डा.राधिका बुुढ्थापा
प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको एउटा कपडा मिलमा सन् १८५७ मार्च ८ मा महिलाले पुरुष सरह नै ज्याला पाउनु पर्दछ भन्दै पहिलो पटक संगठित भएर आन्दोलन गरेका थिए । सोही मिलमा सन् १८६० मार्च ८ मा यिनै महिलाले राष्ट्रियस्तरको पहिलो महिला सम्मेलन सम्पन्न गरे । फ्रान्सको पेरिसमा सन् १८८९ मार्च ८ मा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना भयो । अमेरिकाको सिकागो शहरमा सन् १८९७ मार्च ८ कै दिन महिला अधिकारका लागि विशाल जुलुस, आमसभा र हडताल भएका थिए । उक्त आन्दोलनका मागहरुमा १० घण्टा भन्दा बढी कामको विरोध, पुरुष सरह ज्याला पाउनुपर्ने, मातृशिशुको अधिकार, मजदुर युनियनमा महिलाको पनि मताधिकार हुनुपर्ने आदि समावेश थिए ।
न्यूयोर्कमा नै तत्कालीन समाजवादी पार्टीको सन् १९०९ फेब्रुअरी २८ र सन् १९१० मा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनले नारीलाई पुरुष सरहको अधिकार हुनपर्ने मागसहित दिएको सुझावअनुसार प्रत्येक वर्ष नारी दिवस मनाउन थालिएको देखिन्छ । अन्तर्राष्ट्रिय रुपमा महिलाले उठाउने गरेका आन्दोलनहरुमा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा अन्तर्राष्ट्रियस्तरको एउटा नारी दिवस मनाइने प्रस्ताव भयो । फलस्वरुप सन् १९११ मार्च १९ मा प्रथम पटक अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्ड जस्ता देशमा लाखौं महिलाको सहभागितामा प्रथम अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाईयो । उक्त दिवसमा नारीलाई मतदान गर्ने अधिकारबाहेक व्यावसायिक तालिम प्रदान गरिनु पर्ने र नारीमाथि कुनै पनि किसिमको विभेद हुन नपाउने माग समावेश गरिएको थियो ।
महिला अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनको निरन्तरतामा सन् १९१३ र १९१४ र १९१७ मा तत्कालीन सोभियत सङ्घमा प्रथम विश्वयुद्धको विरोधमा (रोटी र शान्तिको नारा सहित) अन्तर्राष्ट्रिय नारी दिवस मनाइए । युरोपका कैयौँ देशका महिलाले क्लारा जेटकीन, रोजा लक्जम्वर्ग र टेरेसा मल्किएलहरुको नेतृत्वमा नारी आन्दोलनमा निरन्तरता दिए । यही नारी दिवस हाल आएर संसारमा नारी अधिकारको लागि महत्त्वपूर्ण दिनका रुपमा मानिन्छ ।
सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गर्यो । संसारका १८९ सरकारका प्रतिनिधिद्वारा हस्ताक्षरित सन् १९९५ को बेइजिङ घोषणापत्रले प्रत्येक महिलाले इच्छाअनुसार राजनीतिमा भाग लिन पाउने, शिक्षा आर्जन गर्न पाउने, कुनै पनि लैङ्गिक विभेद र हिंसाको सिकार नभई समाजमा स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारसहितको ऐतिहासिक निर्णय ग¥यो । सन् २००२ मा बसेको राष्ट्रसङ्को महासभाले लक्षित गरेको सहस्राव्दी विकास लक्ष्य लगायतका सबैखाले सम्मेलन तथा सन्धिले पनि सन् २०१५ सम्ममा लैङ्गिक आधारमा विद्यमान सवै किसिमका असमानताहरु हटाउन सरकारका संयन्त्रहरु, गैरसरकारी संघ संस्थाहरु, नागरिक समाज, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था तथा दातृपक्षले समेत आआफ्नो क्षेत्रबाट एक्लै वा समन्वयात्मक रुपमा कार्य गर्ने लक्ष्यहरु राखेको थियो ।
