logo
२०८१ मंसिर १३ बिहीवार



प्रत्यारोपणले खिचेको नेपाली तस्वीर

विचार/दृष्टिकोण |




गोपाल खनाल
आत्मविश्वास, सर्वसाधरणको प्रेम र नेपाली चिकित्सकीय क्षमताको एकीकृत शक्तिले अपेक्षित परिणाम दियो । प्रधानमन्त्री केपी शर्मा ओलीमा दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल भयो । अस्पतालको प्रतिवेदन अनुसार, उहाँ सामान्य हिंडडुल गर्न र ठोस पदार्थ खान सक्नुहुन्छ । प्रधानमन्त्रीले आफ्ना प्रमुख सल्लाहकार बिष्णु रिमाललाई शुक्रबार विहान फोन गर्दै भन्नुभयो, ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु ।’ यस्तो सुधार भइरहँदा उहाँले भर्ना हुनु ठीकअघि भनेजस्तै एक सातामा वालुवाटार फर्कनुहुनेछ । र, शायद काम पनि थाल्नुहुनेछ ।
प्रत्यारोपण टोलीको नेतृत्व लिनुभएका डा. प्रेमराज ज्ञवालीका अनुसार, संक्रमणको खतरा अहिले बढी भएकाले ‘आइसोलेशन’ मा राखिएको हो । उहाँका अनुसार, अन्य नागरिकसरह हरेक बुधबार प्रत्यारोपण गर्ने तालिका अनुसार नै प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण भएको हो । कुनै अतिरिक्त सुविधा र प्रविधिको प्रयोग भएको छैन । मिर्गौलादाता समिक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य अवस्थामा फर्कदैंछ । उहाँले ‘ओलीका लागि होइन, भोलिका लागि’ भनेर देशप्रतिको चिन्ता वोध गर्नुभएको छ, उहाँ धन्य हुनुहुन्छ ।
चीनको वुहानबाट शुरु भएको कोरोनाले विश्वलाई त्रस्त बनाएको छ । तनावमा नेपाल पनि छ । कोरोना संक्रमण नेपालमा देखिएको छैन । सावधानी अपनाइएको छ, अझै सतर्क र गम्भीर बन्नुपर्ने अवस्था छ । कोरोना आंतकले तर्साइरहेका बेला प्रधानमन्त्रीको स्वास्थ्यमा आएको उल्लेखनीय सुधारले राहत अनुभूत गराएको छ । विषयमा प्रत्यक्ष सम्बन्ध छैन तर दुवै नागरिकको सुरक्षासँग सम्बन्धित छन् । यो आलेखमा कोरोना होइन, प्रधानमन्त्रीको स्वास्थ्य, त्यससँग जोडिएको अदम्य आत्मविश्वास र मनोवलको विषय उठाइएको छ । प्रधानमन्त्री ओलीको आत्मविश्वासलाई ‘दुस्साहसी’ आत्माविश्वासको भन्नुपर्छ जस्तो लाग्छ । व्यक्तिमा यस्तो आत्माविश्वास कसरी पैदा हुन्छ ? त्यस्तो उच्च मनोबलको वरपर के छन् ? आधार के ? अध्ययनको विषय छ ।
सृष्टिको सचेत सिर्जनाका रुपमा एउटा मान्छेले कतिसम्म दुःख अनुभव गर्छ ? वा कतिसम्म सुुःखको अनुभूति गर्छ ? शायद त्यसले आत्मविश्वास जागृत गर्छ । डेढ वर्षको उमेरमा आमा गुमाएपछिको मातृवात्सल्यविहीन जीवन । यो त बरु अरुको जीवनको आरम्भ पनि हुनसक्छ । झापा झरेपछि जागृत राजनीतिक चेतना र त्यो चेतनाको निर्माणमा त्यही दुःखको पृष्ठभूमि । ओलीले सम्भवतः सुरक्षित र संरक्षित अनुभव गरेको नै खुला राजनीतिमा आएपछि होला । किनकि सानोमा स्नेहको अनिश्चितता र राजनीतिक रुपमा २०३० सम्मको सामन्ती सफाया, त्यसक्रमको व्यक्तिहत्याप्रति असहमति पनि । खुला राजनीतिमा आएपछि राजकीय जिम्मेवारीको सफल नेतृत्व । र, सँगै पार्टीभित्रकै प्रतिपक्षीको भूमिका । यो स्वेच्छिक राजनीति थिएन, बढी बाध्यकारी र पहिचान रोक्ने राजनीति । तर पनि जबर्जस्ती पहिचान निर्माण । सफल गृहमन्त्री, सफल उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री ।
