logo
२०८१ मंसिर १३ बिहीवार



ओलीप्रतिको मोदी–सी विश्वास

विचार/दृष्टिकोण |





गोपाल खनाल

जसरी हँसिलो मुद्रामा फागुन १९ प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल प्रवेश गर्नुभएको थियो, १२ दिनपछि त्यही हँसिलो मुद्रामा शुक्रबार बाहिरिनुभयो । चिकित्सकीय भाषामा प्रत्यारोपणका लागि भर्ना हुनुभएका प्रधानमन्त्री सफल प्रत्यारोपण र पूर्ण स्वास्थ्यलाभपछि फागुन ३० मा डिस्चार्ज हुनुभयो । उहाँले चिकित्सकप्रति आभार र सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले भनेजस्तै छिट्टै नियमित काममा फर्कनुहुनेछ, जसको प्रतीक्षामा आमनागरिक छन् ।
यस आलेखमा उठाउन खोजेको विषय प्रधानमन्त्रीको स्वास्थ्यभन्दा पनि ओलीले निर्माण गरेको बलियो आधारको हो, जसप्रति नागरिकको विश्वास त छ नै, छिमेकी र अन्तर्राष्ट्रिय समुदायको समेत चासो र विश्वास छ । ती विश्वास विभिन्न रूपमा सार्वजनिक भइरहेका छन् । प्रधानमन्त्री ओली अस्पताल भर्ना भएको दिन फागुन १९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश ट्वीटमार्फत आयो । उहाँले स्वास्थ्यलाभको कामना गर्नुभयो र सँगै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मिलेर काम गर्न तयार रहेको बताउनुभयो । उक्त शुभकामना शिष्टाचारवशमात्र आएको थिएन, त्यसमा बदलिँदो विश्वशक्ति सन्तुलन अनुरूप दुई प्रधानमन्त्रीद्वारा कोरिएको द्विपक्षीय सम्बन्धको मार्गचित्र विम्बित थियो । उक्त ट्वीटमा प्रयुक्त भाषाको प्रशंसा गर्दै यसले नजिकको मित्रताको चित्रण गरेको जवाफ प्रधानमन्त्री ओलीले दिनुभयो । उहाँले पनि नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाउनुभयो । अर्थात् दुवै प्रधानमन्त्रीले थालेको सम्बन्ध सुधारको यात्रालाई नयाँ गति दिने प्रतिबद्धताको साटासाट भयो ।
मोदीपछि अस्पतालमै रहँदा फागुन २४ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि शीघ्र स्वास्थ्यलाभको शुभकामना पठाउनुभयो, जसमा पनि चीन–नेपाल सम्बन्धलाई असल मित्र र साझेदारका रूपमा अघि बढाउन चाहेको उल्लेख थियो । सन्देशमा सीले भन्नुभएको थियो, ‘दुई देश र पार्टीलाई अघि बढाउन, विभिन्न क्षेत्रमा रहेको सम्बन्धलाई थप गाढा बनाउन र दुवै देशका जनतालाई थप लाभान्वित बनाउन म तपाईंसँग मिलेर काम गर्न इच्छुक छु ।’
भूपरिवेष्टित नेपाललाई भूजडित बनाउने ओली सपनालाई यथार्थमा रूपान्तरण गर्न सहयोग गर्नुभएका राष्ट्रपति सीको शुभकामना पनि शिष्टाचारको अङ्गमात्र थिएन, त्यसमा काठमाडाँंै–बेइजिङले देखेको परिवर्तित विश्व व्यवस्थाभित्रको द्विपक्षीय मार्गचित्र थियो । राष्ट्र र सरकारप्रमुखबाट आउने हरेक सन्देशका विशेष अर्थ हुन्छन् र ती त्यत्तिकै व्यक्त हुँदैनन् । ती सबैका हकमा आउँदैनन् पनि । प्रधानमन्त्री मोदी र राष्ट्रपति सीका स्वास्थ्यसन्देश शिष्टाचारवशमात्र आएका होइनन् । प्रधानमन्त्री ओलीले सन्तुलनका आधारमा निर्माण गरेको द्विपक्षीय सम्बन्धको बलियो आधारलाई तिनले सम्बोधन गरेका छन् । आफूले सही नीति लिएपछि त्यो अनुमोदित हुन्छ भन्ने दृष्टान्त हो यो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानदेखि अन्य देशका राष्ट्र र सरकारप्रमुखले पनि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नुभयो । काठमाडौँस्थित कूटनीतिक समुदायले विभिन्न माध्यमबाट प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्दै शुभकामना व्यक्त ग¥यो । विकसित नेपाल चाहने हरेक नागरिक र विकसित नेपालसँग सम्बन्ध अघि बढाउन खोज्ने छिमेकीदेखि विश्व समुदायको साथले प्रधानमन्त्री ओलीको आत्मविश्वास झन् बढायो र स्वास्थ्यमा तीव्र सुधार आयो । किनकि ओलीले त्यस्तो सबैको साथको आधार निर्माण गर्नुभएको थियो । अदम्य आत्मविश्वास र आत्मबल शून्यमा निर्माण हुँदैन ।
