logo
२०८१ मंसिर १३ बिहीवार



प्रधानमन्त्रीको इच्छाशक्तिले स्वदेशमैं प्रत्यारोपण

विचार/दृष्टिकोण |




पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी


प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण १२ वर्ष पहिले पनि भएको हो । त्यतिबेला मिर्गौला प्रत्यारोपण गर्न सबै सुविधा नेपालमा थिएन । नेपालको मानव अंग प्रत्यारोपण कानुन अहिलेको जत्तिको पनि थिएन, केही शंसोधन आवश्यक थियो । म मन्त्री भइसकेपछि मानव अंग प्रत्यारोपण सम्बन्धी नातेदारी व्यवस्थामा परिवर्तन गरियो । त्यसले गर्दा पनि पहिलेभन्दा अहिले मिर्गौला प्रत्यारोपण गर्न सजिलो भएको छ । अहिलेको कानुनमा ३६ किसिमका नाता भित्र अंगदान गर्न मिल्ने व्यवस्था गरिएको छ । यसअघि प्रधानमन्त्री प्लाज्मा फेरोसिसको लागि सिंगापुर जानुभएको थियो । त्यहाँ जाँदा पनि कसले पैसा दियो भनेर प्रश्न गरियो । जनस्वास्थ्य ऐनमा कसैलाई पनि विदेशमा उपचारको पैसा नदिने व्यवस्था गरिएको थियो । पहिले कडारोगको लागि पनि सरकारले सहयोग गर्ने व्यवस्था थियो । अहिले त्यो व्यवस्था छैन । कानुनको परिपालना अहिले प्रधानमन्त्रीबाटै भएको छ । उपचारको लागि सिंगापुर जाँदा पनि अमानवीय ढंगले प्रश्न उठेको थियो । त्योबेला गोविन्द केसीदेखि लिएर पूर्व स्वास्थ्य मन्त्रीसम्मले बोल्न थाल्नुभएको थियो ।
प्रधानमन्त्रीको प्रत्यारोपण गर्ने इच्छा पहिलेदेखि थियो । त्यो पनि नेपालमै गर्ने भन्ने थियो तर अमेरिकामा गर्नुहुने भयो भनेर प्रचार गरियो । आफ्नो समाचार उपभोगको लागि जे पनि लेखियो होला तर त्यो विषय सत्य होइन रहेछ । त्यसले कतिपय मिडियाले कति उडन्ते कुरा गर्ने रहेछन् भन्ने पनि देखाएको छ । सरकारी अस्पतालको व्यवस्थापन कमजोर छ, सफा छैन तर पनि बहुबिधायुक्त परामर्श सेवा चाहिं सरकारी अस्पतालमै छ भन्ने कुरा प्रधानमन्त्रीले राम्रोसँग महशुस गर्नुभएको थियो । यसैका लागि पनि मन्त्री हुँदा अंग प्रत्यारोपण सम्बन्धी कानुन परिवर्तन गरिएको थियो । देशका १४ वटा अंचल, उपक्षेत्रीय र क्षेत्रीय अस्पतालहरुमा आकस्मिक सेवा सुरु गर्नको लागि मैले प्राथमिकता दिएर काम गरेको थिएँ । मैले नै मेरो उपचार देश बाहिर नहोस् भनेर घोषणा गरें । मेरै मुटुको शल्यक्रिया पनि गंगालाल ह्दयरोग केन्द्रमा गरेको हो ।
नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु क्षमतावान छन् । हामीहरुसँग नभएको भनेको इक्युपमेन्ट (उपकरण) मात्र हो । मेडिसिन र आवश्यक जनशक्ति पनि हो । आइसियु, सिसियुहरुमा डाक्टर मात्र हँुदैनन् त्यहाँ नर्सहरु पनि हुन्छन् । एनेस्थेसिया, असिष्टेन्टहरु ल्याब टेक्निसिएनहरु पनि हुन्छन । डाइग्नोष्टिक सेवा र प्याथोलोजीमा आबद्ध हुनेहरु हुन्छन् । यो सबैको कम्बिनेशन (संयोजन) भएपछि मात्र सर्जरीको केशहरु हुने गर्दछन् । यसका लागि आकस्मिक सेवा पनि प्रभावकारी बनाउनुपर्छ । ट्रमा सेन्टर वर्षौंदेखि अलपत्र अवस्थामा थियो । हामीले आएर सुरु ग¥यौं । आज बाहिर १०–१२ लाख खर्च हुने ठाउँमा