logo
२०८१ मंसिर १३ बिहीवार



गुणस्तरीय शिक्षाका लागि स्तरीकृत परीक्षा

विचार/दृष्टिकोण |




डा. रामचन्द्र पाण्डे
शैक्षिक मूल्याङ्कनलाई खास स्तरको मापदण्डमा पु¥याई उच्च गुणस्तरयुक्त, उत्कृष्ट र सर्वस्वीकार्य गुण भएको परीक्षालाई नै स्तरीकृत परीक्षा मानिन्छ । यस्तो परीक्षामा निर्माण गरिने प्रश्नहरु विज्ञहरुद्वारा निर्माण, अङ्कन र परीक्षाफलको व्याख्याका सर्वमान्य आधारहरु अवलम्बन गरी तयार पारिएको हुन्छ । यस्तो परीक्षामा परीक्षणमा हुन सक्ने त्रुटि न्यूनीकरणका लागि परीक्षाको पूर्व परीक्षण गरिएको हुन्छ । परीक्षा सञ्चालन, अङ्कन, नतिजा विश्लेषण र व्याख्यामा एकरूपता समेत रहन्छ । त्यस्तै नतिजाको व्याख्यालाई परीक्षा दिने सम्पूर्ण विद्यार्थीको औसत उपलब्धिसँग तुलना गरेर हेरिन्छ । यसमा स्थापित सिद्धान्तहरुमा आधारित भई योजनाबद्ध र चरणबद्ध रूपमा परीक्षा सञ्चालन गरिन्छ । हाम्रो मुलुकमा अहिलेसम्म प्रचलित विद्यालय तथा विश्वविद्यालयका कुनै पनि परीक्षा यस्तो मान्यतामा आधारित छैनन् । नेपालमा सञ्चालित सबै परीक्षाहरु शिक्षक निर्मित परीक्षा हुन् ।
यसै वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डले परम्परागत रूपमा सञ्चालित परीक्षा प्रणालीलाई वैज्ञानिक रूपमा सुधार गर्ने कार्ययोजना अनुसार यसलाई क्रमशः लागु गर्दै जाने कार्यको थालनी गरेको छ । यस अन्तर्गत पहिलो चरणमा बोर्डले लिने माध्यमिक तहको परीक्षालाई स्तरीकृत गर्ने कार्यको सुरुवात गरेको छ । यो नेपालको परीक्षा प्रणालीमा सुधार ल्याउने कोसेढुङ्गाको रूपमा स्थापित हुने विश्वास गरिएको छ । यो प्रणाली पूर्ण रूपमा लागु भएपछि विद्यार्थीले नक्कल गर्ने कार्य बन्द हुनुको साथै उनीहरु पठनपाठनमा केन्द्रित हुने र शिक्षक पनि सिर्जनात्मक कार्यमा व्यस्त हुनेछन् । यसबाट परीक्षा प्रणालीमा सुधार ल्याई मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिनेछ । विश्व बजारमा उच्च तहको जनशक्तिको रूपमा नेपाली जनशक्ति क्रियाशील हुनेछन् भन्ने अपेक्षा पनि गर्न सकिन्छ । यसबाहेक परीक्षा प्रणालीमा आएको सुधारले शिक्षासँग सम्बन्धित अन्य पाटाहरु प्नि सुदृढ हुँदै जाने छ ।
वर्तमान अभ्यास
बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गर्न पाठ्यक्रममा आधारित भई विषय विज्ञहरुबाट प्रश्न तयार गरी मूल्याङ्कनका स्थापित मूल्य, मान्यता र मापदण्डमा आधारित परीक्षा प्रणाली आगामी वर्ष २०७७ (सन् २०२१) बाट सुरु हुने गरी आवश्यक गृहकार्यका साथ तयारी गरिरहेको छ । यसलाई सुरुमा कक्षा १० को अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा लागु गर्ने र क्रमशः अन्य सबै विषयहरुमा लागु गर्ने लक्ष्य बोर्डले राखेको छ ।
स्तरीकृत परीक्षाको तयारीका क्रममा बोर्डले सन् २०१९ देखि विषय विज्ञबाट माध्यमिक तहका अग्रज एवं तालिम प्राप्त शिक्षकहरु छनौट गरी सातै प्रदेशमा दुई पटकमा चार दिने र तीन दिने कार्यशाला सञ्चालन गरेको थियो । बोर्डले सन् २०२० मा कक्षा १० को अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयहरुको ३०÷३० सेट स्तरीकृत प्रश्न निर्माण गरी परीक्षा परीक्षण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ । ती परीक्षण भएका प्रश्नहरु विश्लेषण गरी भण्डारण गर्ने कार्य प्रारम्भ भइसकेको छ । साथै सन् २०२० मा नै जिल्लागत रूपमा स्तरीकृत परीक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र बोर्डले समेट्न नसकेका स्थानहरुमा बोर्डबाट विज्ञ उपलब्ध गराई स्थानीय तहको सहयोग समेत लिई कार्य सम्पन्न गरिने छ । यसै आर्थिक वर्षमा कक्षा १० का अन्य विषयहरुको र आगामी वर्ष कक्षा ११ र १२ को परीक्षालाई समेत स्तरीकृत गर्न बोर्ड लागिपरेको छ । विज्ञहरुको संलग्नतामा परीक्षा सञ्चालन, अङ्कन र नतिजाको व्याख्या हुँदा यस्तो परीक्षालाई सामूहिक प्रयासबाट निर्मित परीक्षा भन्न सकिन्छ । यस परीक्षा पूर्व परीक्षित, स्पष्ट निर्देशन भएको र परीक्षाको व्याख्याका आधारहरु तय भएको हुन्छ ।
