logo
२०८१ मंसिर १३ बिहीवार



घाँसको कमाइ

विचार/दृष्टिकोण |





देवी सापकोटा
गैंडाकोट १२ भेडाबारीको पूर्व–पश्चिम राजमार्गबाटै देखिने घाँस फार्मका सञ्चालक विष्णु भट्ट बिहान उठेदेखि साँझसम्मै घाँस खेतमै भेटिनुहुन्छ । झट्ट हेर्दा उखुबारी जस्तै देखिने सुपर नेपियर जातको घाँस अहिले काट्ने समय भएको छ । टुप्पोको भाग घाँसका लागि प्रयोग हुन्छ भने ऊखुजस्ता देखिने हाँगाहरु अर्को विरुवा बनाउन तयार गरिन्छ । आवश्यक पर्ने कृषकले फार्ममा आएर लैजाने गरेका छन् । घाँस लगाउने तरिका उहाँले फार्ममै भेटेर बताउनुहुन्छ । टाढाका कृषकलाई भने उहाँले मोवाईलबाटै जानकारी दिने गर्नुभएको छ । घाँस भन्नासाथ पाखो बारी काल्लामा लगाइने भन्ने बुझिन्छ । तर बिष्णुले लगाएको घाँसबारी छिचोल्नै घण्टौं लाग्छ । घाँस काट्न ६ जना रोजगार छन् । जस्तोसुकै हावा पानीमा पनि राम्रोसँग बढ्ने हुँदा किसानको रोजाईमा परेको छ यो घाँस । पशुलाई चाहिने पौष्टिक तत्व प्रशस्त पाइने हँुदा बिष्णुले लगाएको घाँस धेरैको छनोटमा छ ।
श्री स्वस्थानी घाँस श्रोतकेन्द्र तथा बाख्रा फार्ममा अहिले दैनिक २० हजार रुपियाँभन्दा बढीको घाँस र वीउको बिक्री हुनेगरेको छ । बिष्णुको घाँस फार्मको कथा धेरैका लागि प्रेरणाको स्रोत बन्नसक्छ । केही महिनाअघि नगरपालिकाले उत्पादित घाँसको वीउ समेत खरिद गरेर अन्य कृषकलाई बाँड्यो । अहिले देश बिदेशबाट दैनिक फार्म अवलोकन तथा अध्ययनका लागि आउने गरेका छन् । ‘केही महिना पहिले भारत, चीन, जापान, इटाली लगायत देशका कृषि बैज्ञानिक पनि अबलोकनका लागि आएका थिए’ विष्णुले सुनाउनुभयो ।
एकवर्ष अघिबाट सुरु भएको यो फार्ममा २० बढी प्रजातिका घाँस छन् । फार्मबाटै प्रतिकिलो नौ रुपियाँका दरले हरियो घाँस बिक्री हुन्छ । आठ विघा क्षेत्रफलमा सुरु गरिएको घाँस खेतीमा घाँससँगै अन्य बिरुवा पनि छन् । कतै फूल त कतै गिट्ठाका लहरा देखिन्छन् । घाँस खेतीकैबीचमा गिट्ठा रोप्नुको कारणबारे उहाँले सुनाउनुभयो, ‘अहिले हरेक तरकारीमा विषादीको प्रयोग बढेको छ । हाम्रा पुराना स्वादका तरकारी लोप हुने अवस्थामा छन् । केही होटलमा गिट्ठाको परिकारको खोजी भएको थाहा पाएपछि किन मैले सुरु नगर्ने भनेर सुरु गरेको हुँ ।’
यो एक वर्षमा ६० लाख रुपियाँ बढीको घाँस वीउ र बेर्ना विक्री गरिसक्नु भएको छ । उहाँको यस फार्ममा स्थानीय र उन्नत जातका गरी ६५ वटा बाख्रा छन् । छ महिनाअघि उहाँले बोयर जातको उन्नत बाख्रा पनि फार्ममा भित्र्याउनुभयो । एउटै बाख्राको मूल्य तीन लाखसम्म पर्ने गरेको र नश्ल सुधारका लागि स्थानीय किसानले चासो दिएपछि उहाँले बिदेशबाट झिकाउनुभयो ।
चार वर्षको मलेशिया बसाईले बिष्णुको मन फेरियो । मलेशिया नै जाने कि अरु केही विकल्प खोज्ने भन्ने सोचमा उहाँ हुनुहुन्थ्यो । आफन्तसँग एकदिन गाईफार्म अवलोकन गर्न पुग्दा बिष्णुले पशु आहारबारे धेरै बुझ्ने मौका पाउनुभयो । ‘वीरभद्र आचार्य भन्ने एकजना दाईले पशुपालन र कृषिमा पनि पर्याप्त सम्भावना छ है भनेर कुरा गर्नुभयो । उहाँको प्रेरणाले यो काममा हात हाल्ने निर्णयमा पुगेँ’ विष्णुले सम्झनुभयो ।
असहज परिस्थितिमा पनि कृषकले पशुपालन गर्दै आएका छन् । तर दाना, घाँस लगायतका पशुका लागि आहार जुटाउन अझ कठिन छ । पशुले खाने दानाको मूल्य बढ्दो छ । महङ्गो दाना त्यसमा पनि भनेको समयमा किन्न पाईदैन । चौपायाको चरनक्षेत्र मासिदै जाँदा हरियो घाँसमा कमी आएको छ ।
