logo
२०८१ मंसिर १३ बिहीवार



सडक अनुशासन र ट्राफिक व्यवस्थापन

विचार/दृष्टिकोण |




डा. सुरेश आचार्य

पछिल्लो समय काठमाडौँका सडकहरू केही चौडा भएका छन् । मूल सडकमा यात्रु हिँड्ने पेटीको व्यवस्थापन गरिएको छ । कतिपय गल्लीको चौडाइ पनि बढेको छ । कहीँ पेटी छन्, कहीँ छैनन् । काठमाडौँको मूल सहरमा पसिसकेपछि सडक सफा पनि देखिन्छन् । तुलनात्मक रूपमा धूँवा र धूलो कम हुँदै छ । मूल सडकमा नबनेर अड्केका पुलहरू धमाधम बन्न थालेका र कतै त चल्नसमेत थालेका छन् । त्यतिमात्रै होइन, केही ठाउँमा ट्राफिक प्रहरीको हात हल्लाउने काम घटेको छ । यसले ट्राफिक जामको चाप कम गरेको छ । जब प्रहरीले हात हल्लाउन सुरु गर्छ, त्यसपछि बुझे हुन्छ, अब जाम कम होइन, बढ्नेवाला छ । ट्राफिक प्रहरीको क्षमता र सीपमा अरू प्रश्न गर्नै नपर्ने भएको छ । फराकिला र सफा सडकका चोकमा बल्ने राता र हरिया बत्तीले सहरको रौनक बढाएको छ ।
तर, सडक संस्कार र सभ्यतामा परिवर्तन आउन सकेको छैन । भित्री बढेका सडकहरू पार्किङ क्षेत्र बनेका छन् । मानौँ, ती सडक मोटरबाइक र साना गाडीका लागि पार्किङ क्षेत्र बनाइएका हुन् । ट्राफिक प्रहरीको सनकमा कुन गल्लीका बाइक उठाइन्छन् र गाडीका चक्कामा सिक्री लगाइन्छन् ? पत्तो हुँदैन । गाडी चालकको बाध्यता सुन्ने कुनै राज्य संयन्त्र छैन । यति धेरै गाडी आयात गरेर राज्यले कर असुलेको छ तर सडकमा निस्किएपछि गाडी पार्किङ गर्ने कुनै ठाउँ छैन । राज्यलाई लाग्दो हो– गाडी एउटा घरबाट निस्केपछि अर्को घरमा पस्दछ, सडक त गुड्नका लागि मात्रै हो । यस्तो अवस्थामा मनपरी पार्किङ शुल्क असुल्ने साना, ठूला कम्पाउन्ड वा मलका बेसमेन्टहरूमा पार्किङ गर्न नागरिक बाध्य छन् ।
सडक अनुशासन छैन । पैदल यात्रा गर्ने नागरिक पेटीमा हिँड्न तयार छैनन् । पेटीमा हिँड्न चाहनेका लागि पेटी खाली छैन । व्यापार व्यवसायको आश्रयस्थल बनेका छन्, सडक पेटी । बाइक सर्भिसिङ गर्ने ठाउँ पनि पेटी हो । खुद्रा व्यापारीका सामान प्रदर्शन गर्ने ठाउँ पनि पेटी हो । निर्माणसामग्री थुपार्न पेटीको अर्को विकल्प छैन । गाडी चलाउनेहरूमा सडक लेन अनुशासन छैन । सडकमा मोटरबाइकको साम्राज्यले गर्दा आफू जोगिनेमात्र होइन, उसलाई जोगाइदिने दायित्व पनि अरू साना ठूला गाडीको हो । अन्यथा दोष दुई चक्केको हुँदैन । ट्राफिक लाइटको बेवास्ता गरेर कुद्नेमा बाइकवालाकै बोलवाला हुन्छ । ओभरटेकको कुनै सिद्धान्त नै छैन । गाडी साना हुन् वा ठूला, दुईचक्के हुन् कि अठारचक्के । सामान्य साइड लाइट बाल्ने ज्ञान नभएका गाडी चालकले लेन परिवर्तनमा साइड लाइट बाल्ने अपेक्षा गर्नु मूर्खताजस्तो हुन्छ । सडकमा तानिएका सेता धर्साहरूको ज्ञान धेरै गाडी चालकले थाहा पाउनु आवश्यक ठानेको छैन ।
