logo
२०८१ मंसिर १३ बिहीवार



उत्पादनको जागरण (सम्पादकीय)

विचार/दृष्टिकोण |





चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी बनेको छ । कोरोना सङ्क्रमणको अवस्था विश्लेषण गरी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । जसअनुरूप विभिन्न देशले नियन्त्रणका लागि उपचारात्मक र सचेतना उपाय अवलम्बन गरिरहेका छन् । कोरोना विश्वव्यापी रूपमा फैलिए पनि नेपालमा यो विस्तार भएको छैन तर जोखिमको आँकलन गरेर सरकारले नियन्त्रणका लागि राजधानीमा १२० वटा सघन उपचारकक्ष र एक हजार बेडसम्मको आइसोलेसन कक्ष तत्काल निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय अस्पतालमा समेत एक सय सघन उपचारकक्ष निर्माण हुने भएको छ । डब्लुएचओले अल्कोहलयुक्त स्यानिटाइजरले बारम्बार हात धुने र मास्क लगाउने सन्देश दिइरहेको छ । जसका कारण यी वस्तुको अत्यधिक प्रयोग भई नेपालमात्र होइन विश्वबजारमा पनि अभाव देखिएको छ । यही अभावबीच वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर परीक्षण प्रयोग गरेको छ । विभागले बनाएको जडीबुटीयुक्त स्यानिटाइजरले एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण बोकेको छ । स्यानिटाइजरमा अल्कोहल रसायन इथानोलको बेस राखिएको छ जसमा अन्य रसायनसहित जडीबुटीको मिश्रण छ । यससँगै फर्मुला छिट्टै उत्पादनका लागि हस्तान्तरण गरिने विभागले जनाएको छ । विदेशी फर्मुलामा बनेका स्यानिटाइजर प्रयोग गर्नुभन्दा स्वदेशमै उत्पादन हुने स्यानिटाइजरलाई प्राथमिकता दिए राष्ट्रिय बौद्धिकताको प्रवद्र्धनसँगै अर्थतन्त्रमा पनि टेवा पुग्ने निश्चित छ ।
यसैगरी ललितपुर महानगरपालिकाले पनि स्यानिटाइजरको मागलाई ध्यानमा राखेर नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँग सहकार्य गरी घरेलु कच्चापदार्थ (मदिरा) को प्रयोग गरी डब्लुएचओको मापदण्डअनुसार स्यानिटाइजर उत्पादन गर्दैछ । नास्टले स्थानीय कच्चापदार्थ प्रयोग गरेर स्यानिटाइजर बनाउन तालिम दिइरहेको छ । तालिम लिएका स्वास्थ्यकर्मी तथा प्रतिनिधिले वडाका अन्य सर्वसाधारणलाई सिकाउने योजना छ । त्यस्तै महानगरले मास्क उत्पादन गरी विक्री गरिरहेको छ ।
नेपालसँग भएको कच्चापदार्थ नेपालमा नै प्रशोधन गर्ने क्षमताको विकास गर्न सके हामीले स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बाटो समात्न सक्छौँ भन्ने कुरा यसले देखाएको छ । नेपालमा भौगोलिक, जैविक र हावापानीको विविधताका कारण थुप्रै कच्चापदार्थ र स्रोत छन् । सम्भावित क्षेत्रको अध्ययन, अनुसन्धान गरी उद्योगको रूपमा विकास गर्ने अहिले स्वर्णिम अवसर छ । यस्तो सङ्कट र अभावकै बेलामा मानवले विकल्पको खोजी र विकास गर्न जानेको हो र हामी पनि आफ्नो क्षमता देखाउन सक्ने अवस्थामा छौँ । यसबाट देश आर्थिक समृद्धितर्फ लम्कनेमात्र नभई स्वदेशमै रोजगारीको सिर्जना हुने, व्यापारघाटा कम हुने, आयात प्रतिस्थापन गर्न सकिन्छ । देश विकास र समृद्धिको प्रमुख आधार उद्योगहरूको विकास, विस्तार तथा व्यवसायउन्मुख आर्थिक योजना र कार्यान्वयन नै रहेको कुरामा द्विविधा छैन । उद्योगको विकास, विस्तारका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३, औद्योगिक नीति, २०६७ र औद्योगिक व्यवसाय ऐन, २०७३ लागू भएको छ । यिनले पनि देशमा रोजगारीको सिर्जना, स्वदेशी तथा विदेशी लगानी आकर्षित, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सुदृढ गर्ने लक्ष्य लिएका छन् । हामीले अब ससानै वस्तु किन नहोउन्, स्वदेशी उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्न सक्नुपर्छ । अहिले दुईतिहाइ नजिकको स्थिर सरकार छ । यसले स्वदेशी उत्पादनलाई प्रेरित र प्रवद्र्धन गर्ने, उद्यमशीलता र उत्पादनको ज्ञान तथा आवश्यक पूर्वाधार जनस्तरमा दिन सक्ने हो भने आर्थिक अवस्थामा उल्लेख्य वृद्धि हुने देखिन्छ ।
अहिले पनि हामी आयातमा भर पर्नुपर्ने अवस्था छ । हिमालबाट टिपेको जडीबुटीबाट बनेको औषधि हामीले प्रयोग गर्न नपाउने, हामीले उब्जाएको अल्लो र शुद्ध कपासका कपडा हामीले लगाउन नपाउने स्थिति छ । यसको अन्त्य गरी देशमा उपलब्ध कच्चापदार्थको प्रशोधन र डिजाइन गरी विश्व बजारमा नेपालको नामबाट फैलाउन आवश्यक छ । देशमा स्थापित उद्योगधन्दाको नियमित सञ्चालन र विस्तार गरी थप केही कलकारखानाको स्थापना मात्रै गर्न सक्ने हो भने युवा विदेशिने क्रम रोकिन्छ । अहिले हामीसँग मौका छ, जसरी स्यानिटाइजरको उत्पादन गर्नेतर्फ हामी लागेका छांँै, त्यसरी नै भविष्यमा औषधि तथा अन्य वस्तुमा उत्पादन गर्न सक्यौँ भने आत्मनिर्भर हुनसक्छौँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?