर्सिटीले विभिन्न अफिसहरुमा गरेको अध्ययन अनुसार यदि महिला अधिकृत चिकित्सक, मेयर, सांसद, कलाकार जस्ता उच्च पदमा काम गर्ने भए उनीहरुले घरमा पर्याप्त समय दिन नपाउँदा र भने अनुसार घरको काम विभाजन गरेर गर्न नसकेको खण्डमा सिधै सम्वन्ध विच्छेद हुने गरेका छन् । तर श्रीमानले घरमा समय दिन नसक्दा पनि जागिरे श्रीमती एक्लैले सबै काम भ्याएकै हुन्छन् । कतै सम्बन्ध विच्छेदको सवाल नै उठदैन । म जागिरे महिला हुँ, गृहिणी हैन, घरको काम किन गर्नु भन्ने गरेका छैनन् । जागिरे महिलाले सदैव दोहोरो भूमिका निभाउनु परेको हुन्छ ।
अनेकन समस्याहरु न्युक्लियर (छुट्टिभिन्न भएका) भन्दा पनि संयुक्त परिवारका बुहारीहरुले बढी झेल्नुपर्छ । पहिलाजस्तो तरकारी किन्न पनि पैसाको लागि श्रीमानसँग हात फैलाउन नपरे पनि जागिरे महिलाहरुलाई घर र बाहिर गरी कामको तनाव दुईगुना बढेको छ । कतिपय घरमा नाति–नातिनीहरुलाई हजुरबुबा, हजुरआमाले धेरै माया गरेर काममा लगाउन नमान्ने र श्रीमानले आफ्ना बुवाआमाको अगाडि श्रीमतीलाई घरका काममा सहयोग गर्न अप्ठेरो मान्ने हुँदा बुहारी एक्लैले अफिससँगै घरको काम र छोराछोरीको गृहकार्यमा समेत मद्दत गर्नुपर्दछ ।
जागिरे श्रीमानले दिनमा निश्चित समयका लागि काम गर्छन् र त्यसै अनुसार खुशी हुँदै तलब थाप्छन् । तलब घरमा बुझाए पश्चात उनीहरुलाई घरको काम गरे नि भयो नगरे नि भयो । तर जागिरे श्रीमतीहरुलाई त्यस्तो कदापि हुँदैन । घरको कामको सम्पूर्ण जिम्मेवारी अफिसको काम जस्तै नगरी हुँदैन ।
अझै गृहिणीहरु विहानदेखि बेलुकीसम्म पन्ध्र घण्टाभन्दा बढी काममा लागिरहनुपर्छ । उनीहरुको लागि यति समयसम्म काम अनि स्वतन्त्र भन्ने नै हुदैन । शनिबारको विदा होस्, तीज वा नारी दिवस उनका लागि कुनै पनि दिन कामबाट विदा हुँदैन । विहानको चिया, एकछिनमा नास्ता, घरको सरसफाइ, एकछिनमा खाना, छोराछोरीको टिफिन, भान्छामा सरसफाइ, दिउँसोको खाजा, फेरि भान्छाको सरसफाइ, छोराछोरीको स्कुलबाट फर्किंदाको खाजा, श्रीमानको सवारी, त्यसपछि तरकारी लगायत अन्य सरसामान किन्ने, बेलुकीको खाना, भान्छाको सरसफाइ, श्रीमानको खुशी सबै ठाउँमा गृहिणी पुगेकै हुनुपर्छ । घरमै बस्ने भएकोले छोराछोरी, सासुससुरादेखि प्रत्येक कोठाको सरसफाइ ‘ए वान’ हुनुपर्छ । विहान, बेलुकीको खाना, खाजा, पाहुनाको स्वागत, घरका बुढापाकाहरुलाई समयसमयमा चियासँगै भाँडाकुँडा, कपडा धुने सम्पूर्ण जिम्मेवारी उनकै हुन्छ । छोराछोरीको गृहकार्यदेखि युनिर्फम तयार पार्ने, खाजा तयार गर्ने कुनै पनि कुरामा कमी हुनु हँुदैन ।
