यमबहादुर दुरा
दुनियाँ कोरोना भाइरस (कोभिड–१९) को आतङ्कले त्रस्त छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च १३ तारिखमा यसलाई विश्वव्यापी महामारी (पान्डेमिक) घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले नै नेपाललगायत दक्षिणपूर्वी एसियामा कोरोना भाइरस पैmलिन सक्नेतर्पm सचेत तुल्याएको छ ।
कोरोना भाइरसले निम्त्याएको स्वास्थ्यसम्बन्धी समस्या स्वाभाविक रूपमा गम्भीर र दुःखदायी छ । अर्को पनि दुःखदायी पाटो छ । त्यो हो, आर्थिक पाटो । कोरोना भाइरसले दुनियाँको आर्थिक पाटोमा नकारात्मक असर पारिसकेको छ । यसले विश्व अर्थतन्त्रमा थप समस्या निम्त्याउँदै गएको छ । यसले विश्व अर्थतन्त्रमा कुन हदसम्मको दूरगामी दुष्प्रभाव पार्ने हो, भन्न कठिन छ ।
कोरोना भाइरसको प्रकोपका ठूलै मानवीय तथा आर्थिक मूल्य चुकाउनुपरेको छ । चीनलगायतका औद्योगिक गतिविधिमा कमी आएकाले विश्वबजारमा तेलको मूल्यमा ६८ प्रतिशतसम्मको उच्च गिरावट छ । विश्वको सेयरबजार निरन्तर ओरालो लागेको छ । यी आर्थिक घटनाक्रमलाई कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको दुष्प्रभावको सूचकका रूपमा लिन सकिन्छ ।
कोरोनाको विश्व भ्रमण बढ्दै जाँदा विभिन्न देशले जमिन र हवाई गरी दुवै किसिमका ‘कनेक्टिभिटी’ बन्द गरिसकेका छन् । खुला आवतजावतको अवधारणामा चलेका कतिपय युरोपेली मुलुकले पनि एक अर्कासँग सम्पर्कविच्छेद गरेका छन् । विश्वका आवागमनमा रोकावट आउनुको अर्थ विश्व अर्थतन्त्रमा शिथिलता आउनु पनि हो ।
कोरोना भाइरसको तीव्र विस्तारसँगै आवतजावतमा लगाइएको प्रतिबन्धले विश्व अर्थतन्त्रमा गम्भीर धक्का पुग्न गएको छ । यसले विश्व अर्थतन्त्रमा गर्ने क्षति सन् २००३ मा पैmलिएको सार्स सङ्क्रमणको समयमा भएको क्षतिभन्दा कैयौँ गुणा बढी हुने प्रक्षेपण गर्न थालिएको छ ।
कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रमा हालसम्म कति क्षति पु¥यायो भन्नेबारे आँकडा आउन थालेका छन् । ‘ब्लुम्बर्ग’ मिडियाले निकालेको एक आँकडाअनुसार कोरोना भाइरसका कारण अहिलेसम्म विश्व अर्थतन्त्रमा २.७ खर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको छ । आउने समयमा यसको असर थप गम्भीर हुने सङ्केत देखिन्छ ।
कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो असर पार्दैछ ? आउँदा दिनमा यसको नतिजा के हुनेछ ? यसले देशको आर्थिक स्वास्थ्यलाई कसरी सङ्क्रमित गर्दैछ ? यसबारे पनि चर्चा हुन थालेको छ । एसियाली विकास बैङ्कले कोरोना भाइरसको सङ्क्रमण बढेमा नेपालको कुल गार्हस्थ उत्पादन ०.०४ प्रतिशत (१२.१२ मिलियन अमेरिकी डलर) सम्म खुम्चिने अनुमान गरेको छ । जगजाहेर नै छ, नेपालको अर्थतन्त्र मूलतः पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर हुँदै गएको छ । यी दुवै तुलनात्मक रूपमा अस्थिर र जोखिमपूर्ण मानिन्छन् । कोरोनाको विश्वव्यापी महामारीले नेपालको पर्यटन उद्योग र वैदेशिक रोजगारीमा धावा बोल्न सुरु गरिसकेको छ ।
नेपाल सरकारले वैशाख १८ गतेसम्म ‘अन अराइभल’ भिसा बन्द गरिसकेको छ । कोरोना भाइरसको पैmलावटसँग पर्यटकको आवागमन घट्दै गएको पर्यटन व्यवसायीको बुझाइ थियो । अहिलेको परिस्थितिले स्वाभाविक रूपमा पर्यटकको आवागमनलाई घटाउँदै लगेको छ । यो प्रतिकूल अवस्थाले २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित सुरु गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ त्यसै अलपत्र हुन पुगेको जगजाहेर नै छ ।