कोरोनाविरुद्धको नेपाली पूर्वसचेतनामा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय साथ नेपालले पाएको छ । विश्वमा कोरोना आतङ्क छ । यो लेखिरहँदासम्म १२३ देशमा फैलिसक्यो, एक लाख ३३ हजार सङ्क्रमित भएका छन्, दैनिक सङ्ख्या बढ्दो छ । पाँच हजारको मृत्यु भइसकेको छ । जहाँबाट फैलियो, त्यो देश उन्मुक्तितिर जाँदैछ भने अन्य देशमा प्रवेश गर्दैछ । कोरोना सङ्क्रमितलाई बेग्लै कक्षमा उपचार चाहिन्छ । शङ्का लागेमा ‘क्वारेन्टाइन’ मा रहनुपर्छ । अर्थात् भाइरस यस्तो छ लागेपछि एकान्तको वास हुन्छ तर यसविरुद्ध लड्न भने एक्लै सकिँदैन । ‘क्वारेन्टाइन’, ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने कोरोनाविरुद्ध सहकार्य (कोलाबरेसन) आवश्यक छ । नेपालमा सङ्क्रमित देखिएका छैनन्, एकजना सङ्क्रमित देखिएर उपचारपछि स्वस्थ भएर फर्किसक्नुभएको छ । राष्ट्रिय सहमतिका साथ आउनै नदिने र आएमा उपचार गर्र्न दुवै अवस्थामा सरकार तयार देखिएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेय आफैँ क्वारेन्टाइनमा हुनुहुन्छ किनकि उहाँकी पत्नी सोफिया कोरोना सङ्क्रमित हुनुहुन्छ । परिवारका एकजना सङ्क्रमित हुनेबित्तिकै दुवैजना ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असल आशय र उद्देश्यका साथ सङ्क्रमणको शङ्का भएमा वा सङ्क्रमित भएमा प्रारम्भमा ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्छ भनेको गलत थिएन तर त्यसलाई फरक व्याख्या गर्दै सरकारको नागरिकप्रतिको दायित्वमाथि प्रश्न उठाइएको छ, जुन अतिरञ्जित देखिन्छ । यो कुनै विवाद झिक्नुपर्ने विषय नै थिएन । सङ्क्रमितको उपचारमा सरकार पछाडि हट्दैन भन्ने त वुहानबाट ल्याइएका १७५ जनाको हकमा स्थापित भइसकेको छ । जब कि उनीहरू सङ्क्रमित थिएनन् ।
प्रधानमन्त्री ओलीले निर्माण गरेको विश्वासको अर्को आधार कोरोनाविरुद्धको लडाइँमा समेत अभिव्यक्त भएको छ । अस्पताल भर्ना हुँदा स्वास्थ्यलाभको कामना गर्नुभएका प्रधानमन्त्री मोदीले डिस्चार्जको तयारी भइरहेका बेला ट्वीट गर्नुभयो । उक्त ट्वीट नयाँ भारतीय राजदूत विनयमोहन क्वात्रामार्फत प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसम्म पुग्यो । यद्यपि ट्वीट त सार्वजनिक भएकै थियो तर द्विपक्षीय संवादको प्रक्रियामा त्यस्ता सन्देश पनि तोकिएका अधिकारीमार्फत आउँछन् । किनकि तिनमा ‘रेसिप्रोसिटी’ खोजिएको हुन्छ, जुन कूटनीतिक अभ्यास हो । ट्वीट कोरोनाविरुद्ध सार्क प्रयासबारे थियो, जसको नेतृत्व प्रधानमन्त्री मोदीले लिनुभएको थियो । ट्वीटमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसहित सार्कका सबै सरकारप्रमुखलाई कोभिड–१९ विरुद्ध लड्न रणनीतिक छलफलका लागि आह्वान गर्नुभएको थियो । ‘हाम्रा नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सक्छौँ । स्वस्थ विश्वका लागि एकैसाथ योगदान गर्न सक्छौँ । हामीले विश्वलाई उदाहरण प्रस्तुत गर्न सक्छौँ’ मोदीले भन्नुभएको थियो ।
