logo
२०८१ मंसिर १३ बिहीवार



मितव्ययी आर्थिक अनुशासन

विचार/दृष्टिकोण |




जुनारबाबु बस्नेत

कोरोना भाइरस (कोभिड–१९) ले संसारलाई तीव्रत्तर प्रभावित बनाएको छ । चीनको वुहानबाट तीन महिनाअघि उद्भव भएको यो भाइरस यतिबेला १७५ भन्दा बढी देशमा फैलिसकेको छ । नेपाल उच्च जोखिममा छ र यसकाविरुद्ध सबैखालका उपाय अगाडि बढेका छन् । नेपाल अहिलेसम्म सचेतनाकै लडाइँमा छ ।
चीनबाटै आएका एकजनालाई दुई महिनाअघि कोरोना देखिएको थियो । ती बिरामी त्यतिबेलै निको भए । हाम्रै अस्पतालले ठीक पा¥यो । चिकित्सक धन्य छन् । सौभाग्य भन्नुपर्छ, उनीबाट कसैलाई पनि यो भाइरस फैलिएन । सामाजिक सञ्जालमा अनेकौँ हल्ला देखिए पनि चैत ९ गतेसम्म यो भाइरस नेपालमा देखिएको छैन । कोरोनाले समाजका सबै क्षेत्रलाई प्रभाव पारेको पक्कै छ र त्यसमा पनि अर्थतन्त्र सबैभन्दा बढी प्रभावित छ । कति प्रभावित पार्ने हो, अहिले यसै भन्न सक्ने अवस्था छैन । चीन कोरोनाविरुद्धको तीनमहिने सघन लडाइँबाट विजयको खुड्किला टेक्दै छ । युरोप र अमेरिका सघन लडाइँ लड्दै छन् । छिमेकी मुलुक भारत सकसमै छ । हामी समयमै सचेत हुँदै छौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धका लडाइँमा मुलुक प्रवेश गरिसकेको घोषणा गर्नुभएको छ । सबैभन्दा मुख्य जोखिम बाहिरबाट आउने यात्रुबाट सङ्क्रमणको हुन्छ । त्यो जोखिमलाई न्यून र सकेसम्म शून्य गर्न सरकारी प्रयास अगाडि बढेको छ । कथम् देशभित्र भित्रियो भने सङ्क्रमणलाई सीमित दायरामा राख्नु जरुरी छ । त्यही प्रयासमा छ अहिले मुलुक । सङ्क्रमण भएपछिको नाजुक अवस्थाभन्दा त्यसलाई सङ्क्रमण नै हुन नदिने प्रयास तीव्रत्तर अगाडि बढेको छ । सचेतना व्यापक बढेको छ । यो हाम्रा लागि अवसर पनि हो ।
विश्वले दुईवटा महायुद्ध भोग्यो । पहिलो महायुद्ध (१९१४–१८) र द्वितीय महायुद्ध (१९३९–४५) ले ठूलो जनधनको क्षति गरायो । विश्वको अर्थतन्त्र र मानव सभ्यतालाई ती महायुद्ध अभिशाप बने । त्यसयताको सबैभन्दा ठूलो अभिशाप बन्ने अवस्था अहिले देखापरेको छ । विश्व अर्थतन्त्र तहसनहसको दिशातिर अग्रसर छ । तीन दशकयता विश्वव्यापीकरणको तीव्रत्तर विकासले संसार एउटा गाउँमै परिवर्तन भएको थियो । यातायात, सञ्चार र प्रविधिले मानिसलाई जोडेको थियो । हवाई यातायातको विशाल विकास भएको थियो । त्यही विश्वव्यापीकरणको व्यापकता समाउँदै कोरोना भाइरसले दुई÷तीन महिनामै संसारलाई आक्रमण गरेको छ । मानव सभ्यतामा चुनौतीको पहाड बनेको छ ।
मूलभूत रूपमा अर्थतन्त्रका तीनवटा आयामहरू छन्– कृषि, उद्योग र सेवा क्षेत्र । कुनै बेला कृषि क्षेत्रमात्र जीवनको मुख्य आधार रहेकोमा बिस्तारै उद्योग र सेवा क्षेत्रमा अर्थतन्त्र रूपान्तरण भयो । कुनै पनि मुलुकको आर्थिक विकास कति भयो भन्नका लागि कृषि क्षेत्रबाट उद्योग र सेवा क्षेत्रमा जनशक्ति रूपान्तरण भएको अवस्थालाई आधार मानिन थालियो । युरोप र अमेरिकामा दुई÷तीन प्रतिशत मानिसले खेती गरेर पूरै अर्थतन्त्र धानेका छन् । ठूलो जनशक्ति उद्योग र सेवा क्षेत्रमा रोजगारप्राप्त छ । त्यसै आधारमा नेपालजस्ता अल्पविकसित मुुलुुकको जनसङ्ख्या पनि रोजगारीका लागि सहर पस्ने र देशबाहिर जाने लहर चल्यो । झन्डै ५० लाख नेपाली यतिबेला देशबाहिर श्रम बेच्न पुगेका छन् । कारोना भाइरसको प्रभावले अब बहुसङ्ख्यक नेपाली विदेशमा बेरोजगार भएका छन् । चीनमा तीन महिना