logo
२०८१ मंसिर १३ बिहीवार



सङ्घीयता व्यवस्थापनमा देखिएको समस्या

विचार/दृष्टिकोण |




प्रदीप नेपाल

नेपालमा धेरै कुराहरू छलाङ मारेरै आउँछन् । यो सङ्घीयता पनि छलाङ मारेरै आयो । छलाङ मारेपछि बीचको सामान्य गति पछिल्तिर छुट्छ । त्यो दूरीलाई मेट्न छलाङवालाले कि पछिल्तिर फर्किएर भेट्टाउनुपर्छ, कि त अलमल गरेर पर्खिनुपर्छ । हामी नेपाली फर्किने भन्ने शब्दै जान्दैनौँ । त्यसैले समयक्रममा सङ्घीयता आइहाल्छ, अनि सँगसँगै अघि जाउँला भनेर पर्खेर बसिरहेका छौँ । हामीले पर्खिए पनि राजनीति हामी जसरी चौतारीमा उपरखुट्टी लगाएर बस्दैन । उसलाई त कि अघि कि पछि गर्नैपर्छ । अहिले नेपालमा यही गज्याङगुजुङ भइरहेको छ । गज्याङगुजुङको काल छोटो हुन्छ । त्यसलाई राजनीतिक भाषामा सङ्क्रमणकाल भनिन्छ । अबको एकाध वर्षमा यो सङ्क्रमणकाल सकिन्छ । त्यसैले आत्तिनुपर्दैन । किनभने अब हामी पछिल्तर फर्कनै नसकिने ठाउँमा उभिएका छौँ । कि हामीलाई चौतारीको ढुङ्गो बनाउनुपर्छ कि सङ्घीय राजनीति आएको देख्नेबित्तिकै चौतारीबाट फुत्त ओर्लिएर सङ्घीयतासँग पाइला मिलाएर हिँड्न थालिहाल्नुपर्छ ।
राजनीतिमा छलाङको परिणाम राम्रो हुँदैन भन्ने कुरो पहिल्यै बुझ्नुपथ्र्यो । छलाङले हामीलाई जनताबाट अलग्याउँछ र जनताबाट अलग्गिने राजनीतिमा नराम्रो परिणाम बेहोर्नुपर्छ भन्ने ज्ञान त्यतिखेर कता गएछ पत्तै पाइएन । सशस्त्र सङ्घर्ष र जनआन्दोलन फरक फरक मुद्दा हुन् । के कारणले यिनीहरूको अन्तरघुलन भएछ ! यी दुवैले सङ्घीयता भनेको हजारौँ वर्षदेखि सत्तामाथि राज गरिहेको सामन्तवाद र एक शताब्दीदेखि सत्तालाई निचोरेर नाफा खाइरहेको दलाल पुँजीवादसँग एकैसाथ कसरी मोर्चा खोल्न सकिन्छ भनेर हामीले सोच्यौँ होला ? किनभने राजनीतिको प्राकृतिक नियम भनेको सामन्तवादविरोधी युद्धलाई विजयको शिखरमा पु¥याएपछि मात्र पुँजीवादसँग दह्रो सङ्घर्ष गर्नुपर्छ भन्ने हो । एकैचोटी सामन्तवाद र पुँजीवादलाई ड्याम्म दिएर सिध्याइहालिन्छ भन्ने ‘नयाँ’ समाजवादी सिद्धान्त नेपालमा कसले आविष्कार ग¥यो ? अहिलेसम्म मैले थाहा पाउन सकेको छैन । मैले पत्तो नपाएर के हुन्छ र ! साथीहरूले, गाउँ गाउँमा सरकार, घर घरमा सिंहदरबार भनेर घोषणा गरिदिइहाल्नु भयो ।
