logo
२०८१ मंसिर १३ बिहीवार



प्रकोपमा मानसिक स्वास्थ्य हेरचाह

विचार/दृष्टिकोण |




डा. नरेन्द्रसिंह ठगुन्ना

सञ्चार माध्यमहरूले विभिन्न आधिकारिक स्रोत उल्लेख गर्दै जनाएअनुसार १५ मार्च २०२० सम्म विश्वका एक सय ४१ राष्ट्रमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण एक लाख ६३ हजार नौ सय ३० जनामा देखिएको छ । डिसेम्बर अन्तिम सातादेखि चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको यो भाइरस सङ्क्रमणका कारण विश्वभर छ हजार चार सय २० जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेको छ ।
प्रकोपको बेला मानसिक स्वास्थ्य हेरचाह
रोगको प्रकोपको त्रासले हाम्रो मानसिक स्वास्थ्यलाई नकारात्मक असर गरिरहेको हुनसक्छ । रोगको बारेमा डर र चिन्ता हुनुका साथै वयस्क र बच्चाहरूमा कडा भावना, असहनता र संवेगात्मक अस्थिरता उत्पन्न हुनसक्छ । बच्चाहरू, कोरोनाभाइरसको सङ्क्रमण भएकालाई सहयोग गर्ने जस्तैः डाक्टरहरू, स्वास्थ्य सेवा प्रदायकहरू, अग्रपङ्क्तिमा काम गर्ने, लागुपदार्थ दुरुपयोगको समस्या र मानसिक स्वास्थ्य समस्याको अवस्थामा रहेकाहरूमा तनावले अझ कडा प्रतिक्रिया दिन सक्छन् ।
सङ्क्रामक रोगको प्रकोपको बेलामा विभिन्न खालका मान्छेमा प्रतिक्रिया देखिन सक्छन् । आफ्नै स्वास्थ्य स्थिति र प्रियजनहरूको बारेमा डर र चिन्ता प्रकट गरिएको हुन सक्छ । निद्रा वा खाने बान्कीमा परिवर्तन देखिन्छन् । कठिनाइ महसुस हुने, पुराना स्वास्थ्य समस्याको स्थिति बिग्रँदै जाने, रक्सी, सुर्तीजन्य वा अन्य लागूपदार्थको प्रयोग बढाउने जस्ता प्रतिक्रिया देखिन सक्छन् । तनाव प्रतिक्रियाले दैनिक गतिविधिमा लगातार धेरै दिनसम्म हस्तक्षेप गर्दछ । यस्तो बेलामा आफ्नो हेरचाह गर्न सक्नुहुन्छ । त्यस्ता उपाय छन् ।
कोरोनाभाइरस प्रकोपको मिडिया कभरेजमा अत्यधिक जोखिम हटाउनुहोस् । आफ्नो शरीरको ख्याल राख्नुहोस्, गहिरो श्वास लिनुहोस्, तान्नुहोस् वा ध्यान गर्नुहोस् । स्वस्थ, राम्रो सन्तुलित खाना खाने कोशिस गर्नुहोस् । नियमित व्यायाम गर्नुहोस् । रक्सी र लागूऔषधबाट जोगिनुहोस् । समाचार हेर्दा, पढ्दा वा सुन्दा ‘ब्रेक’ लिनुहोस् । केही अन्य गतिविधि गर्ने प्रयास गर्नुहोस् जसले सामान्य जीवनमा फर्कन रमाइलो प्रदान गरोस् । मनका कुरा अरूसँग आदानप्रदान गर्नुहोस् । तपाईंका चिन्ताहरू साझा गर्नुहोस् र तपाईं साथी वा परिवार सदस्यसँग कस्तो महसुस गरिरहनुभएको छ अभिव्यक्त गर्नुहोस् । स्वस्थ सम्बन्ध कायम राख्नुहोस् । आशाको भावना र सकारात्मक सोच राख्नुहोस् ।
यहाँ केही सुझाव छन् जसले तपाई, परिवार र साथीहरूको मानसिक स्वास्थ्यको हेरचाह गर्न मद्दत गर्दछ । राम्रो उपयुक्त जानकारीको उपयोग गर्नुहोस् । अनुमानलाई बेवास्ता गर्ने र प्रकोपको उपयुक्त जानकारी लिने दिने जस्तै विश्व स्वास्थ्य सङ्गठन जस्ता स्रोतको खोजी गर्नुहोस् । विश्वसनीय स्रोतहरूबाट सही जानकारी प्राप्त गर्दा आफूलाई अद्यावधिक बनाएर नियन्त्रणका लागि विश्वस्त महसुस गर्न पनि मद्दत पुग्छ । सम्पर्कमा जोडिरहन कोशिस गर्नुहोस् । तनावको समयमा अरूको साथ र समर्थनले राम्रो काम गर्दछ । त्यसैले साथीहरू र परिवारसँग सम्पर्कमा रहनुहोस् वा भावनात्मक समर्थनका लागि सम्पर्कमा रहने प्रयास गर्नुहोस् । तपाईं सक्षम हुनुहुन्छ भने तपाईंले गर्नसक्ने कुरामा ध्यान केन्द्रित गर्न पनि सक्नुहुन्छ । यो तपाईंको दैनिक तालिकामा अडिग रहने राम्रो तरिका हो । आफ्ना बच्चाहरू र युवासँग कुराकानी गर्नुहोस् । परिवार र बच्चाहरू तथा युवा व्यक्तिहरूको हेरचाहकर्ताहरूले भाइरसको बारेमा खुला र इमानदार ढङ्गले छलफल गर्नुपर्छ ।