लगत्तै प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उक्त प्रस्तावको स्वागत गर्नुभयो । ‘म प्रधानमन्त्री मोदीजीको प्रस्तावको स्वागत गर्दछु । यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य राष्ट्रसँग नजिकबाट सहकार्य गर्न म तयार छु र मेरो सरकार तयार छ’ प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्री मोदीको प्रस्तावलाई सार्कका अन्य सरकारप्रमुखले पनि स्वागत गर्दै सहकार्यमा तयार रहेको भन्दै ऐक्यबद्धता जनाएका छन् । भारतले सार्कको विकल्पमा बिमस्टेक र उपक्षेत्रीय मञ्चका रूपमा बीबीआईएनलाई अघि बढाइरहेको छ भन्ने बुझाइकै बीचमा सार्क सहयोगको मोदी–प्रस्तावले केही सङ्केत गर्छ । सार्कको अध्यक्षराष्ट्रका रूपमा नेपालका लागि यो प्रस्ताव थप सुखद छ । प्रधानमन्त्री ओलीले सार्कलाई सक्रिय बनाउन नेपालले चाहेको भन्दै त्यसका लागि प्रयास जारी राख्ने बताउँदै आउनुभएको छ ।
कोरोनाविरुद्ध सार्क सहकार्यको भारतीय प्रस्तावमा सहमति जुटिरहेकै बेला नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ राष्ट्रपति सीको विश्व सहकार्यको धारणा अगाडि सार्नुभएको छ । राष्ट्रपति सीलाई उद्धृत गर्दै राजदूतले भन्नुभएको छ, ‘सम्पूर्ण मानव जाति नै एक साझा भाग्यको समग्र हो । हरेक देशका जनताको सुरक्षाका लागि जोखिमका रूपमा रहेको रोगमाथि विजय प्राप्त गर्न आपसी मेलमिलाप र सहयोग नै सबैभन्दा शक्तिशाली हतियार हो ।’ राजदूतले नेपालमा यो रोग आउन नदिन र विस्तार रोक्न सहयोगनिम्ति तयार रहेको पनि जनाउनुभएको छ । चीनले सफलतापूर्वक यो भाइरसविरुद्धको युद्ध जितेको छ र ऊसँग नेपाललगायत विश्वलाई बाँड्ने सम्पत्तिको रूपमा अनुभव छ । उता, भारतीय राजदूत क्वात्राले पनि नेपालसँगको भारतको सम्बन्ध विशिष्ट खालको भएको भन्दै नेपाली नागरिकका लागि रहिआएको खुला यात्रालाई भिसा रोकावटले कुनै असर नगर्ने जनाउनुभएको छ । भिसा प्रतिबन्धको सूचना नेपालको हकमा लागू नहुने दूतावासले स्पष्ट पारेको छ । राजदूतका रूपमा फ्रान्सको अनुभवपछि नेपाल आउनुभएका क्वात्रासँग यसअघि सन् २००६ देखि २०१० सम्म सार्क सचिवालयमा काम गरेको अनुभव छ । अर्थात् नेपाल बुझेका चिनियाँ र भारतीय राजदूतले आफ्ना सरकारप्रमुखका नेपाल–नीतिलाई विवादरहित रूपमा अघि बढाउनु छ ।
चीनसँगको सम्बन्धमा सधैँ संस्थापना हावी हुन्छ, यो उसको घोषित नीति नै हो । भारतसँगको सम्बन्धमा उच्च राजनीतिक पहुँच र आदानप्रदानमा बेलाबेलामा खाडल परेकै थियो तर ओली र मोदीको सीधा सम्बन्धले ती खाडल र असमझदारी समाप्त हुँदैछन् । राजदूत मन्जिवसिंह पुरीलाई प्रतिस्थापित गरी आउनुभएका राजदूत क्वात्राले प्रारम्भमै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने ओली–मोदी लक्ष्यमा आफू प्रतिबद्ध भएको सन्देश दिनुभएको छ । ‘सफ्ट स्पोकन’ राजदूत क्वात्राले विवादमा नपरी कसरी द्विपक्षीय सम्बन्ध अघि बढाउनुहुन्छ, त्यो हेर्न बाँकी छ । विपत्मा होस् वा विकासमा, जसरी प्रधानमन्त्री ओलीप्रति प्रधानमन्त्री मोदी र राष्ट्रपति सीका विश्वास व्यक्त भएका छन्, उहाँहरूका काठमाडौँ दूतका व्यवहारमा ती देखिनुपर्छ । ओलीको छिमेकीसँगको सन्तुलित सम्बन्धको प्रभाव उहाँको स्वास्थ्यदेखि कोरोनाविरुद्धको योजनामा देखिएका छन् । समझदारी र सहकार्यको यात्रा यसरी नै अघि बढ्ने हो ।

(लेखक गोरखापत्र संस्थानको सम्पादक सल्लाहाकार हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?