logo
२०८१ मंसिर १३ बिहीवार



बढ्दैछ कानुनको आडमा अपराध

विचार/दृष्टिकोण |




चाँदनी आचार्य

कानुनी आवरणमा हुने भ्रष्टाचार (श्वेतग्रीवी) अपराध बढ्दै छ । श्वेतग्रीवी अपराध बारेमा बुझ्नु जरुरी छ । पछिल्लो समय नेपालमा अपराधका घटना बढ्दै गइरहेका छन् । अपराधका विभिन्न कारणमध्ये आर्थिक अवस्थालाई प्रमुख कारण मान्ने गरिन्छ । अधिकांश हुने अपराधमा कहीँ न कहीँ आर्थिक कारण जोडिएको हुन्छ । समाजमा आर्थिक दरिद्रता, गरिबीबाट माथि उठ्न र मानिसका गाँस, बास र कपासको आवश्यकता पूरा गर्न, अरूको देखासिकी गर्न आर्थिक पक्षको आवश्यकता पर्छ । मानिसको जीवनचक्र आर्थिक पक्षसँग जोडिएको हुन्छ ।
यसरी मानिसले गर्ने हरेक गतिविधिको अधिकांश भाग आर्थिक पक्षसँग जोडिएको हुन्छ । समाजमा हुनेखाने मानिसलाई झन् धनी बन्ने इच्छा जाग्दै जान्छ । सामान्य परिवारको मानिस पद र सम्मान पायो भने उसले अरूभन्दा समाजमा उच्चकोटीको देखिन रुचाउँछ । मानिसको जीवनचक्रसँग अर्थिक पक्षलाई जोडेर हेर्ने हो भने यस्तो सम्बन्धको स्तर पनि फरक खालको देखिन्छ । तल्लोस्तरमा भन्दा माथिल्लो स्तरमा अपराध व्यापक हुन्छ तर धेरै अपराध ढाकिन्छ । माथिल्लो स्तरको आर्थिक अवस्था भएका सम्पन्न व्यक्तिले सम्पत्तिको आडमा समाजमा अन्य क्षेत्रमा पनि प्रभाव पारिरहेका हुन्छन् । राज्यसंयन्त्रमा आसीन उच्च ओहदाका कर्मचारीले पदको दुरुपयोग गरी विभिन्न आर्थिक अपराध गरिरहेका हुन्छन् । त्यसैगरी राजनीतिक दलका नेता, मन्त्री, राजनेता तथा विभिन्न उच्च वर्गका व्यापारीले पनि राज्यशक्तिको प्रयोग गरी विभिन्न अपराध गरिरहेका हुन्छन् ।
उच्च वर्गका व्यक्तिले राज्यशक्तिको प्रयोग गरी गर्ने अपराध श्वेतग्रीवी अपराध (ह्वाइट कलर क्राइम) हो । यो परम्परागत रूपमा हुने सामाजिक अपराध चोरी, डकैती, घुसखोरीभन्दा फरकखालको आपराध हो । नेपालको सन्दर्भमा प्रजातन्त्र तथा लोकतन्त्र प्राप्त भएपछि श्वेतग्रीवी अपराध कम होला भन्दा झन् बढेको देखिन्छ । सन् १९३९ मा श्वेतग्रीवी अपराधका व्याख्याकार अमेरिकी अपराधशास्त्री एवं समाजशास्त्री सुथरल्याण्डले अमेरिकी समाजशास्त्रीय समुदायलाई सम्बोधन गर्दै ‘समाजका प्रतिष्ठित, उच्च घरानाका व्यक्तिले आफ्नो पेशा वा व्यवसायको सिलसिलामा कानुन उल्लङ्घन गर्नु श्वेतग्रीवी अपराध हो’ भनेका छन् । साथै उनले कुनै पेशा वा आर्थिक कारोेबारको सिलसिलामा जटिल श्वेतग्रीवी हुने गरेको
बताएका छन् ।