यही ट्रमा सेन्टरमा एक – दुई लाखमा उपचार गर्न सकिन्छ । अहिले पनि अप्रेशनको दस्दुर तोक्नुपर्छ । त्यो मैले सुरुवात गर्दै थिएँ । चिकित्सक संघले विरोध पनि गरेको थियो । सरकारीमा २ – ३ हजारमा स्वास्थ्य सेवा पाउन सकिन्छ तर निजी अस्पतालमा ८० – ९० हजार लिने गरिन्छ । यो त अत्यन्तै ज्यादती भयो । त्यसैले प्रधानमन्त्रीले सरकारी अस्पताल रोज्नु भनेको सरकारी अस्पतालको सेवालाई गुणस्तरीय बनाउनु पनि हो । हाम्रो पहिलो सूत्र पनि विश्वस्तरीय स्वास्थ्य मापदण्ड भेट्ने हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्छ ।
नेपालको धेरै पहिलेदेखि ‘क्लिनिकल’ क्षेत्र उपेक्षित क्षेत्र थियो । म स्वास्थ्य मन्त्री भइसकेपछि प्राथमिकतामा राखेको थिएँ । अहिले धेरै ठाउँमा संस्थागत सेवाप्रवाह र शल्यक्रिया पनि हुनसक्ने गरेर त्यही बेला ७० जिल्लामा प्रभावकारी स्वास्थ्य सेवा पुर्याइसकेका थियौं । प्रधानमन्त्रीको मिर्गौला पुनःप्रत्यारोपण नेपालको सरकारी अस्पतालमा भएको हुनाले यसले सरकारी स्वास्थ्य संस्थाप्रतिको विश्वासलाई बढाएको छ । पहिले पनि प्रधानमन्त्री विरामी हँुदा उपचारका लागि रोजेको शिक्षण अस्पताल थियो । उहाँको धेरै प्रकारको समस्या भएकोले मैले प्रस्ताव गरेर बैंककसम्म पठाएको हो । उहाँलाई त्यो बेला मेनेन्जाइटिस, फंगल, मिर्गौलामा समस्या लगायत देखिएपछि बाहिर पठाइएको हो । त्यो पनि नेपालमा नसक्ने भएकोले होइन । यहाँ उपचार हुँदा भिडभाड हुने भएकोले अलि पर मात्र लगिएको हो । उहाँलाई बाहिर पठाउँदा उहाँ त्यति धेरै खुसी हुनुभएको थिएन । अहिले नेपालको सरकारी अस्पतालमा उपचार गराउनुहुन्छ भनेर कसैले पनि सोचेका थिएनन । उहाँ आफैंले शिक्षण अस्पताल रोज्नुभयो । केही समय अगाडि एपेन्डिसाइटको बिस्फोट भएर शरीरभरी फैलियो, त्यतिखेर उहाँ जीवित रहनुहुन्छ हुन्न भन्नेमा चिकित्सकहरुको समेत आशंका थियो । हामीले पनि आश मारेको अवस्थामा थियौं । तर अन्ततः ठिक भयो ।
सरकारी अस्पतालको विशेषता भनेको जहाँ पठनपाठन हुन्छ त्यहाँ बहुविधायुक्त परामर्श र सेवा पाइन्छ । त्यहाँ टिमले काम गर्दछ । देख्दाखेरी चिटिक्क, सुकिला अस्पताल कुनै एक विधामा राम्रा हुनसक्लान् तर बहुविधायुक्त स्वास्थ्य सेवा सुविधा सरकारी अस्पतालमा मात्र पाइन्छ । त्यसकारण प्रधानमन्त्रीको छनौट सही रहेको छ । स्वास्थ्यकर्मीहरुलाई पनि उत्साह थपिएको छ । उहाँहरुभित्र लुकेर रहेको क्षमता, प्रतिभा प्रष्फुटन भएको छ । दुनियाँको अगाडि हामीले एउटा ‘प्रोटोकल मेन्टेन’ गरेका छौं भनेर पनि देखाउन सक्नुभयो । एकातिर स्वास्थ्यकर्मी र अर्कोतिर स्वास्थ्यसंस्था सक्षम छन् भनी चिनाउने अवसर पनि भयो यो । यो स्थितिमा हामी सबैले प्रधानमन्त्रीलाई धन्यवाद र बधाइ दिन्छौं ।