समस्याका बीचमा पनि पशुपालन गरिरहेका कृषक देखेपछि पशुका लागि उपयुक्त आहारबारे उहाँमा जिज्ञासा बढ्दै गए । पशुलाई चाहिने पोषकतत्व भएका घाँसबारेमा खोजी बढ्न थाल्यो । चौपायाका लागि सम्पूर्ण आहार पुग्ने किसिमको घाँस उत्पादन गर्नसके राम्रो हुन्छ र त्यसले आमकृषकलाई पनि फाइदा पुग्छ भन्ने भएपछि उहाँ फार्म सुरु गर्ने निर्णयमा पुग्नुभयो ।
३६ वर्षीय यी युवा घाँसको बिस्तार गर्न तीव्र रुपमा लाग्नुभएको छ । घाँसलाई देशभरी विस्तार गर्नेसके पशुजन्य उत्पादनमा वृद्धि गर्न सकिन्छ र परनिर्भरता घटाउन सकिन्छ भन्नेमा उहाँ आशावादी हुनुहुन्छ । विष्णुले ३० लाख खर्च गरेर सुरु गरेको घाँस अभियान अहिले देशभर फैलिंदै छ ।
घाँस खेतीको यात्रा
नवलपरासीमा जन्मनुभएका विष्णुले स्थानीय जनता माविबाट ०५७ सालमा एसएलसी पास गर्नुभयो । वीरेन्द्र क्याम्पस भरतपुरमा आइए सुरु गर्दै गर्दा काठमाडौं जाने रहर जाग्यो । पाटन क्याम्पस पाटनढोकामा आइएमा पुनः भर्ना हुनुभयो । परीक्षा सोचेकोजस्तै भयो । उत्तीर्ण हुनुभयो तर विदेश जाने इच्छा तीव्र बन्दै थियो । उहाँसँगै स्कुल पढेकाहरु धेरैजसो बिदेश लागे । उहाँ पनि गाउँघरका अन्य दाजुहरुजस्तै बिदेशिने निर्णयमा पुग्नुभयो ।
रहरै रहरमा मलेशिया पुग्नुभयो । ‘काम सोचेकोजस्तै थियो । कमाई पनि राम्रो थियो । अहिले पनि युवा लाखौं खर्च गरेर विदेश गइरहेकै छन् । पारिवारीक कारणले चार वर्षपछि मलेसिया छाडेर नेपाल आउनुभयो । स्वदेशमै केही गरौं भन्ने लागेर यतै बस्ने निर्णयमा उहाँ पुग्नुभयो । ‘नयाँ र धेरैका लागि फाइदा पुग्ने काम गर्नुपर्छ भन्ने सोचले मैले घाँस खेतीमा हात हालेको हुँ । काम सुरु गर्छु भन्दा धेरैले यो कामको बारेमा विश्वास नै गर्न सकिरहेका थिएनन् ।’ उहाँले थप्नुभयो, ‘सिचाईमा समस्या थियो । मल व्यवस्थापनमा कठिनाईहरु आए ।’
घाँसखेती रोज्नुको कारण
खाद्यान्नमा परनिर्भरता बढ्दो छ । मासुजन्य उत्पादनमा पनि छिमेकी देशसँग निर्भर हुनुपर्ने अवस्था छ । ‘घाँस सहजै पाउन सकियो भने त पशुपालनमा किसानको आर्कषण बढ्नसक्छ । त्यसो हुँदा मासु र दूधका लागि भारतसँगको निर्भरतामा कमी ल्याउन सकिन्छ ।’
छोटो समयमै प्रतिफल दिनसक्ने पशुलाई आवश्यक पर्ने पोषण भएको घाँस उत्पादन गर्न सकियो भने माग बढ्छ भन्ने उहाँलाई लाग्यो । पशुका लागि चाहिले आहार जुटाउन भरपर्दो बिकल्पको रुपमा यो खेतीलाई उहाँले लिनुभयो ।
खेतीबारीका डिल, थोरै खाली जग्गामा पनि यस्ता घाँस लगाउन सकिने भएर नै यस्ता घाँसको माग बढ्ेको बिष्णु बताउनुहुन्छ । सुरुवातका केही महिना दुई विघा क्षेत्रफलमा मात्रै घाँस लगाउनुभयो । देशभरीबाटै घाँसको माग बढ्न थालेपछि थप जमिन भाडामा लिएर घाँस बिस्तार गर्नुभयो ।
जुनसुकै भौगोलिक क्षेत्र र हावापानीमा पनि यो घाँस हुर्कन्छ । रोपेको दोस्रो महिनाबाट घाँस काट्न सकिन्छ । सुपर नेपियर जातको घाँसका हाँगा रोपिएको ६ महिनापछि अर्को बिरुवा बनाउनका लागि तयार हुन्छ । एउटा हाँगोलाई पाँच टुक्रा बनाइन्छ । ती टुक्रालाई बोरामा भरेर माग भएका स्थानमा पठाउँदै आएको बिष्णु बताउनुहुन्छ । प्रतिबोरा दुई हजार पाँच सयका दरले फार्मबाटै बिक्री हँुदै आएको छ । पशुका लागि मात्र होइन, पंक्षीका लागि पनि लाभदायक हुने घाँस बिष्णुले लगाउनुभएको छ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?