डा. धनपति कोइराला
विशिष्ट भनिएका व्यक्तित्वहरु नै स्वदेशको स्वास्थ्य सेवालाई उपेक्षा गरी विदेशी अस्पतालमा गएर उपचार गराउँदा आम जनमानसमा यसले कम्तीमा पनि तीनवटा नकारात्मक सन्देश पु¥याइरहेको अवस्था थियो ।
एक ः स्वदेशी चिकित्सक विश्वासनीय छैनन् । सन्दुक रुइत, भगवान् कोइराला, भोला रिजाल केही अपवादमा रहेको भए पनि सबैमा त्यो गुणस्तरीय सेवा दिनसक्ने सामथ्र्य र क्षमता छैन । एउटा मात्र चिकित्सकको भर पर्दा धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनु परिरहेको स्थिति छँदै थियो । एकजना चिकित्सकलाई देखाउँदा एउटा रोग लागेको आशंका गर्ने र अर्का चिकित्सककहाँ स्वास्थ्य परामर्श लिन पुग्दा अर्कै भनिदिने, एकजनाले कुनै अमुक रोग हो यसको तत्काल शल्यक्रिया नगरिए ज्यान जान सक्छ भनेर चेतावनी दिइएको स्थितिमा अर्को चिकित्सककहाँ पुगेर जाँच गराउँदा अघिल्लोले गरेको परीक्षण र निदान नै यो होइन यो चाहिं हो भनेर अर्काले अर्थोक नै बताइदिने गर्दा एकखाले भ्रम पर्न गएका भुक्तभोगीहरु धेरै भेटिन्छन् । प्रायः निजी लगानीमा खोलिएका अस्पताल र त्यहाँ कार्यरत चिकीत्सकहरुबाट यस्तो विरोधाभास र अन्तरविरोधका कुराहरु आउने गरेको प्रशस्तै भेटिन्छन् ।
हुन पनि विदेशस्थित विश्वविद्यालयबाट एमवीवीएस अध्ययन गरेर आएका वा स्वदेशमै अध्ययन गरेका विद्यार्थीहरुमध्ये चिकित्सकीय कार्यका निम्ति लिइने इजाजत पत्रको परीक्षामा झण्डै ६० प्रतिशत अनुत्तीर्ण हुने गरेका छन् । अझ यसमा विदेशी विश्वविद्यालयबाट अध्ययन गरी आउने विद्यार्थीको अनुत्तीर्णता दर निकै कहालीलाग्दो छ । एमबीबीएस उत्तीर्ण गरेका तर इजाजत पत्रको परीक्षामा अनुत्तीर्ण रहँदै आएका चिकीत्सकहरु पनि कतै न कतैको निजी क्लिनिक वा अस्पतालहरुमा कार्य गरिरहेका हुनसक्छन् । तीमध्ये पनि केही प्राविधिक दृष्टिले अनुत्तीर्ण रहे पनि चिकित्सकीय सेवामा अब्बल हुन पनि सक्छन् । केही एमबीबीएसमा भर्ना भएपछि गहिरो अध्ययन विना नै वर्ष गुजार्दै गएपछि उत्तीर्णता प्राप्त गरी आएका पनि हुन सक्छन् । तिनले दिने सेवा हितकारीभन्दा अहितकारी हुनपुग्दा समग्र चिकित्सक नै बदनाम भइरहेको स्थिति छ । यहाँ एकदुई जनाले विराउँदा नै सारा शाखा पिराइरहेको अवस्था छ । यसले राम्रा र अनुभवी चिकित्सकहरु पनि प्रायः शंकाकै घेरामा रहने गरेका छन् । तर, राम्रा, असल, अनुभवी र दक्ष चिकित्सकहरु हामीकहाँ प्रशस्त छन् ।
