logo
२०८१ मंसिर १३ बिहीवार



मनैबाट हटाऔँ छुवाछूत

विचार/दृष्टिकोण |




होमराज आचार्य (समुद्रवदन)

मैले कहिलेकाहीँ प्वाक्क सोध्ने गरेको छु– तपार्इंले छुवाछूत मान्नुहुन्छ ? मेरो प्रश्नमा मान्छे एकछिन अक्मकाएको पाएको छु । तर, कसैकसैले फ्याट्ट मान्दिनँ पनि भनेका छन् । कसैले अवस्था हेरेर भनेका छन्, कसैले मान्छु भनेका छन् । तर, अन्तर्यमा हाम्रो समाज छुवाछूतको विषयमा अझै रुढीग्रस्त छ । हामी राजनीतिक विषयमा निकै बोल्ने तर अन्यायको विरोधमा बोल्न डराउने संस्कारका मान्छे हौँ । छुवाछूतविरुद्ध बोल्नुलाई बहादुरी मान्ने समाजमा छुवाछूत छैन भनेर कसरी भन्न सकिन्छ ? मलाई पनि धेरै मान्छेले सोधेका छन्, तपाईंले कसरी गर्नुभयो ? छुवाछूत त हामी पनि मान्दैनौँ तर पब्लिक हुन सकिरहेका छैनौँ । गाउँघर, छिमेकीले कुरा काट्छन, बुवाआमा रिसाउँछन् आदि । हामीलाई अरूमाथि दोष थोपरेर भाग्ने बानी परेको छ । छुवाछूतको विषयमा कसैले श्रीमतीलाई दोष लगाउने, कसैले श्रीमान्लाई, वृद्ध बुवाआमालाई, त कसैले छिमेकी अनि कसैले संस्कृत भाषालाई । कोही वेद, बाहुन, वर्णाश्रम व्यवस्थालाई । कोही राणा, शाह, मल्लहरूलाई दोष लगाउने । अनि जो होचो उसको मुखमा घोचो भनेझैँ छुवाछूतको मुख्य दोषी दलित नै हुन् भन्ने पनि देशविदेशमा टन्नै भेटेँ । तर, कस्तो गज्जब ! आफ्नो गल्ती कहिले नदेख्ने । यो हाम्रो राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या हो ।
हाम्रो चेतनाको वायरिङ नै केवल अरूमाथि दोष थोपरेर आफू उम्कनुपर्छ भन्ने विधिबाट भएको छ । वेद, गीत, पुराण, रुद्री, चण्डी, सत्यनारायण, स्वस्थानीमा सबैतिर दोष अनि केवल दोष । त्यसैले होला हाम्रा संस्कारले जहिले दोष कटाउने कुरा गर्ने, दोष लाग्ला भन्ने, प्रदोषवर्त बस्नुपर्छ भन्ने । यस्तो पलायनवादी र परनिर्भरतावादी सोचले हाम्रो समग्र सोचका संरचना, चैतन्यकोष र सम्बन्ध सूत्रको निर्माण भएको छ । साना नानीहरू हुर्काउनेदेखि देश निर्माण गर्ने कामसम्म अरूलाई दोष लगाएर फत्ते गर्न खोज्छौँ । नानी रोयो भने चुप लाग् पुलिस आउँछ भन्ने । जोगी आउँछ भन्ने । डर र त्रासदी सिर्जना गर्ने । यो फर्मुला कुनै समयमा सफल थियो होला । तर, यो असफल फर्मुला हो अहिले । हामीले अब सोचको सूत्र परिवर्तन गर्नुपर्छ भन्नेतर्फ यात्रा गर्नु छ । यो परिवर्तन सजिलो काम होइन । गढेर रहेको खिल निकाल्दा निकै दुख्छ, च्यातिन्छ तर खिल निकालेपछि दीर्घकालसम्म आनन्द मिल्छ, त्यो हाम्रो जीवनमा भोगेको यथार्थबाट साक्षात्कार गरेको कुरा हो ।
मैले कुरा गर्न खोजेको खिल हाम्रो समाजमा गढेर रहेको जातीय विभेद र छुवाछूतको हो । छुवाछूतको व्यावहारिक अन्त्यमा देखिएको फर्मुला पनि दोष र डर नै हो । दलितले छोएको खाए, उनीहरूलाई घरभित्र ल्याए, भान्सामा पसाए कुलदेवता रिसाउँछन् भनेर आफूले कहिले नदेखेका, नछोएका कुलदेवतामाथि दोष थोपर्ने । धर्ममा यस्तो लेखेको छ भन्ने र धर्मलाई दोष दिने । समाजलाई दोष दिने । छिमेकीले कुरा काट्छन भनेर अमूक छिमेकीलाई दोष दिने । दलितले छोएर खानेकुरा बिटुलो हुने भए त्यसको रङ्ग, स्वाद र संरचनामा परिवर्तन आउनुपर्ने हैन र ! दलितहरू मन्दिरमा पस्दा बिटुलो हुने भए उनीहरू आउँदा नै मन्दिरका ढोका आफैँ बन्द हुनुपर्ने हैन र !