सडकका दुई÷पाँच सय मिटरमा प्रहरीले लेन अनुशासन उल्लङ्घन गर्नेलाई १० हजार रुपियाँ जरिवानाको खाँबो गाडेर सचेतना फैलाएको हो वा चालक तर्साउन खोजेको हो ? थाहा छैन । यो भारतको मोदी सरकारको अन्ध नक्कल गर्नेक्रममा प्रहरीले गरेको सिफारिसलाई सरकारले वैधता दिएपछिको प्रदर्शन हो । यद्यपि, भारतमा पनि यति ठूलो सजायँ मादक पदार्थ सेवन गरेर गाडी चलाएमा मात्र गरिन्छ । केही समय अघिसम्म भारतमा दुई हजार रहेको यो जरिवाना अहिले १० हजार पु¥याइएको छ । नेपालले पनि यसैलाई अनुकरण ग¥योे । ‘लेन क्रस’ गर्नुलाई गलत साइडमा गाडी चलाएको मान्ने हो भने यस्तो सजायँ भारतमा पहिलोपटक एक सय रुपियाँ र पटकेलाई तीन सय रुपियाँ छ । अमेरिकामा पनि यस्तो जरिवाना एक सय डलर नै हो । कतै अमेरिकी डलरको विनिमय दरका आधारमा हामी हाम्रो समृद्धिको मापन गरिरहेका
त छैनौँ ?
दुनियाँमा ट्राफिक प्रहरी सडक अनुशासनका लागि मात्र होइन, गाडी व्यवस्थापनका लागि बसेको हुन्छ । सडक अनुशासनमा जोड दिँदै सडकमा हुने गाडीको चाप व्यवस्थित गर्ने उसको मुख्य दायित्व हो । तर, हिजोआज ट्राफिक प्रहरीले सडक नियन्त्रण गर्नुलाई सडक व्यवस्थापन भन्ने ठानेको देखिन्छ । ठाउँ कुठाउँमा पोल राखेर र डोरी बाँधेर सडक एकतर्फी बनाई नागरिकलाई दुःखमात्र दिएको छैन, मुलुकमा सञ्चित विदेशी मुद्रालाई मुलुकबाहिर पठाउने सेवासमेत गरिरहेको छ । नेपालमा पेट्रोलियम उत्पादनका लागि अनुसन्धान चलिरहे पनि आजका दिनसम्म यो विदेशबाट ल्याउनुपर्ने वस्तु हो । यसको खपत जति बढाइन्छ, त्यति विदेशी सञ्चित मुद्रा देशबाहिर जाने हो । काशी जाने कुतीको बाटोको शैलीमा प्रहरीले एकतर्फी सडक बनाएर ट्राफिकको सफल व्यवस्थापन गरेको ठानेको हुनुपर्छ । एउटा सामान्य उदाहरण हेरौँ । सिंहदरबारबाट बुद्धनगर जान कुनै रोकतोक छैन । काठमाडौँ जिल्ला अदालत वा अनामनगरबाट बिजुलीबजार धोबीखोलाको पुल उक्लेका गाडी पूरै सडक काटेर बुद्धनगर जान पाउँछन् । तर, बानेश्वर वा बुद्धनगरबाट सिंहदरबार वा अनामनगर जानुप¥यो भने बाटो छैन । ट्राफिकले ठड्याएका पोलको सम्मान गरेर या त बबरमहल चोक पुगेर फर्कनुप¥यो वा सिधै माइतीघर जानुप¥यो । माइतीघरबाट बबरमहल भित्री बाटो सिंहदरबार वा अनामनगर आउन दुइटा जाम कुर्नुपर्छ । अथवा पद्मोदय मोड पुगेर अनामनगर आउनुपर्छ । यस्तो व्यवस्थापन गरेर ट्राफिकले कुन रुटमा जाम बढाउनका लागि प्रेरित गरेको हो ? नागरिकलाई कस्तोखालको सुविधा दिनका लागि ट्राफिक प्रहरीमा यस्तो ज्ञान बढेको हो ?