दुई ः अस्पताल ÷ सरकारी अस्पतालमा समयमै सेवा लिन अत्यन्त गाह्रो छ । नेताको सोर्सफोर्स भए तुरुन्तै पनि हुन्छ । कसैको सोर्सफोर्स नभए पालो कुर्दाकुर्दै कतिपय विरामीको ज्यानै जान्छ । अर्कोतिरसरकारी अस्पताल एकाध बाहेक दुर्गन्धले आफैं सिकिस्त भइरहेका हुन्छन् । जुन संस्था आफैंमा सुग्घर सफा रहेर अरुलाई पनि यस्तै सुग्घर सफा रहन सन्देश प्रदान गर्ने संस्था हो तिनै संस्थाहरुका ससरसफाईमा भएको हेल्चेक्र्याइँ र अनदेखी लज्जास्पद लाग्छन् । हैजा र महामारी रोकथाम गर्ने संस्थाहरु नै स्वयं महामारी र हैजा फैलाउने केन्द्र बन्न थालेपछि जनताको भरोसा टुट्नु स्वाभाविकै हो । अझ गाउँ गाउँमा खोलिएका सरकारी अस्पतालहरुमा निःशुल्क दिइने औषधि र दक्ष जनशक्तिको अभावमा सेवा लिन जाने विरामीहरु नै देखिन्नन् । गइहाले पनि गाउँलेहरु उपयुक्त उपचारको व्यवस्था नहुनाले जेनतेन पैसा जुटाएर निजी क्लिनिकतिरै जान विवश हुन्छन् ।
निजी क्लिनिकदेखि निजी पहलमै खुलेका बडाबडा अस्पताल र शिक्षण संस्थाहरु सेवाका लागि भन्दा पैसा तान्नमै बल गर्छन् । एम्बुलेन्स चालकलाई विरामी ल्याइदिए बापत कमिशन दिन्छन् । थोरै औषधि र प्रयोगशालामा रक्तादि परीक्षण गराए पुग्नेमा भएभरको सबै परीक्षण गराउँछन् । विरामी सिकिस्त भइसक्ता पनि अन्यत्र लैजान अनुमति दिंदैनन् । सामान्य रोगलाई पनि भयंकर बनाएर अत्याउँछन् । भेन्टिलेटरमा राख्नै पर्ने नराखिएमा जे पनि हुने चेतावनी दिन्छन् र ज्यानलाई जोखिममै हाल्नुभन्दा खर्च गरेर निकै तुल्याउनु वेश सम्झेर विरामीले घरघडेरी बेच्छन् र उपचार गर्छन् । तर, अन्तिम घडीसम्म नछोड्नु र उनीहरुको विशेषता र पैसा तिर्नै नसक्ने हदसम्म पुगेपछि यदाकदा परिवारजन नै विरामी छोडेर भाग्न विवश हुन्छन् । यसर्थ यस्ता शोषणबाट आजित छन् नागरिक ।
तीन ः औषधि र उपचारमा उपयोग हुने सामग्री । विदेशबाट आयातित तथा स्वदेशमै उत्पादित औषधि कति गुणस्तरयुक्त छन् ? त्यसको छड्के परीक्षण गरिएको देखिन्न । कतिपय औषधि गुणस्तरहीन रहेको आवाज पाइन्छ । त्यस्ता औषधिमा उत्पादक कम्पनीले विक्रेता र सिफारिसकर्तालाई समेत अधिकतम कमिसन दिने धेरै उपभोक्ताहरुको गुनासो सुनिन्छ । त्यो तथ्यमा आधारित छ त्यसको अनुसन्धान अपेक्षित छ ।
चार ः ल्याव परीक्षण र प्रविधि । ल्याव परीक्षण गर्न आवश्यक रसायनदेखि त्यसको वैधता पनि यदाकदा भरपर्दो लाग्दैन । विभिन्न रोगको परीक्षण गर्ने रसायनदेखि शल्यक्रियाहरुमा प्रयोग हुने औजारहरु र विभिन्न प्रविधिहरु सर्वत्र उपलब्ध भएको पाइँदैन । साथै ती सामग्री उपयोग गरी उपचार गर्नसक्ने दक्ष जनशक्ति पर्याप्त रहेको स्थिति पनि भेटिन्न । विशेषज्ञतासहितको दक्ष जनशक्ति कम्तीमा देशका विभिन्न ठूला शहरहरुमा सुलभ रुपमा प्राप्त हुनसके नागरिकले राजधानीका अस्पतालमै धाउनुपर्ने स्थिति आउँदैन । स्वास्थ्य सुलभ पनि बन्न सक्छ ।
पाँच ः अस्पताल भवन । प्रायः राम्रा उच्च दक्षजनशक्ति र प्रविधि पनि उपलब्ध भए पनि अत्यावश्यकीय अत्याधुनिक भवनहरु नहुँदा अस्पतालले पर्याप्त सेवा दिन सकिरहेको देखिन्न । विशिष्ट रोगका निमित्त चाहिने अलग अलग वार्ड, बेड र स्वास्थ्य सेवक सेविकाहरुको पनि व्यवस्थापन हुनसकिरहेको लाग्दैन ।
