दीनानाथ शर्मा
कोरोना भाइरस कोभिड १९ सङ्क्रामक महामारी हो । यो विश्वव्यापी सङ्क्रामक हो भनेर विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरिसकेको छ । यो रोग सन् २०१९ को अन्ततिर चीनको हुबेई प्रान्तको वुहान सहरमा देखाप¥यो । अहिले विश्वका १८० भन्दा बढी देशहरूमा पुगिसकेको र फैलिँदो अवस्थामा छ ।
मानव जातिको अत्यन्तै खराब शत्रुका रूपमा उपस्थित छ– कोरोना भाइरस । अत्यन्तै सूक्ष्म र अदृश्य शत्रुले विश्वलाई आक्रान्त बनाएको छ । कोभिड–१९ वायुयानबाट सयर गर्दै छ संसारभरि । जल र स्थल मार्गको उपयोग गर्न पनि चुकेको छैन । पर्यटकहरू र यात्रीको पिछा छोडेको छैन यसले । यसलाई कुनै प्रवेशाज्ञा चाहिएन । राजनीतिक सीमाले छेकेन । बर्लिन र मेक्सिकोको पर्खाल भत्कायो । सर्वव्यापी सन्त्रास बनिरहेको छ ।
नेपालमा सङ्क्रमण फैलिएको छैन तर हाम्रा दुई छिमेकीको असर यहाँ पर्दैन भन्न सकिँदैन । त्यसमा पनि भारतमा यो प्रवेश गरिसकेको छ । खुला सीमाबाट नेपाल छिर्न कठिन छैन । नेपाल सरकार कोरोनाको सम्भावित सङ्क्रमणबाट जनतालाई जोगाउन अपनाउनुपर्ने सबै मापदण्ड पूरा गर्न सक्रियतापूर्वक लागेको छ । कोभिड–१९ विरुद्ध लड्ने पूर्वतयारी र जनचेतनाको अभियानमा सम्पूर्ण राष्ट्र एकढिक्का भएर लाग्नुपर्नेछ । यो साझा शत्रु हो, यसले सानो ठूलो भन्दैन ।
सुरुमा चीनको वुहान र त्यसको आसपास फैलियो । चीनको भूगोलभित्र सीमित रहँदासम्म कतिपय राष्ट्रका प्रमुखहरूले थपडी बजाए । रोग र मृत्यु मानव जातिका साझा शत्रु हुन् भन्ने बिर्साइदियो बन्दुक र वैभवको मातले । मानवीय सम्वेदनाशून्य मान्छेले यो रोगको सिकार आफैँ हुनुपर्छ भन्ने बिर्से ।
चीनले आफ्नै बलबुतामा कोरोना भाइरसविरुद्ध लडाइँ छेड्नेक्रममा क्वारेन्टाइन, आइसोलेसन र अन्य मापदण्ड अपनायो । त्यसलाई कथित मानवअधिकारवादी र आग्रही सञ्चारमाध्यमले मानवअधिकारको हनन भनेर प्रचार गरे । आज चीनले करोडौँ चिनियाँ जनताको जीवनरक्षा मात्र गरेन, सकेसम्म संसारका अन्य मुलुकलाई सहयोगको हात बढाएको छ । जापान, कोरिया, केन्या र अन्य मुलुकले चिनियाँ सहयोग प्रविधि र अनुभव प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिन सफल भएका छन् । चीनले जापानी जनताका लागि भनेर पठाएको औषधि उपकरणसमेतको राहत सामग्री अमेरिकाले बीचैबाट लगिदियो । जापान सरकारले फिर्ता माग्यो । अमेरिकाले प्रयोग भइसक्यो भन्ने जवाफ दियो । डोनाल्ड ट्रम्पले ‘चिनियाँ भाइरस’ भनेर चिनियाँ जनताको मानव संवेदनामा नुनचुक छर्कने काम गर्नुभयो ।
अहिले चीनपछि पश्चिम युरोप र अमेरिकाका लाखौँ जनता कोरोना भाइरसबाट सङ्क्रमित र पीडित छन् । अमेरिकासमेत संसारका धेरै देशले सङ्कटकाल घोषणा गरेका छन् । अमेरिकामा प्राथमिक बचाउका आवश्यक सामान मास्क, सेनिटाइजर र अन्य औषधिको सङ्कट छ भन्ने समाचार आइरहेको छ । मानव जाति अन्तर्राष्ट्रवादी हो । विपत्को बेला आपसको सहयोग अनिवार्य छ । ‘बसुधैव कुटुम्बकम्’ हाम्रो साझा संस्कृति हो । कोभिड–१९ मानव जातिको साझा दुस्मन हो । साझा दुस्मनविरुद्ध सबै एक भएर लड्नु हाम्रो धर्म हो ।