कोरोना भाइरसले निम्त्याएको दुष्प्रभावको असर नेपालको पर्यटन उद्योगमा देखापरिसकेको छ । रोग सर्ने भयले यात्रा गर्ने क्रम घट्दो क्रममा छ । पर्यटन उद्योगसँग जोडिएका टुर अपरेटर, होटल–रेस्टुराँ, पथ प्रदर्शन, यातायात आदि क्षेत्रमा यसको दुष्प्रभाव पर्दै गएको समाचार आइरहेका छन् ।
सार्वजनिक जमघटका कार्यक्रम घट्न थालेका छन् । होटल बुकिङ धमाधम रद्द भएका छन् । टिकट बुकिङ र अन्य पर्यटकीय गतिविधि सुस्त हुन थालेका छन् । यससँगै भोलि आगामी अनिष्ट सम्झेर पर्यटन उद्योगसँग जोडिएका कामदार तथा व्यवसायीहरू चिन्तामा डुब्न थालेका छन् ।
अर्कोतिर कृषिमा निर्भर जनसङ्ख्या क्रमिक रूपमा घट्दै गएको छ । अहिले ६५ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । यसले देशको कुल गार्हस्थ उत्पादनमा ३१.७ प्रतिशत योगदान दिएको छ । कृषिमा निर्भरता घटैसँगै ग्रामीण जनसङ्ख्या पातलिँदै र सहरी जनसङ्ख्या बढ्दै गएको छ ।
यसको अर्थ हो, सुखभोगी जनसङ्ख्या बढ्दै जानु । देशको उत्पादनमूलक व्यवसाय कमजोर हुँदै गएको देखिन्छ । हामी उत्पादनमुखीभन्दा पनि उपभोगमुखी बन्दै गएको छौँ । समृद्ध अर्थतन्त्रको उचित आधार तयार नहुँदै उपभोगमुखी हुनु आर्थिक स्वास्थ्यका दृष्टिले उपयुक्त प्रवृत्ति होइन ।
देशको अर्थतन्त्रलाई मजबुत बनाउन सघाउने युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गएको छ । दैनिक १५ सय जति नेपाली युवा वैदेशिक रोजगारमा जाने गरेको आँकडाले एउटा भयानक तस्बिर प्रस्तुत गर्छ । देश निर्माणमा योगदान दिन सक्ने जनशक्ति काम र मामकै लागि मुग्लान पस्नुपर्ने बाध्यताले राम्रो सन्देश दिँदैन ।
जे भए पनि वैदेशिक रोजगारीमा जाने चलन परम्परा नै बनिसक्यो । नेपाली समाज वैदेशिक रोजगारीमा अभ्यस्त हुँदै गइरहेको बेलामा कोरोना भाइरसको बढ्दो विस्तारले जटिलता निम्याएको छ । कतिपय रोजगारदाता देशले नेपाली कामदार लिन पनि बन्द गरिसकेका छन् । यसबाट विदेशी भूमिमा पसिना बगाएर स्वदेशमा रेमिट्यान्स पठाएर घरपरिवार पाल्ने धेरैको बिचल्ली हुने अवस्था आउन सक्छ ।
एसियाली विकास बैङ्कले गरेको एक अनुमान अनुसार कोरोना भाइरसले नेपाली अर्थतन्त्रलाई सङ्क्रमण गरेमा पाँच हजारदेखि लगभग १५ हजार व्यक्तिले रोजगारी गुमाउने देखिन्छ । यद्यपि यो अनुमान मात्र हो । कोरोना भाइरसको प्रकोपले अर्थतन्त्रमा पार्ने तमाम दुष्प्रभावको यथार्थ विवरण अहिले नै पेश गर्न गाह्रो छ ।
यसरी रोजागारी गुमाउनेमा पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर व्यक्तिहरू नै पहिलो पङ्क्तिमा हुने अनुमान गर्न कठिन छैन तर यसको असर यतिमा मात्र सीमित रहनेछैन । नाङ्लो पसलेदेखि डिपार्टमेन्ट स्टोरसम्म, भट्टी पसलेदेखि पाँचतारे होटल व्यावसायीसम्म, सारङ्गी रेटेर हिँड्ने गन्धर्वदेखि विविधतापूर्ण मनोरञ्जन उद्योगसम्म र ट्याक्सी ड्राइभरदेखि विमान कम्पनीसम्म यसको प्रत्यक्ष वा अप्रत्यक्ष दुष्प्रभावबाट बच्न
सक्ने देखिन्न ।
अहिलेको जटिल परिस्थितिले २०७२ सालको अघोषित भारतीय नाकाबन्दीको समयमा चलेको प्रसङ्ग पुनः स्मरण गराएको छ । त्यसबेला नेपाली अर्थतन्त्रको आन्तरिक सबलीकरणको प्रसङ्ग चर्कै चलेको थियो तर अवस्था सहज भएपछि त्यो प्रसङ्ग त्यसै सेलायो । सङ्कटको घडीमा मात्र आदर्शपूर्ण सोचाइ आउने रोग हामीमा छँदैछ । त्यसको पुनरावृत्ति अहिले पनि भएको छ ।
कोरोना भाइरसको महामारीले निम्त्याएको निराशाको वातावरणलाई सच्याउने र जनमनमा आशा जगाउने कार्यक्रम ल्याउन आवश्यक छ । पर्यटन उद्योग र रेमिट्यान्ससँग क्रमिक रूपमा बढी निर्भर हुँदै गएको नेपाली अर्थतन्त्रको नयाँ क्षितिज उघार्न आवश्यक छ । अहिलेको विश्वव्यापी सङ्कट नेपाली अर्थतन्त्रको आन्तरिक सबलीकरणका पक्षमा सोच्ने र व्यवहारमा उतार्ने अर्को मौका हो ।
(लेखक पत्रकारिता अध्यापन गर्नुहुन्छ ।)