एउटा समस्या अहिले पनि विद्यमान छ । त्यो भनेको व्यवस्थापन हो । अस्पतालको व्यवस्थापन सरसफाइ फार्मेसी सेवालाई अझै प्रभावकारी बनाउन सक्नुपर्छ । बाहिर क्लिनिकमा होइन, सरकारी अस्पतालमै कुनै एक समय ‘पे क्लिनिक’ थपेर थप पैसा लिनुपर्छ । मैले गाइडलाइन पनि बनाएको थिएँ । श्रोतसाधन, जनशक्ति, मेडिसिन आवश्यक मात्रामा दिन सकेको खण्डमा नेपालका स्वास्थ्यसंस्थाहरु, स्वास्थ्यकर्मीहरु, युनिभर्सल हेल्थ कभरेजको कुरामा सबैले त्यो क्षमता राख्छन् भन्ने प्रमाण पनि हो प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण ।
निजी पैसाले कोही मानिस घुम्न विदेश जान्छ, विदेशमा गएर उपचार गर्दछ भने उसलाई रोक्न सक्न सकिंदैन तर विदेशमा गरेको खर्च सरकारले कानुनतः व्यहोर्दैन । त्यो अवैधानिक र गैरकानुनी हुन्छ । त्यो विषयमा म आफैंले पनि संशोधन हालेको थिएं । त्यो विधेयकको उपसमितिको संयोजक नै म आफंै थिएँ । हामीले त्यो व्यवस्था गरेका थियौं । यहाँ उपचार नै नहुने भएको अवस्थामा भने मेडिकल बोर्डको सिफारिसमा केही न केही व्यवस्था गर्नुपर्छ । बाहिर जान प्रोत्साहित गर्नुहुँदैन । यहीबाटै टेलिमेडिसिन मार्फत केही गर्न सकिन्छ ।
सरकारी अस्पतालका निर्देशकहरुले व्यवस्थापन र सरसफाइलाई पहिलो प्राथमिकता दिनुपर्छ । वीर अस्पतालले सरसफाइमा ध्यान दिएको छ भने अरु अस्पतालले पनि गर्न सक्छन् । अस्पतालहरुमा सरकारी जागिरे मनोवृत्तिले बिगारेको छ । १० देखि ४ बजेसम्म गर्ने या हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति गलत रहेको छ । सरकारी अस्पतालमा निर्देशकदेखि कार्यालय सहयोगीसम्मको मनोवृत्ति त्यही छ । जहाँ जागिर खाएको छ भने पनि आफूले काम गरेको अस्पताल दोस्रो प्राथमिकतामा पर्ने गरेको छ । मनोविज्ञान पुरानो संरचनाबाट चलेको छ । सरकारी अस्पतालमा बाहिरदेखि नै सजावट गर्ने, बगैंचा बनाउने, फुल दुवोहरु रोप्ने गर्नुपर्छ । त्यसले बिरामीलाई आनन्द दिलाउँछ । देख्दैमा मनोविज्ञान राम्रो हुनुपर्छ । त्यहाँका कर्मचारीले गर्न सक्दैनन् भने बाहिरबाट करारमा ल्याएर पनि अस्पताललाई व्यवस्थित गर्न सकिन्छ ।
नेपालका सरकारी अस्पतालहरु सक्षम र सृदृढ हँुदाहँुदै पनि बिरामीहरु शल्यक्रियाको लागि महिनांैदिन कुर्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसको लागि प्रशस्त मात्रामा शल्यक्रिया कक्षहरु थप्नुपर्ने हुन्छ । वीरमा भिभिआइपी कक्ष छ । त्यसको प्रयोग भएको छैन । त्यसलाई नै अपरेशन थिएटर बनाउने, आइसियु थप्ने, जनशक्ति पनि थप गरेर राम्रोसँग चलाउन सकिन्छ । वीरमा नयाँ भवन बनिरहेको छ । म मन्त्री हुँदाखेरी त्यो सम्झौता गरेको हो । औजार, औषधि, जनशक्ति थप हुने हो भने वीर अस्पतालमा पनि राम्रो सेवा दिन सकिने अवस्था रहेको छ ।
नेपाललाई मेडिकल टुरिज्मको रुपमा विकास नगरी नहुने बेला भइसकेको छ । दक्षिणपूर्वी देशका अधिकांश मानिसहरु भारतमा उपचारको लागि आउने गर्दछन् । भारतलाई मेडिकल हबको रुपमा अघि बढिरहेको छ । नेपालमा पनि कुनै क्षेत्रलाई मेडिकल हबको रुपमा विकास गर्नु जरुरी हुन्छ । पोखरा हावापानीको हिसाबले धेरै राम्रो छ । काठमाडौ, दाङ जस्ता क्षेत्रलाई पनि मेडिकल हबको रुपमा विकास गर्न सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?