अघि बन्द भएको उद्योगधन्दा खुल्ने तर्खरमा भए पनि बजारको समस्या यथावत् छ । इटाली र अमेरिका व्यापक प्रभावित छन् । धेरै देश पूरै ‘लकडाउन’को अवस्थामा छन् । उद्योग र सेवाक्षेत्रबाट एकैपटक व्यापक बेरोजगारी बढेको छ । विश्वको हवाई क्षेत्र नराम्ररी प्रभावित भएको छ । ठूलो लगानी भएको हवाई क्षेत्र धराशयी हुँदा लगानी, आय र रोजगारीमा व्यापक असर पर्नेछ । सेवा अर्थतन्त्रको सबैभन्दा ठूलो आधार बनेको थियो– यातायात, होटल तथा रेष्टुराँ सेवा । व्यापक रोजगारी यो क्षेत्रले धानेको थियो । पर्यटन अर्थतन्त्रको आधार थिए यी । पर्यटन अर्थतन्त्र सेवा उद्योगको आधारस्तम्भ थियो, ध्वस्तजस्तै बनेको छ । अब कहिलेसम्म यो माथि उठ्छ, यसै भन्न सकिने अवस्था छैन । बेरोजगारी व्यापक बढ्ने अवस्थामा छ ।
विश्वको पुँजी बजार कोरोना प्रभावमा व्यापक रूपमा प्रभावित भएको छ । विश्वभरि नै सेयरमा मूल्यहरू तल आएका छन् । पुँजी क्षयीकरण भएको छ । नेपाली पुँजी बजार लामो मन्दीपछि फेरि उठ्ने तर्खरमा थियो तर फेरि थला बसेको छ । राजधानी काठमाडौँ छोडेर झन्डै १० लाख मानिस पछिल्ला तीन दिनमा गाउँमा पुगेको अनुमान छ । बाहिरबाट पनि घर आउने चाहना धेरैको अपूरै छ । विश्वभरकै आर्थिक गतिविधि अहिले सुस्त भएको छ र नेपाल पनि अनेक तरहले प्रभावित भएको छ । नेपालबाहिर पुगेका नेपालीका कारण होस् वा समृद्धिका दिशातिर भर्खर बामे सर्न खोजेको मुलुकको आर्थिक विकासको दिशा होस् अहिलेलाई ठूलो सङ्कट आएको छ ।
कोरोना प्रभावले संसार महामन्दीको सङ्घारमा उभिएको अवस्थामा हरेक व्यक्ति संयम हुनु जरुरी छ । बलियो आर्थिक अनुशासनमा बाँधिनु जरुरी छ । मितव्ययिता आर्थिक सङ्कटसँग लड्ने सबैभन्दा ठूलो हतियार हो । मैमात्रै खाऊँ, मैमात्रै लाऊँ भन्ने स्वार्थी भावनाले सङ्कटसँग लड्न सकिँदैन । मितव्ययिताले साधन र स्रोतको प्रभावकारी प्रतिफल दिन्छ । यस्तो अवस्थामा कृषि अर्थतन्त्रसित जोड्नु जरुरी छ । खाद्यान्न उत्पादन भयो भने त्यसले मानिसको जीवन धान्छ । आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सहयोग पु¥याउनु अर्को ठूलो कर्तव्य हो ।
जानकारीमा आएसम्म कोरोना भाइरसले प्रतिरोध क्षमता कम भएका, मधुमेह, दम, उच्च रक्तचाप भएको वा कुनै दीर्घरोग भएका मानिसलाई बढी प्रभावित पार्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार प्रतिरोध क्षमता भएका मानिसमा यसको प्रभाव न्यून हुनेछ । सरल र स्वास्थ्य जीवन निर्वाह गर्न सक्दा कोरोना प्रभावबाट न्यून प्रभाव पर्नेछ । अति आवश्यक सेवाबाहेकको धेरै मानिस अब केही समय घरमै बस्ने अवस्थामा नेपालमा पनि आएको छ ।
घरमै बसेर कम्तीमा आफ्नो स्वास्थ्य आफैँले हेर्ने अवस्था भयो भने त्यो परिवार, समाज, देश र संसारकै लागि यतिबेलाको ठूलो योगदान हुनेछ । सङ्क्रमण आफूलाई हुने नदिने र अरूलाई पनि सही सूचना दिएर सहयोग गर्नु अहिलेको वाञ्छनीय अवस्था हो । सकेसम्म घरमै बसेर पनि सिर्जनशील हुनु आवश्यक छ । गाउँ–गाउँ पुगेकाहरूले कृषिकर्ममा आफूलाई जोड्न सके त्यसबाट उत्पादनमा सकारात्मक प्रभाव पर्नेछ । पुर्खाले खेतीपातीलाई उत्तम पेसा किन भनेको थिए ? भन्ने कुरा यस्तै सङ्कटमा स्पष्ट हुन्छ । सङ्कट आफैँमा परीक्षा हो र यसबाट पार पाएपछि मात्र कुनै पनि व्यक्ति, समाज र राष्ट्रको परख थाहा हुन्छ ।

(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?