यस वर्षको प्रवेशिका परीक्षा भोलिदेखि सुरु हुँदैछ । यो परीक्षा ८७ औँ संस्करण हो । परीक्षामा दुईलाख ३९ हजार ९१ छात्र र दुईलाख ४३ हजार ६१६ छात्रा गरी कुल चारलाख ८२ हजार ७०७ परीक्षार्थी सम्मिलित हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फका चारलाख ६६ हजार एकसय र ग्रेड वृद्धितर्फका १६ हजार ६०७ परीक्षार्थी रहनेछन् । सबैभन्दा बढी बाग्मती प्रदेशका एकलाख तीन हजार ७३६ र सबैभन्दा कम कर्णालीका ३६ हजार ७१४ परीक्षार्थी सम्मिलित हुँदैछन् । गतवर्षभन्दा करिब सातहजार बढी परीक्षार्थी यसपटक सहभागी हुँदैछन् । परीक्षाका लागि मुलुकभरि एकहजार ९९५ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा सञ्चालन गर्न करिब ६५ हजार जनशक्ति परिचालन हुनेछ । यस जनशक्तिमा परीक्षाको सुरक्षार्थ खटिने प्रहरी पनि पर्दछन् । परीक्षा नियन्त्रण कार्यालयले सबै तयारी पूरा भइसकेको जनाएको छ । परीक्षा केन्द्रसम्म उत्तरपुस्तिका र प्रश्नपत्र पु¥याउने कार्य भइसकेको छ ।
कोरोना भाइरसको सङ्क्रमणले आज विश्वलाई त्रसित बनाइरहेको छ । यसको त्रास नेपालीमा पनि हुनु स्वाभाविक हो । सरकारले भीडभाड नगर्न, सभासम्मेलनको आयोजना नगर्न आमजनतासँग अनुरोध गरिरहेको छ । नेपालमा अहिलेसम्म यसबाट सङ्क्रमित एकजना पनि देखानपर्नु निकै सुखद खबर हो । सजगताको उपायका लागि विद्यालय तहमा कक्षा ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेसम्म सक्नू भनेर दिइएको निर्देशनलाई देशभरिका विद्यालयले पालना गरिरहेका छन् । आज ती परीक्षा सकिँदैछन् । त्यसपछि विद्यार्थी घरभित्रै सुरक्षितसाथ रहन सक्नेछन् भन्ने अपेक्षा र विश्वास गरिएको छ । प्रवेशिका परीक्षा (एसईई) अवधिभर प्रत्येक विद्यार्थी, शिक्षक तथा परिचालन हुने जनशक्तिले मास्क लगाउनुपर्ने भनिएको छ । एउटा बेन्चमा दुईजनाभन्दा बढी परीक्षार्थी नराख्ने निर्देशन दिइएको छ । हरेक परीक्षाकेन्द्रमा हेल्प डेस्क राखिँदैछ । परीक्षाकेन्द्र भनेको भीडभाड हुने स्थल हो । त्यसैले यसलाई सहजरूपमा लिन मिल्दैन ।
सामान्य मास्कका भरमा सुरक्षित छौँ भन्ने सोच गलत हो । ज्वरो मापन गर्ने उपकरण मुस्किलले एउटा परीक्षाकेन्द्रलाई एउटा उपलब्ध गराउने अवस्था छ । सबै परीक्षार्थीलाई पालैपालो धैर्यका साथ परीक्षण गर्न सम्भव नहुन सक्छ । अनुहार देखेर सङ्क्रमण भएको हुनसक्ने अनुमान गर्न सकिँदैन । त्यसैले यी विषयमा गम्भीर बन्न सक्नुपर्ने देखिन्छ ।सायद सङ्क्रमण नदेखिएका कारण हुनसक्छ, परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने भएको छ । यसबाट विद्यालय तहको महìवपूर्ण एसईई परीक्षाका लागि कडा मेहनतका साथ तयारी गरिरहेका विद्यार्थीले पनि ठूलो राहत पाउनेछन् । परीक्षार्थीहरू सकुशल परीक्षामा सम्मिलित होउन् यही आशा गरौँ ।
नेपालमा १९९० सालबाट प्रवेशिका परीक्षा सञ्चालन गर्न थालिएको हो र यसपटक ८७ औँ संस्करणमा पुगेको छ । इन्ट्रान्स, मेट्रिकुलेसन, एसएलसी हुँदै एसईईसम्म आइपुगेको छ । अक्षराङ्कन पद्धतिबाट परीक्षाको मूल्याङ्कन हुँदै आएको छ । अक्षराङ्कन पद्धतिका कारण प्रतिस्पर्धा र पढ्ने बानी खस्किएको गुनासो शिक्षक तथा अभिभावकले गर्दै आएका छन् । प्रमाणपत्रमा अनुत्तीर्ण नलेखिने भएकाले कम अङ्क ल्याएका कारण निराश हुनुपर्ने र त्यसै कारण अप्रिय घटना हुने अवस्था ठ्याम्मै रोकिएको छ तर बाहिर हेर्दा कोही अनुत्तीर्ण नदेखिए पनि न्यूनतम ग्रेड ल्याउन नसक्दा माथिल्लो कक्षामा भर्ना हुन नसकेका विद्यार्थी हजारौँ हुने गर्दछन् । तिनले लगत्तै हुने पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी भएर ग्रेड वृद्धि गर्ने गरेका छन् । ८७ वर्ष बित्दा पनि प्रवेशिका परीक्षाको नतिजा सन्तोषजनक बन्नसकेन । यसको मूलजड नीतिनिर्माता, नियमन निकाय, शिक्षक र अभिभावक नै हुन् । कक्षा १० को पाठ्यपुस्तकबाट मात्र परीक्षा लिए बढी उत्तीर्ण हुनसक्छन् भनेर सोहीअनुरूप परीक्षा लिने गरिएको छ । कमजोर नतिजाका बारेमा धेरै अध्ययन अनुसन्धान पनि भएका छन् तर परीक्षाप्रणालीमा ठ्याक्कै सुधार भएको अनुभव गर्न सकिएको छैन । घोकन्ते र तीनघण्टे परीक्षाप्रणालीमा सुधार नहुन्जेल एसईई परीक्षाको नतिजा राम्रो भएन भनेर टिप्पणी गर्नुबाहेक उपाय हुँदैन भन्ने सरोकारवाला सबैले बुझ्न सक्नुपर्दछ ।