युवराज बाँस्कोटा
कोभिड– १९ अर्थात् कोरोना भाइरस, यसको हमला÷सङ्क्रमणपूर्वको अवस्था र सङ्क्रमित अवस्थामा बच्ने उपायबारे विश्व स्वास्थ्य बजारमा व्यापक ढङ्गले चलिरहेको छ । गएको चैत २ गते आइतबार मात्र कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रमाझ राष्ट्रप्रमुखहरूले एकसाथ संवाद गरे । कोरोनाविरुद्ध साझा रणनीति निर्माण गर्न सार्कका सदस्य राष्ट्र र सरकार प्रमुखहरूले विषयगत गम्भीरताका साथ भिडियो कन्फरेन्स गरेका छन् । विपद्का बेला सार्क देशहरूको यो परस्पर सहकार्यको पहल प्रयत्न विश्व राजनीतिक मञ्चका लागि उदाहरण बनेको छ । कोरोना भाइरस प्रकरण विगत लामो समयदेखि परस्पर संवाद र सम्पर्कविहीन बन्दै आएको सार्क पनि सक्रिय बनेको छ । परस्पर गाढा मित्रताको भावना अभिव्यक्त भएको छ । व्यवहार र प्रविधि आधारित सहयोग आदानप्रदान हुने दृढ इच्छाशक्ति एकापसमा साटिएको छ ।
यसको अर्थ– अब दुनियाँको ध्यान कोरोना भाइरसको सङ्क्रमण हुन नदिन यसको प्रारम्भिक नियन्त्रणतर्फ खिचिएको छ । नेपाल सरकार कस्तै पनि अवस्थामा यसबाट अछुतो रहन सक्दैन । बरु सार्क हेडक्वाटर काठमाडौँमा रहेको कारणले पनि नेपालले यसबारे परस्पर सुसूचित गर्ने र परिस्थितिलाई अद्यावधिक गराइरहने काम गर्नेछ । नेपाल सम्बन्ध–सेतु र समन्वयकारी भूमिकामा रहनेछ । काठमाडौँको भूमिकाले सार्कमा नेपालको अवस्थिति बढ्ने सम्भावना पनि प्रबल छ । प्रलयकारी भूकम्पपछिका दिनहरूमा थोरै धेरै केही मात्रामा सहानुभूति बटुल्न सकेको नेपालले विश्व मानचित्रमा आफूलाई सार्कको मञ्चमार्फत उभ्याउन सक्ने आधारसमेत विकास भएको छ ।
तयारी
यता नेकपा नेतृत्वको सरकारले कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यान दिँदै दुई सय ३५ आईसीयू बेड तयार पार्ने नीतिगत कार्ययोजना अघि बढेको जनाएको छ भने कोरोनाको उपचारका लागि सङ्घीय राजधानी काठमाडौँ उपत्यकाका तीनवटा अस्पताललाई व्यवस्थापन गरिसकेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइएको छ भने वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने गरी अस्पताल बनाउने तयारी रहेको जनाएको छ । यसको अर्थ हो– नेपाल सरकार कोरोनालाई नियन्त्रणमा लिन सम्पूर्ण तयारीका साथ अघि बढेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले महामारी घोषणा गरिसकेको यो कोरोना सङ्क्रमणलाई फैलिन नदिन सरकारले पर्यटक भिसा रोकेको छ भने धेरै सङ्क्रमण फैलिएको देशबाट आएका आफ्ना नागरिक वा पाहुनालाई क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रदेश सरकार र स्थानीय सरकारले पनि सङ्घीय सरकारका दीर्घकालीन र आवधिक योजनाहरूलाई सघाउन पु¥याउन र पूर्णतः कार्यान्वयनमा ल्याउन प्रभावकारी योजना बनाइरहेका छन्, कार्यान्वयनको तहमा ओर्लन सामरिक तयारीका साथ गृहकार्यमा लागेका छन् ।
अवस्था