घोषणा गरिरहँदा उहाँहरूले यति सामान्य कुरा पनि सोच्न भ्याउनुभएन । के माथि टाउकामा बसेर राज गरिरहनु भएकाहरूले त्यो सत्ताको अधिकार गाउँ वा नगरपालिका सरकारलाई दिन उहाँको ‘ठूलो’ चेतनाले मान्थ्यो ? मान्दैनथ्यो । मानेन पनि । घर घरमा सिंहदरबार त नौटङ्की भयो । आधारभूत तहका जनतालाई आफ्नै पालिका सरकार पनि पर भइदियो । म जन्मिएको जिल्लाको सानो उदाहरण दिन चाहन्छु यहाँ । पहिले अखुवा खोलापारिको आम्तेकमा गाउँ विकास समिति थियो । अहिले त्यो वडा भएको छ । अब आम्तेकका सेवाग्राही पहिले गाविसबाट पाइरहेको सुविधा लिन एक रात बास बस्ने गरी भोजपुर नगरपालिकामा पुग्नुपर्ने भयो । के यही हो गाउँ गाउँमा सरकार, घर घरमा सिंहदरबार ? होइन । हामीले त खास गरेर पहाडी क्षेत्रका जनतालाई सेवा होइन, दुःख पो दिएछौँ ।
सिंहदरबारको तर्क हुनसक्छ– गाउँ विकास समिति सरकार थिएन । अहिले हामीले सरकार दिएका छौँ । तपाईंहरूले बुझेर भन्नुभयो तर सरकारको अनुभूति ग्रामीण जनता होइन, स्वयं तिनका प्रतिनिधिले पनि गर्न सकिरहेका छैनन् । यसैलाई मैले छलाङको दुःख भनेको हुँ । छलाङ मार्न सक्ने नेताहरूले आफ्नो भाकाको सङ्घीयता बुझे होलान् । हुने खानेको काठमाडौँ जिल्लामा त गेग्य्राने नै भए पनि मोटर गुड्ने सडक छन् । तर त्यो भोजपुर नगरपालिको अखुवा फेदीबाट स्याउ फल्ने सुन्तलेडाँडामा पैदल जाँदा पूरा एक दिन लाग्छ, त्यो पनि लमक लमक हिँड्नेका लागि । यस्तो पनि हुन्छ नगरपालिका ? जे जस्ता विद्वान्हरूले गाउँपालिकाको नक्सा काट्नुभयो नि, उहाँहरूसँग नेपालको भूूगोलको वास्तविक नक्साको ज्ञान नै रहेनछ । उहाँहरूको चेतना सबै जिल्ला काठमाडौँ उपत्यकाका तीन जिल्लाभित्रै खुम्चिन पुगेछ । जल यातायात अथवा रेल यातायात भनेको सय वर्षदेखि सुविधा भोगिरहेको समुदायका लागि मात्र हो । काठमाडौँ उपत्यका, तराईका सुविधासम्पन्न जमिनमा त ठूला गाउँपालिकाहरू सहज होलान् तर पहाडी क्षेत्रमा यो पालिका सरकार दुःखको उपहार पो भयो । सिंहदरबारमा बस्नेहरूले गाउँको, विशेष गरेर हिमाली र पहाडी गाउँ अथवा नगरपालिकाको नयाँ सीमाङ्कन गर्नुभएन पहाडबाट तराई झर्ने बाढी घट्नेछैन । पहाडवासीले दुःखको पालिका सरकारको पूजा गर्ने छैनन् ।
सिंहदरबार ठूलो होइन, ठूलो भनेका पालिका सरकारहरू नै हुन् भन्ने चेत, नाम चलेका ठूला नेता तथा कुनै सङ्घीय मन्त्रिपरिषद्को सदस्य बन्ने सपना देखेर बसेका नेता र कार्यकर्तामै छैन । अनि कहाँबाट होस् सङ्घीयताको सबलीकरण ! साँच्चै सङ्घीयतालाई बचाउने र बढाउने हो भने नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले गाउँपालिकाको केन्द्रसम्म पुगेर भाषण होइन, वास्तविक सङ्घीयताको शिक्षा दिनुपर्छ । अहिले सबैले बुझिसकेका छन्, नेपालमा सङ्घीयताको पक्षमा नेपाल कम्युनिस्ट पार्टी मात्र छ । सङ्घीयता बलात् लादिएको हो भनेर नेपाली काँग्रेसले भनिसकेको छ । राप्रपाको सिद्धान्त हिन्दु राष्ट्र र राजतन्त्र नै भइसकेको छ । यस्तो अवस्थामा नेकपाको