logo
२०८१ मंसिर १३ बिहीवार



प्रदेश दुईको उपहार आँपजोन

विचार/दृष्टिकोण |




सन्तोष बराइली

सप्तरीका आँप किसानलाई आजभोलि भ्याइनभ्याई छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यहाँको आँप युरोप, अमेरिकालगायत तेस्रो मुलुकमा निर्यात गर्ने वातावरण सिर्जना गरिदिएपछि सप्तरीका हजारौँ किसान अहिले आँप उत्पादनमा मिहिनेत गरिरहेका छन् । प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तर्गत ओली सरकारले आँपजोन परियोजना सञ्चालनमा ल्याएपछि आँप किसान हौसिएका मात्रै छैनन्, आँपको सामूहिक खेती सुरु गरेका छन् । सप्तरीको राजविराज, सुरुङ्गा, खडक, शम्भुनाथ नगरपालिका र रूपनी, बालान बिहुल र अग्निसाइर कृष्णासावरण गाउँपालिकामा अहिले आँपजोन (क्षेत्र) सञ्चालन छन् । भावी दिनमा प्रदेशका आठै जिल्लामा आँपजोन सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।
नेपालका करिब दुईतिहाइ जनसङ्ख्या रोजगारी तथा जीविकोपार्जनका लागि कृषिक्षेत्रमा निर्भर छन् । यस क्षेत्रको कुल गार्हस्थ उत्पादनमा करिब ३२.५ प्रतिशत योगदान रहेको आर्थिक सर्वेक्षण २०१५ मा उल्लेख छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार नेपालको कृषि उत्पादन सामग्रीको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषिउपज उत्पादनमा यान्त्रीकरण अवलम्बन गर्न नसक्नु र कृषि विकासका लागि आवश्यक सिँचाइ, सडक, ग्रामीण विद्युतीकरण, कृषि उद्योगसँगको समन्वयको अभाव रहँदै आएको छ । बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई पूर्ण व्यवसायको रूपमा नभई परम्परागत रूपमा मात्र अवलम्बन गरिँदै आएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएर कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषिउपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरिदिने भएपछि किसान उत्साही बनेका हुन् । कृषिक्षेत्रको समग्र आधुनिकीकरणको प्रक्रियालाई तीव्र पार्दै बाह्य परिवेशसँग सामञ्जस्य ल्याउन आधुनिक कृषिका विभिन्न आयामलाई यस परियोजनामा समावेश गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजना आर्थिक बर्ष २०७३÷७४ बाट कार्यन्वयनमा आए पनि सप्तरीमा यस परियोजना अन्तर्गतको आँपजोन केही समय अघिबाट सञ्चालनमा आएको हो ।
सप्तरी जिल्लामा आँप खेतीको ब्यवसायिक उत्पादन तथा प्रशोधन केन्द्र विकास गर्न सुरुङ्गा नगरपालिकाका दौलतपुर, मधुपट्टी, कुशाहा, श्रीपुर र हरिपुरमा आँपजोन सुरु गरिएका छन् । त्यस्तै, बलान बिहुल गाउँपालिका अन्तर्गतको वडा १ र २, अग्निसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गत हरिहरपुरका तीन क्षेत्रका २४ वटा कृषक समूह र कृषि सहकारीमा आबद्ध सात हजार ६०२ घरधुरी आँपजोन कार्यक्रममा सहभागी छन् । सप्तरीको ८७० हेक्टर जग्गामा आँपजोन अन्तर्गत सामूहिक आँपखेती सुरु गरिएको छ ।
आँपजोनले कृषिक्षेत्रको आधुनिकीकरणमा योगदान पु¥याउने गरी आँप उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, जोन क्षेत्रमा कृषि यान्त्रीकरण, कृषि पूर्वाधार विकास व्यवसायीकरण प्रवद्र्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने तथा क्षेत्रमा रोजगारीको सिर्जना गर्ने उद्देश्य राखेको छ ।