छिमेकी चीनको वुहान प्रान्तबाट देखापरेको यो रोगको असर फैलानासाथ सरकारले चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई स्वदेश उता¥यो । उनीहरूको परीक्षण प्रक्रिया सकेर घर–घर पुग्ने, फर्कने सहज वातावरण बनायो । कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको हकमा चैत ५ गतेभित्र परीक्षा लिइसक्न र त्यसपछि स्वतः एक महिना विद्यालय बन्द राख्न सरकारले निर्देश गरेको छ । कोरोनाका लक्षणहरू निमिट्यान्न नभएसम्म समूहगत बसउठ, सम्पर्क, संसर्गबाट टाढा रहन र अत्यन्तै सावधानीपूर्वक आफ्ना दैनन्दिन कार्यसम्पादन गर्न सरकारले नागरिक सर्वसाधारणलाई सचेत गराएको छ । परिस्थितिलाई सकार्न सरकार प्रतिबद्ध रहेको प्रष्ट छ । यसैको प्रतिफलस्वरुप दिनहुँ स्वास्थ्यस्थितिको समिक्षा, नियमित कार्यसम्पादन, निष्पादन र प्रकाशन अद्यावधिक भइरहेको आभास हुन्छ ।
सचेतना
यसका अतिरिक्त विभिन्न माध्यमद्वारा कोरोना भाइरस के हो ? यो भाइरस कस्तो प्रकारको प्रजाति हो ? कहाँबाट सुरु भयो ? यसको महामारी कसरी फैलियो ? कसरी फैलिन्छ ? कोरोना भाइरसका लक्षण के–के हुन् ? यसको सङ्क्रमण भए यसको जोखिमबाट बच्न के गर्न सकिन्छ ? आफ्ना बालबालिकालाई कसरी असर गर्छ ? कुन उमेर समूहको मानिस बढी प्रभावित हुन्छ ? बालबालिकामा कोभिड –१९ का लक्षण देखिएमा के गर्ने ? परिवारको कुनै पनि सदस्यमा यसका लक्षण देखिएमा के गर्ने ? समूहगत सहकार्यमा आममानिस र छोराछोरीलाई विद्यालय जानबाट किन रोक्नुपर्दछ ? गर्भवती महिला वा शिशुकालीन बच्चालाई कोरोना भाइरसबाट कसरी बचाउने ? यसबीचमा भरसक यात्रा नगर्ने यात्रा गर्नुपर्ने अवस्था आए आफ्नो घरपरिवारका लागि के कस्तो सावधानी अपनाउने ? बाहिरबाट आएका मानिसलाई किन क्वारेन्टाइनको आवश्यकता छ ? जस्ता विषयमा सचेत गराइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले जनवरी अन्त्यदेखि नै आवश्यक र कोरोनाको प्रभाव भएअनुसार सुरक्षा सुट, मास्क, चस्मा तथा पञ्जा समावेश गरी स्वास्थ्यकर्मीलाई परिचालित गरेको छ । नेपाल सरकार र नेपाली सेवाग्राही पनि यसबाट लाभान्वित हुने नै छ ।
जनमानस
उपरोक्त ढङ्गले सरकारी, गैरसरकारी र नागरिक सरोकारमाझ सङक्रमण हुन नदिन काम उठ्दै आएको छ । तथापि जनमानस भ्रममा छ । श्यामल मनहरूलाई शिथिल तुल्याउन भ्रमको भुमरी सिर्जना गरिएको छ । समाज यो भुमरीमा क्रमशः पसेको छ । एकातिर जनमानस सर्वसाधारणमा कोरोनाबारे भयावह डर त्रास सिर्जना गर्ने र अर्कोतिर राजनीतिक वैचारिक हिसाबले सङ्गठित हुने क्रममा रहेको नेकपा विरोधी शक्ति यस्तो भयावह महामारीको बेलामा पनि नेकपा नेतृत्वको सरकारले केही गरेन वा गर्न चाहेन÷सकेन, उत्सुकता नै देखाएन आदि–आदि भनेर सरकारविरुद्ध द्वेष प्रकट गर्न हतारिएको छ, मिडियामार्फत हिर्काउन उद्यत रहेको देखिन्छ । यदाकदा राजनीतिक प्रतिशोधका हिसाबले सत्तापक्षीय शक्तिलाई खुइल्याउने प्रयत्नसमेत भएको छ । क्रमशः यो महामारी ल्याउने रोगलाई पनि राजनीतिक रोगको विषय बनाउने खतरा बढेको छ ।
पछिल्लो एक सातायता नाकाबन्दीका कारण उपयोग्य वस्तुको अभाव सिर्जना गर्ने र कृत्रिम अभाव प्रकरण मच्चाउने प्रयास हुँदै आएको छ । नेपाली बजार नियन्त्रणबाहिर उछालिएको छ । आजको बजार औसत नेपालीको पहुँचबाहिर छ । यो आकाशिने क्रममा छ । नेपालको अर्थतन्त्र ठप्प पार्ने र नेकपा नेतृत्वको सरकारले टाट पल्टायो भनेर बखान उधिन्ने कर्मका लागि परिस्थिति अनुकूल बन्दै गएको छ ।
खाद्य बजार