सम्भवतः चरम दुःख भोगेकोले त्यसभन्दा अर्को रुप नभएको ओलीले ठानेको हुनुपर्छ । यस्तो ठानेपछि गुमाउनुपर्ने केही रहँदैन र त्यसको डर हुँदैन । अदम्य आत्माबिश्वासको कारण यो हुनसक्छ । ओलीलाई हरेक जटिलतामा साथ दिंदै आउनुभएका प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल लेख्नुहुन्छ – ‘एउटै व्यक्तिले दुःख पिडाका हरेक प्रकारका ‘जङक्चर’ लाई पार गरिसकेपछि जुन क्षमता र आत्मविश्वास प्राप्त गर्छ, त्यो नै ठूलो पुँजी हो भन्ने मलाई लाग्छ ।’
अर्को राजनीतिमा ‘कन्भिक्सन’ । राजनीतिमा धेरैले पार्टीको प्रमुख वा राजकीय भूमिकामा, त्यसमा पनि प्रमुख पदमा रहेपछि पहिचान बनाउँछन्, कोही पहिचान नबनाई हराउँछन् । तर ओलीले राजनीतिमा पहिचान बनाउन पार्टी प्रमुख वा सरकार प्रमुख बन्नुपरेन । ओलीको राजनीतिक पहिचान त्यसबेला नै बन्यो, जव उहाँ पार्टीको स्थायी प्रतिपक्षजस्तो बन्नुभयो, बनाइयो । त्यो संस्थापनको विरोध थिएन, बरु फरक बिचार र एजेण्डाको नेतृत्व थियो । शायद पार्टीभित्र जस्तोसुकै अवस्थामा लड्दा पनि आफ्नो पहिचान बनाएकाले हुनसक्छ उहाँमा यो आत्मविश्वास निर्माण भएको हो ।
तर यी बढी अनुभव र अनुभूतिका विषय हुन् । ओलीमा पलाएको आत्मविश्वासको आधार उहाँको क्षमता र ज्ञान हो । ओली समकालीन राजनीतिक नेतामा सबैभन्दा बढी सबै विषयको ज्ञान राख्न सक्ने नेता हुनुहुन्छ । उहाँसँग राजनीतिका मात्र होइन, विज्ञान र वातावरणजस्ता प्राविधिकदेखि पूर्वीय र पश्चिमा दर्शनको विषद् ज्ञान छ, जो त्यही क्षेत्रका चिनिएका विज्ञसँग मात्र छ । ओली औसत नेपाली नागरिकभन्दा फरक हुनुहुन्छ, उहाँ अतिरिक्त क्षमताका नेता हुनुहुन्छ । जेलमा बसेका सबै नेताले किन ओलीले जसरी समाजलाई हेर्न सकेनन् ? किन जिज्ञाशा र उत्सुकतामार्फत नयाँ ढंगले सोच्ने क्षमता विकास गर्न सकेनन् ? उहाँमा हरेक विषयवस्तुलाई फरक ढंगले हेर्ने क्षमता छ, त्यही क्षमताले पहिचान निर्माण ग¥यो ।
रोग गम्भीर छ । १२ वर्षअघि नयाँदिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले उहाँलाई अहिलेसम्म बचायो । त्यसका लागि भाइबुहारी अञ्जना घिमिरे धन्य हुनुहुन्छ । उहाँ आज पनि गर्बका साथ भन्नुहुन्छ – ‘मैले मिर्गौला दिएर उहाँ बाँच्नुभयो, त्यसभन्दा ठूलो नेपालले पहिचान पायो ।’
नियमित डायलासिसमा हुनुहुन्थ्यो । बिकल्प कि डायलासिसलाई बाँचुञ्जेल अघि बढाउने कि प्रत्यारोपण । उहाँले प्रत्यारोपण रोज्नुभयो । आफ्ना कतिपय निर्णयमा ‘सरप्राइज’ दिने उहाँले यसपटक प्रत्यारोपणको मिति र अस्पतालमा पनि सरप्राइज नै दिनुभयो । अमेरिका, सिंगापुर र भारतमा प्रत्यारोपण भन्ने अनुमान र प्रचारलाई गलत सावित गर्दै उहाँले नेपालकै शिक्षण अस्पतालमा प्रत्यारोपण गर्नुभयो । अनुमानका खेती गर्नेहरु यहाँ पनि पराजित भए । यद्यपि ओलीले तिनलाई पराजित गर्न शिक्षण अस्पताल रोज्नुभएको थिएन, नेपाली चिकित्सकहरुको क्षमतामा विश्वास गर्नुभएको थियो ।
