भागवत खनाल
कुनै पनि व्यक्तिमा रहेको नैतिक दृष्टिले हेरिने असल या खराब बानीबेहोरा र व्यवहार त्यो व्यक्तिको आचरण हो । ‘चरण’ शब्दमा ‘आ’ उपसर्ग जोडिएर आचरण शब्दको निर्माण हुन्छ । चरण शब्दबाट चर्नु, हिंड्नु, यात्रा गर्नु, खानु, घुम्नु, व्यवहार गर्नु, बोल्नु आदि बोध हुन्छ । असल आचरण या सदाचार भन्नाले व्यक्तिले समाजमा पालना गर्नुपर्ने व्यवहारको परिस्कृत र नैतिक दृष्टिले स्वीकार गरिएको आचार, चालचलन र चरित्र बुझिन्छ । केही सदाचारका नियमहरु सार्वभौम र सार्वकालिक हुन्छन् भने केही देश, काल, परिस्थिति, धर्म, संस्कृति र समाजसापेक्ष हुन्छन ।
गीतामा कृष्णले भनेका छन् – समाज व्यक्तिमा हुँदैन, व्यक्ति समाजमा हुन्छ । मनुष्यको अस्तित्व समाजभित्रको सदस्यको रुपमा रहने हुँदा मनुष्यले समाजका नियमको पालना गर्नु पर्दछ । मानिसले जुन ठाउँमा जेजस्तो कर्तव्य पालन गर्नुपर्ने हो, त्यस ठाउँमा त्यही कर्तव्य पालन गर्नुपर्दछ । बन्चरो हान्दा पूर्णरुपेण बन्चरो र मुढोंमा ध्यान जानु, सवारी साधन हाँक्दा मनलाई त्यसैमा एकाग्र राख्नु, खाना खाँदा पूरा स्वाद लिंदै आनन्दले विस्तारै खानु, बोल्दा कसैको मन नदुख्ने गरी शालीनतापूर्वक बोल्नु, युद्ध गर्दा सम्पूर्णतः युद्ध गर्नु नै अनुशासनपूर्वक सत्य आचरण पालन गर्नु हो । अहिंसा, अस्तेय, व्याभिचार नगर्नु, झूटो नबोल्नु र लागू पदार्थबाट टाढा रहनुजस्ता बुद्धका पञ्चशीलहरु सत्य आचरण या सदाचार हुन् ।
जुन कुरा आफ्नो स्वामित्व र अधिकारभन्दा बाहिर छ, त्यसप्रति लोभ नगर्नु असल चरित्र हो । स्वामी विवेकानन्दले भनेका छन् – चरित्रको निर्माण गर्न सकियो भने अरु निर्माणहरु स्वतः हुन्छन् । मनुष्य वस्तुतः अन्य व्यक्तिलाई अनुशासनप्रिय र आचारशील रहेको देख्न चाहन्छ । मानिसको सतत् इच्छा हुन्छ, समाजका सबै व्यक्ति सदाचारी र अनुशासित रहून् । किन्तु त्यही नियम आफंैमा लागू गर्ने बखत आउँदा उसलाई गाह्रो पर्दछ । असल आचरण सधैं आदर्शमा आधारित हुन्छ तर मानव स्वभाव र प्रवृत्ति सामान्यतः आदर्शोन्मुख हुँदैन ।
नेपालको शासनप्रणाली सञ्चालनको केन्द्रबिन्दु राजनीतिक नेतृत्व हो भने त्यसको कार्यान्वयन, सन्चालन र नियमन गर्ने कार्यको जिम्मेवारी कर्मचारीतन्त्रमा रहेको छ । दुवैको अनुशासन, असल आचरण र कर्मण्यताबाट मात्र यो डुंगालाई पार लाउन सकिन्छ । कर्मचारीमा दुराचार फैलियो भने त्यो राजनीतिमा समेत संक्रमित हुन पुग्दछ । यसैगरी राजनीति दुराचारी हुनपुग्यो भने त्यो कर्मचारीमा समेत सहजै संक्रमित भएर फैलिन्छ । सदाचार र सच्चरित्रताको संक्रमणको गति अत्यन्त मन्द हुन्छ भने दुराचारको संक्रमणको गति बडो तीव्र हुन्छ । कर्मचारीको बानीबेहोरा कस्तो छ, बोलीचाली कस्तो छ, ऊ कहाँ कहाँ जान्छ, कस्ता मानिसको संगत गर्दछ, के खान्छ र समाजमा कस्तो छवि निर्माण गरेको छ भन्ने कुराबाट त्यो देशको कर्मचारीतन्त्र कस्तो छ भन्ने ज्ञान हुन्छ ।