यद्यपि नेपालमा कोरोना भाइरसको सङ्क्रमण नै भएको छैन । मानिसको दैनन्दिन जीवनसँग जोडिएका वस्तुको व्यापारी वर्ग सङ्क्रमणको हल्ला फैलाइरहेको छ । विभिन्न औषधीय गुण भएका वस्तुहरू, औषधिलगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभाव खडा गर्न लागेका छन् । बजारमा अत्यन्तै आवश्यक वस्तु मास्क र सेनिटाइजरको समेत अभाव खडा गरिएको छ । १० रुपियाँ पर्ने मास्कलाई २० रुपियाँमा बेचिरहेका छन् । मास्क आजको पहिलो आवश्यकता हो । यो दोब्बर तेब्बर दरमा बेचिनु किमार्थ जायज होइन ।
औषधि पसलमा उपलब्ध हुने मास्कदेखि लिएर बजारमा उपलब्ध तमाम वस्तुसहित खाना पकाउने ग्याससम्मको अभाव सुरु गरिएको छ । कसलाई के धन्दा, घरज्वाइँलाई खानको धन्दा ! भनेझैँ व्यापारी व्यवसायी घरानाले कोरोना भाइरस सङ्क्रमणबाट जोगिन नेपालले प्रयास गरिरहेको मौका छोपेर बजारमा औषधिजन्य सामग्री, मास्क, ज्वरो नाप्ने इन्फ्रारेड थर्मामिटर, हातमा दल्ने सेनेटाइजर तथा खाना पकाउने ग्यास र पट्रोलियम पदार्थमा समेत कृत्रिम अभाव सिर्जना गर्न थालेको देखिन्छ । आम उपभोक्ता भने खाद्य बन्दोबस्तको जोहो गर्नतर्फ लागेको छ । मुठ्ठीभर व्यापारी व्यवसायी वर्ग कालोबजारीका लागि सक्रिय भएका हुन् । सरकार भन्दैछ– उपभोक्ता वर्गले सतर्कता अपनाउनु ठीक हो, आत्तिनुपर्ने अवस्था छैन । राज्य पूरा तयारीमा छ । बजारमा अभाव हुन दिँदैनौँ तर कालोबजारी मौलाइरहेको छ । तथापि अभाव त सिर्जना भएकै छ ।
सतर्कता
सामान्य रुघाखोकी लागेका व्यक्तिलाई भने मास्क अनिवार्य लगाउने वा सफा कपडाले श्वासप्रश्वासमा अवरोध नहुने गरी मुख ढाक्ने, व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने, साबुनपानीले हात राम्रोसँग धुने, घरबाहिर हातले खाना नखाने, खानै परे हातमा स्यानिटाइजर लगाएरमात्रै खाने, शौचालय गएपछि र बाहिरबाट घर आएलगत्तै राम्ररी हात धुने, कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने, माछा, मासु राम्रोसँग पकाएर खाने र सकेसम्म काँचो फलफूल नखानेलगायतका सावधानी अपनाउन मात्र सके कोरोना भाइरसबाट बच्न सकिने रोग विशेषज्ञ र स्वास्थ्यकर्मीले बताइरहेको सन्दर्भ सबैका लागि ग्राह्य छ । यसबाहेक अनुचित ढङ्गले आतङ्कित मनोविज्ञानबाट लाभ लिने, दाम असुल्ने र मौकामा चौका हान्ने भ्रष्ट आचरण कोरोनाभन्दा ठूलो र डरलाग्दो भाइरस हो भनेर बुझ्न र तदनुकूल सचेत रहनु राम्रो हुनेछ ।
विश्व स्वास्थ्यसम्बन्धी वातावरणीय प्रतिकूलताको शून्यतामा रमाउने र कमाउने स्वदेशी घैमले लुटाहा व्यापारीका विरुद्ध सरकार निर्ममताका साथ उत्रन जरुरी छ । बेला छँदै कालोबजारीलाई नियन्त्रणमा लिन सक्यो भने आमनागरिकका हकमा उसको अभिभावक भनेको नेकपा नेतृत्वको वर्तमान सरकार हो, राज्य हो, यो अभिभावकीय भूमिकामा छ भन्ने कुराको विषयगत अनुभूति हुनेछ । नत्र यसले बजार आधारित नेपाली अर्थतन्त्रलाई चौपट्ट बनाउने निश्चितप्रायः छ । चौपट्ट अर्थबजारको जगमा आजको राजनीतिक प्रणाली र राजनीतिक सत्ताका विरुद्ध आवाज सङ्गठित हुनेछ । जिम्मेवार सम्बद्ध सबैले यथोचित ढङ्गले ध्यान दिनु वाञ्छनीय हुनेछ ।
(लेखक नेकपा प्रदेश १ कमिटी सदस्य हुनुहुन्छ ।)