शताब्दीकै कहालीलाग्दो विश्वविप्लव कोरोनो भाइरस (कोभिड–१९) को नियन्त्रणमा संसार प्रयत्नशील छ । प्राकृतिक, जैविक तथा भौगर्भिक उथलपुथलको निरन्तर यात्रामा प्राणी र जगत् निरपेक्ष हुन सक्दैन । ब्रह्माण्डमा भएको महाहिमपात, अतिवृष्टि तथा सामुद्रिक उथलपुथलले पर्वत–शृङ्खला निर्माण हुँदाका घटना सामान्य थिएनन् । मानव, प्राणी र वनस्पतिले आफूलाई यी उथलपुथलबाट सुरक्षित गर्दै आजसम्मको यात्रा तय गरेका छन् । कोरोनाको समस्याले विश्व–मानव समाजलाई एकपटक आफ्नो यात्राको सिंहावलोकन गर्न आदेश पनि दिएको छ । यस्तो लाग्थ्यो, मानिसले सफलता प्राप्त नगरेको क्षेत्र कतै छैन तर मानिसले धरातलमा टेक्नुपर्ने आवश्यकता कोरोनाको समस्याले ल्याइदिएको छ । सारा सफलता पाएर पनि मानिस प्रकृतिभन्दा विजेता हुन सकेको रहेनछ । यो सत्य मानव समाजले स्वीकार गर्नैपर्छ । भुसुनाले हात्तीलाई सताउँछ भनेर भीमकाय हात्तीको समस्यालाई उखान बनाउने मानव समाज आफू भने आँखाले पनि देख्न नसक्ने भाइरसले कति प्रताडित छ ? कति कमजोर रहेछ मानिस ? कृषिदेखि औद्योगिक र सञ्चार क्रान्तिको परिणामस्वरूप विश्वग्राम निर्माण ग¥यौँ भन्ने मानवले अहिले मानिसलाई कम्तीमा ‘एक मिटर टाढा बस’ भनेर सिकाएको छ । धेरै नजिक पनि राम्रो थिएन कि ? मानव सभ्यताको कसीमा यसको समीक्षा हुनैपर्छ । कतिपय देशले विकास गरेका आणविक हतियारले हरक्षण यस्तो त्रास बाँड्दै आएका छन् । बमको छायाँमुनि विश्वले शान्तिको गीत गाएर कस्तो आनन्द उमार्ने हो भन्ने विरोधाभास नै वर्तमान युगको समस्या हो ।
बाहिरबाट अनियन्त्रित तरिकाले स्वदेश प्रवेश गरेर कोरोनाबाट सुरक्षित हुन सकिँदैन । न त केही बोरा चामल र केही सिलिन्डर ग्यास जम्मा गरेरमात्र पनि सुरक्षित हुन सकिनेछ । विश्वव्यापी समस्याको उपचार व्यक्तिबाट सुरु हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै हरेक नागरिकलाई आफू र आफ्नो परिवारको सुरक्षामा जिम्मेवार हुन अपिल गर्नुभएको छ । दुई दिनदेखि मूलतः पश्चिम नेपालका विभिन्न नाका हुँदै भारतबाट अनियन्त्रित मानव भीड नेपाल प्रवेश गरेको छ । तीमध्ये रोजगारीको सिलसिलामा भारत पुगेका नेपाली सङ्कटका बेला घरपरिवारको सहारामा आउनुलाई स्वाभाविक भन्नुपर्छ तर यस्तो प्रवेशले ल्याउन सक्ने आमसमस्याप्रति सम्बन्धित व्यक्ति स्वयम् बढी जिम्मेवार हुनुपर्छ । परिवारको कार्य सुरक्षा प्रदान गर्नु पनि हो, यसर्थ पनि मानिस परिवारमा आबद्ध हुन्छ तर विनास्वास्थ्य परीक्षण घरपरिवारमा पुग्दा आफ्नो सुरक्षाको पहलले परिवार र समुदायलाई असुरक्षित पो गर्छ कि भन्ने स्वयम् नागरिक सचेत हुनुपर्छ । कम्तीमा पनि परिवारसँग दुई साता टाढाको सम्पर्कमा रहने, सरकारद्वारा प्रचार गरिएअनुसारका सुरक्षा विधि अपनाउने, स्थानीय उपचारमा ध्यान दिने गरेमात्र पनि जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्न सकिनेछ । त्यतिमात्र गर्दा पनि आफू, परिवार र राष्ट्रकै सुरक्षामा सहयोग पुग्छ ।
यस्तै, म र मेरो परिवारले मात्र होइन, सबैले खान पाउनुपर्छ भन्ने सोचले पनि समस्या समाधानमा योगदान दिन सकिनेछ । अनावश्यक प्रचार र ‘कागले कान लग्यो’मा कतिपय बुद्धिजीवी पनि चुकेको देखियो । नेपाली सेनाले हेलिकोप्टरबाट कीटनाशक पदार्थ वर्षाउने अफवाह फैलाइयो । सूचनाको स्रोत खोज्नु त परै जाओस् मलेरियाको जस्तो डिटी पाउडर छर्केर कोरोना परास्त हुँदैन भन्ने सामान्य तर्क पनि गर्न नसक्ने तर राज्य, सरकार तथा स्वास्थ्यकर्मीलाई समेत कोरोनाका बारेमा प्रशिक्षण दिन सक्ने उपबुज्रुकीय क्षमता प्रदर्शनले समस्यामा भड्काव ल्याउनेछ । सरकारले धेरै तयारी गरेको छ, गर्नुपर्छ । त्यस्तो तयारी नपुगेको हुन सक्छ । कमीकमजोरी रहेका हुन सक्छन् । यसबारेमा समस्या, विकल्प, समाधानका उपायसहित स्वस्थ शैलीमा प्रस्तुत हुन सकिए अवश्य पनि त्यसले समुदायको हित गर्नेछ तर यथार्थमा टेक्दै नटेकी बहकाउमा परियो भने आफ्नो प्रतिष्ठामात्र गुम्ने छैन, समुदायका लागि समस्या होइनेछ । नागरिकले समाचार प्रसारणको काम पत्रकारितालाई सुम्पन्नु नै पर्छ । आफैैँ पत्रकार, आफैँ सरकार, आफैँ चिकित्सक हुने प्रवृत्ति त्याग्नुपर्छ । पत्रकारिताले पनि सङ्कटका बेला स्वच्छ, मर्यादित र जिम्मेवारी पत्रकारितालाई अझ बढी अभ्यास गरेर नागरिककको मन जित्नुपर्छ । जिम्मेवार पत्रकारिताले नै नागरिकको पक्षपोषण गर्नेछ ।