परीक्षण योजना
परीक्षण योजना निर्माण गर्दा पाठ्यक्रमले निर्धारण गरेका विषय क्षेत्र÷मापन गर्नुपर्ने क्षेत्र, पाठ्यभार, शैक्षिक उद्देश्य, सिकाइ र उपलब्धिका क्षेत्रहरु, प्रश्नहरुको किसिम र सङ्ख्या, प्रत्येक प्रश्नका लागि अङ्क विभाजन, समय विभाजन, मनोवैज्ञानिक पक्ष समेटिएको हुन्छ । स्तरीकृत प्रश्नहरुलाई पूर्वपरीक्षण गर्दा प्रदेश÷जिल्ला÷स्थानीय तहको संख्या निर्धारण, विद्यालय छनौटका आधार, विद्यालय छनौटको जानकारी, परीक्षाको मिति र स्थान निर्धारण गरिएको हुन्छ । तत्पश्चात् कार्यशाला सञ्चालन गरिन्छ । प्रश्न निर्माण कार्यशालामा सहभागी, समय अवधि, विषयहरु, प्रश्नका प्रकार, तह, संख्या, सेट समेत राखी कार्यशाला सञ्चालन गरिन्छ । प्रश्नहरुको पूर्व परीक्षणको लागि संख्या निर्धारण, विद्यालय छनौट, परीक्षामा सहभागी को को भन्ने किटान समेत गर्ने गरिन्छ । ती प्रश्नहरुको विश्लेषण भने अनुसन्धान महाशाखाको सहयोगमा परीक्षा नियन्त्रण कार्यालयले गर्दछ । उक्त प्रश्नहरुको अन्तिमीकरण परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय कार्यालय र प्रदेश कार्यालय वा शाखा कार्यालयबाट हुन्छ । यस क्रममा प्रश्न निर्माणसँगै उत्तर कुञ्जिका समेत विकास गरिन्छ । प्रश्न निर्माण गर्दा शिक्षक तालिम÷कार्यशाला, प्रश्न लेखन तथा उत्तरकुञ्जिका निर्माण, प्रश्न मिलान, प्रश्नको पुनरावलोकन र सम्पादन, पूर्व परीक्षण, परीक्षा सञ्चालन÷परीक्षण, परीक्षाको अङ्कन र प्रश्न विश्लेषण÷मूल्यांकन जस्ता चरणहरु अनिवार्य रूपमा अपनाइन्छ ।
स्तरीकृत परीक्षाको लागि विषय विज्ञहरुबाट निर्माण भएका प्रश्नहरुको पूर्व परीक्षण गरिन्छ र पूर्व परीक्षणको आधारमा प्रश्नहरुको विश्लेषण र सुधार गरिन्छ । यसरी निर्माण गरिएका प्रश्नहरुलाइ बैङ्क भण्डारणको व्यवस्था हुन्छ । भण्डारबाट आवश्यकता अनुसार परीक्षाको लागि झिकिन्छ । ती झिकिएका प्रश्नहरु कम्तीमा पाँच वर्ष नदोहोरिने गरी बोर्डले व्यवस्था मिलाएको छ । जसले गर्दा विद्यार्थीहरु पुराना प्रश्नहरु, गाइड, गेस पेपरमा निर्भर हुन पाउँदैनन् । यस व्यवस्थाको कार्यान्वयनपछि नेपालको परीक्षा प्रणालीमा आमूल परिवर्तन आउनुका साथै यहाँको परीक्षा प्रणालीलाई अन्तरराष्ट्रिय स्तर र गुणस्तरीय बनाउन सकिने कुरामा पूर्ण विश्वास गरिएको छ ।
परीक्षा सञ्चालन
बोर्डले आवश्यकताअनुसार विज्ञ छनौट र परिचालन गरी सूचना प्रकाशन, निवेदन संकलन र सूची प्रकाशन गर्नेछ । विज्ञहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ । विज्ञहरु गोपनीयता, पेसागत आचरणलाई प्राथमिकता दिने र प्रविधिमैत्री समेत हुनुपर्नेछ । विज्ञहरुद्वारा कार्यशाला सञ्चालन, स्थलगत कार्य र अनुगमन तथा उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गराइन्छ । उच्च योग्यता र अनुभव भएका सम्बन्धित विषयका विज्ञहरु समेत रहने गरी प्रश्नपत्र निर्माण लगायतका प्राविधिक कार्यहरु गर्नका लागि कार्य दल वा विज्ञ समूह क्रियाशिल हुने गर्दछ । कक्षा ८ को परीक्षा सञ्चालनमा सम्बन्धित स्थानीय तहको परीक्षा हेर्ने निकायले, कक्षा १० को परीक्षा