श्रीमान अफिस र बच्चाहरु स्कुल जाँदा ‘वाइ’ गर्नेदेखि लिएर उनीहरु घर फर्किदा स्वागतको लागि ढोकामा ‘बाइस्ट्यान्ड’ भएर बसिरहनु पर्दछ । यी सबै कामहरु गृहिणीले विना मान, सम्मान, विना पारिश्रमिक जीवनभर गरिरहनु पर्दछ । तातो र मिठो खानाले स्वागत गर्न सके सबै खुशी तर कहिले आफूलाई विसञ्चो भएको खण्डमा काम गर्न नसकेको बेला अरुका अनुहारले झन बिरामी बनाउँछन् । सबैभन्दा बढी काम गर्ने गृहिणीलाई के गर्नुहुन्छ भनेर सोधिंदा गृहणी हुँ भन्न झनै पीडा हुन्छ । घरपरिवारदेखि समाजले नै केही गर्दिनन् घरमै बस्छे भन्ने बिल्ला झुन्ड्याइदिएका हुन्छन् । गृहिणीहरुका आफ्नै पिडा छन् । कतै साथीहरुसँग घुम्न जान, मन लागेको सामान किन्न, होटेल, रेष्टुरेन्टमा कहिले साथीहरुसँग रमाइलो गर्न पैसाको लागि अरुसँग हात फैलाउँदा शिर झुकाउनु पर्छ । कपिपय परिवारमा भने गृहिणीले नै घर खर्च चलाउनु पर्ने हुँदा पैसा उनकै हातमा दिइएको हुन्छ । यस्तोमा राम्रो लगाएको र कतै डुलेको देख्यो भने फलानाकी श्रीमती कति खर्चालु रहिछे भन्ने पनि सुनिन्छ । आफूले कमाएर खर्च गरेको जस्तो अरुले तौलेर दिएको पैसाले हुँदैन । आफूले दिनभरि घरको काम गर्दा पनि आफ्नो खर्चको लागि पैसा माग्दा भिखारी नै बनेर हात फैलाउनु पर्छ । घरका अरु सदस्यले त्यो पैसा सित्तैमा दिएजस्तो व्यवहार गरिदिंदा पिडा हुन्छ ।
कहिलेकाहीं आफूसँगैका साथीहरु अफिसबाट शिर ठाडो पार्दै स्कुटर चढेर फर्केको बाटोमा भेट हुँदा कताकता मन अमिलो हुने कतिपय गृहिणीहरु सुनाउँछन् । तर उनीहरुलाई के थाहा गृहिणी घरमा भएन भने घर उजाड हुन्छ । काम गरेर थाकेको श्रीमानलाई ढोकामा मुस्कानसाथ तातो चियाले स्वागत गर्दा दिनभरिको सबै थकान हराउँछ । दुवै जागिरे भए एक गिलास चिया बनाउनको लागि झगडा गर्नु पर्दैन । गृहिणीले घरमा केही गर्दैनन् भन्ने कुरालाई नकार्दै आफूले सके पनि नसके पनि विहानदेखि बेलुकीसम्म सबैका अनुहारमा खुशी ल्याउन लागिरहेका हुन्छन् । मनग्य पैसा खर्च गर्दा घरको काम त अरुले पनि गरिदिन्छ तर विना पारिश्रमिक खुशीसाथ आफ्नोपन र माया दर्शाउँदै प्रत्येक सामानको जतन गर्ने काम एक गृहिणी बाहेक अरु कसैले गर्न सक्दैन । गृहिणी विना घर बन्न सक्दैन र घर विना परिवार बन्न सक्दैन । त्यसैले त एउटा विदुरलाई, ७० वर्षको बुढोलाई पनि एउटा गृहिणी नै चाहिन्छ । सन्तानको रेखदेख गर्न गृहिणी नभई हुँदैन । विना पारिश्रमिक घन्टौ, हप्तौं, महिनौ, वर्षाै र जीवनभर घरको काम गर्ने, सबैको हेरविचार गर्ने गृहणीलाई सम्मान गर्न सिकौं ।
(लेखक अरुणिमा सकेन्डरी स्कुल, बौद्ध काठमाडौंमा अध्यापन गर्नुहुन्छ )।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?