चाणक्य नीति भन्छ– आपत्तिका बेला घरपरिवारका सदस्य र साथीभाइको परीक्षण हुन्छ । अर्थात् यस्तोबेला सबैको परीक्षा हुन्छ । कोरोना भाइरस (कोभिड–१९) को त्राससँगै बजारमा विभिन्न अत्यावश्यक वस्तुको कृत्रिम अभाव गरिएको छ । यो अभाव आपूर्तिमा भएको कमीले होइन अधिक भण्डारण र व्यापारीले सामान लुकाएर उत्पन्न भएको समस्या हो । देश र जनताका लागि ठूला गुड्डी हाँक्ने, सरकार, राजनीतिक दल र दलका नेतालाई अर्तीबुद्धि दिने सर्वसाधारण तथा सामाजिक सञ्जालका सदस्य भागाभाग गरेर सामग्रीको भण्डारणमा जुटेका छन् । सङ्कटमा सरकारलाई साथ दिन्छौँ भन्ने व्यापारी सामग्री लुकाउने र कृत्रिम अभाव खडा गर्ने काममा संलग्न देखिएका छन् । यसबेला सबैको परीक्षण भइरहेको छ, उनीहरू कति देशभक्त छन् ? विश्वयुद्धमा जापानीहरूले खाद्यान्न भण्डारण गर्न लागे होलान् कि सरकारप्रति विश्वस्त रहेर राष्ट्रलाई सहयोग गरे होलान् ? चिनियाँहरू कोरोनाविरुद्ध लड्न सरकारको साथमा रहे कि भागाभाग गरेर खाद्यान्न जम्मा गर्न लागे ? सुतुरमुर्गले बालुवामा टाउको घुसारेपछि सुरक्षित हुनेछु भनेजस्तै भ्रममा अहिले नेपाली उपभोक्ता र व्यापारी खाद्यान्न, मास्क वा ग्यास जम्मा गरे सुरक्षित भइन्छ भन्नेमा छन् । मानौँ कि यिनै वस्तुले कोरोना भगाइदिन्छ । बजारमा कोरोनाभन्दा अनावश्यक सञ्चिति आतङ्क डरलाग्दो छ । सङ्कटमा व्यापारी, वितरक, विक्रेता, उपभोक्ता सबैका आआफ्ना कर्तव्य र जिम्मेवारी हुन्छन् तर यी सारा जिम्मेबारी पन्छाएर केही व्यापारीले १० रुपियाँको मास्कलाई ३० रुपियाँमा बेच्ने अनि सरकारले केही गरेन भनेर अर्ती दिइरहेका छन् ।
बजारमा मास्क, स्यानिटाइजरदेखि ग्यासको अभाव देखिएको छ । तर वाणिज्य विभागले कृत्रिम अभाव सिर्जना गरिएको भन्दै अत्यावश्यक वस्तुको अभाव नरहेको प्रष्ट पारेको छ । विभागको बुझाइमा सङ्कटको मौका छोप्ने व्यापारीले यसपटक पनि कोरोनाको नाममा अत्यावश्यक वस्तुको कृत्रिम अभाव गराएका हुन् । यस्तोबेला व्यापारी र उपभोक्ता दुवै पक्ष संयमित हुनुपर्छ । ठूलादेखि खुद्रा व्यापारीले सामानको अभाव देखाई अस्वाभाविक मूल्य असुल्ने र भएका सामान गोदाममा थन्क्याएर अभाव सिर्जना गरी मूल्य बढाउने गरेका छन् । सङ्कटका बेला यस्तो गलत प्रवृत्ति ? यसविरुद्ध सरकारले कडा कारबाही गरेर उपभोक्तालाई विश्वस्त बनाउनुपर्नेछ । चीनबाट आउने लत्ताकपडा र निर्माणका केही सामग्रीबाहेक खाद्यपदार्थको आपूर्ति यथावत् रहेको अवस्थामा कसरी अभाव सिर्जना हुन्छ ?
व्यापारी बजारमा अभाव र कालोबजारी बढ्नुको दोष उपभोक्तालाई दिन्छन् तर व्यापारीले उपभोक्तालाई विश्वस्त बनाउन नसकेकाले यस्तो भएको हो । यो बेलामा पनि सामग्री पाइन्छ, मूल्य बढ्दैन भनेर व्यापारीले उपभोक्तालाई विश्वास दिन सकेका छैनन् । जब सङ्कट हुन्छ तब रातारात कसरी सामग्री गायब हुन्छन् ? के यो सबै उपभोक्ताले गर्दा भएको हो ? कदापि होइन । ठूलादेखि साना व्यापारीले अनावश्यक भण्डारण गरी बजारमा आपूर्ति नियन्त्रण गर्ने गरेकाले यस्तो समस्या आएको हो । साथै उपभोक्ताले अनावश्यक सञ्चय गर्नाले बजारमा अभाव देखिएको हो भन्ने पनि सत्य हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्बद्ध निकायबाट बजार अनुगमनलाई प्रभावकारी बनाउने जनाएको छ । मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामललगायत खाद्यान्न आपूर्तिमा समस्या नरहेको जनाए पनि बजारमा ग्यासको अभाव चुलिएको छ । यस्तै अवस्था रहे बजारमा सरकारको अनुपस्थिति देखिनेछ । बजार अराजक हुनेछ । यसको उपचार भनेको कडा कारबाही नै हो । हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले स्पष्ट गरेको छ । हालको मौज्दातले खाद्यान्न ६ महिना, नुन १० महिना र ग्यास एक महिनालाई पुग्ने मन्त्रालयले जनाएको छ । एक परिवारका लागि बढीमा दुईवटा भन्दा बढी ग्यास सिलिन्डर घरमा राख्न र बढी सिलिण्डर राख्ने उपभोक्ताको अभिलेख राख्न थालिएको मन्त्रालयले जनाएको छ । यतिमात्र होइन, अनावश्यक भण्डारण गर्ने उपभोक्ता र सामग्री लुकाउने व्यापारीलाई हदैसम्मको कारबाही गरेर स्वाभाविक बजार व्यवस्थापन गर्न ढिलो गर्नुहुँदैन ।