logo
२०८१ मंसिर १३ बिहीवार



कोरोनाविरुद्ध विश्वव्यापी लडाइँ

विचार/दृष्टिकोण |




दधिराम खतिवडा / पुष्प लामा

गत वर्षको डिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरस सङ्क्रमण महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ । विभिन्न युरोपेली देशमा सङ्क्रमण र मृत्युदरको अङ्क निरन्तर उकालो लागिरहेको छ । यो गम्भीर महामारी रोगको फैलावटले विश्वव्यापी चिन्ता र चुनौतीका रूपमा देखापरेको छ । विश्वव्यापी मानवीय क्षतिका अलावा आर्थिक मन्दीले ढोका ढकढक्याउन थालिसक्यो । यसको लम्बाइ र गहिराइ कति हो भन्ने कुरा महŒवपूर्ण छ । घातक नोबेल कोरोना भाइरसका सन्दर्भमा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ज्यादा सनसनीपूर्ण भएकाले मानिसमा मनोवैज्ञानिक त्रास झन् बढी उत्पन्न भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड–१९ लाई विश्वव्यापी महामरीको संज्ञा दिँदै उच्च सतर्कता अपनाउन विश्वव्यापी चेतावनी सार्वजनिक गरिसकेको छ । बर्सेनिजस्तै निरन्तर उत्पन्न हुने विश्वव्यापी महामारी इबोला, स्वाइन फ्लु, डेङ्गुजस्ता घातक भाइसविरुद्ध डब्ल्युएचओले सङ्कटकाल घोषणा गरी सङ्क्रमणलाई नियन्त्रणमा लिइएको थियो । ठीक त्यस्तै कोरोना भाइरस पनि यो एकप्रकारको सङ्क्रमण हो, निश्चित समयपछि यसको आयु समाप्त हुन्छ र आफैँ हराउँछ ।
कोरोना भाइरस सङ्क्रमण देखिएका देशको सङ्ख्या दिनहँु बढिरहेको छ । अहिलेसम्म यो भाइरसको सङ्क्रमण १६२ वटा देशमा भेटिएको पुष्टि भइसकेको छ । साढे सात हजारभन्दा बढीको ज्यान गइसकेको कहालीलाग्दो स्थिति छ । विश्वले यसको गम्भीरतापूर्वक नियन्त्रण गर्न सकोस् भनेर स्वास्थ्य सङ्गठनले सङ्कटकाल लगाएको छ । नेपाललगायत सार्क सदस्य राष्ट्रहरूले कोरोनाविरूद्ध लड्न साझा दक्षिण एसियाली साझेदारीमा आकस्मिक कोष स्थापनासहितको रणनीतिक योजना सार्वजनिक गरिसकेको छ । युरोपेली युनियन र कतिपय पश्चिमा शक्तिराष्ट्रहरूले कोभिड–१९ विरुद्ध लड्न अन्तरदेशीय सहकार्य, वैज्ञानिक अनुसन्धान, मेडिकल प्रयोगशाला, भ्याक्सिनको आविष्कार थालेका छन् ।
विश्वव्यापी सङ्क्रमण फैलावट भइरहेका बेला एक महाशक्ति राष्ट्र अमेरिकाले हालै कोरोना भाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय सङ्कटकाल घोषणा गर्दै सङ्घीय सरकारले आपतकालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्ने बताएको छ । यसबाट शङ्कास्पद सङ्क्रमित नागरिकमा चाँडो स्वास्थ्य परीक्षणको गति बढ्ने निश्चित छ ।
अमेरिकाका विभिन्न राज्यले सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन् । यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ । सङ्कटकाल घोषणासँगै अमेरिकी सरकार अब विपत्को राहतका लागि ५० अर्ब डलर खर्च गर्न सक्नेछ । साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ । व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकलाई स्वास्थ्य विभागले आह्वान
गरेको छ ।
अनावश्यक रूपमा घरबाहिर ननिस्किन र जमघट नगर्न भनिएको छ । आपतकाल घोषणापश्चात् अमेरिकी बजारमा विशेषगरी शौचालयमा प्रयोग हुने पेपर र स्यानिटाइजर, साबुन र दैनिक उपभोग्य खाद्य पदार्थको अभाव सिर्जना भएको छ ।
