logo
२०८१ मंसिर १३ बिहीवार



कोरोनाको विश्वव्यापी महामारी

विचार/दृष्टिकोण |





डा. झलक गौतम

गत वर्ष २०१९ डिसेम्बर ३१ मा छिमेकी देश चीनको वुहानमा देखा परेको कोरोना भाइरस (कोभिड–१९ ) अहिलेसम्म संसारभर फैलिइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले आधिकारिक रूपमा यसको सङ्क्रमण र महामारीलाई प्याण्डेमिक (विश्वव्यापी महामारी) भनेर घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको यो घोषणाले कोरोना भाइरसको सङ्क्रमण जनस्वास्थ्यका लागि संसारभर चुनौतीका रूपमा फैलिएको छ । जसबाट अझ धेरै मानवीय क्षति बेहोर्नु पर्ने हुनसक्छ । सबै मुलुकहरूले अत्यन्तै संवेदनशील भएर कोरोना भाइरसको सङ्क्रमणलाई नफैलियोस् भनी सतर्कता अपनाउनु पर्ने भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एधनम घेक्रेयससले ‘कोभिड–१९’ जनस्वास्थ्यका लागि मात्रै सङ्कट होइन, यो सबै क्षेत्रका लागि सङ्कट हो, भन्नुभएको छ । र, उहाँले प्रत्येक क्षेत्र (राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा आदि) र प्रत्येक व्यक्ति मिलेर यो सङ्कटको सामना गर्नुपर्ने बताउनुभएको छ ।
प्यान्डेमिक भन्नाले नयाँ रोग÷भाइरस हो, जसले व्यक्तिहरूमा सजिलै सङ्क्रमित गराउँछ र व्यक्तिबाट व्यक्तिमा सजिलै र निरन्तर किसिमले सर्दछ । यो घोषणाले यस रोगको जटिलतालाई भन्दा पनि सर्ने÷फैलिने तरिकालाई सम्बोधन गरेको छ । नयाँ रोग संसारभर फैलिनुलाई प्यान्डेमिक÷विश्वव्यापी महामारी भनिन्छ । विश्वव्यापी महामारीमा रोगको सङ्क्रमण निश्चित देश वा भूगोलमा मात्रै सीमित नरही महादेश र संसारभर निश्चित अवधिभित्र फैलिन्छ । यस्ता नयाँ रोगविरुद्ध लड्न सक्ने क्षमता व्यक्तिहरूमा बनिसकेको हुँदैन । त्यसकारण यो सजिलै व्यक्तिबाट व्यक्तिमा सर्दछ र जटिलता उत्पन्न भई मानवीय क्षति गराउन सक्छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसबाट सङ्क्रमण भई हुने रोेग कोरोना भाइरस डिजिज (कोभिड–१९)लाई विश्वव्यापी महामारीका रूपमा घोषणा गर्नका लागि निम्न आधारहरू लिएको देखिन्छ ।
१. संसारभर १२० भन्दा बढी देशमा पैmलिएको, एक लाखभन्दा बढी मानिस सङ्क्रमित भएको र चार हजारभन्दा बढीको मृत्यु भएको ।
२. कोरोना भाइरस निरन्तर रूपमा व्यक्तिबाट व्यक्तिमा सजिलै सर्दै गएको ।
३. कोरोनाले मानिसलाई बिरामी पारेको र त्यसका कारण मृत्यु भएको ।
कोरोना भाइरसजस्तै विभिन्न समय क्रममा विभिन्न रोगको विश्वव्यापी महामारी देखिएको छ ।
१ प्लेगको महामारी– यस महामारीले करोडौँ मानिसको मृत्यु भएको (ईसा पूर्वदेखि विभिन्न अवधिमा) । विभिन्न देशमा मुसामा पाइने उपियाँबाट मान्छेमा सरेको एर्सिनिया पेस्टिज नामक जीवाणुबाट विश्वव्यापी महामारी फैलिएको हो ।
२ हैजाको महामारी– विभिन्न समयमा हैजाका जीवाणुका कारण संसारभरका लाखौँ मानिसको मृत्यु ।
३. बिफरको महामारी– यसले संसारभरका करोडौँ मानिसलाई बिरामी पारी अङ्गभङ्ग र मृत्युसमेत गराएको । हाल यो रोग खोपका कारण उन्मूलन भएको छ ।
४. स्पेनिस फ्लु– सन् १९१८ तिर स्पेनिस फ्लु नामक एचवानएनवान भाइरसले करोडौँ मानिसमा सङ्क्रमण गरी मृत्यु गराएको ।
५. एसियन फ्लु– सन् १९५७–१९५८ मा एसियन फ्लु नामक एचटुएनटु भाइरसका कारण संसारभरका २० लाखभन्दा बढी मानिसको मृत्यु भएको ।
६. हङ्कङ फ्लु– सन् १९६८ देखि १९६९ मा हङ्कङ फ्लु नामक एचथ्रीएनटु भाइरसका कारण करिब १० लाख मानिसको मृत्यु भएको अनुमान छ ।
७. स्वाइन फ्लु– सन् २००९ देखि २०१० सम्म फैलिएको स्वाइन फ्लु नामक एचवानएनवान भाइरसका कारण लाखौँ मानिसको मृत्यु ।
८. दादुराको महामारी– दादुरा भाइरसको महामारीका कारण करिब चार करोड मानिस प्रभावित भए जसमध्ये सात लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । खोपका कारण हाल यो रोग निवारण गर्न सकिने भएको छ ।
माथि उल्लेख गरिएका केही महामारीका उदाहरण हुन् । जसबाट हामीले सहजै अनुमान गर्न सकिन्छ कि मानव समुदायले विभिन्न कालखण्डमा विभिन्न जीवाणु र विषाणुसँग लड्दै त्यसलाई विभिन्न उपाय अपनाएर मानव अस्तित्व रक्षा र सुरक्षा गर्दै आइरहेको छ ।
के भनिन्छ भने संसारमा ठूला ठूला युद्धले भन्दा ठूलो जनधनको क्षति जीवाणु र विषाणुबाट हुने महामारीका कारण भएको छ । समयमै सचेत भई व्यवस्थापन गर्न सकिएन भने यस्ता महामारी पटकपटक देखिन पनि सक्छन् । हामी विभिन्न किसिमका भाइरस, ब्याक्टेरिया, परजीवी र ढुसीले घेरिएर रहेका छौँ ।