यो त एउटा उदाहरण हो । यस्ता समस्या धेरै चोकमा छन् । हरेक चोकबाट गाडी चारै दिशामा जान्छन् । त्यसैले यसलाई चोक भनिएको हो । चोक आएपछि समस्या ठान्ने हो भने यस्ता सडक बनाउनुप¥यो, जहाँबाट दुईतिर मात्र जान मिलोस् । यसका लागि सडक इन्जिनियरहरू पनि विशेषखालका उत्पादन गर्नुप¥यो वा ट्राफिक प्रहरीलाई नै यस्ता सडक बनाउने अवसर उपलब्ध गराउनुप¥यो । अन्यथा सडक चोकमा या त ट्राफिक लाइट राख्ने हो, नभए प्रहरीले समय मिलाएर व्यवस्थापन गर्ने हो । सडकलाई एकतर्फी बनाएका ठाउँमा बस्ने प्रहरीको काम कसले पोल पार गरेपछि ‘यु टर्न’ लिन्छ र चिट काटेर पुरस्कार लिउँला भन्नेमात्र देखिन्छ । जरिवानाको बोर्ड झुन्ड्याउन सक्ने प्रहरीले कहाँ पुगेपछि टर्न लिन (घुम्न) मिल्ने वा नमिल्ने सङ्केत राख्न किन कञ्जुस्याइँ गर्ने ? के यो जरिवाना तिराउने नियत होइन ?
सडकका अधिकांश ठाउँमा सडक सङ्केतहरू राखिएका छैनन् । सडकमा गाडी चलाउने व्यक्ति नयाँ पनि हुन सक्छ र नयाँ ठाउँमा पनि पुग्न सक्छ । उसले कुन बाटो कहाँ पुगिन्छको सूचना त पाउँदैन नै, कुन सडक प्रयोग गर्न पाइने हो वा नपाइने हो भन्ने जानकारी पनि पाउँदैन । यो कुन ठूलो महाभारत पर्व हो, जसका लागि राज्यले वा ट्राफिक प्रहरीले कुनै ठूलो लगानी गर्न परोस् । हरेक चोकमा आइपुग्दा अघिल्लो चोकबाट जान नमिल्ने कुराको सूचनाको कल्पना त धेरै टाढाको कुरा भयो । सामान्य ट्राफिक सङ्केत चिह्नहरू राखेर नागरिकले दुःख नपाउने र दण्डित हुनु नपर्ने सोच सडक व्यवस्थापनमा रहने पक्षले सोचिदिने हो भने गाडी व्यवस्थापन पनि सहज हुने थियो, नागरिकले अनाहक दुःख झेल्नुपर्ने थिएन । प्रहरीले गल्ती गर्नेलाई जरिवाना तिराउनुका साथै एक घण्टाको सचेतना शिक्षा दिएरमात्र लाइसेन्स फिर्ता गर्छ । त्यो कक्षामा बस्नेले मैले के गल्ती गरेँ भन्ने थाहा पाउने सूचना दिने व्यवस्थासमेत हुँदैन । दशथरीका कमजोरी गर्नेहरू एकैसाथ कक्षाकोठामा हुलिन्छन् र केही सडक असावधानीका दृश्यहरू देखाएर र सुनाएर उनीहरूलाई पठाइन्छ । भालुलाई पुराण सुनाएको शैलीमा दिइने कक्षाले कति सचेतना फैलाउला वा ट्राफिक प्रहरीले निर्वाह गर्दै आएका भूमिकाप्रति सकारात्मक बनाउन सहयोग गर्ला ? के यसको मूल्याङ्कन वा समीक्षा कुनै समय ट्राफिक प्रहरीले गरेको होला ?
वास्तवमा सडक सचेतना अभियान, सडकमा हिँड्ने पैदल यात्रीदेखि गाडी चालकसम्मलाई आवश्यक छ । समय–समयमा परिवर्तन भइरहने नियम कानूनका बारेमा जानकार गराउन आवश्यक छ । र, यस्ता अभियान हरेक साता सार्वजनिक ठाउँमा गरेर नागरिकको हरेक तहलाई सचेत गराउन जरुरी छ । तर, त्योभन्दा जरुरी सडकमा सङ्केत चिह्न र त्यस आधारमा व्यवहार गर्न आमनागरिकमा स–साना सन्देश प्रवाह गर्न जरुरी छ ।

(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?