श्वेतग्रीवी अपराधको उत्पत्ति विश्वमा औद्योगिक क्रान्तिपछि भएको पाइन्छ । आधुनिक प्रविधि, नयाँ विज्ञान तथा प्रविधि विकासले समाज भौतिकरूपले सम्पन्न बन्दै गयो त्यसैप्रकार मानिसमा सम्पन्नताका साथै विभिन्न जटिलता पनि आउन थाले । उच्च ओहदामा पुगेका राजनीतिक दलका नेता, उच्च वर्गका व्यापारीले पद तथा पैसाको आडमा विभिन्न आर्थिक अपराध भ्रष्टाचार, पदीय दुरुपयोग, नहुने काम गर्ने गराउने, गुणस्तरमा परिवर्तन उत्पादन प्रविधि तथा गुणस्तरमा ह्रास गराउनेजस्ता अपराध श्वेतग्रीवी अपराध मानिन्छ ।
श्वेतग्रीवी अपराध समाजमा अन्य अपराधभन्दा फरक र जटिल प्रकृतिको हुन्छ । यस्ता अपराध प्रत्यक्षरूपमा अपराधजस्तो नदेखिए पनि समाज र कानुनविरुद्ध हुने र समाजका कतिपय कुलीन तथा प्रतिष्ठित वर्गका व्यक्तिहरूले आफ्नो पेशा, व्यवसाय र पदको सिलसिलामा गर्ने हुँदा यसप्रकारको अपराधले सामाजिक विश्वास र नैतिकता हराएर जान्छ । यस्तो अपराधमा अपराधीले दोहोरो गल्ती गरिरहेको हुन्छ । एकातिर उसले आफ्नो पेशा पद ओहोदा सम्मान र अधिकार एवं कर्तव्य जानी बुझिकन अपराध गरेको हुन्छ भने अर्कोतिर त्यसबाट हुने परिणामलाई जानीजानी उपेक्षा गरेको हुन्छ । यस्ता अपराध भ्रष्टाचार, घूस, व्यापारिक एकाधिकार, खाद्य एवं पिउने पदार्थमा मिसावट, लागूऔषध बेचबिखन, उपभोक्तालाई धोका दिनु, स्वास्थ्यमा हानि पु¥याउनु, अनुचित लाभ लिनु आदि श्वेतग्रीवी अपराधभित्र पर्दछन् ।
नेपालमा श्वेतग्रीवी अपराध विगतदेखि नै हुँदै आएको पाइन्छ । देशका उच्च ओहोदामा पुगेका प्रतिष्ठित व्यक्तिहरू बेलाबेलामा अख्तियारको फन्दामा पर्नु यसको ज्वलन्त उदाहरण हो । श्वेतग्रीवी अपराध जटिल अपराध हो । शक्ति र सम्मान र पदसँग जोडिएकाले यो सजिलै अपराधको रूपमा देखिँदैन तर यो खतरनाक अपराध हो । पछिल्लो समय प्रविधि र जागरुकताको विकाससँगै केही श्वेतग्रीवी अपराध बाहिर ल्याउने प्रयास गरिए पनि आपसी सहमतिमा मिलाइन्छ । बाहिर सार्वजनिक भइहालेमा पदबाट हट्ने र घटनालाई गुपचुप राख्ने प्रास गरिन्छ । दुःखी गरिब गाउँका सोझासाझा जनताको घरदैलोमा पुगी विभिन्न आश्वासन बाँडेका नेता विभिन्न तहमा सत्तासीन भइरहँदा विभिन्न आरोपमा मुछिँदै गएको सुनिन्छ । देश र जनताका लागि काम गर्छौं भन्ने उच्चपदस्थ व्यक्तिहरू जो समाजमा उच्च ओहोदाको रूपमा हेरिन्छन् । सम्मानित हुन्छन् ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसम्म विभिन्न जनप्रतिनिधि, कर्मचारीको मिलेमतोमा विकासका योजनामा गरिने घोटाला, कमिसन श्वेतग्रीवी अपराध हो । गाउँको सामान्य मान्छे, सामान्य गाँस, वास र कपासमा रमाएको हुन्छ । जब पदमा पुग्छ उसका आवश्यकता बढ्छन् । सङ्गत पनि ठूलैको गर्न थाल्छन् । आफूलाई पनि त्यस्तै बनाउन चाहन्छन् । सीमित स्रोतबाट आफ्ना आकाङ्क्षा पूरा नहुने भएपछि उसले पदको दुरुपयोग गर्दै श्वेतग्रीवी अपराध गर्नपुग्छ ।