कोरोना मानवसिर्जित महामारी हो । मानव जातिको सभ्यताको विकाससँग भएको प्रकृतिको दोहन, अतिक्रमण र विनाशले जलवायु परिवर्तन र पर्यावरणमा ठूलो असर परेको छ । जनावरबीच सङ्क्रमित हुँदै आएको महामारी अहिले मानव जातिमा सङ्क्रमण भएको तथ्य सार्वजनिक हुँदै छ ।
कोभिड–१९ विश्व आर्थिक र राजनीतिक वैश्वीकरणको उपज हो । अतिरिक्त आयआर्जन र उपभोगका लागि मानव जातिले गर्दै आएका अस्वस्थ्य पुँजीवादी प्रतिस्पर्धाले यसप्रकारका सङ्कट निम्त्याउँदै छ । सौखिनहरूले संसार बनाउनेभन्दा पनि बिगार्ने काम गरेका छन् । एड्स अप्राकृतिक यौन सम्पर्कको परिणाम हो । यो रोगले संसारमा लाखौँ मानिसको ज्यान लिएको छ । तर पनि पुँजीवादी विश्वबजारमा यौन पैसाका लागि नाफामूलक व्यापार भएको छ । उपभोक्तावाद वैश्वीकरणको चरम अभिव्यक्ति हो । आजको सङ्कट वैश्वीकरणको परिणाम हो । प्रकृतिमाथिको अतिक्रमण र आक्रमणबाट उत्पन्न महामारी हो ।
कोरोनाले ठूलो सानो कसैलाई छाडेको छैन । बन्दुक र वैभवको आडमा विश्व महाशक्ति बनेका देशहरूको दम्भ कोरोनाका अगाडि चकनाचुर भएको छ । बन्दुकसित डराएको छैन कोरोना । अति राष्ट्रवाद पनि पराजित भएको यसपटक । शक्ति राष्ट्रको घमण्ड चुर गरिदियो कोभिड–१९ ले ।
कोभिड–१९ का विरुद्धको युद्ध विश्वलाई निकै महँगो पर्दै गएको छ । वर्तमान विश्व आर्थिक र राजनीतिक प्रणालीलाई मानव नरसंहारको रक्षाका लागि नयाँ सोचसहितको नयाँ विश्व व्यवस्थामा जानुपर्ने दिन आएछ भन्ने सङ्केत हो । विश्वव्यापी आर्थिक मन्दीले ठूलो संकट पैदा हुँदै छ । व्यवसाय बन्द हुँदै छन् । विश्वभर उत्पादन र निर्माणकार्य ठप्प हुँदै छ । आवतजावत रोकिएको छ । शक्तिराष्ट्रहरूले सङ्कटकाल घोषणा गरेर जनतालाई स्वयम् बन्दी हुने आदेश गरिसकेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी सङ्कटकालको घोषणा गरेको छ । यो विश्व मानव सङ्कटको बेला एउटाले अर्काको सहारा खोजेको छ । तर, कोभिड–१९ कसको साथमा घरभित्र छिर्ने हो भन्ने मनोवैज्ञानिक त्रासमा छ मानवजाति । प्रत्येक व्यक्ति आफैँभित्र त्रसित छ । आफन्तसित त्रसित छ । एउटा अर्कोको नजिक हुन चाहँदैन यति ठूलो संकटको बेला । तर पनि कोभिड–१९ को आगमनपछि मानव जातिबीचको प्रतिस्पर्धा र प्रतिद्वन्द्विता मत्थर भएको छ । एउटाले अर्कोको सहायता खोजेको छ । मानव जातिको साझा दुस्मनको मुकाविला गर्न मानवता एक ठाउँमा उभिएको छ । सार्क राष्ट्रप्रमुख सरकार प्रमुखहरूले भिडियो कन्फ्रेन्स गरेर कोरोनाविरुद्ध लड्ने साझा सङ्कल्प गरे । भारत–पाकिस्तानकबीचको दुस्मनी सतहमा छैन अहिले । जी–७ का राष्ट्रले त्यसको अनुशरण गरे । अमेरिकी डाक्टरहरूले कोरोनाविरुद्ध लडेर सफलता प्राप्त गर्न चिनियाँ डाक्टरसित भिडियो कन्फ्रेन्समार्फत अनुभव र प्रविधिको आदन–प्रदान गर्दै छन् ।