छ ः सेवासुविधा । एमडी गर्दासम्म करोडौँ धनखर्च गरेर चिकित्सा शिक्षा हासिल गरेका चिकित्सकलाई त्यही किसिमको सेवा सुविधा र आवश्यक आवासीय सुविधा उपलब्ध गराउनुपर्ने हो त्यसो गर्न नसकिएपछि नै विशिष्टता हासिल गरेका दक्षजनशक्ति पलायन हुने क्रम रोकिएको छैन ।
यस्तो विषम परिवेशबाट गुज्रिरहेको नेपालको स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ र गुणस्तरीय तुल्याउन राज्यले नगरीकन नहुने नीतिगत, भौतिक सम्पन्नता, आर्थिक स्रोतको पर्याप्त उपलब्धता आदिसँग जोडिएका कार्य धेरै छन् गर्न । त्यसमा पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीगण, उच्चपदस्थ र धनाढ्य वर्ग उपचार गर्न विदेश गइदिंदा जेजति सुविधा छ यसैमा रहेर उच्च, विश्वसनीय र विशिष्ट सेवा दिइरहेका चिकित्सकहरुमाथि अन्याय भइरहेको स्थिति विद्यमान थियो । मान, सम्मान र आदर सत्कार र हौसला प्राप्त नभइरहेको स्थिति थियो । प्रधानमन्त्री ओलीले स्वदेशमै स्वदेशकै चिकित्सकहरुबाट उपचार लिएर यहाँका चिकित्सक सुविधासम्पन्न देशका कहलिएका अस्पतालमा कार्यरत चिकित्सकहरुभन्दा कम छैनन् भन्ने सन्देश प्रवाह भयो । जेहोस् उहाँ प्रधानमन्त्री भएपछि गर्नसकेका राम्रा र गर्न नसकेका कामहरुको विश्लेषण अरु नै लेखमा गरौँला । तर, उहाँले प्रधानमन्त्रीका हैसियतमा स्वदेशमै सेवा लिएर चिकित्सा क्षेत्रलाई हेर्ने दुनियाँको साँघुरो दृष्टिलाई फराकिलो पार्नमा भूमिका खेल्नुभयो । यसका लागि उहाँलाई साधुवाद भन्नैपर्छ ।
आज स्वदेशका चिकित्सकहरुको कद उचालिएको छ । स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा समेत उहाँहरु सक्षम र सुयोग्य रहनुभएको प्रमाणित भएको छ । सारा विश्वले नेपाली चिकित्सकहरुको सराहना गरे र नेपालको स्वास्थ्य क्षेत्र आत्मनिर्भर र स्वावलम्बी बनेछ भन्ने बुझे । अहिले चिकित्सक, प्रविधि र यहाँको सेवा अब उन्नत, सक्षम, चुस्त, सस्तो र भरपर्दो पनि रहेछ भन्ने सन्देश सर्वत्र फैलिएको छ । विराट् ज्ञान र परिपक्व अनुभव बोकेका स्वनामधन्य सफल चिकित्सकहरुको अब नेपालमा कमी छैन भन्ने तथ्य स्पष्ट भएको छ । हामीले विशिष्टीकृत अस्पताल र त्यहाँ कार्यरत चिकित्सक चयन गर्न सक्यौँ भने विदेशमा नाम कमाएका अस्पतालभन्दा नेपालको स्वास्थ्य सेवा कुनै पनि हिसाबले कम छैन । अब राज्यले स्वास्थ्यमा अझ थप कार्य गर्न कतिपय नयाँ रोग र त्यससँग मुकाबिला गर्न चिकित्सा विज्ञानमा विशारद प्राप्त गरेका विज्ञहरुको समूह बनाउने र अध्ययन अनुसन्धानमा जुट्ने वातावरण निर्माण गरिदिनु र त्यस्तै साधनस्रोतको उपलब्धता गराउनमा ध्यान केन्द्रित गर्नुपर्छ ।