logo
२०८१ मंसिर १३ बिहीवार



नमस्कार र शाकाहार : कोरोनाको अर्ध–उपचार

विचार/दृष्टिकोण |




नारायणप्रसाद पौडेल

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसा र बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजालाई कोरोना भाइरस सङ्क्रमण भएको छ । इरानका उप–राष्ट्रपति इसक जहानगिरी, सांस्कृतिक सम्पदा तथा पर्यटनमन्त्री अलि असगर मौनेसन र खानी तथा उद्योगमन्त्री रेजा रहमानीलाई पनि कोरोना सङ्क्रमण भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई पनि सङ्क्रमण भएको छ । त्यस्तै अरू कतिपय देशका सांसद र सिनेटरलाई पनि सङ्क्रमण भएको छ । त्यति माथि पुगिसकेका र कडा सुरक्षा घेरामा रहेका व्यक्तिलाई सङ्क्रमण हुनुको पछाडि अरू कुनै कारण हुन सक्दैन, जसलाई जोसुकैले छुन र भेट्न पाउँदैन । नमस्कार गर्ने संस्कार (चलन) नभएर होला भन्ने अनुमान गर्न गाह्रो पर्दैन । समकक्षी, अनुज वा अग्रजहरूसँग शिष्टाचार भेट हुँदा हात मिलाउने, अँगालो मार्ने, पीठ थपथपाउने, गला र गाला जोड्ने चलन घातक सिद्ध भएको हुनुपर्छ । औपचारिक र अनौपचारिक भेटघाटमा नमस्कार गर्ने, गराउने प्रचलन रहेको भए कोरोनाले नछुन पनि सक्थ्यो कि ?
१ सय १२ प्रजातिमध्ये कुनै एक जनावरको मासु सेवनबाट मान्छेमा सरेको र त्यसपछि मान्छेबाट मान्छेमा अनियन्त्रित रूपमा सरेर संसारलाई हैरान पारेको घातक ‘कोरोना भाइरस’ मांसाहारको उपज रहेछ । (चमेरो र सर्पको सेवनबाट सरेको भन्ने समाचार भ्रम वा सत्य जे पनि हुनसक्ला) चीनको वुहानमा त्यति धेरै प्रजातिको मृत वा जीवित मासु विक्रीकक्ष हुनु र मांसाहार गर्नु नै दुर्भाग्य बन्यो दुनियाँलाई । नमस्कार र शाकाहारलाई अर्ध–उपचार भन्नुपरेको हो त्यसैले । पङ्क्तिकार स्वास्थ्यकर्मी र पोषणविद् हैन, समाचारमा आएका यस्ता गम्भीर विषयलाई निराधार भन्न÷मान्न पनि सकिँदैन । आजसम्म प्रभावमा आएका भाइरसको औषधि र कोरोना रोक्ने भ्याक्सिन पनि बनिसकेको छैन । आफैँ सुरक्षित हुनुको विकल्प भेटिँदैन अब । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेका स्वस्थ रहने उपायका सूचना र सन्देशको अवमूल्यन गर्न मिल्दैन । स्वसुरक्षित हुनका लागि पनि पालन नगरी सुखै छैन ।
चीनबाट माघ ९ गते नेपाल आएका नेपालगञ्जका एक युवकको ¥याल परीक्षण गर्दा पोजेटिभ भेटिएपछि अस्पतालमा उपचार गराउने चिकित्सकहरू पनि डराएको देखेर भागेका रहेछन् । घरमा आफैँ सुरक्षाका उपाय अपनाएर बसेपछि अस्पतालको आग्रहमा पुनः परीक्षण गर्दा नेगेटिभ देखिएछ । सम्भवतः शाकाहारी खाना खाने, सरसफाइमा ध्यान पु¥याउने, सुरक्षित हुने उपाय अपनाउने हो भने त्यति धेरै खतरा रहेनछ । काठमाडौँबाट नेपालगञ्ज र फेरि काठमाडौँसम्म आवतजावत गर्दा, शुक्रराज ट्रपिकल अस्पताल टेकु पुगेर दुई घण्टा लाइनमा लागेर परीक्षण गराउँदा, तीन दिनसम्म नतिजा कुर्दा, दुई हप्तासम्म घरमै बसेर सुरक्षित रहन प्रयास गर्दा कतिलाई सङ्क्रमण स¥यो वा सरेन त्यतातिर खोजी गरिएन ।