महामारी नियन्त्रणका उपाय

१ औषधिजन्य वस्तुको प्रयोगबिना नियन्त्रण
(क) प्रत्येक दिन गरिने व्यक्तिगत सुरक्षाका उपाय
बिरामी वा व्यक्तिलाई स्वेच्छिक रूपमा घरपरिवारभित्रै राख्ने÷अलगबास । नाक, मुख वा शरीर ढाकिने गरी सामानको प्रयोग गर्ने । जस्तै– मास्क, पन्जा, चस्मा, गाउन, एप्रोन, जुत्ता आदि आवश्यकता र अवस्था अनुसार प्रयोग गर्ने । उचित तरिकाले प्रयोग गरिएका सामानको विसर्जन गर्ने । हाछ्युँ वा खोक्दा मुख, नाक छोप्ने । सङ्क्रमणको प्रमुख माध्यम हात भएकाले नियमित रूपमा हात धुने ।
(ख) समुदाय सुरक्षाका उपाय
व्यक्ति व्यक्तिबीचमा दूरी कायम गर्ने, एकापसमा हुने भेटघाट र सम्पर्कलाई बन्द गर्ने । जस्तै– विद्यालय कलकारखाना, यातायात र कार्यालय बन्द गर्ने, कुनै पनि भेला समारोह नगर्ने । व्यक्तिहरूका बीचमा कुराकानी गर्दा पनि कम्तीमा तीन फिट वा एक मिटरको दूरी कायम गर्ने वा अवस्था हेरी बिरामी भए अलगबास वा क्वारेन्टाइनमा राख्ने ।
(ग) वातावरणीय सुरक्षाका उपाय
नियमित रूपमा घर कोठाका सतह, यातायातका साधन र प्रयोगमा आएका वा आउन सक्ने उपकरणहरू जसलाई छोइएको छ, तिनलाई नियमित सफा गर्ने ।

२. औषधिजन्य पदार्थको प्रयोग गरी नियन्त्रण
(क) प्रतिजैविक औषधिको प्रयोग आवश्यकता अनुसार गर्ने )
(ख) खोपजन्य वस्तुको प्रयोग सम्बन्धित महामारीविरुद्ध खोप पत्ता लागेको भए त्यसको प्रयोग गर्ने ।
(ग) जटिलता अनुसारको आवश्यक उपचार र व्यवस्थापन गर्ने । समुदाय वा व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउँदा राज्यले व्यक्ति र समुदायलाई प्रत्येक चरण (तयारी, कार्यान्वयन र नियन्त्रण) मा सुसूचित गर्नुपर्ने हुन्छ । यी उपाय अपनाउँदा रोग फैलाउने जीवाणु वा विषाणुको फैलावटलाई नियन्त्रण गर्न सकिन्छ ।
३. अन्य उपाय– वातावरणीय सरसफाइ, पोषणमा सुधार, सही सूचना सम्प्रेषणका कार्य महामारी नियन्त्रणका लागि सहयोगी हुन सक्छन् ।

४. विश्वव्यापी महामारीले जनस्वास्थ्य र स्वास्थ्य सेवा प्रणालीमा राज्यस्तरबाट सामान्य अवस्थामा भन्दा फरक उत्कृष्ट किसिमको व्यवस्थापनको माग गर्दछ । महामारीलाई रोक्न, पैmलावटलाई कम गर्न बिरामी हुन र मृत्युबाट जोगाउन तथा समाज नियमित चल्न, राज्यको आर्थिक र सामाजिक अवस्था धराशयी हुनबाट जोगाउन राज्यका सबै संयन्त्रहरू प्रयोग गर्नुपर्ने हुन्छ । कोरोनाको महामारीले कुनै पनि धर्म, जाति, क्षेत्र, उमेर, लिङ्ग, गरिब, धनी भन्दैन । जसलाई जतिबेला पनि लाग्नसक्छ भनी सोही अनुसार तयारी र सचेतना आवश्यक पर्छ । नेपाल सरकारले यस भाइरसको महामारी नियन्त्रणका लागि निम्न रणनीतिहरू अपनाएर पूर्वतयारी गरेको देखिन्छ–