कोरोना भाइरसका कारण ज्यादा आत्तिएर मानिसले पूर्वसावधानीका निम्ति नाटकीय ढङ्गले सुपर मार्केटबाट ठूलो मात्रामा खरिद गरिरहेका छन् । सामग्रीको मागअनुसारको उत्पादनमा गिरावट आएको उत्पादक कम्पनीहरूले बताएका छन् भने आपूर्ति र उत्पादन सहज बनाउन सरकारले विशेष प्याकेज घोषणा गरिसकेको छ । अर्कातर्फ अधिकांश एसियनमूलका आप्रवासी व्यवसायीद्वारा सञ्चालित साना तथा मझौला स्टोरहरूले उल्लेख्य कालो बजारी गर्नसमेत भ्याइरहेका छन् । अमेरिकाले यसअघि युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ । कोरोना भाइरस रोकथामका लागि भन्दै ईयू र अमेरिकाबीच हवाई यात्रा प्रतिबन्ध लगाएपछि अमेरिका, युरोप र एसियाका बजारहरूमा त्यसको गम्भीर असर परेको छ ।
यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ ? यसका लक्षणहरू के हुन् ? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यानै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ? नयाँ कोरोना भाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले भनेको छ, कोरोना भाइरस (कोभ) भाइरसहरूको एक ठूलो परिवार हो । जसले साधारण रूघाखोकीदेखि लिएर गम्भीर किसिमका रोगहरू निम्त्याउँछ । यो बिल्कुल एक नयाँ विषाणु हो, जुन मानवमा पहिले पहिचान गरिएको थिएन । नेसनल इन्स्टिच्युट हेल्थ अमेरिकाका अनुसार पहिलोपटक चीनमा पत्ता लागेको नयाँ कोरोना भाइरसको मुख्य कारण श्वासप्रश्वास रोगको प्रकोपबाट फैलिएको प्रतिक्रिया दिइएको छ । उक्त भाइरसलाई (सार्स कोभ–२) नाम दिइएको छ । र, यो विषाणुले निम्त्याउने रोगलाई कोरोना भाइरस अर्थात् कोभिड–२०१९ भनिएको छ ।
कोरोना भाइरस जेनेटिक हुन् । यसको अर्थ भाइरसहरू जनावरबाट जनावरहरूमा र अन्तिममा मानिसमाझ प्रसारित हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनको विस्तृत अनुसन्धानअनुसार सार्स–कोभ जनावर, गाईबस्तु, बिरालो, ऊँट र चमेराबाट मानवमा सरेको थियो । अधिकांश पत्ता लागेका कोरोना भाइरस जनावरहरूमा परिक्रमा गरिरहेका छन् । जुन मानवमा अहिलेसम्म सङ्क्रमित भएको थिएन ।
चीनको हुबेई प्रान्तको वुहानमा प्रकोपको केन्द्रबिन्दुमा धेरै बिरामीहरूको ठूलो समुद्री खाना र प्रत्यक्ष पशु बजारसँग सम्बन्धित देखिएको छ, जुन घातक जीवाणुहरू जनावरदेखि व्यक्तिमा फैलिएको थियो । पछि, मानिस बिरामीको सङ्ख्यामा बढ्दै गएपछि जनावरको समूहमा सङ्क्रमण देखिएन । यसले व्यक्तिदेखि व्यक्ति प्रसार देखाउँदछ । व्यक्तिदेखि व्यक्तिमा प्रभाव फैलिँदै गएको नेसनल इन्स्टिच्युट अफ हेल्थका वैज्ञानिकरूले बताएका छन् । चीनले कहालीलाग्दो महामारी आफ्नै स्थानीय प्राविधिक स्रोत, सीप, जनशक्ति, विशेषज्ञ र आन्तरिक प्रयासले पूर्ण नियन्त्रणमा लिइसकेको छ । भाइरसको द्रुततर चपेटामा परेका अन्य मुलुकहरूले चीनसँगको सहकार्यात्मक अभ्यास आवश्यक छ ।
महामारी तब सिर्जना हुन्छ, जब एक नयाँ भाइरसद्वारा मानिसमा सङ्क्रमण गर्दछ । र, मानिसबीच स्थिर रहन सक्छ । किनभने नयाँ भाइरसविरूद्ध कुनै पूर्वअवस्थित प्रतिरक्षा क्षमताको अभावमा यो विश्वव्यापी रूपमा फैलिन्छ । कोरोना निम्त्याउने भाइरसले मानिसलाई सङ्क्रमित गरिरहेको छ । व्यक्तिदेखि व्यक्ति सजिलैसँग फैलिरहेको छ । थुप्रै सङ्क्रमणका घटनाहरू संसारभरका धेरैजसो देशहरूमा पत्ता लागेका छन् । बाक्लो बस्ती, समुदाय, ठूला सहरमा यसको नकारात्मक प्रभाव व्यापक छ । कोरोनाको सङ्क्रमणका सामान्य लक्षणहरूमा श्वासप्रश्वासका लक्षण, ज्वरो, खोकी, सासको कमी र सास फेर्न कठिनाइ समावेश छन् । अधिक गम्भीर अवस्थामा, सङ्क्रमण निमोनिया, तीव्र श्वासप्रश्वास, मिर्गौलामा समस्या र अन्ततः मृत्यु पनि हुन सक्छ ।
