बाबुकाजी कार्की
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट प्रकाशित समयतालिका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते सञ्चालन हुने भनिएकोमा तत्काललाई स्थगित गरिएको छ । ८७ औँ संस्करणको परीक्षामा चार लाख ८२ हजार ७०७ परीक्षार्थी सहभागी हुँदैछन् । विश्वव्यापी रूपमा तीव्ररूपमा फैलिइरहेको कोरोना भाइरसको कारण एसईई सञ्चालनमा जोखिम बढेको सर्वत्र महसुस गरिएको छ । लाखौँ विद्यार्थीको भाग्य र भविष्यसँगको जोडिएको यस परीक्षालाई सावधानीपूर्वक सञ्चालन गर्न सरकार र सरोकार पक्ष दुवैको उत्तिकै दायित्व हो । सरकारले कोरोना सङ्क्रमणबाट जोगिन विद्यालय, विद्यार्थी र परीक्षामा खटिने जनशक्तिलाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक निर्देशन र तयारी गरेको सार्वजनिक भइराखेको छ । कार्यान्वयन पक्षमा लापरवाही भएमा कुनै पनि बेला ठूलो क्षति व्यहोर्नुुपर्ने वास्तविकताप्रति सबै चनाखो हुनुको विकल्प छैन ।
कोरोनाबारे फैलिएका अनेकौँ अफवाहलाई मूल्याङ्कन गर्दै आधिकारिक सूचना र जानकारीलाई अवलम्बन गरिनुपर्छ । कोरोना भाइरसको अहिलेसम्म कुनै पनि औषधि पत्ता नलागिसकेकाले आत्तिनुभन्दा पनि सावधानीपूर्वक रोकथामको सजगता अपनाउनु बुद्धिमानी ठहर्छ । विद्यार्थीलाई परीक्षाकेन्द्रमा प्रवेश गर्दा र परीक्षा दिँदा स्वास्थ्यकर्मीको सल्लाहअनुसार सावधानी अपनाउन प्रेरित गरिनुपर्दछ । परीक्षार्थीको अध्ययन र परीक्षालाई स्वस्थकर र सहज वातावरणमा सम्पन्न गर्न सबैको चासोको उत्तिकै महìव हुन्छ ।
विगत आठ दशकभन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाको रूपमा कक्षा १० मा लिइँदै आएकोमा एसएलसीलाई एसईईमा रूपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालय तहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ । वि.सं. १९९० देखि एसएलसीको रूपमा राष्ट्रियस्तरमा लिइँदै आएको विद्यालय तहको एकमात्र परीक्षाको नतिजा उत्साहप्रद देखिँदैन । वि.सं. १९९८ मा सबैभन्दा बढी ७७.७८ प्रतिशत र २०३८ मा सबभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । विगतका परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अङ्ग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । शिक्षाक्षेत्रमा धेरै अभ्यास र लगानी भए तापनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास आउनु गम्भीर चिन्ताको विषय हो । यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नुमा के विद्यार्थी मात्रै दोषी छन् त ? वस्तुनिष्ठ अध्ययन गरी वास्तविकता पहिल्याउन अल्छी गर्नुहुन्न । उपलब्धिस्तर शतप्रतिशत पु¥याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्योल गर्न विलम्ब भइसकेको छ ।
एसईई तयारीको समयमा स्वस्थकर आहरविहार र सहज परिश्रमको नियमितताप्रति विशेष चनाखो रहनुपर्दछ । परीक्षालाई हाउगुजीको रूपमा नलिई सहजरूपमा आत्मसात् गरेर सकारात्मक सोच र उच्च मनोबलका साथ परीक्षा दिने मनस्थिति बनाउनुपर्दछ । मानसिक एवं शारीरिक क्षमताभन्दा बढी थकान हुनेगरी अनिँदो बसेर लगातार पढ्दा स्मरणशक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आपूmले सोचेजस्तो जाँच दिन पनि सकिन्न भन्ने वास्तविकताप्रति हेक्का राख्नुपर्दछ । अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउनेतर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्दछ । किनकि विगतमा कहिलेकाहीँ पाठ्यपुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएको वास्तविकतालाई बिर्सनुहुन्न । कठिन महसुस गरिएका विषयलाई अलि बढी समय र महìव दिँदै अध्ययनको दैनिक समयतालिका बनाएर सबै विषयलाई समानुपातिक अध्ययन गर्नु बुद्धिमानी हुन्छ । सहपाठीको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बहुआयामिक तथा दिगो स्मरणमा रहने वास्तविकता हो । विगत वर्षका प्रश्नहरूको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर लेखनको स्तरबारे आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न । परीक्षा दिन जाँदा म राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढ विश्वास एवं उच्च मनोबलका साथ हतोत्साही नभई परीक्षा हलमा प्रवेश गर्नुपर्दछ । विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग जाँच गर्नुपर्दछ । परीक्षाकेन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहजता हुन्छ । प्रवेशपत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशनहरू परीक्षा सुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ । उत्तर लेख्दा आफूलाई तत्काल धेरै जानकारी भएको प्रश्न क्रमशः लेख्न सुरु गर्नुपर्दछ । प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अङ्कभार तथा समयलाई ध्यान दिई मौलिकता झल्किने गरी बँुदागतरूपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्दछ । सबै प्रश्नका उत्तर लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरलाई पुनः सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।
एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महìव रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहारविहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्दछ । यस अर्थमा एसईई अभिभावकका लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।
त्यस्तै विद्यालयले विद्यार्थीको रुचि क्षमताअनुसारको विषयको छनोट तथा परीक्षालाई सहजरूपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनुपर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यथार्थता हो । एसईईको नतिजाका आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकाले विद्यालयले आफ्नो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन विद्यार्थीको प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरूको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको यकिन गर्ने परीक्षा पनि हो एसईई ।
प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्दछ । अपेक्षा गरेअनुसार व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षाकेन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्योल गर्दछ । यसप्रकार एसईई प्रत्यक्षरूपमा विद्यार्थीका लागि मात्र भए जस्तो लागे तापनि परोक्षरूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीति–नियम कार्यक्रम जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घलगायत विद्यालय तहको शिक्षाको जिम्मेवारी लिएका पदाधिकारीले विद्यार्थीको पठनपाठनमा कत्तिको योगदान पु¥याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसईई विद्यार्थीका लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक तथा समग्र शिक्षानीतिको प्रभावकारिता आदि जाँच्ने कसी पनि हो ।
(लेखक काठमाडौँका पूर्व जिल्ला शिक्षा अधिकारी हुनुहुन्छ ।)