दुःखको अन्त्य आशा गर्न प्रयास गर्नुहोस् । यो प्रकोपको बारेमा समाचार पढ्दा असुरक्षित र निराश महसुस गर्नु सामान्य कुरा हो । विशेष गरी तपाईंले विगतमा आघात वा मानसिक स्वास्थ्य समस्या अनुभव गर्नुभएको छ वा तपार्इंसँग लामो अवधिको शारीरिक अस्वस्थ अवस्था छ भने तपाईंलाई प्रभावहरूले बढी जोखिमपूर्ण बनाउँछ । अनुमानहरू नगर्ने प्रयास गर्नुहोस् । व्यक्तिहरूप्रति न्याय गर्नुहोस् र रोगको प्रसारका लागि को जिम्मेवार छ भन्ने निष्कर्षमा नपुग्नुहोस् । कोरोनाभाइरसले जातीयता र लिङ्गको पर्वाह नगरी सबैलाई असर गर्न सक्छ ।
‘मिडिया कभरेज’ को सम्बन्धमा स्वस्थ सन्तुलन खोज्नुहोस् । प्रकोपका बारेमा विस्तृत समाचार कभरेज छ जसले तपाईंलाई ठूलो तनाव गराइरहेको छ भने सन्तुलन खोज्नु महìवपूर्ण छ । यो उत्तम पक्ष हो कि तपाईंले सबै समाचारहरू बेवास्ता गर्नुहुन्न र तपाई आफैँलाई जानकारी दिँदै शिक्षा दिइरहनुभएको छ तर समाचारले तनाव र दुःख दिइरहेको छ भने मिडिया कभरेज हेर्न सीमित गर्नुहोस् । नकारात्मक जानकारीको सम्पर्कमा हुँदा चिन्ताका भावना बढ्न सक्छन् ।
व्यावहारिक र शान्त दृष्टिकोण राख्ने प्रयास गर्नुहोस् । वरपरको स्वच्छ बानीको अवलोकन गरी शान्त रहन र आधिकारिक सल्लाह अनुसरण गर्न सक्दो प्रयास गर्नुहोस् । समर्थन खोज्नुहोस् । तपाईंले यस अघि मानसिक स्वास्थ्य समस्या अनुभव गर्नुभएको छ भने प्रकोपको खबरले असहज महसुस गर्नु सामान्य हो । यस्तो बेलामा यो मनको कुरा त्यो मनले बुझ्ने भरपर्दो समर्थन खोज्नुहोस् । धारणा बनाउने प्रयास गर्नुहोस् । मानिसहरू कोरोना भाइरस प्रकोपका बारेमा चिन्तित छन् । यस्तो अवस्थामा विश्वभरका मेडिकल, वैज्ञानिक र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले भाइरसलाई नियन्त्रण गर्न, प्रभावितहरूलाई उपचार गर्न र सकेसम्म चाँडो खोपको विकास गर्न कडा मेहनत गरिरहेका पनि छन् भन्ने सम्झनुहोस् ।
रोकथामका लागि पूर्वीय अभिवादन संस्कार– नमस्कार गर्ने बानी बसाउनुहोस् । कोरोना सङ्क्रमणको डरले हात नमिलाउने अवस्थामा ‘नमस्ते’ अभिवादन शैलीको प्रयोग गर्नु उपयुक्त छ । नमस्कार शब्दको उत्पत्ति संस्कृतको नमस् शब्दबाट भयो जसको अर्थ हो, एक आत्माबाट दोस्रो आत्मालाई आभार प्रकट गर्नु । नमस्कारको माध्यमबाट अभिवादन गर्ने संस्कारले एकले अर्को व्यक्तिलाई छुँदैन तर दुई व्यक्तिबीच दैवी ऊर्जा प्रदान गर्छ । नमस्कार गर्ने दुवै व्यक्तिबीचको नकारात्मक ऊर्जा कम हुने भनेर विभिन्न शास्त्रमा उल्लेख छ । नमस्कार गर्दा दुई हातको चक्र मिलाएर राखिन्छ र आँखा बन्द गरिन्छ अनि शिर झुकाइन्छ ।
शारीरिक स्वास्थ्यमा नियमित रूपमा ध्यान केन्द्रित गर्नुहोस् । कोरोना भाइरस सङ्क्रमणबाट बच्न र बचाउन नियमित रूपमा साबुनपानीले हात धुने, मास्क लगाउने र खोक्दा या हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने तथा मासु र अन्डा राम्ररी पकाएर मात्रै खाने गर्नुपर्छ । भीडभाड, सभा–सम्मेलन र भोजभतेरमा सहभागी नहुने जस्ता व्यवहारमा ध्यान केन्द्रित गर्नुहोस् । यस्ता व्यावहारिक जानकारी सरकारका तर्फबाट विभिन्न माध्यममार्फत सार्वजनिक गरिएका छन् । तिनलाई अवलम्बन गर्नुहोस् ।

(लेखक मनोविद् हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?