पदम श्रेष्ठ
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपले चीनमा निकास पाइरहेकै बेला काठमाडौँमा भने रोगव्याधी, हावाहुरीको माहामारी सुरु भयो है बच्नुहोस् भन्ने सन्देश प्रवाह गर्दै आज (मङ्गलवार) पाँहाचह्रे र घोडेजात्रा मनाइँदै छ ।
प्राकृतिक उपद्रो हावाहुरी, चट्याङ र रोगको महामारी सुरू भयो भन्ने सङ्केतस्वरूप चैत चतुर्दशीका दिन काठमाडौँ उपत्यकामा पाँहाचह्रे मनाइन्छ । नेपाल भाषामा पाँहाको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो । पाँहाचह्रेअघि चउला महिना पदार्पण हुनासाथ हुरी–बतास र वर्षात् सुरू हुने हुँदा घरको छाना बाँध्ने, फोहोर फ्याँक्ने, खाल्टाखुल्टी (साःगाः) सफाइ गर्ने र टोल–टोलमा आजु÷अजिमाद्यः (पुर्खा देवता)लाई समयद्यो (समयबजी चिउरा, छोयला, माछा आदिको थुप्रो) प्रदर्शन गरी पूजा गरिन्छ ।
देवीदेवतालाई राँगा, हाँस, कुखुरा, बोका आदि बलि दिई तन्त्र पद्धतिअनुरूप लुकुमाद्यः पूजा गर्ने र इष्टमित्र परिवार बोलाई भोज खाइन्छ । यस दिन लुकुमाद्यः भन्दै फोहोरको ढल, साःगाः खोजीखोजी पुजिन्छ । किंवदन्तीअनुसार शनिग्रहले आफ्ना गुरु महादेवलाई छुन पुगे । साढे सातको दशा आजदेखि हजुरलाई लाग्दै छ पनि भने । महादेव भागेर साढे सात वर्षसम्म धर्तीभित्रै फोहोर साःगाःमा लुकी बसे । बाहिर आई शनिसँग भनेछन्– खै त तिमीले मलाई छुन सकेको ?
शनिले हाँस्दै भने– मैले नछोएको भए साढे सात वर्षसम्म हजुर फोहोरमा बस्नुपथ्र्यो र ? शनिले जवाफ फर्काए । पाँहाचह्रेका दिन लुकुमाद्यः पूजा गर्नु धर्ती अर्थात् भूमिपूजा हो । घर, टोल, चोक फोहोर भएमा महामारी रोग फैलिने हुँदा लुकुमाद्यःको नाउँमा ढल साःगाः सफाइ गरी पुज्ने र अर्को वर्ष बाँचिने नै हो कि होइन भन्ने मनसायबाट यसै वर्ष परिवारजन, इष्टमित्र बसी भोज खाने परम्परा हो । पाँहाचह्रे पूजामा तोरी र मुलाको फूलसहितको बिरुवा राख्नाले घरमा भूतप्रेत, दुष्टात्मा प्रवेशमा रोक लगाउँछ भने भोजमा लसुन, मुलाको प्रयोगले रोगबाट बचाउँछ भन्ने विश्वास छ । लुकुमाद्यः पूजामा बालेको धुपको गाजल बनाई यसै दिन लगाइन्छ । यसबाट उडेर आउने धूलो आँखामा पर्दैन भन्ने विश्वास पाइन्छ ।
आख्यानअनुसार, अष्टमातृका दिदीबहिनी एकैठाउँमा बसी भोज खाने भेलामा सबै लुगा–गहनामा ठाँटिएछन् तर जेठी दिदी लुती इन्द्रायणी अजिमा गरिब र धेरै सन्तान, दुब्लो, झुत्रो लुगा लगाएर भोजमा भेला भइछन् । यस्तो देखेर बहिनीहरूले लुती अजिमालाई बस्नका समेत भनेनछन् । छोराछोरी भोक लाग्यो, भोक लाग्यो भनिरहँदासमेत कुनै वास्ता नगरेपछि भावविह्वल लुती अजिमा छोराछोरी लिएर घर फर्किछन् । बाटोमा पाकेको फर्सी भेटेकाले त्यही फर्सी उसिनेर छोराछोरीलाई खुवाउनुपर्ला भन्ने विचार गरी घर लगिछन् । तर छोराछोरी सुतेकाले त्यसै छाडी भोलि बिहान उठी हेर्दा त फर्सी सुनमा परिणत भइसकेको रहेछ । अर्को वर्षको पाँहाचह्रे पर्वमा उसैगरी दिदीबहिनी भेला हुँदा फर्सीबाट प्राप्त सुनका गहना, राम्रा–राम्रा लुगा लगाएर जाँदा ती नौ दिदीबहिनीबाट ठूलो सम्मानपूर्वक भोज राखिदिएछन् । तर, लुती इन्द्रायणी अजिमाले विगतमा आफू र आफ्ना सन्तानप्रति गरेको भेदभावलाई सम्झँदै सबै भोज लुगा र गहनामा दल्न थालिछन् । यसबाट आश्चर्यचकित अष्टमातृका दिदीबहिनीले यो के गरेको भनी प्रश्न राख्दा लुती अजिमाले भनिछन्, ‘छन् गेडा सबै मेरा, छैनन् गेडा सबै टेडा, हिजो यही लुगा–गहना नहुँदा म तथा मेरा छोराछोरी भोकभोकै फर्कनुपरेको थियो ।’ यो भोज यही गहना र लुगालाई खुवाएको हुँदा लुगामा दलेको भनी घर फर्किइछन् ।