सरकारले पनि सबै अधिकार माथि नै राख्ने हो, स्थानीय सरकारलाई सम्पूर्ण नदिने हो भने हाम्रो मुलुकमा सङ्घीयताको कुनै अर्थ हुनेछैन । सबै तहका उपप्रमुखहरूको जिम्मेवारी न्यायिक क्षेत्रको छ । तर दुई वर्षसम्म तिनलाई न्याय शिक्षा कति दिइएको छ ? मैले त एउटा उदाहरण मात्र दिएको हुँ । यस्तो अस्तव्यस्त अवस्था जताततै छ । राजनीतिक प्रशिक्षणमा पनि नेताहरू गर्वका साथ भन्न सक्नुपर्छ– पार्टीभित्र उहाँ मेरो कार्यकर्ता हुनुहुन्छ तर जनप्रतिनिधिमा उहाँ मेरो पनि नेता हुनुहुन्छ । कुनै ठूलो नेताले सार्वजनिक समारोहमा आफ्नो कार्यकर्तालाई यति मात्रै सम्मान ग¥यो भने पालिकाका जनताले नगरपालिकाका प्रमुख, उपप्रमुख अनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र पालिका परिवारलाई सम्मान गर्छन्, उनीहरूप्रति पार्टीको मत मात्र होइन, विश्वासको मतसमेत प्रदान गर्नेछन् ।
थोरै बोलौँ, धेरै गरौँ । अझै पनि धेरै बिग्रिएको छैन । अहिले नेपालका प्रायः सबै पार्टी सङ्घीयता र धर्मनिरपेक्षता, त्राहिमाम् भन्दै भागाभाग गरिरहेका छन् । त्यसैले अहिले नेपाल कम्युनिस्ट पार्टीले पार्टीलाई घरघरमा र सरकारलाई गाउँ नगरमा पु¥याउन सजिलो भएको छ । मैदान खालि छ एक प्रकारले । अहिले त कुनै ठूलो सैद्धान्तिक प्रशिक्षण पनि चाहिँदैन ।
सङ्घीयतालाई बलियो र सफल बनाउन स्थानीय सरकारले कस्तो काम गर्नुपर्छ भन्ने विषयको ज्ञान मात्र बाँड्न सके पनि नेपालको सङ्घीयता नेपाल माटो बिरुवा भएर उम्रिन्छ ।
केही साथीहरू, कर्मचारी समायोजन गाह्रो भयो भन्नुहुन्छ । तपाईं नेताहरूकै समायोजन गाह्रो भइरहेको छ भने बिचरा ती कर्मचारीतिर किन औँलो ठड्याउनु ? कर्मचारीतन्त्रको तीन सय वर्षको सामन्ती ‘प्रोटोकल’ सच्याउन जनमुखी राजनीतिले कति काम ग¥यो ? सङ्घीय सांसदहरू ठूला हुन् भने तिनीहरूसँग काँधमा काँध मिलाएर राजकाज चलाइरहेका कर्मचारी किन
‘तल’ जान्छन् ?
छलाङको राजनीति विकास होइन विनाश हो । छलाङ सिद्धान्त मान्ने पार्टीले कुनै न कुनै बिन्दुमा जनताबाट अलग हुनैपर्छ । त्यसैले अब छलाङको राजनीति छाडौँ । हाकिम ठूला र पियन साना हुँदैनन् । मान्छे सबै बराबर हुन् । ठूलो सानो भनेको उमेर हो । नमस्ते गर्ने भनेको पनि मान्छे होइन, उमेरलाई नै हो ।
आफूलाई यसरी सच्याउन नसक्ने नेताहरूले, सङ्घीयता बचाउन सक्दैनन् । सङ्घीयता भाषण होइन, त्यो व्यवहार हो । जति भाषण गरे पनि तपाईंहरूको व्यवहार सप्रिएन भने कसैले नसोचेका परिणामको भागी हुन हामी सबैले तयार भएर बस्नुपर्छ ।

(लेखक नेकपाका नेता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?