नमस्कार ः विषवशेष, ढोग । प्रणाम नमस्कारका तीन भेद – मान्यजन आउँदा उठेर सम्मानसाथ गरिने– अभ्युत्थाभिवादनम् । पाउ समातेर नम्र भई गरिने– पादोपसङ्ग्रहाभिवादनम् । आफ्नो नाम र गोत्र भन्दै गरिने – स्वनामगोत्रोच्चारणाभिवादनम् । (संस्कृत नेपाली शब्दकोष – पृ. ६२७, म.सं.वि.वि.)
शालीन, भद्र र विनयशील हुनुको प्रमाण हो नमन । सुसभ्य आचारसँग जोडिएपछि नमस्कार बनेको हो । परम्परा पछ्याउँदै जाँदा सुसंस्कृत संस्कार बन्यो । अहिले पनि दुवै हात जोडेर नमस्कार गर्दै अनुज र अग्रज एवं समकक्षीसँग अभिवादन आदानप्रदान गर्दा जति सहज हुन्छ, सुरक्षित भइन्छ, उति असुरक्षित बनिने रहेछ हात मिलाउँदै र अङ्कमाल गर्दै हिँड्ने हो भने । जतिजति हामी आफ्नोपनको अपमान र पश्चिमी चालचलनको सम्मान गर्न तल्लीन भयौँ उतिउति असुरक्षित हुन गयौँ । अहिले पनि पश्चिमी प्रभावमा परेर खानपान, रहनसहन र जीवनशैली बदलेकाहरू नै धेरै असुरक्षित छन् । जो गाउँमा बस्छन्, परम्परागत प्रणालीले खेतीपाती गर्छन्, आफैँले उत्पादन गरेका रैथाने मिश्रित अन्न, फलफूल, दाल, तरकारी र तेल खान्छन्, दूध, दही र मोहीमा रमाउँछन्, रोग प्रतिरोध गर्ने क्षमता धेरै छ तिनीहरूमा । बाहिरिया रहनसहनमा घुलमिल नभएकाहरू सुरक्षित छन् । हल्लाखल्लाले डराउन दिनु बेग्लै विषय भयो ।
अङ्ग्रेजहरूसँगै हात मिलाउने र अरबी नबाब (सुल्तान)हरूसँगै अँगालो मार्ने र पीठ थपथपाउने चलन आएको हो यतातिर । गाला मिलाउने र चुम्बन गर्ने प्रचलन पनि । त्यस्ता साक्षात्कारले आत्मीयता जनाउने भए पनि रोग सार्ने रहेछन् । स्वस्थ रहनका लागि जे जस्ता चलन चलाए, खानपान गर्न लगाए हाम्रा पुर्खाले ती धेरै वैज्ञानिक र स्वस्थकर रहेछन् । सत्व, रज र तम गुणको छ्यासमिस र मिसमासले सत्यानाश पार्न सक्छ बेलैमा नचेते । सात्विक भोजन नगरेर ब्रह्मचर्य, गृहस्थाश्रम, वानप्रस्थ र सन्यासी जीवनको अपव्याख्या गरे अभिशाप बन्न पनि सक्छ । कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको उमेर अनुसारको तथ्याङ्क हेर्दा पनि देखिन्छ त्यस्तै ।