अतः देशका सबै जातजातिले यो वा त्यो बहानामा छुवाछूत बचाइराख्ने काममा समाजमाथि दोष थोपरेर पानी माथिको ओभानो हुने साँस्कृतिक पाखण्डपन त्याग्नैपर्छ । परिवर्तन र विकासको जिम्मा समाजमा होइन, व्यक्तिमा हुन्छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ । तर, हामीकहाँ छुवाछूत मामिलामा गल्ती व्यक्तिले गर्छ, दोष समाजले पाउँछ । व्यक्ति शून्यताको अवस्थामा समाज भनेको निर्जीव चीज हो । कोष र तन्तु नभई शरीर कसरी बन्छ ? कोष र तन्तुले आफ्नो जिम्मेवारी वहन नगर्ने हो भने शरीरले केही गर्न सक्दैन । मान्छेले शरीर होइन, कोष र तन्तुको भूमिका देख्न सक्नुपर्छ । हाम्रो शरीरका कोष, तन्तु र अङ्ग कति बुद्धिमान छन्– हामीले खाएको खानाबाट भिटामिन, तेल, प्रोटिन, अखाद्य, पानी सबै छुट्टाएर जता पठाउनुपर्ने हो, त्यता पठाउँछन्, खाएको खानाबाट रगत, पिसाब, दिसा छुट्ट्याएर जहाँ–जहाँ डेलिभरी गर्नुपर्ने हो, त्यही ठाउँमा पु¥याउँछन् । अन्त्यमा दिसा र पिसाबलाई निष्कासन गरिदिन्छन् । यस्तो बुद्धिमान शरीर भएका हामीमा हाम्रो चैतन्य बुद्धिमान हुन सकेन । अहिले पनि हामीले छुवाछूतजस्तो मानवीय अपराधलाई हाम्रो सामाजिक शरीरबाट निष्कासन गर्न सकेनौँ । धेरैले त ६० लाख दलितले दिनदिनै भोग्ने छुवाछूतको पीडालाई समस्या नै देख्दैनौँ । छुवाछूत छैन भन्छौँ । अनि समाज परिवर्तन भएन भनेर कोकोहोलो पनि हालिरहेका हुन्छौँ तर के कुरा बुझ्दैनौ भने भीडले परिवर्तन गर्दैन ।
भीडले ओपिनियन मा इन्फ्लुएन्स गर्ने हो । तर, वास्तविक परिवर्तन गर्न सक्दैन । परिवर्तन व्यक्तिले गर्ने हो । व्यक्तिले गरेको परिवर्तनको जोडलाई समाजले परिवर्तन ग¥यो भन्ने हो । हामीकहाँ व्यवस्था र कानुनसम्बन्धी धेरै परिवर्तन भए तर छुवाछूत हटाउने कुरामा समग्र समाज मौन छ । हामी यहाँसम्म आइपुग्दा धेरै आन्दोलन देख्यौँ र परिवर्तनका नाममा भीडमा सहभागी बन्यौँ । त्यो व्यवस्थाबाट यो व्यवस्थासम्म आइपुग्यौँ । यहाँसम्म आइपुग्दा पनि ६० लाख नेपालीले व्यवहारिक रूपमा पूर्णमानव भएको अनुभूति गर्न सकेका छैनन् । सम्मान पाउन थर लुकाउनुपर्ने अवस्था ज्यूँका त्यूँ छ । ६० लाख जनताले होटेल, रेस्टुरेन्ट, चियापसल, डेरी, पानी, मिठाइ पसललगायतका खाद्यान्नसँग सम्बन्धित व्यवसाय गर्न परेमा आफ्नो थर र पहिचान लुकाएर गर्नुपर्ने अवस्था अहिलेसम्म रहँदा पनि हिंसाको बाटो कहिले लिएनन् । अपमान पचाए तर प्रतिशोध सोधेनन् । त्यो महानतालाई राज्यले सम्मान गर्नुपर्छ । पशुपतिनाथ, मुक्तिनाथ, गुहेश्वरी, स्वर्गद्वारी, छिन्नमस्ता, शैलेश्वरी, पाथिभरा, मनकामना, विन्ध्यावासिनीलगायतका मूल भट्ट र पुजारीले सार्वजनिक आह्वान गर्नुप¥यो कि छुवाछूत गर्नु पाप हो भन्ने कुरा ।
तर विडम्बना, अहिले छुवाछूतसँग गाँसिएको अर्को विभेदको शृङ्खला सुरु भएको छ । त्यो हो, छुवाछूत र आरक्षणलाई जोडेर हेर्ने । छुवाछूत र आरक्षण जोडिएका विषय होइनन् भन्ने कुरा जनमानसमा पु¥याउनुपर्ने देखिन्छ किनकि मैले धेरै ठाउँमा सुने आरक्षण पनि दाबी गर्ने अनि छुवाछूत पनि भयो भनेर कोकोहोलो हालेर हिँड्ने ? यो कसरी हुन्छ ? यी र यस्ताखालका प्रश्न घातक छन् । छुवाछूत अपराध हो । अपराध नियन्त्रण दण्ड, जरिवाना र जेल सजायबाट गरिन्छ । तर, आरक्षण पछाडि पारिएकालाई अगाडि ल्याउन बनाइने अल्पकालीन विशेष व्यवस्था हो, जसले सीमान्तकृत समूहलाई सम्बोधन गर्छ । आरक्षण सामाजिक, आर्थिक, ऐतिहासिक, भौगोलिक, जातीय, रङ्ग, लिङ्ग, आस्था आदिका कारणले विभेदमा परेका र समाजको मूलप्रवाहीकरणमा आउन नसकेका र वञ्चितीकरणमा परेका समुदायका सदस्यलाई अवसर दिन गरिने सामाजिक न्यायका कुरा हुन् । आरक्षण दलित समुदायले मात्र पाएको होइन । छुवाछूत गरेबापत राज्यले थप विशेष व्यवस्था गर्नुपर्ने हुन्छ ।
दलित समुदायले देशको करिब १२ प्रतिशत जनसङ्ख्या ओगटेको छ । दलितको प्रतिनिधित्व हेर्ने हो भने राज्यसत्ता सञ्चालनमा र अन्य औपचारिक पेसामा कम छ । त्यो उनीहरूको कमजोरीले होइन, राज्यको सदीयौँदेखिको विभेदकरी नीतिले गर्दा हो । विगतमा भएका अन्यायलाई वर्तमानमा कायम राखिराख्नु झन् अन्याय हो । तसर्थ, हाम्रो पुस्ताले छुवाछूत र जातीय विभेदलाई निमिट्यान्न पार्न आफैँबाट सुरु गर्नुपर्छ ।
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?