सम्पत्ति र शक्तिले काम दिएको छैन यतिबेला । बौद्धिक सम्पत्ति नै सर्वश्रेष्ठ सम्पत्ति हो र यो विश्व मानव जातिको हितमा हुन्छ । औषधिविज्ञानको क्षेत्रमा आफूलाई अब्बल ठान्ने अमेरिका, युरोपसमेतका देशहरूलाई पराजित गरेको छ कोभिड–१९ ले । मानव जातिको रक्षा मानवताको एकताभित्र मात्रै सम्भव छ भन्ने शिक्षा दिएको छ, यो महामारीले ।
विगत इतिहासको लामो कालखण्डमा धेरै धर्मयुद्धहरू भए । नरसंहारका औजार बने सबै धर्महरू । अहिले पनि तिनीहरूको बाछिटा देखिँदै छ । धार्मिक प्रतिद्वन्द्विताले मानव जातिको रक्षा गर्न सम्भव छैन । रोमवासीको जीवनरक्षाका लागि पोपले गरेको प्रार्थना सुनेको छैन, कोरोना भाइरसले । इसु, अल्लाह र ईश्वरबाट रक्षा हुन सम्भव छैन आधुनिक विश्वको । यो केवल आस्थामात्रै हो । भौतिक नियमको पालना नगर्दाको परिणाम हो । प्रकृतितिर फर्केर क्षमा माग्नुपर्छ उपभोक्तावादले र विश्वास गर्नुपर्छ प्रकृतिलाई । कोभिड–१९ जस्ता महामारीलाई सामना गर्ने उपचार विधि पनि प्रकृतिकै गर्भमा छ भन्ने बिर्सन हुन्न ।
यो महामारीबाट सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्म तीन लाख नाघेको छ । यो उग्र रूपमा फैलिँदो छ । कोभिड–१९ को वंश पत्ता लागको छैन । स्टेफन हकिन्सले जीवनको अन्तिम क्षणमा वंश परिवर्तन गरेका नयाँ जीवाणुले विश्व मानव जातिको संहार गर्न सक्छ भन्ने कुरा अनुमान गरेका थिए । त्यो सत्य साबित हुँदै छ कि ? यसले कतिको ज्यान लिन्छ थाहा छैन । सङ्क्रमणबाट उठेकाहरूको शारीरिक प्रतिक्रिया कस्तो हुने र प्रतिरोधी क्षमतालाई कति नोक्सान हुने हो थाहा छैन । मनोवैज्ञानिक त्रासबाट मानव मस्तिष्कमा पर्ने प्रभाव कति घातक हुन्छ, त्यसको आँकलन गर्न सकिँदैन ।
कोरोनाको कहरले मानव–मानवबीचको अस्वस्थ्य प्रतिस्पर्धा, प्रतिद्वन्द्विता र शत्रुतालाई बिर्साएर पारस्परिक सहयोग सहअस्तित्व र सहकार्यलाई स्वीकार्न र सम्मान गर्न सिकाएको छ । मानव जातिको साझा प्रयत्नले विगतमा देखापरेका यसैप्रकारका प्राणघातक महामारीमाथि विजय प्राप्त गर्दै आएको छ । कोरोनाको कहरविरुद्ध धैर्य र साहसपूर्वक संयुक्त लडाइँ लडेरमात्रै विजय प्राप्त गर्न सम्भव छ ।
वस्तुगत वास्तविकताले नयाँ चेतनाको विकास गर्छ । रोग, भोक र प्राकृतिक प्रकोप मानिसको साझा दुस्मन हो । अहिले यसकाविरुद्धको लडाइँ प्रधान हुन आएको छ । प्राकृतिक स्रोत–साधन र मानव श्रमको दोहन र शोषण गरेर समृद्ध र सुरक्षित हुन सकिन्छ भन्ने विश्व प्रभुत्ववादी सोचलाई कोभिड–१९ ले क्षणभरमै पराजित गरेको छ । सहअस्तित्वका लागि सहकार्य गर्न नयाँ विश्व व्यवस्थाको विकास अनिवार्य भएको छ । कोरोनाजस्तै अदृश्य तर घातक सूक्ष्म जीवाणुले मानव जातिलाई नयाँ सन्देश दिएको छ । कोरोनाको महामारीले उत्पन्न गर्ने सङ्कटको गहिराइ नाप्न कठिन छ । मानवीय क्षति एउटा पक्ष हो । त्योभन्दा पनि आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा हुने नोक्सानीको भर्पाइँ गर्न झन् कठिन हुनेछ । सङ्कटलाई सचेत शक्तिमा बदल्ने चेत पैदा गरोस् कोरोनाको कहरले ।
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)