साक्षात्कारका बेला नमस्कार गर्नु र खानपानमा शाकाहारी हुनु भनेको स्वस्थ रहनु, रोग नसार्नु, सर्न नदिनु र आफँै सुरक्षित हुनु रहेछ । कोरोनाले बुझायो बल्ल । नत्र आजसम्म अलमल्ल । स्वस्थ रहने र सुरक्षित पनि रहिने आफ्नो परम्परागत चालचलन छाडेर अर्काको अस्वस्थ खानपान र रहनसहन अपनाउँदा आधुनिक भइने रहर कहर र जहर बन्यो । मनभित्र कोरोनाको डर पाल्नुभन्दा आफ्नै पुख्र्यौली परम्परागत खानपान र रहनसहन पुनः थाल्नु बुद्धिमानी हुनेछ अब । त्यत्ति गरियो भने मात्रै पनि सके पूरै, नभए आधा–सुरक्षित भइन्छ अवश्य । सात्विक खानाले निरोगी भइन्छ, स्वस्थ रहिन्छ, बुद्धि र आयु वृद्धि हुन्छ । ज्ञान बढ्छ, ध्यान गर्न मन लाग्छ, परोपकारी बनिन्छ । आक्रोश, आवेग र उत्तेजना आउँदैन । विकारको शिकार बन्दैन मन र मस्तिस्क । रोग प्रतिरोधी क्षमता हुन्छ ।
राजसी खानपानमा मद र मात्सर्य हुन्छ । दम्भ, घमण्ड र अहंकार बढाउँछ । सत्ता र शक्तिको नशा लाग्नुमा खानपान र रहनसहनले पनि बढी भूमिका खेलेको हुन्छ । तामसी भोजनले आसुरी प्रवृत्तिको विकास गराउँछ । घात, प्रतिघात, विद्रोह, विद्वेष, विग्रह, परपीडन र हिंसालाई प्रोत्साहन गर्छ । खानपान, रहनसहन र बोलीवचनबाटै मान्छेको प्रवृत्ति छुट्टिन्छ । आहार र विहारले विचार र व्यवहारको परिचय दिन्छ । स्वस्थ रहनु र अस्वस्थ हुनुमा हाम्रा आफ्नै खानपान र रहनसहन जिम्मेवार छन् । अरूकलाई दोष दिनुपर्दैन ।
जहिलेदेखि खानपान र रहनसहन हाम्रा हातबाट अर्काका हातमा गए, तहिलेदेखि असुरक्षित हुने दिन आएका हुन् । किसानबाट कर्पोरेट नियन्त्रणमा गइसकेको पोकाभित्रको खानामा शाकाहारी बने पनि रोग प्रतिरोध गर्ने क्षमता हुँदैन । स्वाद होला स्वस्थकर रहँदैन । बाहिर स्वस्थ देखिएको मान्छे अस्वस्थ हुन्छ भित्रभित्रै । मधुमेह, मुटु, मिर्गौला र उच्च रक्तचापका रोगी भेटिन्छन् जताततै । चित्ताकर्षक विज्ञापनले मन र मस्तिष्क विकृत पारेको हुन्छ । केही दर्जन बहुराष्ट्रिय कम्पनीले विश्व हल्लाएका छन् अहिले । तयारी र पोकाभित्रका खाद्यपदार्थसँगै रोग फैलाएका छन् तिनैले । त्यस्तो थिएन पहिले ।
‘खाद्य क्षेत्रमा केवल १० वटा बहुराष्ट्रिय निगमले विश्वको खाद्य बजारको ८० प्रतिशतभन्दा बढी हिस्सालाई आफ्नो नियन्त्रणमा राखेका छन्’– बदलिँदो खाद्य सुरक्षा, पृ.१२४, मार्टिन चौतारी । औद्योगिक कृषिको क्षेत्रमा संसारका चारवटा कम्पनीले ६० प्रतिशत बीउ कब्जा गरिसकेका छन् । आफ्ना घरमा उत्पादन भएको धान, गहुँ, मकै, कोदो, मह, दूध, घ्यू, दही, मही, फलफूल, तरकारी आदि बेचेर चाउचाउ, बिस्कुट, हर्लिक्स, कोक, फेन्टा, मिरिण्डा, कुर्कुरे, चिजबल्स, चिप्स, फ्रुटी, बोर्नभिटा, चकलेट, पाउरोटी आदि खान थालेपछि निरोगी हुने सम्भावना छैन । कोरोनाबाट बचे पनि अरूबाट उम्कन सकिँदैन बेलेमा सचेत नभए ।

(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?