कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतका अधिकारीबीच सहकार्य शुरु भएको छ । पशुपतिनगर, झापा, विराटनगर, वीरगञ्ज, भैरहवा, जमुनाह, धनगढीजस्ता व्यस्त नाकाबाट ठूलो सङ्ख्यामा नेपाली र भारतीयको आउजाउ हुने भएकाले यी क्षेत्रमा विशेष निगरानी गर्नुपर्ने आवश्यकता दुबै मुलुकका अधिकारीले महसुस गरेका छन् । कोभिड–१९ को सीमारहित प्रकोप नियन्त्रणमा विश्वकै साझा पहल आवश्यकता महसुस गरिएका बेला नेपाल–भारतजस्ता खुला सिमाना, जनस्तरको व्यापक अन्तरक्रिया हुने देश, जहाँका सीमावर्ती जनताको दैनिकी सीमा वारपारमा चल्छ । त्यहाँ विशेष उच्च सतर्कता अपनाउनु ढिला भइसकेको छ ।
नेपालका अधिकारीले नेपाल–भारत सीमाक्षेत्रबाट हुने प्रवेशमा कडाइ गर्न थालेलगतै भारतका अधिकारीले पनि कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नेपालसँगको सहकार्यमा जोड दिएका छन् । यसैबीच भैरहवामा दुबै देशका अधिकारीबीच भएको संयुक्त वैठकले कोरोना भाइरसको असर न्यूनीकरण, रोकथामको पूर्वतयारी तथा सहजीकरण गर्न संयुक्त पहल भएको छ । अधिकारीबीच सङ्क्रमण रोकथामको तयारीस्वरूप रुपन्देही र भारतको महाराजगञ्ज क्षेत्रबाट आउजाउ गर्ने नेपाली तथा भारतीयको स्वास्थ्य परीक्षण गर्नेलगायतका सहमति भएका छन् । सो बैठकले यस्तै पहल दुबैै देशका केन्द्रीय सरकारको समन्वयमा हुनुपर्ने आवश्यकता बोध गरेको छ ।
कोभिड सङ्क्रमणको नेपाल–भारत मिलेर सामना गर्नुपर्ने आवश्यकता मात्र छैन, वाध्यता नै छ । दुबै देशका नागरिकबीच हुने दैनिक अन्तरक्रिया र समान हावापानीका कारण पनि नेपाल र भारतको साझा पहलको पुनर्पुष्टि गर्छ । सीमामा गरिने स्वास्थ्य परीक्षणका अतिरिक्त वर्तमान सङ्क्रमणविरुद्ध नेपाल भारतबीच दैनिक खाद्यान्नदेखि विभिन्न अत्यावश्यकीय बस्तुको आयात निर्यातलाई पनि व्यवस्थित गर्नुपर्ने देखिएको छ । औषधी र औषधीका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भारतले रोक लगाउने अनौपचारिक समाचारले नेपालीमा त्रास देखिएको छ । अर्कोतिर भारतबाट सहज मात्र होइन, केही दिनअघिको तुलनामा धेरै परिमाणमा ग्यास पठाइएको भनिए पनि बजारमा ग्यासको अभाव कायमै छ । प्रत्येक नेपाली जिम्मेवार हुनुपर्ने बेलामा आफूहरूले नै अनावश्यक भण्डारण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, बिनाकारण मूल्य बृद्धि गर्ने गरेर समस्याको खाडललाई झन् गहिरो बनाउने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने देखिन्छ ।
अनौपचारिकरूपमा जानकारी गराइएअनुसार भारतले औषधी तथा औषधीको कच्चा पदार्थको नेपाल निर्यातमा कडाइ गर्ने छैन भनेर नेपाल सरकारलाई स्पष्ट गरिसकेको छ । भारत छिमेकी मुलुकमा औषधीलगायतका आत्यावश्यकीय वस्तुको आपूर्ति रोकिँदा त्यहाँका जनतामा पर्ने मनोवैज्ञानिक त्रासबारेमा पूर्ण जानकार रहेकाले नेपालको सन्दर्भमा यस्तो निर्णय गर्नेछैन भनेर आमनेपाली र नेपाल सरकार विश्वस्त छ ।
यसअघि नेपालमा भएका पा्रकृतिक प्रकोपमा भारतले गरेको सहयोगलाई नेपालीले उच्च सम्मानका साथ संस्मरण गरेका छन् । वर्तमान सङ्कटमा पनि नेपाल–भारतको सहकार्यले दुबै देशमा कोराना सङ्क्रमण नियन्त्रण गर्दै आपसी मित्रताको सन्देश दिन सकिने चुनौती र अवसर आएको छ । भारतका लागि आफ्नै ठूलो जनसङ्ख्या तथा विशाल भूमिमा कोराना सङ्क्रमण नियन्त्रण गर्न सहज नभए पनि नेपाललाई हुँदैआएको सहज आपूर्तिमा भारतबाट व्यवधान उत्पन्न हुनेछैन । भारतसँगको आयात निर्भरताले नेपालले आपूर्ति गर्ने सबै सामग्री भारतबाटै ल्याउने भएकाले सङ्कटका बेला यस्तो आपूर्तिमा समस्या आउनेमा नेपालीले जुन चासो र चिन्ता देखाएका छन् नेपाल सरकार भने भारतले सङ्कटका बेला थप सहयोग गर्नेमा विश्वस्त छ ।
खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीमा नेपालीहरु भारतकै भरपर्ने भएकाले नेपाल–भारत दुबैतिर सङ्क्रमण फैलिएको अवस्थामा उपभोग्य बस्तुको आपूर्तिलाई कसरी नियमित र सहज बनाउने भन्नेमा साझा तयारी थाल्नुपर्ने देखिन्छ । अन्य देशका नागरिकको आउजाउमा निगरानी राख्नसके मात्र पनि ठूलो समस्या समाधान हुनेछ । तर नेपाल–भारतबीच भने सङ्क्रमणसँगै बजार तथा आपूर्ति व्यवस्थापन पनि सहज गर्नुपर्ने भएकाले यसकानिम्ति साझा पलह अपरिहार्य देखिएको छ । दुबै देशका सरकारबीच हुने सहकार्यसहित दुबै देशका नागरिकले पनि सोही अनुसारको होसियारी अपनाई सङ्क्रमण नियन्त्रणमा सामूहिक पहल गर्नु आवश्यक हुन्छ ।