संसारका अन्य देशहरुमा झैं प्रत्येक वर्ष नेपालले पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको छ । तर बिडम्वना, नेपाली महिलाले आफ्नो लैङ्गिक अधिकारको समानताको अनुभूति पूर्ण रुपमा सुरक्षित गर्न पाएको देखिंदैन । जनसंख्याको हिसाबले आधा धर्ती ओगट्ने नेपाली महिलाको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्याङ्कहरुले देखाउँछ । लैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु जनाएको पनि छ । वर्तमान संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान ब्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ । सोको लागि सरकारका सरोकारवाला संयन्त्रबाहेक विभिन्न गैरसरकारी संघसंस्थाहरु, नागरिक समाज,निजी क्षेत्र तथा दाता पक्ष समेत प्रत्यक्ष,अप्रत्यक्ष रुपमा संलग्न भएको पनि देखिन्छ, । तर विडम्वना नै मान्नु पर्छ आजको समयसम्म पनि नेपाली महिलाहरु परिवार, समाज तथा राष्ट्रकै दृष्टिमा पनि दोस्रो दर्जाको नागरिकका रुपमा बाँच्न वाध्य छन् ।
नेपाली महिला लैङ्गिक विभेदका शिकार हुने गरेका दुःखदायी शृङ्खलाहरु दिनानुदिन थपिन्छन् । यी सबै घटनाक्रमले मार्च ८ का दिन काठमाडौँ लगायतका शहरमा मनाइँदै आएको यस दिवसले हाम्रो देशका समग्र महिलाले स–सम्मान बाँच्न पाउने अधिकारको उपभोग गर्न पाएको प्रत्याभूति गर्न कदापि सकिंदैन । महिलाले नै बुझी नबुझी यो दिवसलाई परम्परागत रुपमा मनाउँदै आएका थियौं र यो वर्ष पनि यो दिन बिभिन्न नाराकासाथ त्यसरी नै मनाउँदैछौं । तर सरसर्ती हेर्दा महिलाले समानताको लडाई शुरु गरेको एक शताब्दीभन्दा बढी भइसकेको अवस्थामा समेत महिला बिरुद्धको शोषण, असमानता, विभेद, एक्काइसौं शताब्दीमा पनि अन्त्य भइसकेको छैन । त्यसमा पनि हाम्रो जस्तो पुरुषप्रधान देशहरुमा त अझै कतै धर्म र संस्कृति, कतै परम्परा र प्रचलन, कतै भेदभावपूर्ण नियम कानुन आदिले आआफ्नो तरिकाले महिलामाथि विभेद र शोषण जारी राखेका छन् । धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो खाडल छ । हाम्रो जस्तो विकासशील देशहरुको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड महिला नै रहेका छन् तर स्रोत र साधनमा यिनै महिलाहरुको अत्यन्त न्युन पहुँच रहने गर्दछ ।
आदिमकालबाट विकसित गरेर आजको यस अवस्थामा पु¥याउने प्रमुख भूमिकामा नारी नै थिए । त्यस समयमा पुरुष जंगलमा शिकार खोज्ने काम गर्दथे भने नारी वास बस्ने ठाउँमा कन्दमुल सञ्चय गर्ने, फलपूmल खोज्ने र जङ्गली अन्नका बाला चँुडेर ल्याएर वासस्थानको वरिपरि उमार्ने काम नारीले नै गरे । जंगली पशुलाई पाल्तु बनाउने काम नारीले नै गरे । इतिहासदेखि नै नौलो कुराको आविष्कार र समग्र मानवजातिलाई समाजीकरणमा ल्याउने र समाजमा स्थायित्व ल्याउने काम नारीले नै गरेको हो । त्यसैले होला तत्कालीन आदिम समाजमा महिलाको स्थान उच्च थियो । यिनै महिलाका हक अधिकारहरु क्रमशः खोसिंदै गए र विस्तारै दोस्रो दर्जाको नागरिक बनाउन थालियो ।
दिनहुँजसो हाम्रो समाजमा बालिका र महिलामाथि हुने गरेका यौन दुव्र्यवहार, बलात्कार, बेचविखन, बालविवाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा, बोक्सीको आरोपमा महिलामाथि हुने हिंसा र हत्याका घटनाहरुको रोकथाम र नियन्त्रण पनि प्रभावकारी बन्न सकेका देखिंदैनन् । जुन समाजमा महिला हिंसा र कुरीतिको शिकार भईरहन्छन् त्यो समाजले प्रगतिको सपना देख्नु दिउँसै रात पार्नु हो । मिठा मिठा भाषण, नारा र ठूला होटलको मिष्ठान्न भोजनमा गएर समाप्त हुने दिवसले वास्तविक शोषित, पीडित हिमाल, पहाड, तराइका आम महिलाका आधारभूत सवालहरुमा के ग¥यो, प्रश्न गम्भीर छ । तसर्थ, हामी प्रत्येक महिला वर्गले पनि यस धर्तीमा स सम्मान बाँच्न पाउनु पर्दछ, पुरुष सरहका अवसरहरु उपभोग गर्न पाउनु पर्छ तब मात्र अन्तर्राष्ट्रिय नारी दिवस मनाउनुको सार्थकता रहने छ ।
(लेखक महिलासम्बन्धी क्षेत्रमा सक्रीय हुनुहुन्छ )