सञ्चालन प्रदेशको परीक्षासम्बन्धी कार्य गर्ने निकायले र कक्षा १२ को हकमा राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ । स्तरीकृत परीक्षा सञ्चालनका लागि आवश्यक भएमा स्थानीय तह तथा प्रदेश सरकारले राष्ट्रिय परीक्षा बोर्डबाट प्राविधिक सहयोग प्राप्त गर्न सक्नेछन् । परीक्षा सञ्चालनको लागि समिति तथा कार्यदलको गठन, परिचालन गर्न विषयगत समिति, विषयगत कार्यदल, समन्वय तथा सहजीकरण समिति, प्रदेश स्तरमा रहने समिति÷संयन्त्र, जिल्ला स्तरमा रहने समिति÷संयन्त्र, स्थानीय तहमा रहने समिति÷संयन्त्र निर्माण गरिन्छ । साथै बोर्डले परीक्षण योजना, परीक्षणकालागि मानक र मापदण्ड निर्धारण, सामग्री तयारी र विकास, जनशक्ति परिचालन योजना, अभिमुखीकरण, जस्ता कार्यहरु सञ्चालन गर्नेछ । परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्र छनौट, संख्या, स्थान, भौगोलिक सूचना प्रणालीलाई आधार मानिन्छ । परीक्षणका लागि विज्ञहरु, बोर्ड र केन्द्रका पदाधिकारी र कर्मचारी तथा शिक्षकहरु परिचालन गर्नुका साथै परीक्षणको अनुगमन गरी प्रतिवेदन तयार गरिन्छ । उतरपुस्तिकाको परीक्षण र अङ्कन परीक्षा सकिएको एक हप्ताभित्र सुरु हुनेछ । परीक्षाको नतिजा प्रकाशन परीक्षा सकिएको दुई महिनाभित्र भैसक्नेछ । नतिजाको विश्लेषण र पृष्ठपोषण अनुसन्धान महाशाखाबाट कार्यशाला, गोष्ठि र अनुसन्धानमार्फत गरी प्रतिवेदन तयार हुनेछ ।
निकायगत जिम्मेवारी
स्तरीकृत परीक्षालाई वैज्ञानिक, चुस्त र दुरुस्त राख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिनेछ । बोर्डले परीक्षा व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्दछ । पाठ्यव्रmम विकास केन्द्रले समय सापेक्ष स्तरीकृत ‘ग्रिड’ निर्माण गर्दछ । समय समयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परीक्षा अनुगमन गरी सुझाब तथा पृष्ठपोषण प्रदान गर्नेछ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले परीक्षणको आधारमा सुझाब प्रदान गर्न सक्नेछ । प्रदेश तहका सामाजिक विकास मन्त्रालयले परीक्षा व्यवस्थापन तथा सञ्चालनमा सहयोग पु¥याउनेछ भने शिक्षा विकास निर्देशनालयले अनुगमन तथा पृष्ठपोषण दिइनेछ । शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा सञ्चालनमा समन्वय गर्नेछ । स्थानीय तहले परीक्षा सञ्चालनमा समन्वय गर्ने गर्दछ भने विद्यालयले परीक्षा सञ्चालन गर्नेछ ।
उपसंहार
स्तरीकृत परीक्षामा निर्माण गरिएका प्रश्नहरु वैध र विश्वसनीय हुन्छन् । वैद्यता कायम गर्न पूर्वपरीक्षण गरिएका प्रश्नपत्रहरुको प्रयोग गरी परीक्षा सञ्चालन गरिन्छ । विद्यार्थीको क्षमताको स्तर निर्धारण गर्न, उपलब्धिको स्तर प्रमाणीकरण गर्न, शैक्षिक कार्यक्रमहरुको गुणस्तर कायमका साथै नियन्त्रण गर्न,निर्माणात्मक तथा निर्णयात्मक प्रयोजन अपनाउन मनोवैज्ञानिक पक्षसँग सम्बन्धित समस्याहरु समाधान गर्न, शैक्षिक कार्यक्रमहरुको प्रभावकारी मूल्याङ्कन गर्न, पाठ्यक्रम निर्माण तथा परिमार्जनको लागि सुझाब प्रदान गर्न, अनुसन्धानात्मक कार्यलाई प्राथमिकतामा राखी अगाडि बढाउन स्तरीकृत परीक्षा प्रणालीको महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ । समग्रमा स्तरीकृत परीक्षा प्रणालीले शिक्षाको गुणस्तरमा अपेक्षित सुधार ल्याई देश विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने देखिन्छ ।
(लेखक राष्ट्रिय परीक्षा बोर्ड, अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखा प्रमुख हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?