logo
२०८१ मंसिर १३ बिहीवार



कोरोनाविरुद्ध सार्क (सम्पादकीय)

विचार/दृष्टिकोण |




सार्क क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न यस क्षेत्रका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा मन्त्रीहरूबीच आइतबार साँझ भिडियो कन्फ्रेन्समार्फत आ–आफ्ना देशका अनुभव, समाधानका उपाय र आगामी रणनीतिबारे गम्भीर छलफल भयो । लामो समयसम्म निष्क्रिय रहेको सार्क कोरोना भाइरसविरुद्ध लड्ने नाममै भए पनि सक्रिय हुनु यस क्षेत्रको शान्ति, समृद्धि, सहकार्य र आपसी समझदारीका लागि कोसेढुङ्गा साबित भएको छ । यसका लागि सार्कका वर्तमान अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी धन्यवादका पात्र बन्नुभएको छ । प्रधानमन्त्रीद्वय मोदी र ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोनाविरुद्ध लड्न सार्क मुलुक एकसाथ मिलेर अगाडि बढ्नुपर्ने विषय उठान गर्नुभएको थियो । यो विषयमा सार्क मुलुकका अन्य शीर्षनेताहरूले पनि समर्थन जनाउँदै भिडियो कन्फ्रेन्समार्फत कोरोना भाइरसविरुद्ध लड्न आ–आफ्ना देशका अनुभव र उपाय साझेदारी गर्नुभएको छ ।
कोरोनाविरुद्ध लड्न थप साहस त यो कन्फ्रेन्सले प्रदान गरेकै छ । रोग, भोक, शोक र प्राकृतिक प्रकोपजस्ता मानवीय शत्रुविरुद्ध लड्न यस क्षेत्रका शीर्षनेताहरू एक ठाउँमा उभिन सक्छन् भन्ने उदाहरण पनि यस कन्फ्रेन्सले विश्वलाई देखाउन सक्षम भएको छ । सार्क स्थापना हुँदा यस क्षेत्रका नागरिकको सर्वोपरि कल्याण नै यसको उद्देश्य थियो । यो उद्देश्यमा यस क्षेत्रका शीर्षनेता हातेमालो गर्दै फेरि एकपटक जुर्मुराएका छन् । सार्क मुलुकमा पनि कोरोना सङ्क्रमण बढ्दो छ ।
विश्वव्यापी महामारीका रूपमा घोषित कोरोना भाइरस १३५ राष्ट्रमा पैmलिइसकेको छ । यो भाइरस एक लाख ५० हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमित भइसकेको छ । पाँच हजारभन्दा बढीको ज्यान यसले लिइसकेको छ । चीनको वुहानबाट उत्पन्न यो भाइरस त्यहाँ नियन्त्रणोन्मुख छ तर युरोप यतिखेर सङ्क्रमणको केन्द्रबिन्दु बनेको छ । चीनपछि युरोपको इटालीलाई कोरोनाले गाँजेको छ । यसैगरी इरान, अस्ट्रेलिया, दक्षिण कोरिया आदि देश पनि यसको चपेटामा छन् । कोरोनाको कहरमा यतिखेर विश्वका धेरै राष्ट्र जुधिरहेका छन् । कोरोना नफैलियोस् भनेर अमेरिकाले बेलायतबाहेक युरोपेली राष्ट्रबाट यात्रा गर्न प्रतिबन्ध लगाउनुका साथै ‘राष्ट्रिय सङ्कटकाल’ नै घोषणा गरिसक्यो । कोरोना पैmलिएका युरोपका सबैजसो देशले सिमानाका बन्द, यात्रा र उडानमा प्रतिबन्ध, क्वारेन्टाइन वा स्वयम् आइसोलेसनमा बस्न आह्वान, विद्यालय, विश्वविद्यालय बन्द, धार्मिक र राजनीतिक कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिसकेका छन् । पहिलो चरणमा गरिएका यी कार्यक्रम प्रभावकारी नभएमा थप कडाइ पनि ती देशले गर्न थालिसकेका छन् । कोरोना फैलिन नदिन फिलिपिन्सको मनिलामा कफ्र्यू नै लगाइएको छ ।
रोगले आफ्नो र अर्को, धनी र गरिब तथा यो देश र त्यो देश केही भन्दैन । कुन बेला, कसरी गाँज्छ पत्तो हुँदैन । त्यसमाथि सार्क क्षेत्रका विकासोन्मुख देशमा यसको सङ्क्रमणलाई रोक्नु ठूलो चुनौती नै हुन्छ । आधुनिक स्वास्थ्य पूर्वाधारले सुसज्जित विकसित देशलाई समेत यो कार्य यतिबेला कठिन भएको छ । यही तथ्यलाई मनन गरी सार्कका शीर्षनेताहरूले एकसाथ मिलेर यसविरुद्ध लड्न कन्फ्रेन्समार्फत आह्वान गरेका छन् । भारतले यसविरुद्ध लड्न कोष खडा गर्ने प्रस्ताव गर्दै कोषमा एक करोड अमेरिकी डलर राख्ने घोषणा गरेको छ । कोष आवश्यकताअनुसार दक्षिण एसियाका आठ राष्ट्रले उपयोग गर्न पाउनेछन् । यसैगरी, नागरिकलाई यसको त्रासबाट कसरी जोगाउने, सङ्क्रमण फैलिन कसरी रोक्ने, सङ्क्रमण भइहाले उपचार कसरी गर्ने आदि विषयमा पनि धारणा प्रस्तुत गरियो । पक्कै पनि यी धारणाले यस क्षेत्रमा यस भाइरसविरुद्ध लड्न हरेक देशलाई गतिलो संयन्त्र बनाउन र साझा रणनीति बनाउन मद्दत मिल्नेछ । आखिर यो सङ्कट कुनै एक देशको मात्र नभएर यस क्षेत्रकै, अझ विश्वकै साझा सङ्कटका रूपमा यतिखेर देखिएको छ । एक देशले समाधान गर्दैमा विश्वबाट हट्ने सङ्कट होइन यो । त्यसैले सार्क राजनेताहरूले कोरोना भाइरसविरुद्धको लडाइँमा देखाएको साझा चासो सबैका लागि अनुकरणीय छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?