यस्तो अपराध नहोस् भनेर नेपालमा पछिल्लो समय जनप्रतिनिधिलाई समेत राज्यले सेवा सुविधा उपलब्ध गराएको छ । तर हिजो तिनै नेता चुनावका बेला जनता र देशका लागि कुनै प्रलोभनमा नपरी काम गर्छौं भन्दै कसम खाएकाहरू अहिले राज्यले सुविधा दिँदादिँदै पनि समाजमा पदको दुरुपयोग गर्दै उच्चकोटीको अपराध गरिरहेका छन् । योजना बाँडफाँटमा होस् या योजना कार्यान्वयनमा देशको तल्लो तहदेखि माथिल्लो तहसम्म श्वेतग्रीवी अपराध बढ्दै गइरहेको छ । सरकार सञ्चालनको जिम्मा पाएका विभिन्न मन्त्री तथा उच्चपदस्थ कर्मचारीले राज्यबाट पाउने सेवा सुविधा होस् वा विदेश भ्रमणका अवसर हुन् आवश्यकताभन्दा बढी तडकभडक गर्छन् ।
नेपाली राजनीतिक इतिहासको विभिन्न कालखण्डमा श्वेतग्रीवी अपराध नभएका होइनन् । सत्ता, शक्ति र पदमा पुगेकाले समग्र देश र जनताको हितका लागि नसोचेर आफ्ना केही आसेपासे भरौटेलाई आरक्षण गर्दै सत्ता हत्याउने, सत्ता पल्टाउने र सत्ता बचाउ गर्ने प्रयोजनमा समेत श्वेतग्रीवी अपराध गरेका हुन्छन् । पद र प्रतिष्ठा बचाउन केही नगरी नहुने कामबाहेक देशको ढुकुटी, शासन सञ्चालनमा असर पर्ने, दुःखी गरिब जनताले तिरेको करमाथि रजाइँ गर्ने जो कोही आफूले गरेको गतिविधिमा ख्याल गर्नुपर्छ ।
देशमा दुईतिहाइ हाराहारी मतको बलियो सरकार छ अहिले । शासन सञ्चालनका विषयमा जनताले मात्र होइन, संसारले समेत नियालिरहेको होला । सबैभन्दा शक्तिशाली सरकारले सुशासन र अपराध नियन्त्रणमा कसरी काम गरिरहेको छ, मूल्याङ्कन भइरहेकै होला । अवैधरूपमा सामान ल्याउँदै गरेको अपराधी कुनै राजनीतिक संरक्षणमा छुट्नु, अदालतले दोषी ठह¥याएको व्यक्तिलाई राजनीतिक संरक्षणमा उन्मुक्ति दिनु, लागूऔषध ओसारपसारमा संलग्नलाई संरक्षण गर्नु– यी सबै पद र शक्तिका श्वेतग्रीवी अपराध हुन् । यस्ता अपराध सामान्यजस्तो लाग्छ तर यो सुषुप्त रूपमा भित्रभित्रै माकुराको जालोजस्तै फैलिँदै गएको छ । यो जालो तोड्न सकेमात्र समृद्ध नेपाल सम्भव छ । वर्तमान सरकारले भ्रष्टाचार अन्त्य गरी मुलुकमा सुशासनको प्रयास थालेको छ । सरकारको अभियानलाई नागरिक तहबाट समेत साथ र सहयोग भएमा यस्ता श्वेतग्रीवी अपराधमा समेत कमी आउने निश्चित छ ।
(लेखक गोरखापत्र दैनिक कैलालीस्थित सुख्खड समाचारदाताका रूपमा कार्यरत हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?