काठमाडौँ उपत्यकामा अत्यधिक सवारी चापका कारण सार्वजनिक यातायात सेवा अव्यवस्थित छ । सार्वजनिक यातायातलाई भरपर्दो र सुविधायुक्त बनाएर निजी सवारीको आवश्यकता कम गर्न नसकिएसम्म सडकमा निजी यातायात साधनको भीड घट्नेछैन । यो नै ट्राफिक व्यवस्थापनको मुख्य समस्या हो । उपत्यकामा सडकको क्षमताभन्दा अधिक सवारी साधनले समस्या ल्याएका छन् भने अन्य कतिपय कारण पनि त्यत्तिकै जिम्मेवार छन् । सरकारी स्तरबाट सवारी व्यवस्थापनका लागि समय–समयमा नयाँ कानुन, नीति, अभ्यास लागू गरिएका भए पनि प्रभावकारी हुन सकेका छैनन् । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत चक्रपथको कोटेश्वर–कलङ्कीखण्डमा सवारी साधनका लागि नयाँ नियम कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नियमअनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दाहिने मुख्य (द्रुत) लेनबाट मात्र गुड्न पाउनेछन् । चक्रपथको सो खण्डमा आगामी चैत २ गतेबाट यस्तो अभ्यास कार्यान्वयनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रूपमा पालना गराउन, सवारी आवागमनलाई सहज बनाउन र ट्राफिक नियम पालन गराउन यो अभ्यास प्रभावकारी हुनसक्नेछ । सडकलाई व्यवस्थित र सुविधायुक्त बनाउन यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने गाडी बायाँ लेनबाट र साना हलुका र द्रुतगतिमा गुड्ने सवारी दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास रहेकाले उपत्यकामा गर्न लागिएको नयाँ अभ्यास सवारी व्यवस्थापनमा सहयोगी हुनसक्नेछ ।
मुलुककै पहिलो आठ लेनको सो सडकमा गरिएको नयाँ अभ्यास सफल भयो भने नेपालका लागि नमुना हुनेछ । सडक अनुशासन पालना नहुँदा उपत्यकामा मासिक करिब ८५ को सङ्ख्यामा ठूलासाना सडक दुर्घटना हुने गरेका छन् । सवारी चालकले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्रगतिमा सवारी चलाउने लगायतका असावधानीका कारण चक्रपथको सो खण्डमा दुर्घटनाको जोखिम बढेकाले नयाँ अभ्यासलाई अक्षरशः पालना गर्नुको विकल्प रहँदैन । यही एउटा अभ्यास र प्रयोगले उपत्यकाको सवारी व्यवस्थापन हुन सक्दैन तर व्यवस्थापनको सुरुवात भने हुनसक्छ । रात्रिकालीन यातायात, लिङ्क रोडसम्म साना गाडी र त्यसपछि सहरमा ठूला गाडी, संस्थागत रूपमा सार्वजनिक यातायातको अग्रिम मासिक टिकट काट्नुपर्ने, समितिले आम्दानीको आफैँ व्यवस्थापन गर्ने जस्ता उपायलाई पनि यहाँको सवारी व्यवस्थापन गर्न सहायक उपाय बनाउन सकिनेछ । यसैगरी अशक्त तथा बिरामी बोक्ने सार्वजनिक गाडीको रङ छुट्टै गर्ने र त्यस्ता गाडीलाई हरेक दुई सय मिटरमा रोक्न दिने तर अन्य यात्रु चढ्ने गाडीलाई एक किलोमिटरभन्दा कम दूरीमा रोक्न नपाउने जस्ता व्यवस्था गर्नुपर्ने देखिन्छ । सवारी साधनबाहिर झरेर भाडा लिनदिन नपाइने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, रुटमा गन्तव्यसम्म नजाने, बीचैमा यात्रु ओराल्ने सवारी चालकलाई कारबाही गरेर पनि केही सार्वजनिक यातायातलाई विश्वसनीय बनाउन सकिनेछ । सार्वजनिक यातायातले विद्यालयमा वा अन्य प्रयोजनमा रिजर्भ जान नपाइने अथवा कोटा निश्चित गर्ने, निर्माणसामग्री, ढुवानी, लामो दूरीका गाडीलाई बिहान छ बजेदेखि राति ९ बजेसम्म सहरमा प्रवेश नदिने, सामूहिक ट्याक्सी उपयोग संस्कृति बसाउने, हाल प्रयोगमा रहेका पठाओ वा टुटलजस्ता अनौपचारिक सवारी अभ्यासलाई कानुनी दायरामा ल्याएर सार्वजनिक यातायातलाई सहज बनाउन सकिनेछ । मानव नियन्त्रण र नियमनको सट्टा विद्युतीय डिभाइसको प्रयोग, कडा कानुनी कारबाही, दुर्घटना र सवारी नियम उल्लङ्घनको केन्द्रीय कक्षबाट अनुगमन गरी घरघर वा सवारी साधनमा जानकारी दिने, सहरभित्र धर्ना जुलुस, धार्मिक सांस्कृतिक कार्यक्रम गर्न नपाइने, सामाजिक तथा सांस्कृतिक कार्य समय तोक्ने, केही विशेष गर्नैपर्ने कार्यलाई छुट, भीभीआईपीको अनावश्यक सवारी कटौती, विशेष कार्यक्रम निवासमै गर्ने, विवाहमा जन्तीको सङ्ख्यामा कडाइ, सडकमा निर्माण सामग्री राख्ने प्रवृत्ति रोक्ने जस्ता उपाय कार्यान्वयनमा ल्याउन सके उपत्यकाको सवारी व्यवस्थापन गर्न सकिनेछ ।