अनुदानमा सहयोग
आँप जोनमा सहभागी आँप किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मलदेखि बीउसम्म र आधुनिक प्रविधिदेखि भण्डारण गर्न अनुदानको व्यवस्था छ । आँपजोन क्षेत्रमा रासायनिक तथा प्राङ्गारिक मल, उन्नत तथा हाइब्रिड बिरुवा वितरण, रासायिक एवं जैविक विषादीलगायतका उत्पादन सामग्रीमा तोकिए बमोजिम अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । आँपको व्यावसायिक उत्पादनका लागि प्राथमिक प्रशोधन केन्द्र, गोदाम घर, ग्रेडिङलगायतका उत्पादनोपरान्त आवश्यक पूर्वाधार रहेको पोष्ट हार्भेष्ट सेन्टरको निर्माण प्रक्रिया सुरु गरिँदैछ । आँप उत्पादका लागि यान्त्रीकरण प्रवद्र्धन, उत्पादनदेखि बजारीकरणसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण मेशनरी औजार उपकरणको सेटसहितको सेवा उपलब्ध गराउन पुँजीगत अनुदानको पनि व्यवस्था छ । पूर्वाधार विकास सहयोगतर्फ लिफ्ट, डिप तथा स्यालो ट्यूबेल जडान, सिँचाइ कुलो मर्मत तथा सुधार अनि आवश्यक कृषि पूर्वाधारलगायतमा परियोजनाले सहयोग गर्दै आएको छ ।
आँप बाहिरियो
आँपजोन परियोजनामा आबद्ध किसान दैनिक सञ्चालन हुने विभिन्न कार्यक्रम, भ्रमणमा सहभागी भएर आँप खेतीबारे नयाँ कुरा जान्न र सिक्न पाएकामा दङ्ग मात्रै छैनन्, आँप उत्पादनमा हौसिएका छन् । यस परियोजनाले सञ्चालन गरेका विभिन्न क्रियाकलापबाट आँपजोन परियोजनामा आबद्ध किसान र कृषक समूहको क्षमता एवं संस्थागत विकास भएको छ । समूह व्यवस्थापन तथा सञ्चालन, समूहस्तरमा बैठक निर्णय प्रक्रिया, आवेदन पेश गर्न, बचत सङ्कलन तथा परिचालन गर्न आँप किसान सक्षम छन् । आँपजोनमा आबद्ध ११ ओटा सहकारीले व्यावसायिक रूपमा आँप उत्पादन गरी विदेशमा निर्यात पनि गर्न थालिसकेका छन् ।
आँपखेतीमा परम्परागत पद्धति एवं रैथाने जातको तुलनामा उन्नत आँपखेतीको विस्तार बढेको छ । यस वर्षमात्र करिब छ सय हेक्टरभन्दा बढी क्षेत्रमा उन्नत जातका मालदह, अम्रपाली, दशहरी, कलकत्तिया, बम्बई जातका आँप करिब ११.०८ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भयो । सञ्चालित आँपजोनका कारण गुणस्तरीय आँप उत्पादनमा वृद्धि भई सप्तरीलाई आवश्यक पर्ने करिब दश हजार मेट्रिक टन आँप उत्पादन भई थप दश हजार मेट्रिक टन निर्यात भएको छ । विदेश निर्यात आँपबाट मात्रै यस वर्ष किसानले सामूहिक रूपमा पाँच करोड रुपियाँ नाफा गरेका छन् । पाँच सयभन्दा बढीले आँपजोनमा रोजगारी पाएका छन् ।
नियमन जरुरी
सरकारको खर्चअनुसार आँपजोनले अपेक्षाकृत फड्को मार्न सकेको छैन । आँपजोन सञ्चालनमा आए देखिको दुई आर्थिक वर्षमा मात्र दुई करोड २८ लाख रुपियाँ खर्च भएको छ । लागतअनुसार आँपजोनको विकास हुन सक्यो, सकेन सरकारले नियमन गर्न जरुरी छ । व्यावसायिक रूपमा आँप खेती गरेर स्वदेशी आँपलाई विदेशमा बेच्ने सरकारको लक्ष्यअनुरूप काम पनि भइरहेको छ, छैन ? प्रदेश २ को आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने आँपजोनलाई पारदर्शी बनाउँदै अझ व्यवस्थित र व्यावसायिक बनाउनु सरकारको दायित्व हो ।
(लेखक पत्रकार हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?