यसै दिनदेखि लुती अजिमा क्षेत्रपाटीस्थित इन्द्रायणी देवीको बालाचतुर्दशीका दिन जात्रा हुन्छ भने अन्य अष्टमातृका देवीको खटजात्रा पाहाँचह्रेको दिन हुने गर्दछ ।
दुरु च्यां च्यां जात्रा (बत्सलेश्वरी आमा)ःः
प्रत्येक वर्ष चिल्लागा चःहे अर्थात् घोडेजात्राको एक दिनअघि पाँहाचह्रेका दिन पशुपति भुवनेश्वरी (बछलामाजु) सहित उपत्यकाका विभिन्न अजिमा पीठको खटजात्रा हुने गर्दछ । पशुपतिस्थित भुवनेश्वरीलाई अजिमाहरूकी आमाका रूपमा लिइन्छ । त्यसैले पाँहाचह्रेको भोज बोलाउन चिल्लामा अष्टमीका दिन दुरु च्याँ–च्याँ बोलको दुन्दूभि बाजा बजाउँदै भुवनेश्वरीका पुजारी, पशुपतिनाथको आगमघरका भट्ट पुजारी, चार भण्डारीमध्येका एकजना सानो खटमा शिवलिङ्ग राखी छोरी देवताहरूलाई निमन्त्रणा गर्न जाने गर्छन् ।
यसैबीच, उपत्यकामा नक्साल भगवती तखती अजिमा, लुँर्चु लुँबुँ अजिमा, न्हायकंतला अजिमा, कङग कजिमा, न्यतमरु अजिमा, लुमरी अजिमा (वंतु र तेबा खट) र प्यङगः थां नरसिंह आजुको भव्य जात्रा हुने गर्दछ । दुन्दूभि बाजाको बोल दुरु च्याँ–च्याँ हुने भएकाले जात्राको नाउँ नै बोलका आधारमा बन्न गएको हो भने छोरीलाई निमन्त्रणा गर्न पशुपति महादेव सानो शिव बछलामाजु (भुवनेश्वरी) को प्रतिकृतिस्वरूप खटजात्रा गर्दै देवपाटन (ग्वल) को लगंलाछी पाचुत्वा, सिफल, मालिगाउँ, नक्साल, नागपोखरी, हात्तीसार, जमल, कमलपोखरी हुँदै असन जनबहाल, इन्द्रचोक, हनुमानढोका, मरु, चिकंमुगल न्हुँघ लगन, टेकुदोभान पचलीभैरवमा विशेष पिचा तः बनेगु भोग बलि पूजा गरिन्छ । त्यहाँबाट लगन, ब्रह्मटोल, ह्युमत, जैसीदेग, क्वहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, त्यङ्गल, कमलाक्षी, कमलपोखरी, ज्ञानेश्वर हुँदै पशुपति पु¥याइन्छ । शीतलाष्टमी पनि भनिने दुरु च्याँ–च्याँ जात्रा पाँहाचह्रे आउन लाग्यो । एक हप्ता बाँकी भन्ने सूचना दिने पर्वका रूपमा लिइन्छ ।
घोडेजात्रा ः
आपतविपत, रोगव्याधि घोडा दौडिएझैँ आउँछ । दुष्टात्मालाई पन्छाउन सेतो वायुपङ्खी घोडाले भूमिका खेल्छ भन्ने उपत्यकावासीमा मान्यता पाइन्छ । यही मान्यतालाई पाँहाचह्रेको भोलिपल्ट काठमाडौँ र पाटनको टुँडिखेलमा घोडादौड जात्रा प्रदर्शन गर्ने परम्परा छ । मल्लकालदेखि सुरू भएको घोडेजात्रा गर्नाले दुष्टात्मा र अनेक प्राकृतिक उपद्रव शान्त हुन्छ भने मान्यताअनुसार काठमाडौँको टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री उपस्थिति हुने प्रचलन छ । फूलपाती बढाइँका साथ टुँडिखेलमा घोडादौड प्रतियोगिता गराइन्छ भने पाटनको भोलाख्यो बालकुमारीमा रक्सी खुवाइएको एकमात्र घोडा कुदाउने गरिन्छ । काठमाडौँका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव हुँदा नेपाल संवत् ७८७ तिर पाटनमा एक्लो घोडा कुदाउने परम्परा थालिएको बताइन्छ । आफ्ना पाटनवासी जनताले काठमाडौँको घोडेजात्रा हेर्न जानु नपरोस् भन्ने मनसाय राखी भोलाख्यो बालकुमारीमा एक्लो रक्सी खुवाइएको घोडा कुदाइ मनोरञ्जन गर्ने परम्परा थालिएको हो । यस दिन काठमाडौँ उपत्यकाका सर्वजातका केटाकेटीलाई एउटै लहरमा राखी मलजा टोल–टोलमा मलजा (सुकेको पातमा बेसार भात, गेडागुडी, तरकारी, जाँड, रक्सी, दूध सलिचामा राखी) खुवाउने परम्परा छ । यसरी मलजा खुवाउनाले यस वर्ष केटाकेटीलाई अनेक रोग लाग्नबाट बचाउँछ भन्ने विश्वास गरिन्छ ।
(लेखक पत्रकार हुनुहुन्छ । )