पाका पुराना भन्छन्– औषधि नहुने कुनै बिरुवा वनमा पाइँदैनन् । चिन्न सक्नुपर्छ, प्रत्येक रुखबिरुवा जडीबुटीका स्रोत हुन् । औषधिविज्ञानमा आयुर्वेद निकै पुरानो र प्रतिष्ठित मानिन्छ । परापूर्वकालमा दम, पित्त र कफ तीन प्रकारका मात्र रोग लाग्थे मानिसलाई यिनलाई निको पार्ने तीनवटा जडीबुटी थिए हर्रो, बर्रो अमला अर्थात् त्रिफला । कालान्तरमा रोग पनि बढ्दै गए, औषधि पनि असङ्ख्य भए । नेपालका वनपाखा वनौषधिको भण्डार नै मानिन्छन् । यहाँबाट वैध, अवैधरूपमा करोडौँ रुपियाँका जडीबुटी विदेसिन्छन् । कति कुहिन्छन्, कतिको पहिचान हुन सकेको छैन । कतिको पहिचान भएर पनि उपयोग गर्न सकिएको छैन । पूर्वीय दर्शनले ओतप्रोत नेपाली समाजमा आयुर्वेदको प्रभाव जनस्तरमा स्थापित छ । यसैगरी घरेलु (परम्परागत) औषधि र विधि पनि प्रचलित पनि छन् । जातीय उपचार विधि र औषधि छन् (इथ्नो मेडिसिन) । यी सबैको एकीकृत उपयोग गरेर नेपालले विश्वलाई आयुर्वेद तथा परम्परागत औषधि र उपचारको विधि सिकाउन सक्छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएका बेला नेपालमा उपलब्ध जडीबुटीको महìवबारे चर्चा बढ्दो छ । मानव जीवनमा जडीबुटीको महìव र सत्यबारे धेरै बहस गर्नु आवश्यक छैन । कतिपय आधुनिक औषधिको स्रोत पनि जडीबुटी नै हो भने विभिन्न देशले परम्परागत औषधिका रूपमा जडीबुटीको उपयोग गर्दै आएका छन् । आयुर्वेदीय औषधि उत्पादनमा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलुरूपमा सही उपयोग गरेमा मानव शरीरमा कोरोनालगायत जुनसुकै भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सकिने दाबी गरेको छ । हालसम्म खोप र औषधि विकास नभएकाले विश्वभर कोरोना भाइरसबाट कसरी बच्ने भन्ने चर्चा व्यापक भएका बेला यस्तो दाबीले अर्थ राख्छ । भाइरसलाई औषधिले निको गर्ने होइन । हामीले प्रयोग गर्ने औषधि, जडीबुटी वा इन्जेक्सनले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छन् । कोरोनाको सन्दर्भमा पनि औषधिभन्दा मानव शरीरमा प्रतिरोधी क्षमता बढाई भाइरसलाई पराजित गर्नुपर्ने भएकाले विश्व स्वास्थ्य सङ्ठनले मानव शरीरमा प्रतिरोधी क्षमता बढाउँदै भाइरस नसर्ने उपाय अवलम्बन गर्न सुझाव दिएको छ ।
फेरिएको जीवनशैलीले मानिसलाई तत्काल फाइदा गर्ने पेनकिलरमा विश्वास छ जुन स्वाभाविक पनि हो । आयुर्वेदले यति सजिलै उपचार पनि गर्न सक्दैन । त्यसैले आयुर्वेदलाई
बलियोबाङ्गो हुँदा प्रयोग गर्ने र गाह्रोसारो परेमा आधुनिक चिकित्साविधि र औषधि प्रयोग गर्ने प्रचलन छ । आयुर्वेदको आधुनिक विकास र नयाँनयाँ इनोभेसन (नवप्रवर्तन) हुन नसक्दा यस्तो भएको हो । नेपालमा रहेको चन्द्रनिघण्टु जस्तो आयुर्वेदिक औषधिविज्ञानको सङ्ग्रहलाई दराजमा राखेर आयुर्वेद र त्यसको नजिक रहेका घरेलु उपचार तथा औषधिको कुरा मात्र गर्दा जनतालाई विश्वस्त गराउन सकिँदैन । वनविज्ञान सङ्कायमा वनौषधिको बारेमा पढाइ हुन्छ कि हुँदैन, वनविज्ञान र आयुर्वेदको सम्बन्ध कस्तो बनाउने ? आयुर्वेद शिक्षालाई आधुनिक विज्ञानसरह महìव दिइएको छ छैन ? आयुर्वेदले वार्षिक कति प्रतिशत बिरामीको चाप थाम्छ भन्ने दृष्टिकोणबाट पनि हाम्रा परम्परागत औषधि तथा उपचार विधिको मूल्याङ्कन गर्नुपर्छ । आयुर्वेद विकासका लागि कति लगानी गरिएको छ भनी हेर्दा पनि यसको महìवलाई राज्यले कति बोध गरेको छ भन्ने स्पष्ट हुन्छ । अर्कोतिर कतिपय यस्ता औषधिमा मिसाइने तत्वको विवरण (कम्पोजिसन), उपयोग अवधि, वैज्ञानिक नाम उल्लेख नगरिनुजस्ता कारणले पनि समस्या आएका छन् । आयुर्वेदीय तथा परम्परागत औषधि तथा उपचारविधिमा विभिन्न प्रकारको हावापानी जडीबुटी र परम्परा रहेको नेपाललाई विश्वकै हब (केन्द्र) बनाउन सकिनेछ । त्यसका लागि यस क्षेत्रमा लगानी वृद्धि मात्र होइन उपभोक्तालाई विश्वस्त गर्ने गरी विभिन्न कार्य गर्न सकिनेछ । परम्परागत औषधिबारे औपचारिक शिक्षादेखि आयुर्वेदीय औषधि उत्पादनमा बहुराष्ट्रिय कम्पनी भिœयाउनेलगायतका काम गर्नु आवश्यक हुन्छ । साथै आयुर्वेदका नाममा नाङ्लो पसल थापेर आधुनिक एलोपेथीले उपचार गर्न नसकेका रोग पनि निको पार्छु भनेर आयुर्वेदको बदनाम गरिएको छ । त्यसलाई कानुनी मापदण्डभित्र ल्याएर आयुर्वेदलाई विश्वसनीय र मर्यादित बनाउनु आवश्यक छ ।