कर्मचारीको आचरणको आयाम बडो व्यापक छ । कर्मचारीको उत्तरदायित्व संविधान, कानून, सरकार, समाज, राजनीतिक नेतृत्व, सेवाग्राही, ‘सिनियर’ र आफ्नो ‘जुनियर’ प्रति समेत रहन्छ । आजको युगमा कर्मचारीले समाजको विविधता, समावेशिता, समता, आदिप्रति कस्तो दृष्टिकोण राख्दछ भन्ने कुराको समेत ठूलो महत्व हुन्छ । ऊ जनमुखी हुनु आवश्यक छ । उसको उत्तरदायित्व सेवाग्राही हुँदै समाजसम्म फैलिएको हुन्छ । विगतमा धेरै कुरा लुकाउन सकिन्थ्यो, अहिले केही पनि लुकाउन सकिंदैन ।
कर्मचारीको आफंैप्रतिको उत्तरदायित्व झनै महत्वपूर्ण छ । उसले स्वमूल्यांकन गर्नु जरुरी छ कि ऊ सत् र असत्बारे भेद गर्न सक्षम छ छैन ? ऊ कति विवेकी छ ? सत्य, इमान र मानवताप्रतिको उसको दृष्टिकोण के हो ? आफू बस्ने गरेको समाजप्रतिको जिम्मेवारी कति निर्वाह गर्न सकिएको छ ? समाजलाई जीवन्त राख्ने साँस्कृतिक मूल्यहरुको जगेर्ना गर्ने कार्यमा सहयोगी बनिएको छ कि बहकिएको अवस्था छ ? आफ्नो परिवारप्रतिको दायित्वतर्फ सजग हुन सकिएको छ छैन ? आफ्नो व्यावसायिक क्षमताको विकास गरेर सम्यक रुपमा कर्तव्यपालन गर्न सक्षम हुन सकिएको छ छैन ? आफ्नो पेशाप्रतिको निष्ठा कस्तो छ ? आफ्नो अन्तःकरणप्रति कति सजगता छ ? भन्ने कुरा आफैंलाई सोधियो भने त्यसको उत्तर आफंैभित्रबाट प्राप्त हुन्छ ।
निजामती सेवा ऐन र नियमावलीमा निजामती कर्मचारीले पालना गर्नुपर्ने थुप्रै आचरणहरुको व्यवस्था गरिएको छ । समयापालन, नियमितता, अनुशासन, मर्यादा, सरकारको आलोचना गर्न नपाइने, अन्यत्र नोकरी गर्न नपाइने, आर्थिक लाभ लिनेगरी परामर्शदाता या सल्लाहकारको काम गर्न नहुने, विदेशको स्थायी आवासीय अनुमति प्राप्त गर्न नपाइने र अन्य नैतिक दायित्वहरु औपचारिक कानूनी व्यवस्थाहरु हुन् । यी कानूनी प्रावधानको बर्खिलाफ आचरण गरेको पाइएमा त्यस्तो कर्मचारी सजायको भागी हुन्छ ।
वस्तुतः यी प्रावधानहरु कर्मचारीले गर्न नहुने कार्यका फेहरिस्त हुन् । यस्तो कानूनी व्यवस्था लागू गर्नुको मुख्य उद्देश्य कर्मचारीलाई सजाय दिने मनसायभन्दा उनीहरुले आफूले गर्न नहुने कुराहरु थाहा पाउन् भन्ने हो । आचरणका नियम भङ्ग गराउने र अनुशासनका पर्खाल भत्काउने कारकहरु क्रोध, लोभ, मोह, मद्, मात्सर्य, वासना, कामना, आशक्ति, मोलाहिजा, नातावाद, कृपावाद र द्रव्यवाद हुन् । कतिपय समाजशास्त्रीहरूको अभिमतमा आजको समाजको वास्तविक स्वरूपलाई नियालेर हेर्दा नैतिकतापूर्ण जीवनप्रति आकर्षित हुने अवस्थाको सिर्जना गर्न गाह्रो छ । हो यो गाह्रो छ तर यसको अर्को विकल्प छैन ।
आचरणको औपचारिक अवधारणा राज्यसँग सम्बन्धित हुन्छ । निजामती सेवाका कर्मचारीका लागि व्यवस्था गरिएका यी प्रावधानहरु वास्तवमा निषेधका नियमहरु हुन् । वस्तुतः यस्ता नियमहरुमा राज्यको तर्फबाट कर्मचारीलाई सावधान गराइएको हुन्छ । राज्यको कानून उल्लङ्घन गर्ने व्यक्तिले राज्यको तर्फबाट सजाय पाउँछ, कर्मको फल भोग्नु पर्दछ । यस्तो औपचारिक अवधारणाले प्रक्रिया र परिणामलाई महत्व दिन्छ । यसमा व्यक्तिको नियत के कस्तो थियो भन्ने कुराले भन्दा उसको जरियाबाट प्राप्त परिणामको महत्व रहन्छ ।