१ पहुँच वा प्रवेश बिन्दुमा नियन्त्रण

हवाई वा स्थलमार्गबाट शङ्कास्पद बिरामी प्रवेश गर्न नपाउन् भनी ४३ स्थानमा हेल्थ डेस्क राखिएको । कोरोनाको सङ्क्रमण नलागेको प्रमाणपत्र पेस गर्नुपर्ने । प्रभावित देशबाट आएका व्यक्तिहरू १४ दिनसम्म क्वारेन्टाइन (स्वेच्छिक वा सामूहिक)मा बस्नुपर्ने । हवाई यातायात वा नाका बन्द गर्ने । पशु वा वनस्पतिजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाउने जस्ता कदम चालेका देखिन्छ ।

२ जनचेतना र सही सूचना दिने

जनतालाई गलत सूचना प्रवाहका कारण हुने पीडाबाट जोगाउन सन्देश प्रवाह गरेको देखिन्छ ।

३ निगरानी र पत्ता लगाउने

प्रभावकारी निगरानी प्रणालीले मानिसको जीवन रक्षा गर्नसक्ने भएकाले सरकारले यो प्रणालीलाई गम्भीरतापूर्वक अपनाएको देखिन्छ । शङ्कास्पद बिरामीको खोजी गर्ने र प्रयोगशाला जाँच गर्ने प्रणालीको विकास गरेको देखिन्छ ।

४ बिरामीको व्यवस्थापन

बिरामीको व्यवस्थापनका लागि आपत्कालीन योजना बनाउने, अस्पताल, शøया र भेन्टिलेटरको व्यवस्था, स्वास्थ्यकर्मीका लागि तालिम र सुरक्षा सामग्रीको सञ्चिती वा व्यवस्था गरेको देखिन्छ ।

५ समन्वय र सहकार्य

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका सम्बन्धित व्यक्ति र संस्थासँग सहकार्य गरेको देखिन्छ । उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको गठन, सर्वदलीय बैठक र सहमति, विश्व स्वास्थ्य सङ्गठनलगायत अन्तर्राष्ट्रिय संस्थाहरूसँग नियमित छलफल र सूचना आदानप्रदान तथा अन्तरमन्त्रालय समन्वय गरेको देखिन्छ ।
कोरोना भाइरसको सङ्क्रमण भइसकेपछि ज्वरो आउने, सुक्खा खोकी लाग्ने, श्वास फेर्न कठिन हुने, छाती दुख्ने, शरीर दुख्ने, थकान महसुस हुने र सामान्य नाकबाट पानी बग्ने लक्षणहरू देखा पर्छन् । अहिलेसम्मको अध्ययनबाट करिब तीन प्रतिशत मृत्युदर देखिएको छ । यो तथ्याङ्क पनि स्थान र उमेर अनुसार फरक पर्छ । खासगरी वृद्धवृद्धाहरू, मुटुका रोगी, मधुमेह, फोक्सोका दीर्घ रोगीहरू, उच्च रक्तचाप र क्यान्सरका रोगी, धूमपान गर्नेहरूलाई बढी असर गरेको देखिएको छ । सङ्क्रमितमध्ये ८० प्रतिशत जतिलाई विशेष उपचारको आवश्यकता पर्दैन । उनीहरूको अवस्था सामान्य रहेको देखिएको छ भने २० प्रतिशतलाई अस्पतालको विभिन्न तहको उपचार आवश्यक पर्न सक्छ । यस रोगको उपचारका लागि खास औषधि र खोप पत्ता लागिसकेको छैन । त्यसैले नआत्तिकन आपूm र अरूलाई पनि जोगाउन नियमित रूपमा साबुन पानीले हात धुने, हाछ्युँ गर्दा नाक र मुख छोप्ने, ज्वरोसहितको रुघाखोकी लागेमा स्वास्थ्यकर्मीको सल्लाह लिने, रुघाखोकीको लक्षण देखिएकाहरूको सम्पर्कबाट टाढा रहने, अनावश्यक भीडभाडमा नजाने, बिनाकाम घरबाट ननिस्कने, पोषिलो खानेकुरा खाने, अनावश्यक रूपमा हातले नाक, मुख र आँखा नछुने, राज्यले दिएका निर्देशनहरू पालना गरेमा सङ्क्रमण र जटिलताबाट जोगिन सकिन्छ ।
अन्त्यमा सङ्कटमा व्यक्ति र परिवार जोगाउने दायित्व राज्यको मात्र नभएर प्रत्येक असल नागरिकको हो भन्ने कुरा सबैले बुभ्mन आवश्यक छ ।

(लेखक स्वास्थ्य सेवा विभाग, टेकुका जनस्वास्थ्य विज्ञ हुनुहुन्छ । ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?