चिकित्सकहरूका अनुसार कोरोनाको जोखिम भाइरसको विशेषताहरूमा निर्भर गर्दछ । साथै यसले मानिसबीचमा कसरी फैलिन्छ ? परिणामस्वरूप बिरामीको गम्भीरता, स्वास्थ्य अवस्था वा भाइरसको प्रभावलाई नियन्त्रण गर्न उपलब्ध अन्य उपायहरू जस्तै, भ्याक्सिन वा बिरामीको उपचार गर्न सक्ने औषधि र यसको सापेक्ष सफलता कति सम्भव छ ? खोप उपचार, औषधिहरूको अभाव, अन्तर्राष्ट्रिय स्थानहरूबाट आवतजावतले मानव समुदायमा फैलिएकाले पनि सङ्क्रमणको माथिल्लो जोखिमको स्थिति कायम छ ।
कोभिड–१९ विरुद्ध सुरक्षाका लागि कुनै भ्याक्सिन यसअघि विकास भएको छैन । गत सोमबारमात्र अमेरिकाको सिएटलस्थित कैसेर पर्मानेन्ट वासिङ्टन संस्थाका वैज्ञानिकहरूले पहिलोपटक कोरोनाविरूद्धको भ्याक्सिन मानव शरीरमा परीक्षण गरेका छन् । यसको प्रभावकारी नतिजा आउन केही समय लाग्ने भनिएको छ । यसको उपचार गर्न कुनै पनि अन्य औषधिहरू अनुमोदन गरिएको छैन । भाइरसको फैलावट ढिलाइ गर्न र रोगको प्रभावलाई कम गर्नका लागि ननफर्मास्युटिकल उपाय सबैभन्दा महŒवपूर्ण प्रतिक्रिया रणनीति हुने प्रक्षेपण गरिएको छ ।
यस जटिल समयमा विश्वव्यापी भाइरसको फैलावट र प्रभाव कम गर्न समग्रमा दुनियाँ केन्द्रित छन् । अन्तरदेशीय सहकार्य, सम्बन्धित देशका सङ्घीय सरकार राज्य, स्थानीय र क्षेत्रीय साझेदारहरूको साथसाथै जनस्वास्थ्य साझेदारहरूसँग मिलेर सार्वजनिक स्वास्थ्य खतराको न्यूनीकरण गर्ने अभियानमा सङ्घर्षरत छन् । विश्वव्यापी रूपमा महामारीको सम्भावित उच्च खतरबाट बच्न समुदायहरूमा पूर्वतयारी र योजनाहरू कार्यान्वयन गर्दै छन् ।
कोरोना भाइरस निश्चित रूपमा संसार परिवर्तन गर्न गइरहेको छ । यसले हामीलाई अगाडि बढ्ने अनुकूलनताबारे अझ राम्रो निर्णय लिन मद्दत गर्नेछ । कोरोना भाइरसको विज्ञान अझै विकसित भइरहेको छ । तथ्याङ्क अपूर्ण छ र जटिलता उत्तिकै छ । सबै वैज्ञानिक खोजहरूलाई अन्तिम सफलताका रूपमा देख्नुपर्दछ ।
धेरै अध्ययनहरू गहिरो समीक्षाविना बाहिर आएका छन् । मार्चको सुरूसम्म डब्ल्युएचओले विश्वव्यापी रूपमा मृत्यु दरको ३.४ प्रतिशतको अनुमान ग¥यो । यसको मतलब यो हो कि सङ्क्रमित धेरै मानिस मर्दैनन् । हार्वर्ड वैज्ञानिक तथा महामारी रोग विशेषज्ञ प्रोफेसर मार्क लिपिसिचले चेतावनी दिनुभयो– कोरोना भाइरस विश्वव्यापी हुने र विश्व जनसङ्ख्याको चारदेखि सात प्रतिशत पुग्ने सम्भावना छ ।
वैज्ञानिकहरू कोभिड–१९ विरूद्ध डायग्नोस्टिक्स, थेरापी र खोपहरू विकास गर्न तयार छन् । ती परियोजनाहरूमा समावेश गरिएका भाइरसहरूले कोषहरूलाई कसरी सङ्क्रमण गर्छ र रोग निम्त्याउँछ भनेर बुझ्नका लागि आधारभूत अनुसन्धानहरू हुँदै छन् । रोग निदान परीक्षणहरू र खोपहरू विकास गर्न प्रयोग हुने प्लेटफर्महरू मूल्याङ्कन गरिरहेका छन् । मानव कोरोना भाइरस सङ्क्रमणहरूको उपचार र रोकथाम गर्ने तरिकाहरू पत्ता लगाउँदै छन् । नयाँ एन्टिबडीहरू, लागूऔषध र खोपहरू विकास गर्न कोषिकामा प्रवेश रोक्ने, प्रतिरक्षा प्रणाली प्रतिक्रिया ढिलाइ गर्न वा भाइरल रोक्न विश्वव्यापी चिकित्सक, वैज्ञानिक लागिपरेका छन् ।
दुःखद प्राकृतिक महामारीको बेला मानवीय सहयोगका लागि मनोवैज्ञानिक, सामाजिक एकता, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यका साथ मृत्युविरुद्ध लड्न कोभिड–१९ ले सन्देश दिएको छ ।
(अमेरिका आधारित खतिवडा स्वतन्त्र पत्रकार र लामा सूचना प्रविधि अध्येता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?