औपचारिक व्यवस्थाभन्दा कुनै संस्था या कार्यालयले आन्तरिक रुपमा लागू हुनेगरी बनाएका अनौपचारिक सदाचार विधिहरु प्रभावकारी हुन्छन् । यस्ता विधिहरु वाध्यकारी हुँदैनन्, केवल अनुनयात्मक मात्र हुन्छन् । सबैको सहमतिमा निर्माण हुने हुँदा यी विधिहरु नैतिक रुपमा बलिया हुन्छन् । यी विधिहरुमा विनयशीलता, शालीनता, सहयोगी भावना, सुसंस्कृत व्यवहार, सहनशीलता, धैर्य र इमानदारीलाई प्राथमिकता दिइएको हुन्छ । यसमा प्रक्रिया र परिणामभन्दा व्यक्तिको निष्ठा र नियतलाई महत्व दिइन्छ । कतिपय सरकारी कार्यालयहरुमा विगतदेखि नै यस्ता अनुनयात्मक उपबन्धहरु तयार गरी सहज कार्यवातावरण निर्माण गर्ने गरिएको छ । आजको सन्दर्भमा विशेष गरेर स्थानीय तहमा यस्तो व्यवस्था गर्न सकियो भने निकै प्रभावकारी होला ।
अब्राहम लिंकनले भनेका छन्, ‘कुनै व्यक्तिको चरित्र थाहा पाउनु छ भने उसलाई पद र शक्ति देऊ ।’ शक्तिमा नपुगेको या सार्वजनिक स्रोतसम्म पहुँच नभएको व्यक्ति इमान्दार हो कि होइन भनेर यसै भन्न सकिँदैन । शक्ति, पद र स्रोतको पहुँचमा नै नपुगेको व्यक्तिले ‘म इमान्दार छु’ भन्छ भने त्यसले कुनै महत्व राख्दैन । स्रोतसम्मको पहुँच र चाहेमा व्यक्तिगत लाभको लागि त्यसको दोहन गर्न सक्ने हैसियतमा पुगेको व्यक्ति ‘पाकसाफ’ बाहिर निस्कन सक्यो भने ऊ नै ‘इमान्दार’ हो ।
मनुस्मृतिमा भनिएको छ ‘सर्वो दण्डजितो लोको दुर्लभो हि सुचिर्नरः दण्डस्य हि भयात् सर्व जगद्भोगाय कल्पते ।’ अर्थात दण्डको डरले नै मानिसहरु असल भएका हुन् । आफ्नै आन्तरिक प्रेरणाले सदाचारी हुने मानिस पाउन गाह्रै छ । यस कथनमा सत्यता छ तथापि आजको युगमा डर र त्रास देखाएर मानिसलाई तह लाउने नीति लिनु उचित हुँदैन । भय पैदा गरेर मानिसलाई आचरण र अनुशासनमा राख्ने नीति आजका सरकारले लिंदैनन् पनि । आजको आवश्यकता भनेको व्यक्तिमा सदाचार, सादगी र इमान्दारीप्रति अन्तःप्रेरणाको विकास गर्नु हो ।
हिजोआज निजामती सेवाबाट अपेक्षित उपलव्धि हासिल गर्न सकिएन, कर्मचारी अटेर र अनुशासनहीन भए, समयमा काम सम्पन्न हुन सकेन भन्ने आरोप लाग्ने गरेको छ । अब छिटै सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐन लागू गर्न सकियो र स्थानीय तहको राजनीतिक नेतृत्व र प्रशासनबीच समन्वय कायम भयो भने हाल देखा परेका विसंगतिहरुको धेरै हदसम्म अन्त्य हुनेछ । निजामती कर्मचारी समृद्धिका धरोहर हुन् । खराब निजामती सेवाले समृद्ध राष्ट्र निर्माण गर्न सक्दैन । निजामती सेवालाई असल, चरित्रवान, शालीन, इमान्दार र अनुशासित बनाउने काम सरकार र स्वयं निजामती सेवाको हो ।
(लेखक नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ ।)