व्यक्तिको वास्तविक क्षमता नेतृत्वमा देखिन्छ । ओली जव प्रतिकूल समयमा प्रधानमन्त्री बन्नुभयो, इतिहास निर्माण गर्नुभयो । मुर्छित सपना बिउँझाएको त दोस्रो प्रधानमन्त्रीत्वको आरम्भमा हो । त्यसअघि ओलीले गुमेको नेपाली आत्मसम्मान फर्काउनुभएको थियो । पहिला त नेपाली पहिचान नै स्थापित गर्नुथियो, जो पहिलो नौ महिने कार्यकालमा गर्नुभयो । भूकम्पले राष्ट्रिय मनोविज्ञान र आत्माविश्वास कमजोर भएकै बेला भारतले नाकाबन्दी लगाउँदाजस्तो प्रतिकूलता शायद कसैले सामना गर्नुपर्छ । त्यसबेलाको एक मन्तब्यमा ओलीले भन्नुभएको थियो, ‘मलाई विश्वास छ यो चुनौती र संकटलाई हामीले सिर्जनशिलता, आत्मनिर्भरता र आत्मविश्वासतर्फको अर्थपूर्ण यात्रामा रुपान्तरण गर्नेछौं ।’ नभन्दै त्यही भयो । नेपाली शासकले सत्ताको निरन्तरतासँग स्वाभिमानको सौदाबाजी गरेका छन् । ओलीले सत्ता कि स्वाभिमान भन्ने प्रश्न अघि तेर्सिदा स्वाभिमानको छनौट गर्नुभएको हो । हो त्यही राष्ट्रिय स्वाभिमान र आत्मसम्मानप्रति नेपालीको अगाध विश्वास पलाएको हो । भारतीय सत्ताले आफ्नो स्वार्थमा नेपालका प्रधानमन्त्री चलायो । तर ओलीले राष्ट्रिय स्वार्थको नेतृत्व गर्दै भारतीय सत्तालाई नेपाल अनुकूल बनाउनुभयो । प्रधानमन्त्री मोदीको विकासमा सहकार्यको प्रस्ताव त्यसैकै उदाहरण हो ।
प्रधानमन्त्रीको जारी दोस्रो ‘इनिङ’मा ओलीले विकास र समृद्धिका सपना बुन्नुभएको हो । सपना देख्न सामथ्र्य चाहिन्छ । सपना त्यतिबेला देखिन्छ जव तपाइसँग केही गर्ने दृढविश्वास छ । विश्वासले सपना देखाउँछ । ओलीअघिका प्रशासकहरुलाई अस्थिरता छुटका रुपमा आयो । सपना देख्ने क्षमता थियो तर देख्न नपाई सत्ता गयो भन्ने वहाना मिल्यो । ओलीलाई पहिलो नौ महिनामा त्यो वहाना मिलेको थियो । तर त्यसबेला गुमेको आत्मसम्मानको ससम्मान पुनस्थापना पहिलो प्राथमिकता थियो । भयो पनि त्यही । अहिले विकास र समृद्धिको सपनाको समय हो, यो ओलीमा छ, ओलीको समय हो ।
ओलीको अडानलाई सानोतिनो भावुकताले प्रभावित पार्दैन । सोचमा निरन्तरता छ र नीतिमा पनि निरन्तरता छ । निर्णय लिन समय लगाउने तर लिएपछि त्यसमा कायम रहने क्षमता छ । भीड हेरेर सार्वजनिक खपतका लागि उहाँ बोल्नुहुन्न । जव आफूप्रति विश्वास हुन्छ, त्यसबेला यस्तो साहस प्राप्त हुन्छ ।
ओलीले अस्पतालमा भर्ना हुनु ठीकअघि आम देशवासीसमक्ष भिडियो सन्देश दिनुभयो । त्यसमा सपनाहरुलाई अलपत्र पारेर अलप नहुने उल्लेख थियो । वास्तवमा ओलीको यो अतिरिक्त जीवन नेपालको आवश्यकता हो । हरेक देशको जीवनमा यस्तो पात्रको खोजी हुन्छ, जसले राष्ट्र निर्माणको नेतृत्व लिन सकोस् । अनि त्यस्तो पात्रको असामयिक अवसान कसरी न्यायोचित हुन्छ ? ती मुर्छित सपनाले बल्ल जीवन पाएका छन् । बीचमा त्यतिकै अलपत्र पारेर प्रधानमन्त्री ओलीले कसरी विदा लिन सक्नुहुन्छ ? नेपाल भर्खर अन्तर्राष्ट्रिय जगतमा सुनिन र देखिन थालेको छ । बन्दै गरेको नेपालको पहिचानलाई स्थापित नगरी कसरी तपाईले नागरिकको साथ छोड्न सक्नुहुन्छ ? यी नागरिकका चिन्ता हुन् र प्रश्न पनि ।
प्रधानमन्त्री ओली अपरेशन थियटरमा पुग्दा देशवासीले बाहिर स्वास्थ्यलाभको कामना गर्नुभयो । त्यसमा बच्चादेखि जेष्ठ नागरिकसम्म हुनुहुन्थ्यो, हुनुहुन्छ । त्यसभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना बिम्बित छ । अनि त्यसको नेतृत्वकर्ता स्वस्थ्य नभएर हुन्छ ?
शिघ्र स्वास्थ्यलाभको कामना ‘डियर पीएम’ ।
(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।)

 








 

 




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?